site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
 ठूलो मान्छे
Sarbottam CementSarbottam Cement

नीरज दाहाल


अभिनव करिब २० वर्षपछि फेरि काँकडभिट्टा आइपुगेको छ । 

हुन त उसको घर भएको ठाउँ बुधबारे काँकडभिट्टाबाट एक घण्टाजतिको दूरीमा होला । तर गएका २० वर्षमा ऊ पढाइका क्रममा काठमाडौं र त्यहाँबाट अझ उच्चतर शिक्षाका लागि अमेरिका गयो । बीचबीचमा घर नआएको होइन । तर काँकडभिट्टै जानुपर्ने चाहिँ त्यस्तो केही परेको थिएन । ऊ गएन । 

Prabhu Bank
Agni Group
NIC Asia

काँकडभिट्टासँग अभिनवको बालापन गाँसिएको छ । ऊ यहीँ जन्मियो । पछि उसका बुबाले बुधबारे सर्ने भनेर अकारण एक जना आफन्तको बारी बारेर बस्ने निर्णय लिएर सरेपछि काँकडभिट्टा उसका लागि सुदूरको एउटा बिझाइरहने सम्झना बन्न पुगेको हो । बुबाले इलामबाट काँकडभिट्टा बसाइ सरेर आएको कुरा भने पनि आमाबाट अभिनवले अरु नै कुरा सुनेको थियो । परिपक्व हुँदै गएपछि उसलाई बुबाको भन्दा आमाको कुरा बढी विश्वासनीय लाग्यो । आमा बेलाबेलामा नजानिँदो पाराले भन्थिन्, “हामी भुटानबाट सिक्किम हुँदै यहाँ आएका हौं ।” भुटानचाहिँ कहाँबाट पुगे, उसले चासो गरेन । बुबाको कथनमा टेकेर सोच्यो, भुटानचाहिँ इलामबाट हान्निएका हुन सक्छन् । 

जीवनका पहिलो बाह्र वर्ष काँकडभिट्टामा बिताएपछि अभिनव बाआमासँगै बुधबारे सरेको थियो । अन्तरालमा ऊ धेरै पटक आयो, गयो । तर पढाइले काठमाडांै र फेरि अमेरिका हुत्याएपछि भने उसको आगमन पातलो बनेको हो । 

Global Ime bank

ती बाह्र वर्षमा अभिनवको शरीरबाट काँकडभिट्टाको माटोमा धेरै खसेका थिए, पसिनाका थोपा । धेरै बनेका थिए, पाइतालाका डोब । धेरै धेरै नै झाँगिएका थिए, बालसुलभ सपनाहरु । यी सबै सम्झनाको साक्षी थियो, एउटा ठूलो ढुङ्गो मेची पुलको नेपालपट्टिको किनारछेउ । आज २० वर्षपछि ऊ यहाँ आउँदा पनि त्यस ढुङ्गोमाथि मौजुदै थियो, ऊ हुनुको आस्तित्विक छाप । उसले ढुङ्गामाथि कुँदेर छाडेको थियो, एउटा तिलस्मी वाक्यांश— ठूलो मान्छे । 
यसको एउटा पृष्ठभूमि थियो । 

अभिनव सानै थियो । उसका बाउ काममा भनेर बिहानै जान्थे, खै कता हो कता । साँझ घर फर्कन्थे । आमा मेची किनारमा बल्छी थापेर माछा मार्थिन् । दिउँसो अभिनव स्कुल जान्थ्यो । र अपराह्न आमासँगै मेची किनारमा हुन्थ्यो । बर्खायाममा नदीमा पानी अत्यधिक हुने र बेलाबेलामा बाढीको पनि समस्या हुने हुनाले यो क्रम अलि पातलिन्थ्यो । तर प्रायः महिनाहरुमा यो चल्थ्यो । 

आमाले माछा मारिरहँदा अभिनव नदी किनार र त्यस आसपासका गतिविधि नियोल्थ्यो । र बेलाबेलामा आएर आमालाई यो वा त्यो प्रश्न सोधिरहन्थ्यो । आमा पनि जानेसम्म भन्दिन्थिन् । तर बल्छीमा माछो अल्झिन लागेको बेला प¥यो भने परै उभिन सङ्केत गर्थिन् । यो उनीहरुको जीविकासँग गाँसिएको साङ्केतिक भाषा थियो । अभिनव बुझ्थ्यो । 

अभिनवसँग मेची किनारमा खेल्ने साथीहरुको एउटा सानो समूह पनि थियो । कुराकानीबाटै अभिनवले थाहा पाएको थियो । उनीहरुमध्ये अधिकांश डेरावालाका छोराछोरी थिए । स्थायी परिवारका सदस्य थिएनन् । अभिनवसँग आमाबाट सुनेको भुटानको एउटा अतिरिक्त कथा पनि थियो । त्यसै अतिरिक्त कथाले उसलाई समूहको नाइके पनि बनाएको थियो । समूहमा खै कति कारणले हो, मेची वारि आएर पसल थापेका बङ्गालीकी छोरी रुपाली, बिहारीको छोरो इलियास र राजवंशीकी छोरी अन्जना पनि थिए । केटाहरु त कति हो कति थिए; केके जातका । उसलाई पनि हेक्का थिएन । तर उनीहरु सबैलाई अभिनवको नेतृत्व स्वीकार्य थियो । अभिनवले सबैलाई भन्ने गरेको थियो, “हामी सबै ठूला मान्छे हुने ।” उसले यो गुरूमन्त्र आमाबाट सिकेको थियो । विभिन्न समयमा उसले आमासँग संवाद गरिरहन्थ्यो—

“आमा ! यत्रो खोलामा यत्रो पुल कसले बनायो ?”
“ठूला मान्छेले ।”
“किन ?” 
आमा मौन । 
“आमा ! पूल पारिपारि मान्छेले किन्ने र बेच्ने गरेका पैसा कसले बनाउँछ ?”
“ठूला मान्छेले ।”
“किन ?” 
आमा मौन ।
“आमा ! अब फेरि हामीलाई हाम्रो भुटान घर कसले पु¥याउँछ ?”
“ठूला मान्छेले ।”
“हामीलाई यहाँ ल्याएको चाहिँ कसले ?”
आमा मौन । 
“आमा ! अन्जनाको बाबा हाकिम हो रे । मेरो बाबा के हो ?”
“ठूलो मान्छे । चुप लाग् है बाबु ।”

अभिनवले आमासँग अरु पनि धेरै संवाद गरेको थियो । तर ऊ केटाकेटी अरु धेरै कुरा बुझ्दैनथ्यो । धेरै कुराको जवाफमा आमा मौन बस्थिन् । आमा नै मौन बसेपछि यस्ता सवाल चर्चामा आउँदैनथे । एउटा प्रश्नको जवाफले भने ऊ धेरै प्रभावित भएको थियो । पुल वारि र पारि खडा नेपाली र भारतीय सेनाको बारेमा उसले आमालाई सोधेको थियो, “आमा ! यिनीहरु को हुन् ? के र्गछन् ?”

आमाले भनेकी थिइन्, “बाबु ! यी सेना हुन् । मान्छेको सुरक्षा गर्छन् । सबैलाई सहयोग गर्छन् । ठूला मान्छे हुन् ।”

अभिनवको मस्तिष्कमा बन्दै गरेको ठूला मान्छेको छायाचित्रमा पछिल्लो समय थपिएको शब्द थियो— सेना । 

अभिनवले आफ्नो समूहको नाम ‘सेना’ भन्थ्यो । सुक्खा याममा उनीहरु नदीमा फालिएका कागज, प्लास्टिक र अन्य बजारू अथवा औद्योगिक फोहोर सफा गर्थे र खाल्डोमा हाल्थे । सडकतिर कुदिहिँड्ने सडक बालबालिका देखे भने समातेर मोचीमा लान्थे । हातगोडा धोएर सफा बनाउँथे र छाडिदिन्थे । सडक वरिपरि छोडिएका गाईबाच्छा देखे भने माया गरेर सुमसुम्याउँथे, मेचीबाट पानी बोकेर खुवाउँथे अथवा किर्नाहरु टिपिदिन्थे । काँकडभिट्टाको बसपार्क वरिपरि देखापर्ने अशक्त, भिखारी अथवा कुष्ठप्रभावितलाई आफूसँग भएको दुईचार पैसा वा खाने कुरा बिनासङ्कोच बाँड्थे । एक अर्थमा उनीहरु अभिनवकी आमाले कल्पना गरेका ठूला मान्छेका आदर्श र व्यवहार बाँच्थे । 

यसैबीच कहिले आमासँग त कहिले बुवासँग अभिनवले धेरै पटक मेची पुल तरिसकेको थियो । अब त ऊ दगुरेर एक्लै वारिपारि गर्न पनि डराउन छाडिसकेको थियो । 

एक दिन मेची पुलको पल्लोपट्टि थियो, अभिनव । स्पष्टै चिनिने एउटा नेपाली परिवार टाटा मोबाइलमा राखिएका घरका बोरियाबिस्तरासहित पुल काटेर नेपालतिर पस्यो । कुनै अवरोध देखिएन । एकै छिनपछि एउटा लैनो गाई डो¥याउँदै एक जना पुरूष त्यसै गरी आए । गाई कट्यो । केही मिटरको दूरीमा त्यस गाईको बाच्छो डो¥याउँदै आएको एउटा किशोरलाई प्रहरीले रोक्यो । त्यसको माउले पुल काटेर पल्लोपट्टि पुगिसक्दा पनि बाच्छोले निकास पाएन । उतापट्टि पुगिसकेको बाउ माउ गाई छाडेर यतापट्टि आउन सकेन । 

करिब एक घण्टा चल्यो विवाद । प्रहरीले त्यस किशोरलाई दुईचार लाठी पनि हान्यो, अभिनवको आँखैअगाडि । बाच्छो निकै थकित, तृषित र असहाय देखिन्थ्यो । अभिनवको बालहृदय चस्कियो कतै । प्रश्न थियो, आमाले भनेका सबैका सहयोगी यी सेना किन यसरी निर्मम भइरहेका थिए यो बेला ? धेरैबेरको केरकारपछि त्यस किशोरले हातमा लगाएको घडी जिम्मा लगायो प्रहरीलाई र बाच्छोले निकासा पायो । यो घटनाले कलिलो अभिनवलाई धेरै दिनसम्म पिरोलिरह्यो । एक दिन साहस बटुलेर आमालाई सोध्यो “आमा ! सेनाले पनि त्यसो गर्न मिल्छ र ?”
“मिल्दैन ।”
“अनि किन ग¥यो त ?”
“पछि ठूलो भएपछि थाहा पाउँछस् ।”

अभिनवलाई अर्को एउटा घटनाको पनि मधुरो सम्झना आइरहन्छ । बुबाले एक दिन उसलाई काँकडभिट्टाको एउटा होटलमा पु¥याए । त्यहाँ दुई जना जवान महिला थिए । बुबाले अभिनवलाई भने, “यी तिम्री फुपूहरु हुन् । एक जना बिरामी छिन् । अर्कीचाहिँ कुरूवा । औषधि गर्न सिलिगुडी लानु छ तर पुलिसले दिँदैन । तिमी बिरामी बालक जस्तो गर । ठूली फुपूले बोकेर पुल तारिदिन्छिन् । तिमीलाई उपचार गर्न लगेको भन्नू भनेको छु ।”

एउटी फुपूले अभिनवलाई बोकिन् । उसलाई खटपट भयो । बाटोमा उसले सोध्यो, “फुपू, बिरामीलाई औषधि गर्न जान पनि किन दिँदैन पुलिसले ?”
“बाबु, तिमी सानै छौ । ठूलो मान्छे भएपछि थाहा हुन्छ । हस् ?”

