site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अचम्म
Ghorahi CementGhorahi Cement

अचम्म
(रोचक सामग्री: सङ्कलन– विश्वराज अधिकारी)
लेखक विश्वराज अधिकारीद्वारा सङ्कलित पुस्तक ‘अचम्म’मा नाम झैं विश्वका रोचक र रमाइला प्रसङ्गहरूलाई समेटेर पुस्तकको रुप दिइएको छ । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै केही पुस्तकहरूसमेत लेखिसकेका अधिकारीको यो किताबमा अनौठा घटना, चलन, सांस्कृतिक परम्परालाई सँगालोका रुपमा प्रस्तुत गरिएको छ ।

यस पुस्तकमा धेरै विषय समेटिएका छन् । तिनमा अचम्म लाग्दा मानिस, कतिपय घटना तथा रोचक सामग्री पनि प्रस्तुत गरिएको छ । लेखकका अनुसार यो पुस्तकले जीवन बाँच्ने कला सिकाउनुका साथै पाठकलाई मनोरञ्जन पनि प्रदान गर्छ । यसले पाठकलाई विविध विषयहरूमा जानकारी दिने विश्वास गरिएको छ । 

पुस्तक ‘अचम्म’मा अमेरिकाको नाएग्रा फल्ससँग जोडिएको सन्दर्भ पनि छ भने रुवान्डाको जातीय नरसंहारका विषयमा पनि लेखिएको छ । भारतमा बलपूर्वक गरिएको बन्ध्याकरणका विषय पनि सङ्कलित छ भने पर्खाल नभएको जेलका विषयमा पनि उल्लेख छ । यसमा नेपालका पनि केही विशेष घटना समावेश गरिएको छ । पुस्तक रोचक छ ।
रत्न पुस्तक भण्डारद्वारा प्रकाशित १३० पृष्ठको यस पुस्तकको मूल्य २५० रुपैयाँ राखिएको छ ।

Agni Group

डेड शुक्रबिर
(उपन्यास: टी.एन. भट्ट ‘विश्वामित्र’) 
साहित्यका विविध पक्षमा लेख्दै आएका कलमजीवी हुन्, टी.एन. भट्ट ‘विश्वामित्र’ । उनको अर्को कृतिका रूपमा प्रकाशनमा आएको उपन्यास हो ‘डेड शुक्रबिर’ ।

‘डेड शुक्रबिर’मा नेपाली समाजमा मौलाएका विभिन्न विषय सन्दर्भ, विकृति विसङ्गतिलाई फरक प्रस्तुति दिँदै औपन्यासिक फ्रेममा लेखकले उतारेका छन् । नाम नै पृथक किसिमबाट राखेका लेखक भट्टले यस उपन्यासमा फरक लेखन शैलीको पनि प्रयोग गरेका छन् । 

Global Ime bank

उनले उपन्यासमा नेपाली समाज र नेपालको राजनीतिक विषयवस्तुलाई यथार्थवादी ऐनाबाट हेरेर शब्दमा चित्रित गरिएको छ । साथै, उपन्यासमा प्रेम, द्वन्द्व, यौन र व्यङ्ग्यलाई पनि स्थान दिएका छन्, उपन्यासकारले । 

यसअगाडि उनले कवितासङ्ग्रह ‘सूर्यपुत्र’ प्रकाशनमा ल्याइसकेका छन् । ‘डेड शुक्रबिर’ उनको पहिलो उपन्यास हो । 
शिखा बुक्सले प्रकाशनमा ल्याएको २७६ पृष्ठको यस उपन्यासको मूल्य ३५० राखिएको छ ।

महिमा 
(खण्डकाव्य: प्रा. गोपीकृष्ण शर्मा)
मनमा भाव उब्जन्छन् जगत् जीवनका कति
बिनी बिनी तिनैमध्ये एक रोज्नु छ सङ्थति
मिलाई भाव पछ्याई काव्य प्रस्तुत गर्नु छ
काव्य उद्यानमा स्वस्थ फूल एक उमार्नु छ । (१/४)

आफ्नो खण्डकाव्य ‘महिमा’को पहिलो सर्गको चौथो श्लोकमा काव्यकार प्राध्यापक गोपीकृष्ण शर्माले कविताप्रतिको आफ्नो भावलाई यसरी व्यक्त गरेका छन् ।  
महिमा प्रा. शर्माको १८औं कृति हो । यसअगाडि उनका समालोचना, कविता, महाकाव्य, शोककाव्यसहित १७ वटा पुस्तक प्रकाशित भइसकेका छन् । 
चार सर्गमा १५७ चतुस्पदीय श्लोकमा विभिन्न काव्यिक भाव पाठकले यसमा भेट्छन् । 
आउलान् घर फर्केर भन्ने आस यहाँ थियो
फर्की उद्यममा लाग्ने वाचा पनि सँगै थियो
तर जीवित आएनन् के भयो कसरी गयो ?
प्राण के जान्नु त्यो सारा निष्प्राण देह देखियो । (३/३३)

दायित्व वाङ्मय प्रतिष्ठान, नेपालद्वारा प्रकाशित ६४ पृष्ठको पुस्तकको मूल्य १५० रुपैयाँ राखिएको छ ।

उहापोह 
(कथा: लक्ष्मणप्रसाद गौतम)
समालोचना विधामा चलेका व्यक्तित्व हुन्, प्राडा लक्ष्मणप्रसाद गौतम, जसले कविता र निबन्ध पनि लेख्दै आएका छन् । उनै गौतमको कथाकृति हो ‘उहापोह’ । यद्यपि, उनको यसअगाडि समालोचनाका दर्जन सङ्ख्यामा पुस्तकहरू प्रकाशित छन् ।

‘उहापोह’मा कथाहरू एकै ठाउँमा जम्मा भएर प्रकाशित हुनुअघि उनका कथाहरू फुटकर रूपमा पत्रपत्रिकामा प्रकाशित हुँदै आएका हुन् । ४० को दशकदेखि नै कथा लेख्न सुरु गरेका गौतमका कथामा समाजका अनेकन घटनापरिघटना समेटिएको छ ।

उपन्यासकार अमर न्यौपानेले आफ्नो भूमिकामा गौतमका कथाहरू पढ्दा आफूले कथाका पात्रहरूसँग यथेष्ट कुरा गरेको उल्लेख गरेका छन् । त्यसैले पनि उनले कथाका पात्रहरूसँगको वार्तालाप नै भूमिकामा प्रस्तुत गरेका छन् ।

१४ वटा कथा समावेश ‘उहापोह’मा नारी–पुरुषका सम्बन्धमा देखापर्ने भावनात्मक सम्बन्ध अनि यसका विविध आयामलाई पस्किने काम गरिएको छ ।
साङ्ग्रिला बुक्सले प्रकाशनमा ल्याएको २०० पृष्ठको यस कथासङ्ग्रहको मूल्य २७५ रुपैयाँ राखिएको छ ।

 

 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  ०७:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC