बलिउडका दिग्गज संगीतकारको सूचीमा भएका अनिल विश्वास एकदिन सुरिन्दर कौरलाई कुनै गीत रेकर्ड गराउँदै थिए । संयोगले त्यस दिन लता मंगेशकर पनि त्यहीँ थिइन् । अनिल विश्वासले लतालाई बडो प्रेमका साथ तर अधिकारपूर्वक बोलाउँदै भने “लतिके ! यता आउ । तिमी पनि कोरसमा गाना गाउ । यसले गीत अझै राम्रो बन्नेछ ।”
लता मंगेशकर यो कुरा सम्झिँदै भन्छिन्, “अनिल दादा त्यस दिन मुडमा र बडो प्रशन्नतापूर्वक यो भन्दै हुनुहुन्थ्यो । मलाई पनि लाग्यो उहाँको मनले ठानेको कुरा गर्नुपर्छ । तपार्इं विश्वास गर्नुस्, त्यसबेला मलाई कोरस गीत गाएर पनि उत्तिक्कै आनन्द आएको थियो, जति उहाँका मुख्य महिला पात्रका लागि रचिएको गीत गाउँदा आनन्द आउँथ्यो ।”
यो एक प्रसिद्ध कलाकारको अर्का प्रसिद्ध कलाकारप्रतिको सम्मान भाव नै हो भन्नु पर्छ । किनभने जतिखेर लता मंगेशकर कोरसमा गाउनका लागि तयार भएकी थिइन्, त्योबेला उनी मुख्य गायिकाको रुपमा स्थापित भइसकेकी थिइन् । लता मंगेशकरको जीवनसँग जोडिएका यस्ता रोचक र रुचीपूर्ण विवरणहरूको दस्तावेज हो, ‘लता–सुर गाथा’ । वाणी प्रकाशनद्वारा प्रकाशित यो पुस्तकले लता मंगेशकरकाको जीवनकासाथै भारतीय फिल्म संगीतको झलक पनि प्रस्तूत गर्दछ ।
सांगीतिक संसारमा लता मंगेशकरको यात्रा उनकै शब्दमा प्रस्तुत गर्ने काम गरेका छन्, कवि र संगीतका शोधकर्ता यतीन्द्र मिश्रले । यतीन्द्र मिश्रले यस पुस्तकलाई तयार गर्नका लागि लता मंगेशकरसँग ६ वर्षसम्म पटकपटक कुराकानी गरेका थिए ।
यस पुस्तकमा प्रस्तुत रोचक प्रसंगमा एउटा अर्को प्रसंग फिल्म ‘महल’को गीत रेकर्डिङको पनि रहेको छ । ‘महल’को गीत ‘आएगा आने वाला....आएगा’ सँग जोडिएको यो प्रसंग हो । सन् १९४८÷४९ को बेला हो । त्यतिखेर रेकर्डिङ स्टूडियो हुँदैनथ्यो, नत अरु नै कुनै व्यवस्था । गीत रेकर्ड गर्नलाई खाली स्टुडियो अथवा रुखको पछाडिको स्थान वा ट्रकभित्र यसको व्यवस्था गरिन्थ्यो ।
यस गीतसँग जोडिएको अनुभवका विषयमा लता बताउँछिन, “फिल्म ‘लाहौर’को छायांकन भइरहेको थियो । बाम्बे टाकिजमा जद्दनबाई र नरगिस दुबै थिए । मैले त्यहीँ आफ्नो गीत रेकर्ड गर्न सुरु गरेँ । जद्दनबाइ यसलाई ध्यानपूर्वक सुन्दै थिइन् । पछि मलाई बोलाएर भनिन्, “यता आउ । तिम्रो नाम के हो ?” मैले भनेँ “लता मंगेशकर” ।
“ए । तिमी मराठी हौ ?”
“हो ।”
यो सुनेर जद्दनबाई खुशी हुँदै भन्न थालिन्, “वाह ! कस्तो ‘बगैर’ भन्यौ ।”
“यो ‘दीपक बगैर कैसे परवाने जल रहे हैं.....’ बोलमा ‘बगैर’को उच्चारण सुनेर मन आनन्दित भयो । यस्तो उच्चारण हरेकले गर्न सक्दैनन् । निश्चितरुपमा एकदिन ठूलो नाम हुनेछ, तिम्रो ।”
लता मंगेशकर यो स्यावासीबाट अत्यन्त खुशी भइन् । तर उनको मनमा आनन्दका साथै अलिकति डर पनि प्रवेश ग¥यो । यो डरका बारेमा उनी बताउँछिन्, “यति ठूलाबडा मानिस मेरो काम सुन्नलाई आइरहेका छन्, जो एक–एक शब्दमाथि सोच्छन् र विचार गर्छन् ।”
त्यसो त ‘आएगा आनेवाला ...’ लताको शुरुआती समयको सुपरहिट गीत बन्यो । यद्यपि यस गीतको रेकर्ड बजारमा आउनुभन्दा पहिले नै संगीतकार खेमचन्द प्रकाशको निधन भयो । उनको निधन आज पनि लता मंगेशकरलाई दुख्छ ।
यस पुस्तकमा लताको जीवनको सुरुआती संघर्षको व्यहोरा पनि संलग्न गरिएको छ । १९४३ मा १४ वर्षको उमेरमा लता मंगेशकर कोल्हापुरबाट बम्बई (मुम्बई) को संगीत नाटक महोत्सवमा सहभागी हुन आएकी थिइन् । उनकी सानिमा गुलाब गोडबोले उनको साथमा थिइन् । बम्बईमा लता, आफ्ना काका कमलानाथ मंगेशकरको घरमा बसेकी थिइन् । त्यही बसेर उनी नाट्य र संगीतको अभ्यास गरिरहेकी थिइन् । लताको सोचाई थियो ‘उनले आफ्ना पिताजीको नामलाई अझै अगाडि बढाउनु छ । त्यसैले संगीत समारोहमा उत्कृष्ट प्रदर्शन गर्नुछ ।’
तर उनका काका उनीसँग रिसाई रहेका थिए । उनलाई लाग्थ्यो लताले उनको दाजुको नाम खराब गरिरहेकी छन् । कहाँ पण्डित दीनानाथ मंगेशकर जस्तो संगीत साधक र कहाँ यो केटी ? यसले राम्ररी गाउन पनि सक्दिनँ । जसले उनको खानदानमा नराम्रो असर पार्नेछ । यही चिन्ता लताका फुफू–फुपाजुमा पनि रहेको थियो । तिनलाई पनि लागिरहेको थियो कि लता राम्ररी गाइरहेकी छैनन् । यो सबै सुनेर लता दुःखी भइन् र रुन लागिन् ।
उनले यी सबै कुरा आफ्नी सानिमालाई सुनाइन् । उनकी सानिमाले उनको हिम्मत बढाउने कुरा गरिन् । सानिमाले ‘तिमीले उदास हुनुपर्दैन, बस् आफ्ना पिताजीको स्मरण गर । उनैले तिमीलाई बाटो देखाउनेछन्’ भनिन् । लता मंगेशकरका पिताजी प्रख्यात संगीत साधक पण्डित दीनानाथ मंगेशकरको हृदय रोगका कारण सन् १९४२ मा निधन भएको थियो । बम्बईमा भएको नाट्य महोत्सव आयोजना पूर्व उनका पिताजी लताको सपनामा आएका थिए ।
यसरी यहाँबाट भएको सांगीतिक शुरुआत पछि लता मंगेशकरले कहिले पछाडि फर्केर हेर्नु परेन । सात दशक लामो आफ्नो सांगीतिक करिअरमा उनले ३६ भाषामा हजारौं लोकप्रिय गीतहरूमा आवाज दिएकी छन् । –बीबीसी