अभिनवलाई ठूलो मान्छे हुन हतार लाग्यो । ऊ बुबासँग वा एक्लै मेची वारिपारि गर्न रमाउन थाल्यो । यहाँ ठूलो मान्छे हुने केही विधि अवश्यै सिकिएला भन्ने उसलाई लाग्यो । 

यसपछिका दिनमा अभिनवले धेरैपल्ट मेची पारि पुगेर चुरोट, खैनी, पानका पत्ता, जर्दा र अनेक थरीका गुट्खा ल्याएको थियो । बाटोमा थुप्रै आमा फुपूहरु पुल तर्दै गरेका भेटिन्थे र सबैका पोल्टा गर्भवती महिलाका जस्ता उठेका देखिन्थे । ऊ सोच्थ्यो, मेचीपारि ठूलो अस्पताल होला र ती आमादिदीहरु बच्चा जन्माउन त्यता जाँदा हुन् । कसैकसैलाई फर्कंदा पनि ऊ देख्थ्यो र पेट सामान्य लाग्थे । सोच्थ्यो बिचराहरुका बच्चा सायद जन्मनासाथ मरे भारतको अस्पतालमा । 

यी तमाम कुराको साक्षी अभिनवसँग अब समूहमा भन्न नयाँ र अर्कै खाले ठूला मान्छेका कथा पनि भए र सुनायो पनि । उसलाई लाग्थ्यो, ती कथाले उसलाई साथीहरुका नजरमा एउटा मायावी नायक जस्तो देखाउनेछ । तर साथीहरु उसले कल्पनै नगरेका कथा सुनाउँथे, मेची वा परिपारिका सिमानाका, चौबाटोका । 

एक दिन अभिनवलाई लिएर उसका बुबा मेचीपारि पानीट्याङ्की गए । उनले धेरै मान्छे भेटे । तीमध्ये एउटाले उनलाई थुप्रै ओटा कलम दियो र कानमा केही भन्यो । अभिनवका बुबाले उसलाई केही पैसा थिए । फर्कने बेलामा ती कलम उसलाई बोक्न लगाए र आफूभन्दा अगाडिअगाडि कुदेर पुल तर्ने आदेश दिए । उसले त्यसै ग¥यो । यो क्रम धेरै दिन चल्यो । उता पुगेपछि बुबा ती कलम खोस्थे र खै कता लान्थे वा बेच्थे अभिनवले थाहा पाएन । सोधेन पनि । धेरै दिनपछि अखबारमा खबर छापियो, कलमभित्र लुकाएर लागुऔषध ओसारपसार ।  

यस्ता धेरै अनुत्तरित प्रश्न मनमा हुँदाहुँदै अभिनवका बाबु हराए । आमाले पनि केही दिनपछि उसलाई लिएर काँकडभिट्टा छाडिन् । छरछिमेकमा खासखुस केही कुरा भने अभिनवले सुन्यो । मान्छे भन्थे, “अनेक गरेर ठूलो मान्छे हुन खोज्थ्यो, भेट्यो । उठिवास लाग्यो ।”
उसले ‘ठूलो मान्छे’ भनेकोचाहिँ प्रस्टै सुन्यो । अरु कुरा सुनेन । 

०००

अभिनव लामो समयपछि नेपाल फर्किएको हो । छोटो समयका लागि । ऊ एक हप्तादेखि काँकडभिट्टा आउने–जाने गरिरहेको छ । बजारमा, चौबाटोमा, नाकामा, मेची पुलमा, पुलवारि र पारि ऊ विविध गतिविधि हेरिरहेको छ । आवाज सुनिरहेको छ । भाषा मिश्रित छन् । अनुहारका रङ विविध छन् । हतारो जब्बरको छ सबैलाई । आँखाहरुमा कहिल्यै नमेटिने तिर्खा जस्तो केही टाँसिएको छ । कुरा सुन्दा लाग्छ, ती स्थायी होइनन् काँकडभिट्टाका । कसैको सपना दिगो र स्थायी लाग्दैन । लाग्छ, सबै एउटै कुरा पर्खिरहेछन्ः कहिले र कहाँबाट आउँछ कुनै निर्दोष मान्छे र कुन उपक्रमले उसको खल्तीको पैसा यिनीहरुको खल्तीमा सर्छ । बस् । 

खोलामा केही बच्चा उसको ‘सेना’को उत्तराधिकार ग्रहण गरेर सफाइ गरिरहेका छन् । चोकपट्टि सडक बालबालिकालाई सहयोग गरिरहेका छन् । भिखारी र कुष्ठरोग प्रभावितहरुलाई पानी खुवाइरहेका छन् । केही मेची पुलमाथिबाट वारिपारि गरिरहेका छन् । तिनीहरुका खल्ती भरिएका देखिन्छन् । तर त्यहाँ के छ ? अभिनवलाई थाहा छैन । 
अभिनवले धेरैबेर हे¥यो उसको ‘सेना’का ती उत्तराधिकारीलाई । हेर्दाहेर्दै ती बालकहरुको बिम्ब जादुयी पाराले फेरिएजस्तो भ्रम भयो उसलाई । ती हलक्कै बढे । ठूला भए हातहातमा हतियार बोकेजस्ता देखिए र मेची पुलमा यताबाट उता, उताबाट यता गर्न थाले । उसले जोडसँग आफ्नो टाउको उताउति हल्लायो । दृश्य पुरानै ठाउँमा आइपुग्यो । निर्दोष नै देखिए बालबालिका । 
उसले बाटोमा दुगुरिरहेको एउटा बालकले गुट्खा उदारेर मुखमा हालेको देख्यो । छेउमा गएर उसलाई रोक्दै भन्यो, “यो के खाको बाबु ?”
“पराग ।”
“कसले सिकायो खान ?”
“ठूलो दाइहरुले ।”
यति भनेर ऊ भाग्यो । अभिनवलाई भने तीतो केही पिएजस्तो भइरह्यो, धेरैबेर । 

सीमा क्षेत्रका अनेकानेक गतिविधि, होहल्ला, हतारो, जालसाजी, ठगी, दुर्गन्ध, दुव्र्यसन आदि हेर्दै ऊ मेची किनारको त्यसैले ठूलो ढुङ्गोछेउ पुग्यो, जहाँ उसको सेनाको अखडा थियो, कुनै बेला । ऊ ढुङ्गामाथि चढ्यो र थुचुक्क बस्यो । बर्सौंपछि आमाको काखमा आइपुगेको अनुभव भयो उसलाई । उसको सम्झनाको पटलमा खरर आए उसका प्रिय साथीका नामहरु । रुपाली, इलियास, अन्जना र अन्य धेरै साथीहरु सम्झँदा आँखामा अडिन सकेन भावनाको आकाश । बग्यो मेची बनेर । 

उसका हात बिस्तारै अगाडि बढे । छेवैबाट उसले एउटा सानो ढुङ्गो टिप्यो र आफ्नो सम्पूर्ण बल लगाएर उसले आफूले बर्सौंपूर्व त्यसै ढुङ्गामा अभिलिखित वाक्यांश ‘ठूलो मान्छे’बाट अघिल्लो भाग मेटायो । ‘मान्छे’ मात्र रह्यो त्यहाँ, वीभत्सताको रुपक बनेर । 

उसले यति गरिरहँदा अलि टाढा उभिएर उसलाई हेरिरहेको एउटा अर्धपागल जस्तो देखिने अधबैंसे मान्छे उसको नजिक आयो र भन्यो, “किन मेटाको ? अब तँलाई मार्छ अभिनवले ।”
“तिमी को हौ ?”

“म इलियास । अरु पनि आउँछन् कुन दिन र तँलाई पिट्छन् । कोही जेलमा छन्, कोही अस्पतालमा । सेना ठूलो बनेको छ हाम्रो । यो हाम्रो हेडक्वार्टर हो । अब तँलाई मार्छन् ।”

अभिनवले इलियासका आँखामा गाढा दृष्टि दागेर हे¥यो, धेरैबेर । इलियास अलि परै उभियो र यसै गरी हे¥यो, अभिनवलाई । दुवैका आँखाबाट आँसुका ढिक्का झरे र तल भुइँको ढुङ्गोमा मेटिएको ‘ठूलो’ शब्दको छातीमै बजारिए । टाढाबाट कसैले बोलाइरहेको थियो, “इलियास, छिटो यता आइज । पुलिस आउँदै छ ।” 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC