काठमाडौं । सरकारले कृषिमा युवा कार्यक्रम लागु गरेको छ । कृषि पेशालाई मर्यादित एवं व्यवस्थित गर्न एकिकृत रूपमा पूँजी र प्रक्रिया प्रवाह गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने र स्वरोजगार प्रवर्द्धनमार्फत ग्रामिण एवं कृषि क्षेत्रबाट युवा पलायनलाई न्यूनीकरण गर्दै मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्याउने उद्देश्यले सरकारले “कृषिमा युवा कार्यक्रम संचालन प्रक्रिया, २०७६ स्वीकृत गरी लागु गरेको हो ।
कार्यक्रमअर्नतग कृषि उद्यम तथा कृषि कर्म गर्न चाहने युवाले २० लाख रुपैयाँसम्मको रकम अनुदान स्वरुप पाउँनेछन् ।
मन्त्रालयका अनुसार कार्यक्रममा सहभागी जनाउने युवा १८ देखी ४५ बर्ष उमेर समुहका नेपाली नागरीक हुनुपर्ने छ । त्यसैगरी प्रचलित कानुनले अयोग्य नठहरिएको, आफ्नै स्वामित्वमा जग्गा भएको (जग्गाको क्षेत्रफल र भोगाधिकार खुल्ने प्रमाण) वा एकाघरको जग्गा भए कार्यक्रम सञ्चालन गर्न जग्गाधनीको मन्जुरीनामा, भाडामा लिएको भए सम्झौताको (न्युनतम ५ बर्षको) प्रतिलिपी सहित जग्गाको स्वामित्व वा भोगाधिकारको प्रमाणपत्र (कानूनी आधार खुलेको), कुल लागतको कम्तिमा ५० प्रतिशत व्यहोर्ने क्षमता रहेको पुष्टि गर्ने प्रमाण र कागजात ,व्यवसाय संचालनको लागि स्थानीय तहको सिफारिस पत्र, विगत ३ बर्षमा नेपाल सरकारका कुनै पनि निकायबाट सम्झौता गरी न्यूनतम ३ लाख वा सो भन्दा बढी उस्तै प्रकृतिको कार्यक्रममा अनुदान प्राप्त नगरेको स्वघोषणा पत्र र विज्ञापनमा तोकिए बमोजिमका सर्त आवेदकले पालना गर्नुपर्ने छ ।
त्यसैगरी, कार्यक्रम संचालन प्रक्रिया अनुसार सञ्चालित कार्यक्रम सम्पन्न भए पश्चात कम्तिमा तीन वर्षसम्म निरन्तरता दिनु पर्नेछ । अन्यथा अनुदान सम्बन्धी संचालन प्रक्रियामा उल्लेख भए अनुरुप अनुदानको रकम सरकारी बाँकी सरह असुल उपर गर्न सकिनेछ । तर कुनै प्रकारको काबु बाहिरको परिस्थितिबाट क्षति भएको अवस्थामा भने कारवाही हुनेछैन ।
विपदजन्य क्षतीको प्रमाणित विवरण (मुचुल्कार स्थानीय तहको सिफारिस र प्रहरी प्रतिवेदन सहित) भने १५ दिनभित्र लिखित रुपमा अयोजना कर्यान्वयन ईकाईलाई बुझाउनु पर्नेछ ।