site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

जनतालाई हेप्दा महँगो पर्ने थाहा हुँदाहुँदै पनि शासकहरू हेप्ने छाडेका छैनन् । उनीहरूको हेपाइ विभिन्न शैली र स्वरूपमा तर बारम्बार प्रकट हुन्छ । रानीपोखरीको पुनःनिर्माणमा प्राचीन स्मारक संरक्षणको मापदण्डअनुसार गर्न सहमति जनाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फेरि बुल्डोजर प्रयोग गर्नु जनतालाई हेप्नु नै हो । पहिले रानीपोखरी पुनःनिर्माणमा प्राचीन स्मारक संरक्षण ऐनले तोकेको मापदण्डविपरीत आधुनिक सामग्री र साधन प्रयोग गर्न खोजेपछि त्यसलाई रोक्न जनताले संघर्ष गर्नुपरेको थियो । त्यति बेला प्राधिकरणले रानीपोखरी पुनर्निर्माणमा प्राचीन स्मारक संरक्षण मापदण्ड पालन गर्ने प्रतिबद्धता प्रकट गरेको हो । त्यसैअनुसार उपभोक्ता समिति गठन गरी भक्तपुरबाट कामदार ल्याएर काम गर्न थालिएको थियो । काममा प्रगति भइरहेकै बेलामा रानीपोखरीमा डोजर हुलिएको छ ।

अहिले एकाएक कामदार हटाएर रानीपोखरीभित्र डोजर कुदाउनुपर्ने कारण बुझ्न सकिएको छैन । जनतासँग गरेको वाचा त शासकहरूले सधैँ नै उपेक्षा र उल्लंघन गरिआएकै छन् तर प्रचलित ऐनले तोकेको मापदण्ड उल्लंघन गर्ने आँट भने अराजकता र धिङन्याइको पराकाष्ठा नै हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्बन्धित अधिकारीको अहिले खर्पनमा माटो बोक्न सकिँदैन भन्ने ओँठे जबाफबाट यसलाई उनले गाउँमा बर्खे पानी जम्मा गर्न खनिएको आहालजस्तो ठानेको स्पष्ट हुन्छ । यथार्थमा सम्पदा क्षेत्रमा आकस्मिक उद्धारकै बेलामा समेत डोजरजस्तो भीमकाय मेसिन प्रयोग गरिँदैन । गौरवपूर्ण प्राचीन सम्पदाप्रति वर्तमान शासकको वैरभाव त रानीपोखरीलाई ‘स्विमिङ पुल’ बनाउने तयारीमै प्रकट भइसकेको थियो । अहिलेको बलमिच्याइँ प्रकारान्तरले त्यसैको निरन्तरता हो ।

सम्भवतः सम्पदा संरक्षण अभियन्ताहरू ‘अकुपाइ टुँडिखेल’ अभियानमा लागेको मौका नेपाली संस्कृतिका शत्रुहरूले छोपेको हुनुपर्छ । टुँडिखेल संरक्षणका निम्ति अभियान सञ्चालन गर्दागर्दै पनि अभियन्ताहरूले रानीपोखरीको गरिमा मासिन नदिन जनदबाब सिर्जना गर्नुपर्ने देखिन्छ । रानीपोखरीमाा पानी भर्ने काम केही महिना छिटो गर्नैका लागि प्रचलित राष्ट्रिय कानुन तथा प्राचीन सम्पदा पुनःनिर्माणसम्बन्धी विश्व मापदण्ड मिच्नु अपराध हो । यसरी डोजर लगाएर बनाउने हो भने रानीपोखरीको परमपरागत महत्त्व र गौरव समाप्त भएर यो टुँडिखेलको सिरानको एउटा पोखरीमा सीमित हुनेछ । अर्थात्, प्रताप मल्लले करिब चार सय वर्ष पहिले बनाएका पुरातात्विक महत्त्वको यो सांस्कृतिक सम्पदाको हत्या हुनेछ । सम्पदा संरक्षण अभियन्ता र स्थानीय जनतालाई रानीपोखरीको हत्या पक्कै पनि स्वीकार्य हुनेछैन । पटकपटक अनेकौं निहुँ झिकेर सरकार नै यसरी काठमाडौंका प्राचीन सम्पदा र सामाजिक सांस्कृतिक वैभव मेटाउन उद्यत हुनु दुर्भाग्य हो । सरकारले हेप्न छाडेन भने जनताले त्यसको बदला त पक्कै लिनेछन् । दुःखको कुरा, त्यतिखेर धेरै रानीपोखरीको हत्या भइसक्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC