काठमाडौं । ‘हामी कवि र कविता’को एउटा अर्को शृङ्खलामा कविहरू राधिका गुरागाईँ तथा शान्ति प्रियवन्दना सुनिए । काठमाडौंमा आइतबार आयोजित ‘हामी कवि र कविता’मा यि दुई कविले आ–आफ्ना काव्य रचना वाचन गरेका थिए । लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिर तथा सर्वनामको संयुक्त आयोजनामा प्रस्तुत ‘हामी’ले विगत पाँच वर्षदेखि कविहरूलाई मञ्च प्रदान गर्दै आएको छ । हरेक महिनाको १ गते यो कार्यक्रम हुने गरेको छ ।
‘हरेक महिनाको शुरुआत केही राम्रा कविता सुनेर गरौं’ भन्ने नाराकासाथ प्रस्तुत हुँदै आएको ‘हामी’को यस पटकको श्रृँखलाको पहिलो चरणमा विराटनगरकी कवि राधिका गुरागाईँ सुनिइन । उनले मौन आकृति, चराहरूको घर, सालिक, अन्यथा नसम्झिदिनुहोला, तिमी हुनुमासहित एक दर्जन कविता वाचन गरिन् । त्यसैगरि हेटौडाकी कवि शान्ति प्रियवन्दनाले जवाफ पाउँ सरदार, आउँदो युद्धमा, समय, जिल खुवाउने गाउँ, नगरबधूको बकपत्रसहित ११ वटा कविता वाचन गरिन् ।
रंगकर्मी राज शाहद्वारा संचालित कार्यक्रममा डा. विष्णुविभु घिमिरे तथा अशेष मल्लले दुबै कविलाई माला लगाएर स्वागत गरेका थिए ।