site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पहिला सम्पादक अनि रिपोर्टर
Sarbottam CementSarbottam Cement

कुमार लुइँटेल


काठमाडौं आउजाउ त भइरहन्थ्यो, तर भण्डारीले सङ्घर्षको केन्द्र विराटनगरलाई नै बनाइरहे । पत्रकारितामा पाइला राख्नेले आरम्भका दिनमा समाचार सङ्कलन र लेख्ने काम गर्छन्, तर भण्डारी भने पहिल्यै सम्पादक बने । सम्पादक बनेको लामो समयपछि मात्र समाचारदाता बने । ‘‘म त पहिले सम्पादक, त्यसपछि समाचारदाता बनेर समाचार सङ्कलन र लेखन कर्ममा होमिन पुगेँ । अहिले पनि सम्पादक नै छु, तर समाचार पनि लेख्छु,’’ उनी भन्छन् ।

उदयपुरबाट सुनसरीको दुहबी झर्दा भण्डारी लक्का जवान थिए । ध्यान, जपतप पत्रकारिता नै थियो । उदयपुर चौदण्डीगढीबाट सुनसरी आएर दुहबीको सरस्वती माविमा भर्ना भए । त्यहीँबाट एसएलसी उत्तीर्ण गरे । पछि विराटनगरको महेन्द्र क्याम्पसमा पढे । अङ्ग्रेजी कमजोर थियो, फेल भए । उत्तीर्ण हुन पुनःपरीक्षामा सहभागी भए । २०३९ सालबाट पत्रकारिता सुरु गरेका उनी बनारसबाट निस्कने युगवाणीको सम्पादक बने । खासमा यो पत्रिका २००३ सालमै लक्ष्मीप्रसाद देवकोटा, नारायणप्रसाद उपाध्याय, बालचन्द्र शर्माहरुले निकालेका थिए । विराटनगरमा अर्का पत्रकार रमेश ‘पाखे’ले चलाए । उनैबाट लिएर सीताराम अग्रहरि र भण्डारीले चलाए । उनी ती दिन सम्झन्छन्, ‘‘दुहबीबाटै पत्रिका चलायौं । डेढ वर्ष चलाइयो । २०३९ देखि सुरु गरेका थियौं । सीताराम अग्रहरि र मेरो नाम सम्पादकको प्रिन्टलाइनमा आउँथ्यो ।’’ अग्रहरि गोरखापत्रमा जागिरे भएपछि भण्डारी एक्लै परे । 

Prabhu Bank
Agni Group
NIC Asia

अग्रहरि गोरखापत्रको प्रधानसम्पादकसम्म भए, तर भण्डारीले विराटनगर छाडेनन् । सङ्घर्षको दौड अहिले पनि जारी छ । भन्छन्, ‘‘मलाई काठमाडांैले तानेन, बरु यतै केही गरौं भनेर बसियो ।’’ उनले चलाएको उद्घोष दैनिक अहिले रङ्गीन छ । प्रदेश १ का पत्रिकाको सूचीमा अग्रणी मानिन्छ ।

एउटा  समय यस्तो पनि आयो, उनी अचानक सरकारी जागिर खान पुगे । विस्तारित खोप कार्यक्रममा जोडिए । ६ महिना काम गरेपछि दिक्क लाग्यो अनि छाडे । ‘‘हाकिमले नछाड भने, तर पत्रकारिताले तानिरह्यो । अनि जागिर छाडिदिएँ,’’ उनी भन्छन् । भण्डारीलाई पत्रकारितासँगै साहित्यमा पनि रुचि थियो । विराटनगर उसै पनि साहित्यिक गतिविधि नियमित भइरहने स्थान । त्यहाँ प्रमोद प्रधान, सुवास ढकाल, विवश पोखरेलसँग उनको सङ्गत भयो । साहित्यमा रुचि भए पनि उनले लेखनमा निरन्तरता भने दिन सकेनन् ।

Global Ime bank

त्यतिबेला पत्रिका दर्ता गर्न कठिन थियो । पञ्चायत समर्थकहरुलाई ‘मण्डले’ भनिन्थ्यो । मण्डले भए मात्र पत्रिका दर्ता सहज हुन्थ्यो । उनीसँग पछि कृष्ण पोखरेल जोडिन आइपुगे । प्रमाणपत्र तह पढ्दाका साथी थिए उनी । पत्रिका निकालौं भन्ने प्रस्ताव गरेपछि टिम बनाएर ‘आँसु’ नामक पत्रिका निस्कियो, २०४२ सालतिर । त्यसअघि रोहिणी भट्टराईसँग मिलेर ‘ऋचा टाइम्स’ निकाले । त्यो डेढ–दुई वर्ष चल्यो । आफ्नो हिसाबले चलाउन अनुकूल वातावरण नभएपछि भण्डारीले आफैं पत्रिका निकाल्ने सोच बनाए । 

काम गर्ने सिलसिलामै पञ्चायतका बेला प्रशासनले राजकाज मुद्दा चलायो, १३ दिन जेल बसे । त्यसबीच काठमाडांैको पत्रिकासंग आबद्ध हुन पुगे– संवाददाताका रुपमा । जनसंवाद, युगसंवाद, ज्वाला, जनमञ्च र देशान्तरमा काम गरे । भन्छन्, ‘‘निकै समय काम गरियो । काठमाडौंबाट ठूलो आकारमा श्री सगरमाथा दैनिक निस्कियो । तीर्थ कोइराला थिए सम्पादक । राजेश घिमिरे पनि थिए । पछि पो थाहा पाएँ– एमालेको पत्रिका रहेछ । मलाई चित्त बुझेन छाडिदिएँ ।’’ श्री सगरमाथा केही समयपछि बन्द भयो । अनि भण्डारी देशान्तर साप्ताहिकमै लागे र लामो समय काम गरे । 

२०४९ सालमा नेपाल पत्रकार महासङ्घ मोरङको अध्यक्ष बनेपछि उनले पत्रकारको हकहितका लागि सङ्गठित प्रयास पनि गरे । दुई पटक निर्वाचित भई महासङ्घको जिल्ला नेतृत्व सम्हाले । १६औं केन्द्रीय महाधिवेशन विराटनगरमै भयो । विराटनगरमा पत्रकार सङ्घ थियो, पछि धरान भेलाले महासङ्घ बनायो । पत्रकार महासङ्घको परिकल्पना विराटनगरमै भएको थियो । 

भण्डारी जिल्लाको अध्यक्ष थिए । महासङ्घको प्रमुख अतिथिमा निमन्त्रणा गरिएको थियो– तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई । त्यसबखत बनारसमा वीपीको सालिक शिलान्यास गर्न उनलाई उतै लग्ने तयारी गरेका थिए । गिरिजाप्रसादले ‘विराटनगर नै जान्छु, पत्रकारको कार्यक्रम छ’ भनेर यतै आएको उनी बिर्सन सक्दैनन् । भण्डारी सम्झन्छन्, ‘‘गिरिजाबाबुले मान्नु भएन छ । मेरो गृहनगरमै पत्रकारको त्यत्रो कार्यक्रम छ म किन बनारस जानु भनेर यतै आउनुभयो ।’’ महासङ्घले अहिले हरेक वर्ष निकाल्ने शान्तिपदयात्रा र प्रभातफेरिको चलन विराटनगरले बसाएको थियो । महासङ्घको लोगो पनि विराटनगरकै अवधारणा थियो । महासङ्घको साधारण सदस्य भएर अहिले काम गरिरहेका छन् उनी । 

भण्डारीले नयाँ टिम लिएर आफ्नो नेतृत्वमा पत्रिका निकाल्ने योजना बनाउन थाले । २०४८ सालमा साप्ताहिक पत्रिका दर्ता गरे । नाम थियो ‘उद्घोष’ । पछि त्यही पत्रिका सौजन्य प्रकाशन प्रा.लि.को नाममा संस्थागत रुपमा दैनिक भयो । जुन अहिले रङ्गीन कलेबरमा प्रकाशन हुन्छ । ‘‘ आफैंले प्रयास गरेर पत्रिका सुरु गरियो । २०६२/०६३ सालको जनआन्दोलनसँगै उद्घोषले दैनिक रुप लियो । जनआन्दोलनभरि बिहान र सन्ध्याकालीन गरी एकै दिन दुई अङ्क प्रकाशित हुन्थ्यो । श्रमजीवी पत्रकारको टिम बनाएर सुरु गरेकोले अहिले पनि पत्रिका रङ्गीन रुपमै चलेको छ । प्रदेशका अन्य पत्रिकासँग प्रतिस्पर्धा गर्न सकेको छ,’’ उनी भन्छन् । 

पत्रकारले आफैं मालिक भएर चलाएको पत्रिका हो उद्घोष । युनिक सहकारीबाट ऋण लिएर सुरु गरेका थिए, तर अहिले आफ्नै भवन छ । ‘‘७० हजार रुपैयाँ जम्मा गरियो । सदस्यबाट पनि उठाइयो । एउटा कम्प्युटर किनेर सुरु गरेका थियौं,’’ भण्डारी उद्घोष स्थापनाका दिन सम्झन्छन्, ‘‘जनआन्दोलन सुरु भएकोले दुई पटक पत्रिका छाप्ने गरेका थियौं । एक दिनमा दुई पटक पत्रिका प्रकाशन गरेर आन्दोलनको विषयलाई स्थान दिँदा यसले माइलेज लियो ।’’ पत्रिकाको कार्यालय रहेको हिमालयरोडमै आन्दोलनका कतिपय कार्यक्रम हुन्थे । धेरै नेता आन्दोलनको पक्षमा लेख्ने पत्रिका भनेर कार्यालयमै आई बस्थे । नेता कृष्ण सिटौलाले धेरैपटक पत्रिकाको कार्यालयमै आएर कुराकानी गरेका थिए । अनि समय भएपछि कोणसभामा भाषण गर्न जान्थे । डबल अङ्कले आन्दोलनलाई बल मिलेको थियो । लगनशील र युवा पत्रकारको टिमले अहिले पनि पत्रिकालाई निरन्तरता दिइरहेको छ । 

भण्डारी बिहानै उठेर नित्यकर्मपछि ध्यान गर्छन् । सवारी साधन चढ्दैनन् । हिँडेरै कार्यालय पुग्छन् । सम्पादकीय आफैं लेख्छन् । समाचारका विषयमा सम्पादकीय टिमसँग छलफल गर्छन् । कार्ययोजना बनाउँछन् । राति १० बजे घर पुग्छन् । पहिलापहिला त राति २ बजे घर पुग्थे । पर्याप्त साधन थिएनन् । विभिन्न कारणले ढिला हुन्थ्यो ।  

२०३९ सालदेखि सक्रिय पत्रकारिता गरिरहेका छन् उनी । पत्रकारितामा अहिलेको परिवर्तन देख्दा दन्त्यकथा जस्तो लाग्छ । पत्रिकामा फोटो छाप्नु पर्दा जिङ्क ब्लक बनाउनुपथ्र्यो । त्यसका निम्ति कि त काठमाडौं कि कलकत्ताबाट प्लेट बनाएर ल्याउनुपथ्र्यो । पटनामा पनि बन्थ्यो । अक्षरहरु एकएक वटा छानेर कम्पोज गर्नुपथ्र्यो । अहिले समय बिलकुलै फरक छ । प्रविधिले ठूलो फड्को मारेको छ । धेरै काम सहज हुन पुगेका छन् । अहिले पो सम्पादक छन् उनी, रिपोर्टर, डिस्ट्रिब्युटर, रिडर, कम्पोजर, मेसिनम्यान पनि आफैं थिए कुनै बेला । कयौं समाचार त आफैं लेख्यो अनि पढ्यो र चित्त बुझायो । यस्तै थियो पत्रकारिता । भन्छन्, ‘‘कहिले के मुद्दा लाग्ने हो भन्ने चिन्ता भइरहन्थ्यो । प्रशासनका मान्छेको चम्चागिरी नगर्नेलाई डर थियो ।’’ 

अग्रजले जे गरे त्यही गर्दै पत्रकारिता सिकेका भण्डारी पत्रकारिताको प्रशिक्षकसमेत बने । प्रेस इन्स्टिच्युटबाट तालिम पूरा गरेका उनी प्रशिक्षक बनेर देशभर पुगे । भन्छन्, ‘‘जस्तो जानियो त्यस्तै गरियो । श्राद्धमा बिरालो बाँधेजस्तो पत्रकारिता थियो । जनताका कुरा पछि मात्र आउन थालेको हो । उनीहरुको कुरा लेख्नुपर्छ भन्ने मान्यता थिएन । व्यवस्थापकका पृष्ठपोषकहरु धेरै थिए ।’’ त्यसबखत दुईथरि पत्रकार थिए । चाकरी गर्नेहरु पनि थिए । तिनलाई सरकारले पालेको थियो । जनताको कुराको मान्यता थिएन । काठमाडौंमा एड्भान्स पत्रकारिता भए पनि अनुमानकै भरमा लेख्ने गर्दथे । काठमाडौंको न्युरोड, पिपलबोटमा गफ सुनेर हावादारी सामाचार आउँथे । नयाँ सन्देशमा एकपटक ‘नेपाल गन्हायो’ भन्ने समाचार आयो । महालेखाको प्रतिवेदन हेरेर समाचार बनाएका रहेछन् । 

ठूला प्रकाशन गृह काठमाडौंमा भए पनि तिनले श्रमजीवी पत्रकारको शोषण गरिहेको भण्डारीको अनुभव छ । बरु मोफसलमा पत्रिकाले राम्रो पारिश्रमिक दिन थालिसके । पत्रिकामा श्रम गर्ने पत्रकारको अवस्था नाजुक छ । पछिल्लो समय पत्रकारितामा युवापुस्ताको रुचि कम हुँदै गएको देखेर उनलाई चिन्ता लाग्छ । ‘‘सीप र क्षमता हुने पत्रकार न्यून छन् । ती टिकेका छन्,’’ भण्डारी भन्छन्, ‘‘पेशाभित्र परम्परा धान्नेमात्रै देखिए, समर्पितहरुको खाँचो छ ।’’ 

अहिले मिडिया रिसोर्स धैरे छ । इन्टरनेट छ । सुविधा छ, तालिमको अभाव छैन । कलेजमा पढाइ हुन्छ । भण्डारीको विचारमा पत्रकारिता सरकारी जागिर जस्तो होइन । स्थापित हुनुपर्छ । कोरा मानिसलाई तालिम दिएर मात्र हुन्न । समाज बुझ्नुपर्छ । नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने खाँचो देख्छन् उनी । पत्रकारिता भर्खरै सुरु गरेका पत्रकारको क्षमता अभिवृद्धि गरिनुपर्ने देख्छन् । त्यसो गर्न नसक्दा यो पेशाप्रतिको विश्वास हराउने उनको भनाइ छ । ‘‘पत्रकारितामा उत्पन्न विकृति सच्याउने जिम्मा हामी पत्रकारकै हो,’’ उनी भन्छन्, ‘‘जनमानसमा पत्रकारिताप्रति सम्मानभाव बढाउने जिम्मा पनि हाम्रै हो ।’’

भण्डारीले धेरै पटक धम्की खपेका छन् । गलत काम गर्ने मानिसलाई उनी छाड्न चाहँदैनन् । झापा सदरमुकाम भद्रपुरमा एकजना त्यस्तै मानिस थिए । गलत काम गर्थे । भद्रपुर अर्थात् लाटोकेसेरो भनेर समाचार लेखे भण्डारीले । दिउँसो सुत्ने, राति जाग्ने बिम्बका रुपमा लाटोकोसेरो प्रयोग गरेका थिए उनले । 

दिउँसो सुनसान हुने भद्रपुरको विषयमा समाचार आएपछि भण्डारीको घरमा फोन आयो । श्रीमतीलाई फोन गरेछन् धम्की दिएर । घरमा उनी थिएनन् । सुरक्षाकर्मी नै घरमा पठाउनुपरेको घटना सम्झन्छन् उनी । ‘‘सुरक्षाकर्मी पठाएपछि पनि परिवारका मानिस डराएका थिए । घरमै धम्की आएको थियो । प्रहरीविरुद्ध लेख्दा पनि मुद्दा चल्ने डर हुन्थ्यो । तत्कालीन व्यवस्था र प्रशासकले धम्की दिन्थे,’’ उनी भन्छन् । 

पेशाप्रति नकारात्मक धारणा बनाउनेहरुदेखि भण्डारी दिक्क छन् । पेशागत इमानदारिता अभाव हुन दिन नहुने सुझाव दिन्छन् । भन्छन्, ‘‘मैले यस पेशाबाट के पाउँछु ? मैले के गर्नुपर्छ– के गर्नुहुन्न ? स्पष्ट हुनुपर्र्छ । सीप र क्षमता हुनेले राम्रो गर्न सक्छ, पत्रकारितामा । पेशागत इमानदारिता देखाउनुपर्छ । पार्टीसँग आवद्ध छन् धेरै पत्रकार, स्वतन्त्र कम छन् । जनताले हेर्ने दृष्टिमा धेरै नकारात्मक धारणा पनि छ । सङ्क्रमणकालको अन्त्य अहिले पनि भएको छैन ।’’ 


काठमाडौंबाट निस्कने पत्रिकाले विराटनगर संस्करण निकाल्न थाले । त्यसले मोफसलको पत्रिकालाई ठूलै असर गर्ने ठानिएको थियो । तर उल्लेखनीय असर गर्न नसकेको उनको भनाइ छ । राजधानीका पत्रिकाले स्थानीय पत्रकारिता सकिएला भनी अनुमान गर्ने धेरै थिए । तर त्यो होइन रहेछ भन्ने भण्डारीले बुझे । उनको पत्रिका राम्ररी चलेको छ । अहिले प्रदेश सरकार बनेपछि स्थानीय पत्रिकाको माग बढेको छ । व्यापार पनि बढेको छ । भन्छन्, ‘‘राजधानीका पत्रिका थोक बिक्रेता हुन् । हामीले खुद्रा चलाएकै छौं ।’’ 

उमेरले ६ दशक टेक्न लागेका भण्डारी अझै समाचार र सम्पादकीय  लेख्छन् । कार्यक्रममा सहभागी हुन्छन् । पत्रकारिताको जोश उस्तै छ । अहिले सामाजिक सञ्जाल र अनलाइन पत्रकारिता अगाडि बढे पनि छापाको क्रेज नघटेको उनको बुझाइ छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १४, २०७६  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC