जूनको पीडा
कि...
दिनभर कुहिएको पानीमा पौडिएर
रातभर सङ्लो पानीका लागि मसँग युद्ध गर्छ
कि ...
सार्वजनिक चउरबाट
उज्यालो आकाशबारे
गन्हाउने सास सक्दो फ्याँकेर
रातभर मेरा आँखाका ताराहरु चपाउँदै
मलाई अँध्यारो छाद्न लगाउँछ
अनि अध्याँरोमै नाङ्गै नाच्छ
म उत्तानो पल्टिएर
अँध्यारो– अँध्यारो अनि अँध्यारोभित्र
हाँसोमा दुःखीरहेको हुन्छु
घाम भन्नु मात्रैको छ
बाबै...
दिनभर कहाँ हराउँछ हराउँछ
रातभर अँध्यारोमा उग्र बन्छ
घाम भन्नुको मात्रै छ
यसको रापताप कति सहनु
यसको अँध्यारो कति चाट्नु
यसको उज्यालोको दुःख कति सहनु
अनुहारका पर्दाहरु बुझिनसक्नु
पल्टाइ नसक्नु
कि ...
कलिला पूलहरु टिपेर
कतै चेपमा माला उन्दै– च्यात्दै गर्छ
कि...
आफ्नै बैंस सम्झिएर पीडाले पिरोलिएका
सुक्दै गरेका फूलका पत्रपत्र चपाएर
कतै अँध्यारा कोठाहरु
रगताम्य बनाएको हुन्छ
घाम भन्नुको मात्र हो
दिनभर
प्रेम गीत गाएर
रातभर ताराहरु लखेटिरहन्छ
एकान्त कतै
बूढो पिपलको कुरा गरेर
मेरो रगतको चर्चा गरी बस्छ
घाम नभइनहुने
शीरको शोभा
देखाउनकै लागि यो कालो उज्यालो
मैले कलेजोमा हुर्काएको छु
घाम भन्नु मात्रैको छ
बुझिनसक्नुको छ
मैले बुझ्ने खोलाको गीतमात्रै
म जून
रोएर झरेका आँसुका थोपामा
अँध्यारोले पौडी खेल्छ
म जून
अँध्यारोमा च्यातिएर बगेको रगतलाई
घामले विहानैबाट पिएर तिर्खा मेट्छ
घाम भन्नुको मात्रै
० ० ०
ईश्वर आतङ्क
अवसानको अन्त्यमा हुनुपर्छ ईश्वर
वस्तीमा झन्झन् सन्त्रास फैलँदो छ ।
वस्तीमा कोलाहल मच्चिरहेको छ
केटाकेटी, वृद्धवृद्धा अनि महिला भागदौडमा छन्
ईश्वर जाँड खाएर वस्ती पस्यो कि !
विहानै देश लुटिन थाल्यो
दिउँसै घर फोडिन थाले
भगवान्
मन्दिर, चर्च, मस्जिद र गुम्बा छोडेर
चोर्न पो वस्ती पस्यो कि !
सम्साँझै कलिला विद्यार्थी अपरण हुन थाले
कक्षा कोठामै शिक्षक मारिन थाले
घरघरमा छोरी–चेली बलात्कृत हुन थाले
मान्छे बगरे अघिल्तिरका खसी–बोकाजस्ता बन्न थाले
कतै ईश्वर मान्छेहत्याको मुख्य योजनाकार बन्यो कि !
पुज्दै गरेको भगवान्
हठात् बारुद बनेर पड्किन्छ
आराधना गर्दै गरेको ईश्वर
एक्कासि तरबार बोकेर मेरो बली माग्छ
मन्दिरमा निर्धक्क कसरी जानु ?
भगवान् नै चोरिएको समाचार छ
चर्चमा निशङ्कोच कसरी पस्नु ?
ईश्वर धार्मिक व्यापारमा व्यस्त छ
मस्जिदबाट सहजै नफर्कन सक्छु
अल्लाहलाई किशोरीको अनुहार असैह्य लाग्ने हल्ला छ
अवसानको अन्त्यमा हुनुपर्छ ईश्वर
वस्तीमा झन्झन् सन्त्रास फैलँदो छ ।