site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 राजा महेन्द्रले भन्थे–अब युवाहरुले देश बनाउने हो
Sarbottam CementSarbottam Cement

लामो समय मलेरिया रोगको विशेषज्ञकारुपमा स्वदेश तथा विदेशमा चिनिएका डा. कृष्णजंग राणा (८९) नेपालगञ्जमा जन्मिए । उनको बाल्यकाल त्यहीँ बित्यो । उनको प्रारम्भिक पढाइलेखाइ पनि नेपालगञ्जकै सरकारी स्कुलमा भयो । कुराकानीका क्रममा उनले आफूले भाग्यलाई तीन भागमा बाँड्ने गरेको बताए । एउटा जन्मभाग्य, अर्को कर्मभाग्य र तेस्रो भाग्यभाग्य । भाग्यभाग्य भनेको अदृश्य तत्व भएको उनी मान्दछन् । जसले समय समयमा उनलाई अत्यन्तै सहयोग गरेको छ । 

‘जन्मभाग्य’को कुरा गर्र्दैगर्दा उनले सुनाए, आफ्ना पुर्खा जंगबहादुर राणासँग जोडिएको कथा । उनी जंगबहादुरको कुलमा जन्मिए तर पनि अथाह दुःख खेप्नु पर्‍यो । 

अर्को ‘कर्मभाग्य’, अर्थात् उनले कर्म गरे । उनी आफूले खुुबै मेहनत गरेर पढेको बताउँदै थिए । पढाइलाई उनले आफ्नो कर्म नै ठानेर अगाडि बढेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि ‘भाग्यभाग्य’ । यो नितान्त अदृश्य शक्ति थियो, जसले उनलाई चिकित्सक मात्रै बनाएन्, उनलाई विश्व घुमायो । मलेरियाका लाखौँ रोगीको उपचार कर्ममा लगायो । कुनै बेला सवा रुपैयाँ कमाउन गाह्रो हुने एउटा व्यक्तिको जीवनशैली यसरी परिवर्तन भयो ।

सोमबार अपरान्ह ललितपुर सानेपा ठाडोढुंगास्थित उनको घरमा पुग्दा डा. कृष्णजंग राणा आफ्नो पुरानो कुरा सुनाउन तयार थिए । उनी भन्छन्, “म जंगबहादुर राणाको कूलमा जन्मिएको हुँ । जंगबहादुरका जेठा छोरा जगतजंग, जगतजंगका छोरा राजजंग, राजजंगका छोरा भगवतजंग र भगवतजंगको छोरा म कृष्णजंग । अर्थात् जंगबहादुर राणाको पाँचौ पुस्ता हुँ म ।”

Global Ime bank

डा. राणाका अनुसार सत्तालिप्साका कारण जंगबहादुरका दाजुभाइद्वारा जंगबहादुरको खलकमाथि धरपकड भएपछि जगतजंगको परिवार काठमाडौं छाड्न बाध्य भए । त्यही समयमा उनका हजुरबुवा राजजंग भागेर अयोध्या पुगे । उनी अयोध्याका राजासँग काम गर्न थाले । त्यसबेला उनको हजुरबुवाको उमेर १५–१६ वर्ष रहेको आफूले सुनेको उनी बताउँछन् । 

पछि शमशेरहरूले राजजंगलाई नेपाल फर्कन भने । राजजंग आफ्ना परिवारसहित नेपालगञ्ज आए । अयोध्याबाट नेपाल छिर्दा कृष्णजंगका पिताजी भगवतजंगको उमेर १५–१६ वर्षको थियो ।  नेपालगञ्जमा उनीहरूले जीवन निर्वाहका लागि केही सहयोग पाएका थिए । उनीहरू त्यहीँ बसे । तर पनि जंग खलकप्रति शमशेरहरूको निगरानी अधिक रहेको डा. राणा बताउँछन् । 

जंगका परिवारलाई मनग्ये पैसा कमाउने छुट थिएन । जति दिइन्छ त्यतिमै गुजारा गर्नु पर्दथ्यो । पढ्ने लेख्ने छुट पनि थिएन । यसरी उनका पिताजीको पारिवारिक गाडा चलिरहेको थियो  ।  त्यसै अवस्थामा डा. कृष्णजंग राणाको जन्म भयो १९८८ को कृष्णाष्टमीका दिन । उनी भगवतजंगका साहिँला छोरा थिए । उनका अरु भाइहरू पनि थिए । तीमध्ये केही सानैमा बिते । 

उनको शैशव र बाल्यकाल नेपालगञ्जमै बित्यो । उनका अनुसार उनको पारिवारमा कष्टैकष्ट थियो । सुख थिएन । 

नेपालगञ्जको स्थानीय सरकारी स्कुलमा कृष्णजंग राणासहित उनका दाजुभाइको पढाइ सुरु भयो । उनी पढ्नमा अब्बल थिए । पढाइप्रतिको उनको लगावले गर्दा उनको पढाइ अगाडि बढाउनु पर्ने भयो । तर बडा हाकिमको कडाइका कारण उनीहरू खुलेर पढ्न पाउँथेनन् !

त्यसैले पढ्नैका लागि उनी र उनका दाजुहरू सिमावर्ती भारतीय सहर बहराइच जान थाले । सीमामा रहेको रेल्वे स्टेशनसम्म उनीहरू हिँडेर पुग्थे । त्यसपछि एक घन्टा ट्रेनको सफर गरेर बहराइच पुगेर क्लास भ्याउँथे । र बेलुका त्यसरी नै घर फर्किन्थे ।

यसरी उनको म्याट्रिक सिद्धियो । उनी थप पढाइका लागि लखनउ गए । त्यहाँको क्रिस्चियन कलेजमा साइन्स लिएर पढ्न प्लस टु पढ्न थाले । पढाइ राम्रो भएकोले उनले छात्रवृत्ति पाएका थिए । बाँकी खर्चका लागि उनी बेलाबेलामा अनेक कामहरू गर्थे । कहिले ट्युसन पढाउँथे । कहिले कुनै सानातिना कामको जिम्मा लिन्थे ।

यसरी उनले आफ्नो फूटकर खर्चको जोहो गर्थे । 

पैसाको जोहोका लागि आफूले कहिलेकाहीँ निर्वाचनको लागि आवश्यक मतदाता नामावली सारेको पनि उनी बताउँदै थिए । 

डा. राणा भन्छन्, “मैले मतदाताको नाम सार्ने काम पनि गरेँ । एकहजार जनाको नाम सारेको २० आना पैसा दिइन्थ्यो । २० आना भनेको सवा रुपैयाँ । हजारजनाको नाम लेख्नलाई दुई दिन लाग्थ्यो । यसरी म दुई दिनमा सवा रुपैयाँ कमाउँथे ।” 

यो सुनाउँदै गर्दा उनी हाँसे । 

०००

डा. कृष्णजंग राणाको मनमा डाक्टर हुन्छु भन्ने थिएन । आईएससी पढ्दाखेरि पनि त्यो सोच आएको थिएन । किनभने डाक्टरी पढ्नु भनेको ठूलो कुरो थियो । पढाइ महँगो थियो । पढ्नसक्ने अवस्था थिएन । आईएससी पढेर सामान्य नोकरी गर्नुपर्छ भन्ने सोच मात्रै थियो उनको । उनका पिताजीले डाबरको औषधि बिरामीलाई निःशुल्क बाँडथे । उनका पिताजीले धेरै बिरामीको घरेलु उपचार गरिदिन्थे । उनको घरमा डाबरको किताब पनि हुन्थ्यो । जसमा औषधिका विषयमा लेखिएको हुन्थ्यो । 

डाबरको त्यो किताबमा रहेको डाक्टर शब्द उनलाई खुबै मन परेको थियो । त्यसैले उनी पनि आफ्नो नाममा ‘कृष्णजंग राणा डाबर डाक्टर एसके बर्मन लिमिटेड कलकत्ता’ भनेर कपिमा सार्थे । तथापि उनमा डाक्टर बन्ने कुनै रहर वा सोच थिएन । त्यसबेला उनका पिताजीले रतन्धोको उपचार पनि गर्ने गरेको उनी सम्झिन्छन् । उनका अनुसार उनकी आमा आँखाको परेलाभित्र पसेकालाई परेला बाहिर निकालिदिने काम गर्थिन् । अर्थात ट्रोकोमाको उपचार गर्थिन् ।

उनका हजुरबा मलेरियाको घरेलु उपचार गर्थे । जुन उपचारपछि गएर सानैमा कहिलेकाहीँ उनले पनि गरे । यसरी घरेलु वातावरण स्वास्थ्य उपचारतिर भए पनि उनलाई डाक्टर नै बन्नु पर्छ भन्ने कहिल्यै लागेन ।   आईएससीपछि जागिर खाउँला भन्ने सोच थियो । सायद कुनै शिक्षकसँग उनले कुरा पनि गरेका थिए । र ती शिक्षकले उनलाई ‘तिमी बनारस आउ पढाइ सिध्याएर, म तिमीलाई नोकरी दिन्छु’ भनेका थिए । 

तर उता ‘भाग्यभाग्य’ले काम गरिरहेको थियो ! यसले कसरी काम गरिरहेको हुन्छ, थाहा हुँदैन । उनी लखनउबाट आईएससी सक्याएर काठमाडौं आए । उनका ठूलो दाजुको पनि आईएससी त्यसैबेला सकिएको थियोे ।  पढाइ राम्रो भएकोले एमबीबीएसका लागि मौका हेर्ने कि भन्ने भयो । त्यसैले दुबै दाजुभाइ काठमाडौं आएका थिए । 

दुबैले एमबीबीएसका लागि आवेदन दिए । त्यसका लागि भन्नुपर्ने ठाउँमा भने । तर दुईजनामध्ये एक जनाले मात्रै सिट पाउनसक्ने कुरा उठ्यो । तत्कालीन सरकारी अधिकारीहरूले दुबैलाई एमबीबीएसको कोटा दिन नसक्ने कुरा गर्दै एकजनालाई मात्रै एमबीबीएसका लागि चयन गरिने जवाफ दिए । र उनले आफ्ना ठूलो दाजुका लागि एमबीबीएसको कोटा छोडिदिए । 

उनको मुहारमा मुस्कान तैरियो । उनले भने, “तर भाग्य हेर्नुस्, मेरो दाजुको एउटा विषय कमजोर भएकोले एमबीबीएसको त्यो सिट उहाँले नपाउने हुनुभयो । मेरो भाग्य जाग्यो । अन्ततः त्यो सिट मेरो भागमा पर्यो । र म केही समयपछि १५० रुपैयाँ छात्रवृत्ति पाएर लखनउमा एमबीबीएस पढ्न गएँ । म यसैलाई भाग्यभाग्य भन्छु । जुन एमबीबीएस मैले सोचेको पनि थिइनँ, त्यो नै अदृश्यरुपमा मेरो साथमा थियो ।”

अर्थात् उनलाई भाग्यभाग्यले सहयोग गरिरहेको थियो । र त्यो भाग्यभाग्यको सहयोग आजसम्म रहेको उनको कथन छ । 

जब मेडिकल कलेज पढ्दा उनले छात्रवृत्ति वापत मासिक १५० रुपैयाँ पाउन थाले, त्यो रकम आफ्ना लागि धेरै नै भएको उनी बताउँदै थिए । सकसपूूर्ण जिन्दगी बिताउने आफूलाई त्यो रकम अथाह भएको उनी सुनाउँदै थिए ।

०००

उनी सरल स्वभावका थिए । बदमास हैनन् । तर पनि कहिले कताबाट लडेर चोट लाग्थ्यो त कहिले कतै घाउ हुन्थ्यो । यसरी उनलाइ धेरै चोटी चोटपटक लागेको छ । उनलाई सानो उमेरमै मलेरिया भएको थियो । उनी आठ वर्षका थिए मलेरिया हुँदा । उनी १४ वर्ष भएपछि मात्रै उनको मलेरिया निको भयो । सधँै औषधि खाएको खायै ।

‘जाको राखे साइयाँ मार सके न कोई’ भने झैँ थियो उनको जीवन । उनी डेढ वर्षको हुँदा घरबाट लडेर टाउकोमा चोट लाग्यो । उनी चार पाँच दिन बेहोस रहे । तरपछि निको भयो उनलाई । 

उनका अनुसार उनको टाउकोमा पटक पटक चोट लागेको छ । गहिरो चोट । उनी टाउकोको खत देखाउँदै भन्छन्, “मेरो टाउकोमा एकपटक गहिरो चोट लागेको थियो । रगत बगेको बग्यै । दुई तीन महिनासम्म म उत्तानो सुतेको सुतेकै उपचार भयो । सायद जडीबुटी नै बढी लगाइयो होला ।”

डा. राणाका अनुसार एकपटक अयोध्या जाँदा मेला हेर्न पुगे उनी पनि । परिवारका सँगै थिए । मेलामा सर्कस पनि थियो । सर्कसमा बाघ पनि थियो । बाघको खोरमा बाहिरबाट उनी टाँसिएर हेर्दै थिए । उनलाई बाघले झम्ट्यो । उनको कुम र पिठ्यूँको मासु नै लग्यो । त्यसबेला पनि उपचार गरेर उनलाई बचाइयो । त्यसबेला पनि आफ्नो उपचार नेपालगञ्जमा नै भएको उनी सम्झिन्छन् । किनभने अयोध्या बसेर उपचार गर्ने खर्च थिएन ।

उनी भन्छन्, “भाग्य नै हो, म बाँचे । जागिरबाट अवकास पाएपछि मेरो दुईपटक बाइपास सर्जरी भयो । चारवटा स्टेन्ट हालिएको छ । तर पनि म यहाँहरूको अगाडि नै छु । यसलाई मेरो भाग्यभाग्यको नै खेला भन्छु म ।”

एउटा घटना सुनाए उनले । उनी आईएस्सी पढ्दा खाना आफैँ पकाएर खान्थे । उनी एकपटक कागती किन्न गए । बडो राम्रो र स्वादिलो  कागती थियो । उनी कागती रुचाउँछन् पनि । कागतीको मोल सोधे । कागतीलाई चार आना भन्यो पसलेले । उनले भने, ‘कति महँगो कागती । यति महँगो कागती कसले खान्छ ?’
त्यो दुकानदारले कडा जवाफ दियो– ‘जरुरी छैनकि सबैले सबै कुरा खाउन् ।’

त्यो जवाफ आज पनि उनको दिमागमा आउँछ । जवाफमा आएको शब्द उनी हरेकपल सम्झिरहन्छन् । किनभने चार आनाको त्यही कागती किन्न नसक्ने एक विद्यार्थीले पछि राम्रो सम्पत्ति जोडे । 

उनी भन्छन्, “मलाई आज पनि त्यो कागतीवाला याद आउँछ । काठमाडौंमा घर बनाउँदा पनि मलाई त्यो कागतीवालाको सम्झना आइरह्यो ।” 

०००

सन् १९५२ मा एमबीबीएस पढ्न गएका उनी सन् १९५७मा एमबीबीएस पास गरेर फर्किए । काठमाडौं आएर केही दिन यतै बसे । जागिरका लागि कुदे । र, सरकारी सेवामा संलग्न भए । स्वास्थ्य मन्त्रालयले उनलाई पाल्पाको अस्पतालमा पठायो ।

पाल्पा विकट ठाउँ नै थियो त्यो बेला । उनी भैरहवा, बुटवल हुँदै पाल्पा पुगे । हिँडेरै पाल्पा जानु पर्दथ्यो । उनी पाल्पा पुगे । र त्यहाँको अस्पतालमा काम गर्न थाले ।

लखनउ सहरमा पाँच सात वर्ष बिताएका उनलाई पाल्पा पुगेपछि लाग्यो, ‘यत्तिका लागि एमबीबीएस पढिएको हो त ! यो गाउँमा कसरी बस्नु !’ तर पनि काम गर्नु थियो । उनको अस्पतालको दैनिकी सुरु भयो ।

अस्पतालमा विभिन्न रोगको उपचारमा आफूलाई संलग्न गराए । पाल्पा अस्पतालमा काम गर्दा उनको तलब १८० रुपैयाँ थियो ।

उनी पाल्पामा भएकै बेला पाल्पामा हैजा फैलियो । हैजाका बिरामीको उपचारमा उनी भिडेर लागे । बिरामीलाई ड्रिप दिएर (पानी चढाएर) तिनलाई निको तुल्याउँदा भने उनलाई अथाह खुसी अनुभव हुन्थ्यो । उनी पाल्पा हुँदै तत्कालीन राजा महेन्द्र पाल्पा पुगे । राजा महेन्द्र घोडामा थिए । घोडाको छेउछेउ डाक्टर राणा पनि हिँडिरहेका थिए । राजा महेन्द्रले भने, ‘अब तिमीहरूजस्ता युवाले देश बनाउनु पर्छ ।’

डा. राणा भन्छन्, “अचम्म ! मलाई डर पनि लागेन । मैले राजालाई स्पष्ट भनेँ ‘ठिक छ काम गर्ने हो । तर खुला आकाश मुनि नङले बिरामीको घाउ चिर्न त सकिँदैन’ । पछि म काठमाडौं फर्किएपछि थाहा पाएँ मेरो तलब र भत्ता गरेर चार सय रुपैयाँ गरिदिएका रहेछन् ।”  

पाल्पाको अस्पतालमा डाक्टर जान मान्थेनन् । अस्पतालको घरको एकातिरको भित्तो नै थिएन । अस्पताल धेरै जसो कम्पाउण्डरहरूले चलाउने गरेको उनी बताउँछन् ।  त्यसैबेला मलेरिया नियन्त्रणका लागि खोलिएको एउटा परियोजनामा डाक्टरको माँग भयो । उनी काठमाडौं आए पाल्पाबाट । त्यसमा आवेदन दिए । पास भए र मलेरिया नियन्त्रणको काममा खटिए । 

त्यसबेला मलेरिया नियन्त्रणका लागि अमेरिका (युएसएआइडी)ले रकम दिन्थ्यो र टेक्निकल सपोर्ट डब्लुएचओको हुन्थ्यो ।  कुराकानीको क्रममै उनले भने, “संयोग, डाबरको नाम पढेर जानी नजानी डाक्टर लेख्ने म अन्ततः डाक्टर भए । कुनै बेला आफैलाई मलेरिया लागेर निको भएको म मलेरिया नियन्त्रण गर्ने डाक्टर भएको थिएँ । यो संयोग नै हो भन्छु म ।” 

मलेरिया परियोजनामा काम गर्न थाले पछि डा. कृष्णजंग राणाले नेपालको तराईका विभिन्न क्षेत्रमा गएर मलेरियाका बिरामीको उपचार गरे । मलेरिया नियन्त्रणका लागि विभिन्न उपायहरूको प्रयोग गरे ।  पछि विश्व स्वास्थ्य संगठनमा रहेर विश्वका विभिन्न ठाउँहरूमा मलेरियाका रोगीहरूको उपचारमा आफ्नो ज्ञान र सिपको प्रयोग गरे । उनी ‘रिनाउन्ड मरेलियोलोजिष्ट’ भए । 

डब्लुएचओमा काम गर्दै जाँदा उनी ‘सिनियर रिजनल मलेरिया एडभाइजर’ पदमा थिए । उनको जिम्मामा १० वटा देश पर्दथ्यो ।   नेपालमा काम गर्दा तराईमा मलेरिया बढी फैलिने भएकोले उनी त्यस क्षेत्रमा मलेरिया निर्मुल गर्न खटिए । यसै सिलसिलामा उनी नेपालको तराई क्षेत्रको गाउँ–गाउँ पुगे ।  लामखुट्टेका कारण फैलिने मलेरिया नियन्त्रण गर्न कठिन थियो । तर सबै मिलेर यो काम गरेको उनी बताउँछन् । मलेरिया कन्ट्रोलका लागि जनचेतना पनि एक काम थियो । त्यसका लागि पनि उनीहरूले ध्यान दिएका थिए । 

मलेरिया कन्ट्रोलका लागि चेतना जगाउनु जरुरी थियो । र त्यही दृष्टिकोणबाट काम पनि गरियो । गाउँगाउँ गएर गाउँको सरसफाइँमा ध्यान दिइयो । र औलो लागेकालाई औषधि पनि दिइयो । यसरी सर्वत्र मलेरिया नियन्त्रण गरेको उनी सम्झिन्छन् ।  यसै क्रममा डा. राणाको पोस्टिङ कहिले अमलेखगंज, वीरगञ्ज, चितवन, विराटनगर, नेपालगञ्ज भयो । उनी सबैतिर गए । र तराईका गाउँगाउँ पुगे । 

नेपाल मलेरिया इर्याडिकेसन अर्गनाइजेसन नामक बोर्डको प्रमुखसम्म भएका डा. कृष्णजंग राणा पछि डब्लुएचओको जागिरे भएर काम गर्न गए । जहाँ उनले २० वर्षभन्दा बढीको समय विदेशबाट मलेरिया उन्मुलन गर्ने काममा दिए ।  विदेशमा पनि मलेरिया हुने गरेको बताउने उनले साउथ अमेरिका, ब्राजिल, इरान, अफगानिस्तान जस्ता देशमा मलेरिया हुनेगरेको बताउँदै थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC