site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
मान्छेहरु तिमी ‘सक्सेस’ भयौ भन्छन्, तर मलाई त्यो ‘फिल’ भएको छैन: स्वस्तिमा खड्का
Sarbottam CementSarbottam Cement

स्वस्तिमा खड्का नेपाली चलचित्र उद्योगमा अहिले रोजाइकी नायिका हुन् । ‘होस्टल रिटन्र्स’बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी उनले ‘लभ लभ लभ’बाट मुख्य अभिनेत्रीका रुपमा आफूलाई प्रतुत गरिन् । ‘छक्का पञ्जा–२’, ‘जय भोले’, ‘नाइँ नभन्नु ल–५’ मा मुख्य भूमिकामा अभिनय गरिन् । चलचित्र ‘बुलबुल’मा ‘रणकला’को भूमिका निर्वाह गरेकी उनका निम्ति यो चलचित्र फिल्मी करिअरमा ‘टर्निङ प्वाइन्ट’ बनिदियो । ‘बुलबुल’यता चलचित्रमा उनको माग चुलिएको छ । ‘अफ बिट’का चलचित्र प्राथमिकतामा राख्ने स्वस्तिमा कमर्सियल मुभी पनि आफ्ना लागि उत्तिकै महत्वपूर्ण रहेको बताउँछिन् । कलाकार तथा मेकरहरु आफ्नो चलचित्रको क्रिटिकल समीक्षा सहन नसकिरहेका बेला उनी भने खुला हृदयले समीक्षाको स्वागत गर्छिन् । र, रचनात्मक आलोचनालाई आत्मसात गर्छिन् । उनी आफ्नो प्रतिभामा निखार ल्याउन ‘बुलबुल’ र त्यसका निर्देशक विनोद पौडेलको महत्वपूर्ण भूमिका रहेको बताउँछिन् । सँगै दीपकराज गिरीका केही भनाइले पनि उनलाई आफ्नोे कामप्रतिको जिम्मेवारी र लगाव वृद्धि गर्न सहयोग गरिरहेको उनी सुनाउँछिन् । उनै स्वतिमा खड्कासँग बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीको सारः 

० ० ०

‘हिरोइन’बाट ‘अभिनेत्री’को छलाङ मार्नुभयो । ‘बुलबुल’जस्तो चलचित्र गर्न किन यति ‘धेरै कुर्नुभयो ? बक्स अफिसको सफलता महत्वपूर्ण हुँदोरहेछ कि आलोचक र गम्भीर दर्शकहरुको वाहवाही ?
मैले कुरेको भन्दा पनि मेकरले कुराएको हो । मैले कुरिरहेको थिएँ, मेकरले अफर गर्नुभयो । म पहिलादेखि नै तयार थिएँ, यस्तो चलचित्रमा काम गर्न । अहिले पनि तयार नै छु । ‘बुलबुल’जस्तो चरित्रप्रधान चलचित्रका लागि म सधैं तयार नै छु । ‘अफ द बिट’का चलचित्रमा काम गर्न मलाई रुचि छ । दर्शकका हिसाबले पनि ‘बुलबुल’जस्तो चलचित्र मलाई मन पर्छ । मैलै ढिलो गर्नुभन्दा पनि सायद मेकरले मलाई नै विश्वास गर्नुभएको थिएन होला । 

Prabhu Bank
Agni Group
NIC Asia

मेरो विचारमा बक्स अफिस र आलोचकको ताली दुवै महत्वपूर्ण हुन्छ । एउटा मात्रै पक्षलाई यही राम्रो भन्न हुँदैन सयाद । जति खुसी म मेरो चलचित्र बम्पर हिट हुँदा हुन्छु त्यति नै समीक्षकले राम्रो भन्दा हुन्छु, त्यसले थप हौसला पनि प्रदान गर्छ । 

मनोवैज्ञानिक चरित्रहरु गर्दा आफ्नो वास्तविक व्यक्तित्वमा कतिको असर गर्छ ? चलचित्र सकिएर नयाँ प्रोजेक्टमा जाँदा पुराना पात्रहरुको माया लाग्छ कि लाल्दैन ? त्यो ‘डिपार्चर’ सजिलो हुन्छ कि अप्ठ्यारो ? 
ठूलो असर नै त पर्दैन । म ‘मेथड एक्टर’ पनि हैन । मैले अहिलेसम्म पूरै क्यारेक्टरमा डुबेर काम पनि गरेको छैन । आफूले काम गरिरहेको चरित्रमा डुबेर जता जाँदा पनि त्यही क्यारेक्टरमा हिँडेको छैन, त्यसैले पनि मलाई त्यति धेरै गाह्रोचाहिँ भएको छैन । 

Global Ime bank

तर कतिपय क्यारेक्टर गर्दा त्यसको अवस्था बुझ्दा सिक्ने मौकाचाहिँ पाएको हुन्छु । ‘बुलबुल’को चरित्र गर्दा यस्तो भोगाइ हुँदोरहेछ भन्ने सिकिरहेको महसुस भयो । यस्तो पनि हुनुपर्ने रहेछ भन्ने थाहा हुन्छ । ‘रणकला’को भूमिकामा काम गर्दा इमोसनल क्राइसिसमा पनि छोरी मान्छे ‘इन्डिपेन्डेन्ट’ भयो भने हरेक समस्याको समाधान गर्न सक्दोरहेछ भन्ने सिकेँ । 

एउटा पात्रबाट अर्को पात्रमा जाँदा मैले शतप्रतिशत ‘मेथड एक्टिङ’ नगर्ने भएकाले पनि होला त्यस्तो गाह्रो भएको छैन । जति ‘रणकला’को क्यारेक्टरमा म एट्याच भएको थिएँ, त्यति नै त्यसपछि गरेका क्यारेक्टरले मलाई नतान्दा ‘रणकला’लाई सम्झिरहन्छु । तर एउटाबाट अर्कोमा जान गाह्रो नै चाहिँ भएको छैन ।

‘निश्चल बस्नेतले गर्दा मात्र यति अवसर पाएको हो’ भनेर कुरा काट्नेहरुलाई ‘बुलबुल’द्वारा गतिलो जवाफ दिनुभयो । तपाईंको रोजाइमा अब मसालेदार फिल्म पर्छन् या गम्भीर ?
कसले के भन्छ भन्दा पनि काम गर्दै जाने हो । सकेसम्म आफूलाई परिमार्जन गर्दै जाने हो । कामको मूल्याङ्कन हुन्छ । र, भएको पनि छ । 

मेरो रोजाइ त पक्कै पनि चरित्रप्रधान चलचित्र नै हुन्छ । ‘बुलबुल’कै स्क्रिप्ट मसम्म आउँदा पनि यो चलचित्र बक्सअफिसमा हिट हुन्छ भन्ने मलाई लागेको थिएन । चरित्रप्रधान भनेर नै गरेको हुँ । चौथो हप्तासम्म एक सो मात्रै रहँदा पनि जति दर्शक आउनुभयो र जस्तो प्रतिक्रिया मैले पाएँ, त्यो नै अपेक्षा गरेभन्दा धेरै सकारात्मक थियो । कमर्सियल चलचित्र नै हुनुपर्छ भन्ने छैन । ‘बुलबुल’ नै उदाहरण हो । तर मेरा लागि कमर्सियल मुभीले पनि अर्थ राख्छ । किनभने कमर्सियल चलचित्र सहरदेखि गाउँसम्म हजारौं दर्शकले हेर्नुहुन्छ । कमर्सियल चलचित्र वा गीतमा काम गरेर आमदर्शकमाझ म पुगेँ भने भोलि ‘बुलबुल’जस्तो चलचित्रमा काम गर्दा ती दर्शक त्यो चलचित्रमा ‘क्यास’ गर्न पाउँछु । जो ‘बुलबुल’जस्तो चलचित्र नेपालमा बन्छ भनेर थाहा पनि पाउनुहुन्न, उहाँहरुलाई मैले यस्तो चलचित्रमा ल्याउन सक्छु कि सक्दिनँ त्यो महत्वपूर्ण कुरा हो । कमर्सियल र आर्ट दुवै चलचित्रले मेरो करिअरमा उत्तिकै अर्थ राख्छ । 

फिल्म बनाउन फिल्म पढ्नैपर्छ ? चलचित्र नपढेको निर्देशक र चलचित्र पढेको निर्देशकसँग काम गर्दा के फरक अनुभव पाउनु भयो ? 
यो प्रश्न मैले प्रतिक्रिया दिन मिल्छ जस्तो लाग्दैन । म आफैं पनि फिल्म पढेर आएको कलाकार हैन । कुनै त्यस्तो नियम पनि छैन फिल्म पढेका निर्देशकले मात्रै निर्देशन गर्न पाउने र नपढेकाले नपाउने । तर काम गर्दाको अनुभवको कुरा पढेको र नपढेकोमा भिन्नताचाहिँ हुन्छ । ‘बुलबुल’ निर्देशक विनोद पौडेल दाइको यो चलचित्र पहिलो थियो । पहिलो चलचित्र हुँदाहुँदै पनि उहाँसँग धेरै अनुभव रहेको पाएँ । किनभने उहाँ चलचित्र पढेको र पढाएको व्यक्ति हो । त्यही चलचित्र फिल्म नपढेको पहिलो निर्देशकले गर्नुभएको भए सायद त्यति सजिलो हुँदैनथ्यो होला । उहाँ एक्टिङको टिचर पनि हो । त्यसैले म उहाँसँग भन्थेँ, म पैसा लिएर तपाईंसँग एक्टिङ सिकिरहेको छु । अरु एक्टिङ पैसा तिरेर सिक्छन्, मैले पैसा लिएर सिकिरहेको थिएँ । विनोद दाइबाट मैले कति धेरै कुरा सिकेँ । अहिले पनि उहाँसँग सिकेको कुरा धेरै ठाउँमा लागू गर्ने प्रयास गरिरहेको हुन्छु । 

अरु निर्देशक चलचित्रका लागि काम गर्छन् तर विनोद दाइ कलाकारका लागि चलचित्र बनाइदिनुहुन्छ । कलाकारबाट शतप्रतिशत निकाल्ने प्रयास गर्नुहुन्छ । तर ‘थप राम्रो ग¥यो भने मात्रै हुन्छ’ भन्नुहुन्छ । अरु निर्देशक सिन राम्रो भए हुन्छ भन्नुहुन्छ, तर विनोद दाइ सिनसँगै कलाकारको काम पनि राम्रो हुनुपर्छ भन्नुहुन्छ । 

समाजका वास्तविक ‘दुःखी’ चरित्रहरुको भूमिका निर्वाह गर्दा उनीहरुप्रति जाग्ने करुणाले अभिनयमा असर पार्छ कि पर्दैन ? एउटा कलाकारले अभिनय र आफ्ना भावनाहरुबीचको सीमा कसरी कोर्ने ?
दुःखी भइन्छ । माया पलाउँछ । यस्ता पात्र समाजमा यत्रतत्र छरिएर रहेका छन् भन्ने पनि थाहा हुन्छ । तर पनि मैले चलचित्रमा गरेको क्यारेक्टर फिक्सनल हो भन्ने थाहा हुन्छ । वास्तविक क्योरक्टर होइन, वास्तविकतामा पुगेर भोगेको जस्तो गर्ने मात्रै हो भन्ने थाहा हुन्छ । त्यसैले म ‘रणकला’लाई दुःखी भन्दा पनि सशक्त क्यारेक्टरका रुपमा लिन्छु । इमोसनल क्राइसिस हुँदाहुँदै पनि जसरी ऊ एक्लै स्वाभिमानी भएर बाँचेकी छे, यसलाई म सशक्त क्यारेक्टर मान्छु । 

मैले सुरुदेखि नै थिएटर आर्टिस्टसँग काम गरेँ । मैले सधैं सुनेको क्यारेक्टरमा छिरेर अभिनय गर्नुपर्छ । मैले कुनै सट दिएँ भने ‘तिमी क्यारेक्टरमै छैनौ’ भन्ने हुन्थ्यो, यसले मलाई सधैं प्रेसर दिन्थ्यो । कस्तो रहेछ यो क्यारेक्टरमा छिर्ने भनेको । मलाई त कुनै विधि पनि थाहा छैन क्यारेक्टरमा छिर्ने । सुन्थेँ र म प्रयास गर्थें क्यारेक्टरमा छिर्न । कस्तो हुँदोरहेछ, क्यारेक्टरमा छिर्दा मलाई अनुभव लिनु पनि थियो । क्यारेक्टरमा छिर्दा मैले स्वस्तिमा खड्का भनेर आफैंलाई बिर्सिने पो हो कि जस्तो लाग्थ्यो । तर मलाई थाहा थियो, यो ड्रामा हो । क्यामेरा छ । डिरेक्टर छ । सबै थाहा हुँदाहुँदै कसरी गर्ने हेला भन्ने लाग्थ्यो । सक्दिनँ भन्ने लाग्थ्यो । 

एक दिन हामी ‘बुलबुल’को वर्कसपमा थियौं । मैले विनोद दाइलाई सोधेँ, विनोद दाइ क्यारेक्टरमा छिर्ने भनेको के हो ? हन्ड्रेड पर्सेन्ट म गर्नै सक्तिनँ । ५० प्रतिशत पनि सक्तिनँ । किनभने फेक गरिरहेको छु भन्ने मलाई थाहा छ । 

विनोद दाइले भन्नुभयो– क्यारेक्टरमा कहिले पनि छिर्ने होइन । क्यारेक्टर बुझेर त्यसलाई लिने हो । त्यसपछि मैले रियलाइज गरेँ । क्यारेक्टरमा छिर्ने भनेको के हो । जति सकिन्छ, त्यति लिने हो । यो कुरा म कहिल्यै बिर्सिन सक्तिनँ । 

केही वर्षअघि कसैले नचिन्ने मानिस अहिले सबैको प्यारो हुँदा कस्तो अनुभव भइरहेको छ ? सफलताको ‘नशा’ बढ्दै जान्छ ? कि एउटा निश्चित समयपछि सफलता पनि पट्यारलाग्दो हुन्छ ? भन्न खोजेको कुरा तपाईंलाई ‘फेम’ पुगिसक्यो कि अझै बाँकी छ ?
फरक त पक्कै पनि हुन्छ । दर्शकले हेर्ने नजरमा परिवर्तन आउँछ । बाटोमा हिँडिरहेको व्यक्तिले दिनदिनै देखिरहेको जस्तो, आफ्नै परिवारको सदस्यजस्तो व्यवहार गर्नुहुन्छ । जब कि उहाँहरुलाई मैले चिनेको हुन्नँ । मन पराउनेले मेरो घरकै मान्छेको जस्तो र मन नपराउनेले उहाँको काम नै बिगारिदेको जस्तो व्यवहार गर्नुहुन्छ । फरक हुँदोरहेछ । 

मैले यो क्षेत्रमा आउँदा फ्यानफलोइङ हुन्छ । सपोर्टर र हेटर हुन्छ भनेर सोचिनँ । यो त पछि मात्रै मैले अनुभव गरेँ । मलाई चलचित्रमा आउनु थियो । अभिनय गर्नु थियो । मोडलिङ गर्नु थियो, गरेँ । म भोलि फेमस हुन्छु, फ्यान फलोइङ हुन्छ, अडियन्स हुन्छ भनेर सोचेर आएको थिइनँ । 

कुरा रह्यो– सफलताको । राम्रो कामको भोक कहिल्यै नमेटिनेरहेछ । एउटा राम्रो फिल्ममा राम्रो काम गरिसकेपछि यो भन्दा राम्रो अर्को, त्यो सफल भइसकेपछि अर्को गर्न पाए हुन्थ्यो भन्ने लाग्दोरहेछ । मान्छेहरु तिमी सक्सेस भयौ भन्छन्, तर मलाई त्यो फिल नै भएको छैन । अभिनयलाई म जागिरभन्दा पनि ‘प्रोफेसन’ भन्न मन पराउँछु । कहिलेकाहीँ धेरै काम गर्नुपर्दा ह्या... कति एउटै, एकै खालको काम गर्नुजस्तो चाहिँ लाग्छ । धेरै भीडभाडमा फोटो खिच्न तानातान गर्दा कहिलेकाहीँ झ्याउ पनि लाग्छ । तर मैले रोजेको क्षेत्र नै यही हो भन्ने बुझ्छु । 

दीपकराज गिरी दाइले भन्नुभएको कुरा सधैं याद आउँछ । ‘छक्का पञ्जा–२’मा काम गर्दा हाम्रो भेट भयो । म कसरी काम गर्छु भन्ने उहाँलाई थाहा थिएन । धेरैले उहाँलाई सुनाइदिनुभएको रहेछ, स्वस्तिमा घमण्डी छे । त्यसैले उहाँले मलाई त्यही सोचिरहनुभएको रहेछ । 

सेटमा काम गर्दा कत्तिजना कतिखेर काम सकिन्छ र घर जानु भनेर बस्थे । काम सकिनेबित्तिकै घर कुद्थे । तर म साँझ अबेर ९÷१० बजेसम्म पनि सेटमै बस्थेँ । त्यो बेला उहाँले मलाई भन्नुहुन्थ्यो– तिमी कतिखेर काम सकेर घर जाउँ भनेर सोच्दिनौं, यो राम्रो कुरा हो । तिमी अहिले जुन सेटमा छौ, त्यो सेटमा हजार जना मान्छेले आउने सपना देखिरहेका छन् । तिमी आज यो ठाउँलाई कति सम्मान गर्छौ त्यो महत्वपूर्ण कुरा हो । आज तिमी यहाँ नभएको भए यही सेटमा आउने सपना पालेर बसिरहेकी हुन्थ्यौ । यो सत्यलाई नभुल्नू । उहाँले भनेको यो कुरा म जहिल्यै सोच्छु । सुटिङमा कहिलेकाहीँ दिक्क लाग्यो भने यो सेटमा अहिले म नभएर अरु भएको भए त्यो ठाउँमा म पुग्ने सोचिरहेकी हुन्थेँ भन्ने सोच्छु । 

आलोचक र फिल्म मेकरहरुबीच सुरु भएको शीतयुद्धलाई कसरी हेर्नुहुन्छ ? फिल्म उद्योग फस्टिनमा समालोचकको भूमिका महत्वपूर्ण हुन्छ ? के नेपाली समालोचना पनि नेपाली फिल्म उद्योग झैं ‘कमजोर’ छ ? 
चलचित्र बनाइसकेपछि मेकरहरुले सोच्नुपर्छ कि गाली आउँछ कि ताली । मैले एउटा आर्ट ल्याएर बजारमा राखेको छु भने मैले भयङ्कर गरेँ भनेर कहिल्यै पनि अपेक्षा गर्नुहुन्न । 

मैले त्यति धेरै बुझेको छैन । थुप्रै समीक्षकले मेरो आलोचना गर्नुभएको छ । कतिले व्यक्तिगत रुपमा आलोचना गर्नुभएको छ । मैले उहाँको फोन उठाइनँ भनेर त्यसैलाई इगो बनाएर नकारात्मक आलोचना गर्ने पनि हुनुहुन्छ । समीक्षा र पत्रकारिताको आचारसंहिताबाहिर गएर लेख्न नहुने हो, तर लेख्नुहुन्छ । 

साथै, निकै राम्रा समीक्षक पनि थुप्रै हुुनुहुँदोरहेछ, मलाई त थाहै थिएन । ‘बुलबुल’पछि मैले अनुभूत गरेँ । त्यसपछि मैले केही समीक्षक र पत्रकारसँग बसेर अन्तरवार्ता दिँदा मलाई थाहा भयो कि, चलचित्र उद्योगबारे मलाई केही थाहा नै रहेनछ । एक घण्टा सँगै बस्दा मैले कति कुरा धेरै थाहा पाएँ । उहाँहरुको कुुरालाई मैले मनन् गर्नुपर्छ । 

भोलि मेरो चलचित्र बजारमा आउँदा मैले तयार भएर बस्नुपर्छ, स्वस्तिमाले कि ठीकै काम गरी अथवा झुर काम गरी वा राम्रो काम गरी भन्नुहुन्छ । यसलाई मैले मनैदेखि स्वागत गर्नुपर्छ भन्नेमा म तयार हुनुपर्छ । 

‘बुलबुल’ गर्दा प्रशंसा गर्ने एकजनाले मलाई त्यसपछि आएको ‘हजार जुनीसम्म’ हेरेर व्यक्तिगत रुपमै दर्शकको अपेक्षा डाउन गरिदियौ भन्नुभयो । त्यो कुरालाई मैले स्वीकार गरेँ । यो कुरा हामी कलाकार र मेकर दुवैले स्वीकार गर्नुपर्छ । 

‘रणकला’कै लेबलमा ‘गौरी’ (घामड शेरेमा स्वस्तिमाले अभिनय गरेको क्यारेक्टर) लाई दर्शकले पाउँछन् ?
‘रणकला’कै लेबलमा ‘गौरी’को क्यारेक्टर छ कि छैन भनेर मैले भन्न मिल्छ जस्तो लाग्दैन । किनभने क्यारेक्टर बलियो हुनमा स्पेसको पनि भूमिका हुन्छ । ‘रणकला’मा मेरो स्पेस धेरै थियो । त्यसमा मलाई जज गर्ने मौका पनि धेरै थियो । ‘गौरी’मा कम स्पेस छ । त्यसैले यसमा मलाई जज गर्ने मौका पनि कम पाउनुहुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC