काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को एक अध्ययनले ‘कमजोर कानुनी संरक्षण तथा त्यसलाई लागु गर्ने इच्छाशक्तिको अभाव’ का कारण भारतमा हातले फोहोर सफा गर्ने चलन अहिले पनि जारी रहेको देखाएको छ । त्यहाँको सरकारले सन् २०१३ मै काननु बनाएरै यस्तो प्रथामा प्रतिबन्ध लगाएको थियो ।
‘हेल्थ, सेफ्टी एन्ड डिग्निटी अफ न्यानिटेसन वर्कर्स इन इनिसियल एसेसमेन्ट’ शीर्षककको अध्ययनअनुसार अहिले पनि भारतमा सफाइ मजदुरको आर्थिक अवस्था गम्भीर रहेको र यसलाई ‘जातिगत व्यवस्थाअन्तर्गतको रोजगारी’ मानिने उल्लेख छ । विश्व बैङ्क, डब्ल्यूएचओ, अन्तरराष्ट्रिय श्रम सङ्गठन (डब्ल्यूएलओ) तथा अर्को अन्तरराष्ट्रिय विकास सङ्गठन ‘वाटरएड’द्वारा संयुक्त रुपमा गरिएको अध्ययनमा भारत तथा अन्य आठ देशमा सफाइकर्मीको स्थितिको औसत आधारमा यो निष्कर्ष निकालिएको हो ।
यो अध्ययनको निष्कर्ष १९ नोभेम्बरमा पर्ने विश्व शौचालय दिवसको पाँच दिनअघि बिहीबार जारी गरिएको थियो । अध्ययनमा बङ्गलादेश, बुर्किनाफासो, हैटी, केन्या, सेनेगल, दक्षिण अफ्रिका तथा युगान्डाजस्ता देशको अवस्था हेरिएको थियो । अध्ययनले भनेको छ, ‘‘कतिपय मुलुकमा सफाइकर्मीको हित रक्षा गर्ने कानुनकै अभाव छ या कानुन सही ढङ्गमा लागू हुन सकिरहेको छैन अथवा व्यावहारिक रुपमा प्रभावकारी हुन सकेको छैन । हातले फोहोर सफा गर्नु भनेको प्रायः जोखिमपूर्ण काम गर्नु हो ।’’
अहिले पनि भारतका कतिपय स्थानमा सफाइ गर्ने मानिसलाई काम गरेवापत पैसा दिइँदैन, खानेकुरा दिइन्छ । सफाइकर्मीले भेदभावपूर्ण व्यवहार र अपमानको सामना गर्नुपर्छ ।
रिपोर्टबारे प्रतिक्रिया दिँदै यस्तो ‘कुप्रथा’को अन्त्य हुनुपर्ने सम्बद्ध व्यक्तिहरुले बताएका छन् । भारतमा हाल ५० हजारभन्दा बढी मानिस विभिन्न ठाउँमा हातले सफाइ गर्ने कार्यम संलग्न रहेको पाइएको छ । मानिसको स्वास्थ्य, बसाइ, रहनसहनजस्ता कुरालाई सहज बनाइदिने काम गर्ने सफाइ मजदुरको प्रतिष्ठा, तिनको स्वास्थ्य, जीवन निर्वाहलगायत मामिलामा सबै देशका सरकार सचेत हुनुपर्ने देखिन्छ ।
नेपाललगायत कतिपय दक्षिण एसियाली मुलुकमा फोहोरको मात्रा अधिक छ । नेपालमा सेफ्टिक ट्याङ्क सफा गर्ने क्रममा मजदुरको मृत्यु भएको खबर निरन्तर आइरहन्छ । बिहानबिहान सडक सफा गर्ने मजदुरले बेपर्वाह धुलो बढारिहेको देखिन्छ । तिनलाई कम्तीमा पनि मास्कको व्यवस्था हुनु जरुरी छ ।
सफाइ मजदुरको स्वास्थ्य व्यवस्थापनका लागि सरकार चनाखो हुनुपर्ने र उनीहरुको सामाजिक प्रतिष्ठा, स्वस्थ जीवनका बारेमा सरकारमात्र होइन सर्वसाधारण नागरिकसमेत जागरुक हुनुपर्ने देखिन्छ । सर्वप्रथम त सफाइ मजदुरको महत्व र तिनको प्रतिष्ठा तथा सम्मानका बारेमा सोच्नु आवश्यक छ ।
(एजेन्सीहरुको सहयोगमा)