site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्रीका सल्लाहकारः साथमा भगवान त गधा पहलवान ! 

प्रधानमन्त्रीको सल्लाहकार भन्ने पद रमाइलो हुन्छ । बालुवाटारको पर्खालबाहिर सल्लाहकारको प्रतिष्ठा प्रधानमन्त्रीको भन्दा थोरै मात्र कम हो कि झैँ हुन्छ । अझ प्रधानमन्त्रीलाई नै सल्लाह दिने भनेपछि प्रधानमन्त्रीभन्दा बुद्धिमान र विद्वान् भन्ने पनि सोचिन्छ । प्रधानमन्त्रीले भाग लिने बाहिरी कार्यक्रममा सबैतिर बिनारोकटोक घुम्ने र सकभर अगाडिको पंक्तिमा बस्ने, झन्डावाल कार केडमा प्राडो र पजेरोमा हुइँकिने यस्ता सल्लाहकारको नजिक पुग्न पाउँदा पनि धेरै कर्मचारी र कार्यकर्ता आफूलाई भाग्यशाली सम्झन्छन् । 

धेरैको विचारमा प्रधानमन्त्रीका नजिकका व्यक्ति, नातेदार र राजनीतिकरुपमा केही भागबन्डामा नपरेका व्यक्ति प्रधानमन्त्रीका सल्लाहकार हुन पुग्छन् । कतिपय व्यक्तिका लागि प्रधानमन्त्रीका सल्लाहाकार भनेका त्यस्ता बिचौलिया हुन् जो प्रधानमन्त्रीको पद र शक्तिको प्रयोग र दुरुपयोग गरेर आर्थिक लाभ प्राप्त गर्छन्, गराउँछन् । कतिपयले त प्रधानमन्त्रीलाई थाहै नदिई सरुवा, बढुवा, टेन्डर, ठेक्कामा ठूलै रकम कुम्ल्याउँछन् भन्ने पनि छ । धेरै नयाँ, पुराना सल्लाहकारको हकमा फेरि यो आरोप पूर्णतः गलत पनि होइन । 

परन्तु, जो सुकै प्रधानमन्त्री भए पनि प्रधानमन्त्रीका सल्लाहकारको बालुवाटारभित्र भने कुनै इज्जत र प्रतिष्ठा हुँदैन । सल्लाहकार कुनै ढोके, बैठके, हुक्के बराबरको सम्मानमा बालुवाटारमा हराएको हुन्छ । सल्लाहकार साधारणतया बुद्धिमान, विवेकी र सही सल्लाह दिने व्यक्तिको रुपमा नभई भाषण लेख्ने, सन्देश बनाउने, शुभकामना ड्राफ्ट गर्ने कर्मचारीमा परिणत हुन्छ । त्यही काम पनि प्रधानमन्त्रीले दिँदा प्रफुल्लित हुने र नदिँँदा आपसमा बसेर कसले गरेको काममा के गल्ती भयो भनेर अरुको कुरा काटेर सन्तुष्टि लिँदै समय बित्छ । कतिपय सल्लाहकारबीच सबैभन्दा ताजा समाचार प्रधानमन्त्रीलाई कसले सुनाउने भन्ने होड चल्छ । प्रधानमन्त्री एउटा बैठक कोठाबाट अर्कोमा जाँदा दस सेकेन्ड बोल्न पाए उसलाई त्यसदिनको जागिर पाकेको भान हुन्छ । त्यही समयमा कुनै बाहिरी व्यक्तिले प्रधानमन्त्रीलाई भेट्न खोजेको थाहा दिने र भेट गराउने काम गर्न सक्दा उनलाई ठूलै काम गरेको भान हुन्छ । प्रधानमन्त्रीलाई कुनै कार्यक्रममा लैजाने वा नलैजाने विषयमा बहस गर्दै समय कट्छ तर अन्तिम समयमा सल्लाहकारको सोचलाई खासै महत्त्व पनि दिइँदैन । 

Prabhu Bank
Agni Group
NIC Asia

बालुवाटारभित्र वा प्रधानमन्त्रीको कार्यालयमा सल्लाहकार सबैको अफिस हुन्छ तर गर्ने काम केही हुँदैन । प्रधानमन्त्रीको तोक आदेशका लागि मन्त्रालयबाट आएका फाइल अधिकांश मुख्य सचिव वा सम्बद्ध मन्त्रीको ब्रिफिङ्गको आधारमा नै निर्णय हुन्छन् । जति फाइल अध्ययनका लागि सल्लाहकारकहाँ पठाइन्छ त्यसमा पनि लुछाचुँडी हुन्छ । अझ मुख्य सल्लाहकार भएको अवस्थामा अरु सल्लाहकारको भूमिका झनै गौण हुन्छ । 

बालुवाटारमा सल्लाहकार अफिस आयो वा आएन कसैलाई मतलब पनि हुँदैन । एउटा सल्लाहकार सिंहदरबारको आफ्नो अफिसमा बसेर के गर्दैछ, किन गर्दैछ र सो कार्यले राज्य सञ्चालनमा कति महत्त्व पुर्‍याउँछ वा पुर्‍याउँदैन कसैलाई थाहा हुँदैन । तर, कुनै पनि बेला सल्लाहकारलाई मुख्य सल्लाहकार वा स्वकीय सचिवले केही सोध्लान् र उत्तर दिन नसकिएला भन्ने आशा र डर हुन्छ । हुनत, सल्लाहकारबाट राम्रै सल्लाह गयो भने पनि प्रधानमन्त्रीलाई कसको बुद्धि हो भन्ने थाहा हुँदैन । जस्ले सुनायो सल्लाह उसैको भयो, गलत भयो भने बल्ल फलानोले दिएको सल्लाह भनेर दोष टाउकोमा आइपुग्छ । 

Global Ime bank

वास्तवमा सल्लाहकारको भूमिका ‘जसको साथमा भगवान त्यो गधा नै पहलवान’ भन्ने प्रकारको हुन्छ । प्रधानमन्त्रीले नजिकै राखेको व्यक्ति छ भने उसले सम्पूर्ण विषयमा हालीमुहाली चलाउँछ र स्वकीय सचिवको हकमा पनि यस्तै हुन्छ । कोठा कोठाभित्र डुल्ने सानो कुकुर र बाहिर खोरमा राखेको ठूलो कुकुरजस्तै फरक हुन्छ भित्रिया र बाहिरीयाका बीचमा । स्वकीय सचिव पनि को प्रमुख भन्ने हुँदैन, को भित्रिया भन्ने महत्त्वपूर्ण हुन्छ । जो व्यक्ति प्रधानमन्त्रीको सुत्ने कोठामा पुगेर खाना खुवाउँछ, औषधि खुवाउँछ वा लुगा मिलाउँछ ऊ भित्र नपुग्ने पीएचडी विद्वान्‌को हाकिम हुन्छ । प्रधानमन्त्रीले सोधेका र चाहेका कुरा ती विद्वान्‌लाई सोधेर वा खोज्न लगाएर ऊ हाकिम बन्छ । 

भर्खरै प्रधानमन्त्रीका सल्लाहकारहरूले राजीनामा दिएको समाचार सार्वजनिक भएको छ । अन्य प्रधानमन्त्रीका सल्लाहकारले जस्तै यी विद्वान् मित्रहरूले पनि सायद कहिल्यै सँगै बसेर देशको आन्तरिक र बाह्य स्थितिका विषयमा गम्भीर विचार, विमर्श गरेर प्रधानमन्त्रीलाई समयमै सूचित गर्ने मौका पाएनन् होला । यिनलाई पनि प्रधानमन्त्रीले विद्वान् व्यक्ति हुन् मैले इज्जत दिनुपर्छ भन्ने भावले व्यवहार गरेनन् होला । यिनीहरू मैले दिएको जागिर खाएर बसेका छन् भन्ने हेय भावका सिकार भएका भए अचम्म मान्नु पर्दैन । जस्तै लोकतान्त्रिक वा जनतान्त्रिक व्यक्ति प्रधानमन्त्री भए पनि नेपालमा कुर्सी नै सत्य हो । कुर्सीमा बसेको जङ्गबहादुरले बाङ्गो रुखलाई कस्तो सोझो रुख है भनेर सोध्दा वरिपरिका चाटुकारले ‘हो सरकार हो’ भन्नुपर्थ्यो रे । अहिलेका प्रधानमन्त्रीका सल्लाहकारको भूमिका र स्तर त्यही चाटुकारको भन्दा धेरै फरक छैन ।

त्यसैले अहिले सल्लाहकारको पद खाली भएको समयमा यस पदको विषयमा विचार गर्नु अत्यन्त सान्दर्भिक हुन्छ । वास्तवमा सल्लाहकारको भूमिका भनेको ‘किचेन क्याबिनेट’को हुनुपर्छ । अर्थात्, देशको परिस्थितिको विषयमा आन्तरिकरुपमा मूल्यांकन गर्ने र त्यस विषयमा छलफल गरेर प्रधानमन्त्रीलाई सत्य र तथ्यको जानकारी गराउने भूमिका यस्तो समूहको हुनुपर्छ । कुनै पनि सल्लाहकारले प्रधानमन्त्रीलाई सातामा दुईपटक पनि भेट्न पाउँदैन भने त्यस्तो सल्लाहकारको पद लिने व्यक्ति चाटुकार, हुक्के, बैठकेबाहेक केही हुन सक्तैन । यस्ता सल्लाहकारभन्दा साता वा महिनामा एकपल्ट बोलाएर प्रधानमन्त्रीले कुनै पनि स्वतन्त्र विद्वान्सँग परामर्श गरे भै हाल्छ । सल्लाहकार भनेर आफ्नो वरिपरि पुच्छर हल्लाउने समूहलाई राष्ट्रको सम्पत्ति खुवाएर राख्नुको कुनै औचित्य छैन । 

प्रधानमन्त्रीले राज्य भार सम्हाल्ने मन्त्रीमार्फत् हो । तर, कतिपय मन्त्रीले सही ढंगले काम गरेका हुँदैनन्, कतिपय मन्त्री प्रधानमन्त्रीको अगाडिमात्र ठिक्क पर्ने तर काम गर्नै नसक्ने प्रकारका हुन्छन् र कतिपय भ्रष्ट हुन्छन् । यस्ता मन्त्रीको काम कारबाहीमा नजर राख्न र प्रधानमन्त्रीलाई समयमै सचेत गराउन लागि सल्लाहकारको भूमिका हुन्छ । तर, मन्त्रीलाई प्रश्न गर्न नसक्ने, सचिवसँग कसरी आफ्नो व्यक्तिगत फाइदाको काम गराऊँ भनेर चाकरी गर्न चाहने व्यक्तिलाई सल्लाहकार बनाउनुको कुनै अर्थ छैन । देशको शासनभार चलाउन प्रधानमन्त्रीलाई सल्लाह दिने व्यक्तिले प्रधानमन्त्रीको हरेक गलत कदमलाई औल्याउन सकोस् र कुनै पनि बेला प्रधानमन्त्रीसँग भेट गर्न कसैले रोकटोक नगरोस् । त्यस्तो व्यक्ति सल्लाहकार होस् जोसँग प्रधानमन्त्रीको विचार मिलोस् र ऊप्रति देशको सर्वोच्च कार्यकारीले इज्जत पनि देखाओस् । अन्यथा, सल्लाहकार पदमा केही कार्यकर्तालाई भर्ती गर्नुभन्दा स्वकीय सचिवालयमा विज्ञहरू भर्ना गरेर काम गर्दा देश र देशको प्रमुख कार्यकारीलाई फाइदा हुन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  १४:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC