site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
खतरामा राष्ट्रियता र लोकतन्त्र 

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण अझै पनि चर्चामै छ । नेपालमा दुई साता जतिमात्र बढी चर्चामा रहे पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यममा भने राष्ट्रपति सीको भ्रमण, त्यसको प्रभाव र परिणामको आकलन अझै भइरहेको छ । नेपालीले पढ्ने र पहुँच भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यममा अधिकांश उदार पश्चिमप्रति झुकाव राख्नेहरू नै छन् । यसैले पनि सीको भ्रमणलाई बढी शंकालु आँखाले हेरेर विश्लेषण गरिएको छ । 

राष्ट्रपति सीको भ्रमणपछि नेपाल पूरै चीनको पोल्टामा गयो भन्ने भारतीय संस्थापनसँग नजिक रहेकाहरूको विश्लेषण पूर्ण सत्य भने होइन । तर, सीको भ्रमणअघि देखिकै घटनाक्रमले नेपाललाई भारतबाट ‘पर’ र चीनसँग ‘वर’ बनाउँदै लगेको भने पक्कै हो । यसमा चिनियाँ पक्षको नेपाली भावनाको सम्मान गर्ने व्यवहार र भारतको ‘ठूल्दाइ’ प्रवृत्ति मूल कारक हो । 

नेपालसँगको सम्बन्धमा चीन, भारत र पश्चिमको पनि आआफ्नै स्वार्थ छन् । यो अस्वाभाविक पनि हैन । यस्तै कुनै पनि देशको विदेश नीति मूलतः राष्ट्रिय स्वार्थप्रेरित हुनु पनि अनौठो हैन । चीनको विश्व राजनीति र आर्थिक रंगमंचमा हैसियत माथि उठेको छ । भारत पनि बिस्तारै माथि उक्लँदै छ । 

Agni Group

पश्चिमी मूल्य मान्यता विशेषगरी वैयक्तिक स्वतन्त्रता विश्वव्यापी हुँदै गए पनि प्रभाव भने युरोप र अमेरिका दुवैको खुम्चिँदै गएको छ । उदार मूल्यमान्यतामा अहिले अमेरिकामा जसरी नैै संस्थापन पक्षबाटै प्रहार भइरहने र युरोपका केही देशले आप्रवासीप्रति अपनाएको अनुदार व्यवहार बढ्दै जाने हो भने संसारभर पश्चिमी प्रभाव मेटिँदै जानेछ । 

चीनको नेपाल नीति मूलतः तिब्बतलाई हेरेर निर्धारित हुने गरेको हो । अब चीनले लगानी बढाउने अनुकूल वातावरण पनि हेर्न लागेको पछिल्ला सम्झौता र प्राथमिकताबाट स्पष्ट हुन्छ । नेपाल सधैँ नै ‘एक चीन’को पक्षमा रहेको छ । ताइवानलाई हटाएर मूलभूमि चीनलाइ संयुक्त राष्ट्रसंघमा स्थान दिलाउन नेपालले सधैँ नै आवाज उठाइरहेको चीनको संस्थागत स्मृतिमा पक्कै छ । 

Global Ime bank

यस्तै, तिब्बती सशस्त्र विद्रोही (खम्पा)हरूको दमनमा आफ्नै सेना परिचालन गरेर पनि नेपालले चीनलाई गुन लगाएको हो । यद्यपि, तिब्बतीहरूलाई मानवीय शरण दिनुपर्ने कर्तव्यबाट पनि नेपाल विचलित भएन । तिब्बती शरणार्थीलाई आश्रय दिएकोमा पश्चिम पनि नेपालसँग खुसी नैै भएको थियो । नेपालमा चीन विरोधी विशेषगरी ‘स्वतन्त्र तिब्बत’सम्बन्धी गतिविधि गर्न नदिने तर शरणार्थीहरूलाई मानवीय सहयोग दिने नेपाली व्यवहारको चीन र पश्चिम दुवैले सराहना गर्दैआएका थिए । 

चीन केही अगाडिसम्म पनि नेपालको आन्तरिक राजनीतिमा तटस्थ रहिआएको थियो । यही कारणले चीनका हकमा नेपाली राजनीतिका मूल शक्तिहरू सबै नै सकारात्मक रहेको हुनुपर्छ । नेपाली कांग्रेसको चिनियाँ कम्युनिस्ट पार्टीसँग पनि सम्बन्ध रहिआएको छ । यथार्थमा भारतका कुनै पनि राष्ट्रिय दलहरूसँग भन्दा चिनियाँ कम्युनिस्ट पार्टीसँग नेपाली कांग्रेसको सम्बन्ध निकट देखिन्थ्यो । यसैले पनि चीनका लागि नेपाल ‘अजात शत्रु’को देश हुन पुगेको हो ।

दुई सार्वभौम देशहरूबीच नेपाल र भारतको जस्तो सम्बन्ध संसारमै बिरलै पाइन्छ । यही निकटताले सम्बन्धलाई केही जटिल पनि बनाएको छ । जनस्तर र सांस्कृतिक सम्बन्धमा राजनीतिक उतारचडावको प्रभाव कहिल्यै परेन तर भारतीय संस्थापनले भने नेपाललाई स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा व्यवहार गर्न रुचाएको देखिएको छैन । 

नेपालमा जनस्तरमा सबैभन्दा बढी भारतीय कला, संस्कृति, भाषा र वस्तु रुचाइन्छ । नेपालीहरूको शिक्षा, स्वास्थ्यदेखि पर्यटन र तीर्थाटनको पनि पहिलो गन्तव्य भारत नै हो । तैपनि, नेपालमा भारतको संस्थापनप्रति सधैँ नै अविश्वास र आशंका रहिआएको छ र यसको कारण नेपाली राष्ट्रियताप्रति भारतीय व्यवहारमा देखिने उपेक्षा हो । नेपालमा चीनको बढ्दो प्रभाव र त्यसप्रति नेपालका सबै शक्तिको समर्थन तथा अत्यन्त मुखर नागरिक समाजकोसमेत सद्भाव देखेर अहिले भारतीय संस्थापन चकित भएको हुनुपर्छ ।

पश्चिमका लागि सन् १९५० को दशकपछि मात्र नेपाल खुला भएको हो भने पनि हुन्छ । तर, अपेक्षाकृत उदार नेपाली समाजले पश्चिमी मूल्यमान्यता विशेषगरी व्यक्तिगत स्वतन्त्रता रुचाउन थाल्यो । शिक्षा र प्रविधिको विकाससँगै नेपालीहरूले पश्चिमलाई चिन्न थाले । आवागमनसँगै बसाइँसराइ बढ्यो । अहिले पश्चिमी मुलुकहरूमा नेपाली नपुगेको ठाउँ भेट्टाउन कठिन हुन्छ । सँगै भारत र चीनको बीचमा रहेको रणनीतिक महत्त्वको नेपालमा प्रभाव जमाउने लोभ पश्चिमालाई पनि भयो । बेलाबखत उनीहरू नेपाली राजनीतिमा समेत चाख राख्न थाले । तर, पछिल्लो समयमा नेपाल पश्चिमको प्रतिद्वन्द्वी चीनतिर ढल्किएको देखेर झस्किएको हुनसक्छ ।

हुन पनि राष्ट्रपति सीको उदयपछि चीनको विदेश नीति अपेक्षाकृत ‘आक्रामक’ हुँदै गएको देखिएको छ । प्राविधिक एवं आर्थिक प्रगतिमा पश्चिमलाई उछिन्ने महत्त्वाकांक्षाले चीन  अब विश्वव्यापी सञ्जाल विस्तार गर्नेतिर लागेको छ । संसारभर पुग्ने हो भने ढोकैका दक्षिण र दक्षिण पूर्वी एसियामा दह्रो पाइला टेक्नुपर्ने यथार्थ चीनले बेलैमा बुझेको देखियो । दक्षिण पूर्वी एसिया चीनका लागि उति सहज भएन । भारतीय ‘ठूल्दाइ’ व्यवहारबाट आजित दक्षिण एसिया भने चीनप्रति अपेक्षाकृत बढी आकर्षित देखियो । 

पाकिस्तान त यसै पनि भारतका विरुद्ध चीनको साथमा छँदै थियो श्रीलंका, बंगलादेश, नेपालमात्र हैन भुटानमा समेत चीनसँग सम्बन्ध बढाउने आतुरता देखियो । यीमध्ये नेपालमा राजनीतिक सिद्धान्तका दृष्टिमा समेत निकट नेपाल कम्युनिस्ट पार्टी सत्तामा हुनु चीनका लागि बढी उत्साहको विषय बन्यो । आर्थिकमात्र हैैन राजनीतिक प्रणाली पनि प्रयोग गर्न नेपालमा सकिने सम्भावना चीनका कम्युनिस्ट सिद्धान्तकारहरूले देखेको हुनसक्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूलाई नेपालमै ‘सी विचारधारा’को प्रशिक्षण दिएर यसको परीक्षण थालिएको हुनुपर्छ । पछिल्ला दिनमा सरकारमा रहेका र नरहेका नेपालका कम्युनिस्ट नेताहरूका अभिव्यक्तिमा अधिनायकवादप्रतिको मोह स्पष्टसँग मुखरित हुनथालेको छ ।

पश्चिमबाट नैतिक समर्थनबाहेक सम्भवतः चीन र भारतका सामु नेपालले अरू धेरै अपेक्षा गर्न सक्तैन । चीनको विस्तार रोक्नैका लागि पनि भारत र पश्चिमको सम्बन्ध थप निकट हुनु अवश्यंभावी छ । त्यस अवस्थामा पश्चिमको नेपाल नीति भारतीय दृष्टिबाट निर्धारित हुनेछ । सन् २०१५ को भूकम्पले थिलोथिलो भएको नेपालमाथि भारत नाकाबन्दी लगाउँदा पश्चिम या त चुपै रह्यो नभए बेलायतले जसरी भारतकै स्वरमा स्वर मिलायो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाल राष्ट्रकै अपमान हुने अशीष्ट टिप्पणीसमेत गरे । यसले नेपाली समाजमा पश्चिमप्रतिको आकर्षण त घटेको छैन तर पश्चिमी नीतिहरू प्रति समर्थन कम भएको छ । यही मौका छोपेर अनुदार अधिनायक वादीहरूले स्वतन्त्रता र समानताजस्ता मूल्यहरूमाथि आक्रमण गर्न थालेका छन् । 

बढ्दो चिनियाँ प्रभावमा नेपालमा ‘सी विचारधारा’को प्रयोगका नाममा अधिनायकवादी शासनको प्रारुपमा परिणत हुनसक्छ । भारतीय संस्थापनले भने नेपालीको मन जित्न नेपालको सार्वभौम सत्ताको सम्मान गर्नुपर्छ भन्ने अझै जानेजस्तो छैन । यसैले नेपालीको मनमा भारतबाट राष्ट्रियतामा खतरा छ भन्ने धारणा छँदैछ । चीनसँग यतिन्जेल जनमानस डराएको थिएन तर अब लोकतन्त्रमा ड्रागनको कालो छाया पर्ने सन्देह उत्पन्न भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको सहयोगका नाममा नेपाल कम्युनिस्ट पार्टीलाई साधन स्रोत ओइरो लगाउन सुरु गरियो भने अधिनायकवादको जोखिम त पक्कै बढ्छ । पश्चिमको रुचि पहिलेजस्तो लोकतान्त्रिक मूल्यको रक्षामा हैन धर्मान्तरणको पक्षमा केन्द्रित देखिन्छ । अर्थात्, देशबाहिरबाट नेपाल असुरक्षित हुँदै गएको छ । नेपालले भारतबाट सार्वभौमसत्ता र चीनबाट लोकतन्त्र जोगाउनुपर्ने अवस्था छ ।

नेपालका लागि राष्ट्रियता र लोकतन्त्र दुवै एकअर्कासँग गाँसिएका छन् । बीपी राष्ट्रियता र लोकतन्त्र सँगसँगै गएमात्र बलियो हुन्छ भन्ने मान्यता राख्थे । इतिहास साक्षी छ नेपालमा एउटाको अभावका अर्को पनि संकटमा परिहाल्छ । यद्यपि, राष्ट्रियता जोगाउन सके लोकतन्त्र पुनःस्थापना गर्न सकिने हाम्रो इतिहास छ । त्यही मान्यता राखेर बीपी कोइराला सन् १९७६ मा नेपाल फर्केका थिए । यद्यपि, अहिले सबैले बीपी र उनको विचार बिर्सिसकेको देखिएको छ ।

उदार लोकतान्त्रिक मूल्यविनाको पश्चिम संसारका लागि बोझमात्रै हो । अहिले देखिएको ट्रम्पवादी प्रवृत्ति युरोपमा पनि बढ्दै जाने हो भने पश्चिमको अर्थ र सन्दर्भ सकिनेछ । आशा गरौँ, एक्काइसौं शताब्दीमा भारतले अब नेपालको सार्वभौमसत्ताको सम्मान गर्नेछ र नेपालमा अस्थिरता निम्त्याउन चलखेल गर्नेछैन । चीनले पनि नेपालमा अधिनायकवादी शासनको स्थापना वा विस्तारका लागि आर्थिक, भौतिक र प्राविधिक सहायता दिएर उक्साउनेछैन । 

तैपनि, राष्ट्रियता र लोकतन्त्र जोगाउन त नेपाली स्वयं नै सततः जागरुक हुनैपर्छ ! 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १७, २०७६  १३:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC