को हुन् प्रदेश प्रमुखमा सिफारिस गरिएका सातजना ?

को हुन् प्रदेश प्रमुखमा सिफारिस गरिएका सातजना ?

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठकले आज सातजनालाई प्रदेश प्रमुखका लागि चयन गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

यस्तो छ सिफारिस भएका सातजनाको पृष्ठभूमि

नगरमा चुनाव हारेका प्रसाईं
प्रदेश प्रमुखका लागि सिफारिस भएका विष्णु प्रसाईं पाका कम्युनिस्ट नेता हुन् । प्रसाईं झापा विद्रोहपूर्व नै कम्युनिस्ट पार्टीमा हेलिएको उनका समकालीनहरू बताउँछन् ।

झापा विद्रोहको रापतापमा खारिएका प्रसाईं २०४४ सालमा जनपक्षीय उमेदवार बनेर निर्वाचितसमेत भएका थिए ।

बहुदल स्थापनापछि उनी तत्कालीन झापा जिल्लाको जिविस सभापति निर्वाचित भएका थिए । २०५६ मा पार्टी विभाजन हुँदा उनी झापा क्षेत्र नम्बर ३ मा एमालेबाट चुनाव लडेका थिए । काङ्ग्रेसका नरेन्द्रविक्रम नेम्वाङसँग पराजित भए उनी । २०६४ सालको निर्वाचनमा झापा–१ बाट उमेदवार बनेका प्रसाईं त्यसबखत पनि निर्वाचित हुन सकेनन् । तत्कालीन नेकपा (माओवादी)का उमेदवारसँग पराजित भए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा मेचीनगर नगरपालिकाको मेयर पदमा उठेका थिए । तर काङ्ग्रेसका विमल आचार्यसँग पराजित भए ।

त्यसो त प्रसाईं २०५२ सालमा चिया विकास निगमको कार्यकारी प्रमुखसमेत बनेका थिए ।

पाका वाम नेता यादव

तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका यादव सिराहाको सुखीपुर नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

पञ्चायतकालमा स्थानीय एक विद्यालयमा प्रधानाध्यापक भएका यादव राजीनामा गरेर निर्वाचनमा होमिएका थिए । २०४८ र २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी सिराहाबाट पराजित भएका थिए । यादव मध्य तराईमा पुराना र पाका वामपन्थी नेता मानिन्छन् । राष्ट्रपति विद्या भण्डारीको सिफारिसमा उनलाई प्रदेश प्रमुख बनाउन लागिएको नेकपाका एक नेताले जानकारी दिए । यादव ७५ वर्ष उमेरका छन् ।

प्रधानाध्यापकदेखि प्रदेश प्रमुखसम्म कलौनी

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बसोबास गर्दै आएका गोविन्द कलौनी २०१२ साल जेठ २९ गते बैतडीको तत्कालीन रिम गाविसमा जन्मिएका हुन् ।

२०४८ सालमा डडेल्धुरा, २०५६ मा बैतडी र २०६४ मा कञ्चनपुरबाट निर्वाचनमा लडेका थिए उनी । तीनैपटक चुनाव उनका लागि अनुकूल हुन सकेन । २०३५ सालदेखि ०३७ सालसम्म अनेरास्ववियु (तत्कालीन एकताको पाँचौं) बाट राजनीति सुरु गरेका कलौली २०३९ सालदेखि २०४१ सम्म डडेल्धुरामा तत्कालीन ‘मार्क्सवादी अध्ययन दल’ (नेकपा माले) को प्रमुख भएर काम गरे ।

२०४७ सालमा माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिएर पार्टीको पूर्णकालीन सदस्य बने । २०५० सालमा नेकपा (एमाले) डडेल्धुराका संस्थापक सचिव भएका कलौनी २०५२ सालमा नेकपा (एमाले) बैतडी जिल्ला कमिटी सचिव, २०५४ सालमा नेकपा (माले) केन्द्रीय कमिटी सदस्य (महाकाली इन्चार्ज) हुँदै २०५९ सालमा नेकपा (एमाले) केन्द्रीय लेखा परीक्षण कमिटीको सदस्य भए ।

२०६४ सालमा आठौं राष्ट्रिय महाअधिवेशन आयोजक कमिटी सदस्य रहेका कलौनी २०६५ सालमा आठौं राष्ट्रिय महाअधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी दिएका थिए । हाल उनी नेकपाको महत्वपूर्ण जिम्मेवारीमा छैनन् । 

दलित मोर्चा हुँदै प्रदेश प्रमुख

रोल्पाको लिवाङमा जन्मिएका तत्कालीन माओवादी नेता तिलक परियार ‘हिम्मत’ पनि प्रदेश प्रमुखका लागि नेकपाबाट सिफारिस भएका छन् । परियार तत्कालीन एकीकृत माओवादी निकट नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा केन्द्रीय समितीको संयोजक तथा पार्टीका केन्द्रीय सल्लाहकारसमेत भएका थिए ।


२०२८ सालदेखि राजनीतिमा सक्रिय भएका परियारले १० वर्षे माओवादी द्वन्द्वको समयमा लामो समय भारत प्रवासमा रहेर पार्टी कामको संयोजन गरे । पछि भारतबाट फर्किसकेपछि उनी बाँकेमा नै बसाइँ सरे । अन्तरिम व्यवस्थापिका संसद सदस्यसमेत रहेका परियार २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा बाँके १ बाट विजयी भएका थिए । स्नातक तहसम्मको औपचारिक अध्ययन गरेका परियार हाल नेकपाका केन्द्रीय सदस्यको जिम्मेवारीमा छन् ।

जनमोर्चाको अध्यक्ष हुँदै प्रदेश प्रमुख

निर्मल लामा समूहसँग नजिक रहेर वामपन्थी राजनीति गरेका अमिक शेरचन प्रदेश प्रमुख सिफारिस भएका छन् । संयुक्त जनमोर्चा नेपालको अध्यक्ष भएको शेरचन म्याग्दीमा जन्मिएका हुन् । माओवादीलाई शान्तिपूर्ण राजनीतिमा अवतरित गराउने मध्येका एक नेता शेरचन सात राजनीतिक दलको नेतृत्वमा सञ्चालिन संयुक्त सङ्घर्ष समितिका सदस्य पनि हुन् ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री भइसकेका शेरचन गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र मानिन्थे । शान्ति प्रक्रियामा आएपछि २०६५ सालमा जनमोर्चा माओवादीमा समाहित भएको थियो । 

राष्ट्रिय पञ्चायत सदस्यदेखि प्रदेश प्रमुखसम्म

सोमनाथ अधिकारी प्यासी कास्कीका पुराना कम्युनिष्ट नेता हुन् । कुनैबेलाका राष्ट्रिय पञ्चायत सदस्य प्यासी आसन्न उपनिर्वाचनमा उम्मेदवारका आकाङ्क्षी समेत थिए । तर, नेकपाले दिवङ्गत रवीन्द्रपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको भोलिपल्टै प्यासीलाई प्रदेश प्रमुख तोकेको छ ।

२००७ साल पुस २२ गते कास्कीको बाटुलेचौरमा जन्मिएका प्यासी २०२४ को प्रवेशिका परीक्षापछि उनले २०२५ बाट ढिकुरपोखरीको पाउँदुरको स्थानीय विद्यालयमा पढाउन थाले । त्यति नै बेला अधिकारी सहित १२ जनाले गण्डकी–धौलागिरी कम्युनिष्ट क्रान्तिकारी पार्टी गठन गरे । पार्टीले उनलाई पृथ्वीनारायण क्याम्पसको जिम्मेवारी दियो । पार्टीको ०२७ सालको अन्त्यतिर भर्ना भएपछि प्रगतीशिल विद्यार्थीको तर्फबाट स्ववियु सभापतिमा होमिए र विजयी पनि भए । २०२८ साल जेठमा उनी गिरफ्तार भए । एक महिनापछि उनी छुटे ।

स्ववियु कार्यकाल सकिएपछि २०३० पछि पुनः शिक्षण पेशामै फर्किए । दिउँसो शिक्षण पेशामा आबद्ध भएता पनि साँझमा भने अभिभावकसँग संगठन बनाउने कार्यमा लागे । २०३१ सालमा पुनः उनीविरुद्ध ‘वारेन्ट’ जारी भयो । उनलाई घरबाटै सशस्त्र हतियारधारी प्रहरीले घेरा हाली गिरफ्तार गरे । गिरफ्तारको ९ दिनमै उनलाई जोमसोम कारागार चलान गरियो । त्यसको ९ महिनापछि उनी २०३४ मा नख्खु कारागार चलान भए । जेलबाट छुटेपछि २०३६ को विद्यार्थी आन्दोलनमा उनी कास्कीमा आएर सक्रिय भए ।

विद्यार्थी आन्दोलनकै क्रममा उनीमाथि निर्घात कुटपिट समेत भएको थियो । २०३६ सालको चुनावबाट दोस्रोपटक उनी पिएन क्याम्पसमा सभापति चुनिए । तत्कालीन मालेको राजनीतिमा सक्रिय प्यासी माक्र्सवादीसँगको एकीकरणपछि नगर कमिटी सचिव हुँदै जिल्ला कमिटी उपसचिव बनेका थिए । 

२०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचनमा पहिलोपटक राष्ट्रिय पञ्चायत सदस्यको रुपमा चुनिए । त्यतिबेला देशभरिमा मालेका जम्मा पाँचजना निर्वाचित भएका थिए । राष्ट्रिय पञ्चायत संसदमा नै बहुदलीय व्यवस्था र जनसंविधानसभाको माग गरेपछि उनलाई १५ दिन पदबाट निलम्बन समेत गरिएको थियो । बहुदलीय व्यवस्था स्थापनापछि उनी तीन कार्यकाल १२ वर्षसम्म कास्कीको पार्टी सचिव भए । २०४८ सालको आम निर्वाचनमा कास्की–३ सांसद पनि भए । ०५१ को मध्यावधि र ०५६ को आम निर्वाचनमा उम्मेदवार भए पनि विजयी भने हुन सकेनन् । पार्टीमा भने उनी आठौँ र नवौँ महाधिवेशनबाट निर्वाचन आयोग प्रमुखका रूपमा काम गरेका थिए । 

बेपत्ता परिवारकी सदस्य त्रिपाठी

२०२५ साल पुस ९ गते चितवनमा जन्मिएकी शर्मिला पन्त त्रिपाठी बेपत्ता परिवारकी सदस्य हुन् । उनका श्रीमान् ज्ञानेन्द्र त्रिपाठी जनयुद्धका क्रममा राज्यपक्षबाट बेपत्ता पारिए । २०६० साल असोज ९ गते हराएका ज्ञानेन्द्रको अहिलेसम्म केही टुङ्गो लाग्न सकेको छैन ।

तत्कालीन नेकपा माओवादीबाट राजनीतिक यात्रा तय गरेकी शर्मिलाले राजनीति शास्त्रमा स्नातकोत्तर गरेकी छन् । 

श्रीमान् बेपत्ता भएपछि शर्मिला तत्कालीन एकिकृत माओवादी निकट राज्यद्धारा वेपत्ता योद्धा समाजको अध्यक्ष समेत की थिइन् । माओवादी पार्टीमा भने उनी महत्वपूर्ण र कार्यकारी पदमा थिइनन् ।


 

प्रतिकृया दिनुहोस
ad