site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
राज्यबाटै यस्तो गलत काम हुन्छ भन्ने कल्पना पनि थिएन 
Sarbottam CementSarbottam Cement

डा. रुप ज्योती एक प्रतिष्ठित उद्योगी व्यवसायी हुन् । काठमाडौंको एउटा जग्गा सम्बन्धी विवादमा परेपछि उनी कात्तिक २१ गते सिंगापुरबाट काठमाडौं आउने क्रममा छोरीसहित विमानस्थलबाटै पक्राउ परे ।

यो घटनापछि विभिन्न कोणबाट टिप्पणी भए । केही पक्षमा त केही विपक्षमा । अन्तमा जाहेरीकर्ताले निवेदन फिर्ता लिएपछि उनी छुटे । यो घटनालाई उनले कसरी लिए, राज्य, निजी क्षेत्रप्रति उनको धारणा के छ ? के त्यो विषय नेगोसिएसनमै टुङ्गिएको हो ? यिनै विषयमा केन्द्रित रहेर डा. रूप ज्योतीसँग बाह्रखरीका हिमाल पौडेलले गरेको कुराकानीः 

हिजोआज केमा व्यस्त हुनुहुन्छ ?

Prabhu Bank
Agni Group
NIC Asia

मेरो धेरै समय विपश्यनाको क्रियाकलापमा बित्छ । शिविरमा जानुअघि साधकहरूलाई एक–साढे १ घण्टा ओरियन्टेसन दिन्छु । त्यो महिनामा दुईपटक हुन्छ । 

शिविर सकिएपछि ट्रस्टीहरूको महिनामा दुईपटक बैठक हुन्छ, त्यसमा समय दिन्छु । आचार्यहरूको एकपटक, सहायक आचार्यहरूको एकपटक बैठक हुन्छ । हरेक साता ध्यान केन्द्रमा ३–४ घण्टा बिताउँछु । काठमाडौंका पुराना नेवार समुदायहरू कंसकार, तुलाधर, स्थापित, ताम्राकारको ‘उरा समाज’ छ, त्यसको अध्यक्ष छु । यो समाजको अध्यक्ष भएको चौथो कार्यकाल हो । 

Global Ime bank

समाजको अध्यक्षकै रूपमा ११ वर्षमा प्रवेश गरेको छु । हरेक बिहीबार एक–दुई घण्टा बैठक गर्छौं, त्यसमा जान्छु । र, व्यवसायलाई पनि बलियो बनाउनु छ, त्यसमा पनि लागेको छु । 

गत कात्तिक २१ गते तपाईं सिंगापुरबाट स्वदेश फर्कंदै गर्दा विमानस्थलबाटै पक्राउ पर्नुभयो । त्यो दिनको घटनालाई कसरी सम्झनुहुन्छ ?

केही समयको मौनतापछि... एक किसिमले भन्ने हो भने त्यो घटनाले मलाई आश्चर्यचकित तुल्यायो । हुन त, पक्रन लागेको छ भन्ने जानकारी त थियो । तर, फेरि पनि म आश्चर्यचकित किन भएँ भने मैले राज्यप्रति, राज्य संयन्त्रप्रति ठूलो विश्वास गरेको थिएँ । प्रहरी प्रशासन, न्याय प्रशासन सबैप्रति ठूलो विश्वास थियो कि यस्तो गलत काम मप्रति हुँदैन, गरिँदैन, गर्न दिइँदैन । 

मेरो संलग्नता नै नभएको निराधार कुरामा प्रहरीले कारबाही गर्ला भन्ने अनुमान गर्न धेरै गाह्रो थियो । त्यो पनि रूप ज्योतीलाई मात्रै समातेको भए, रूप ज्योती व्यापारमा लागेको, लेनदेनमा केही कमीकमजोरी भयो होला, कोही असन्तुष्ट भयो होला भन्न सकिन्थ्यो । तर, यहाँ त छोरी, बहिनी, छोरा, भतिजाहरू, दाइसमेतलाई एक साथ पक्राउ पुर्जी जारी गरियो । 

जुन आरोप हामीमाथि लगाइएको थियो त्यस विषयमा उनीहरू पूरै अनविज्ञ थिए । थाहा हुनु पनि कसरी उनीहरू सेयर होल्डरको पनि सेयर होल्डर, कति टाढाको कुरा । उदाहरणका लागि, बुटवल पावर कम्पनीलाई लिऔं न । बुटवल पावरमा सांग्रिला भन्ने प्रमुख सेयरहोल्डर छ । जसको सेयर ज्योती एन्ड कम्पनीले लिएको छ र त्यो ज्योती एन्ड कम्पनीको हामी सेयर होल्डर छौं । ज्योती एन्ड कम्पनीको सेयर होल्डरको हैसियतले बुटवल पावरमा के भइरहेछ मलाई के थाहा हुन्छ ? 

मेरो त्यहाँ लगानी छ, डिबिडेन्ट आयो भने सांग्रिलाले पाउँछ, सांग्रिलाले ज्योती एन्ड कम्पनीलाई दिन्छ, ज्योती एन्ड कम्पनीले हामीलाई दिने हो । हामी डिबिडेन्ट (लाभांश) को अपेक्षा गरेर बसेका व्यक्ति हौं, किनकि कम्पनीको ऐनको दफा ८ मा स्पष्ट लेखेको छ । सेयर होल्डरको दायित्व उसको जति लगानी छ, त्यसमा सीमित रहने हो । मलाई त्यो कम्पनीमा यो गर्नु, त्यो गर्नु भन्न पाउने अधिकार हुँदैन । 

धेरैभन्दा धेरै मैले त्यो सञ्चालक समितिमा भोट हाल्ने हो । भोट खसालेपछि आम नागरिक जस्तो । भोट पाएको व्यक्तिले केही गल्ती गरे भोटरलाई पनि लान मिल्छ र ? यो घटनामा प्रथमतः मेरो नाममा जाहेरी दर्ता नै नहुनुपर्ने हो । 

अदालतामा धरौटी जम्मा भइसकेको, तेस्रो व्यक्तिले गरेको, त्यसमा पनि ऊ आफैंले स्वीकार गरिसकेको, मिडियामा भनेको कुरामा म कसरी मुछिएँ, आश्चर्य त्यहीं लागेको हो । कसैले भनेको नटेरेपछि गृहमन्त्रीबाट ठाडो आदेश दिएर मलाई समातेको रे । हुन त गृहमन्त्री जस्तो अति व्यस्त व्यक्तिलाई जनताको दुःख, मर्का सम्झेर, हरेक व्यक्तिका विषयवस्तु बुझ्दै हिंड्न फुर्सद पनि हुँदैन । 

तर, फेरि पनि प्रहरीले यस्तो जोहरी दरखास्त नलिनुपर्ने । अदालतले पनि सेयर होल्डरको पनि सेयर होल्डरलाई कसरी पक्राउ पुर्जी दिने भनेर सोच्नुपर्थ्यो । जाहेरीकर्ताले फलानोले यस्तो गर्‍यो भनेका आधारमा प्रहरी लागे पनि न्यायाधीशले त कानुनी रूपले सही छ, छैन हेरिदिनुपथ्र्यो नि ।

अर्को आश्चर्य पक्राउ पुर्जीमा ल्यान्डमार्क डेभलपमेन्टको सञ्चालक लेखेको छ । छोरी र म दुवैजना ल्यान्डमार्कको सञ्चालक होइनौं । हामी सञ्चालक नै होइनौं भन्दा त्यो पछिको कुरा भन्यो । पक्राउ पुर्जीमा जे भनेर पक्राउ गर्‍यो, त्यो नै गलत छ । पहिला हामी तपाईंलाई पक्राउ गर्छौं अरू पछि हेरौंला भन्नु गलत भयो । 

राज्यबाट यस्तो किसिमको गलत काम पनि हुनसक्छ भन्ने मेरो कल्पनामा थिएन । त्यसैले म चकित भएँ । प्रहरीले हाम्रो कर्तव्य हो भनेपछि, उनीहरूलाई कर्तव्य निभाउन दिनुपर्‍यो । पक्राउ पुर्जी जारी छ, अदालतले अनुमति दिएको छ । त्यो आदेश हामीले पालना गर्नु पर्‍यो भनेपछि ठिक छ, त तपाईं आफ्नो ड्युटी पूरा गर्नुस् भनेर हामी प्रहरीसँगै गयौं । 

तपाईंलाई जुन शैलीमा पक्राउ गरियो, विदेश जान लाग्दा पनि होइन, फर्कंदा । यसरी तपाईंलाई पक्राउ गर्नै पर्ने कारण थियो ?

म त पहिलोपटक पक्राउ परेको, पक्राउको तरिका यस्तै होला भन्ने लाग्यो । त्यो बेलामा त टीकाटिप्पणी गर्ने कुरा आएन, तर पछि थाहा भयो, त्यो पनि सही रहेनछ । 

मलाई यतिसम्म भनिएको थियो कि तपाईंको सामानसमेत लिएर जाऔं । अनि मैले भनें सिंगापुरबाट आएको सामान प्रहरी कार्यालय किन लैजानै ? मेरो सामान खोलेर हेर्ने हो ? झोला खोल्ने क्रममा पनि हातहतियार वा विस्फोटक पदार्थ बोकेको अपराधी झैँ गरियो । 
त्यस्तो चेक त एयरपोर्टबाट जाने क्रममा सुरक्षाका लागि गर्ने हो ।

तपाईंसँग कति रुपैयाँ पैसा छ भनेर खोतल्न त मिल्दैन । मलाई लाग्छ, एकपटक त राष्ट्र बैंकले सूचना पनि निकालेको थियो, प्रहरीको काम त्यो होइन भनेर । 

यहाँ मेरो सामानै प्रहरी कार्यालयमा लैजाने भन्ने जुन कुरा उठ्यो त्यसले पनि मलाई असहज महसुस गरायो । मलाई लिन मेरो गाडी आएको छ, सामान मेरो गाडीमा पठाउँछु भनेर सामान गाडीमा पठाउन पाएँ । प्लेनको यात्रा गरेर आएको थिएँ । 

एकपटक घर पुगेर लुगा फेर्न पाइनँ, परिवारलाई यस्तो हुन लागेको छ भनेर भन्न पाइनँ । विषयको गम्भीरता हेर्दा पनि त्यस्तो अपर्झट गर्नुपर्ने कुनै कारण थिएन । १ करोड ठगीको कुरा गरिएको छ । मलाई लाग्छ, प्रहरीलाई, राज्यलाई मेरो औकात थाहा छ । १ करोड हिनामिना गरेर भाग्ने हैसियतको मानिस त म होइन । 

मेरो सामाजिक, आर्थिक अवस्थाका आधारमा पनि त्यो बुझ्न सकिन्थ्यो । मलाई अपराधी जस्तो घरमै जान नदिइकन रातारात सामान र छोरी समेतलाई समात्नुपर्ने आवश्यक कारण मैले अहिलेसम्म देखेको छैन, मलाई तर्साउने, धम्काउने, छटपटाउने बाहेक ।

यत्तिका लामो समयसम्म व्यवसाय गर्दै आउनुभएको छ । सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय हुनुहुन्छ । पूर्वअर्थराज्यमन्त्री समेत भइसकेको व्यक्ति, जीवनमै पहिलोपटक पक्राउ पर्दाको त्यो क्षणमा के सोच्नुभयो ?

कुनै भय सिर्जना भएन । कुनै व्याकुलता भएन । त्यसको श्रेय त मेरो साधना, विपश्यनाको अभ्यासलाई दिन्छु । 

विपश्यनाले बारम्बार त्यही भन्छ, यस्तै दुःखका बेला, समस्या परेका बेला, मद्दत गर्न आउँछ । विपश्यना बस्दा हामी त्यही भन्छौं । विपश्यनाले मनमा भएका विभिन्न विकारहरू हटाउँछ । विकार भनेको के ? भय, क्रोध, ब्याकुलता, लोभ, लालच, इर्ष्या, अहंकार यी सबै हटाउने हो । 

निरन्तर धेरै अभ्यास गरिसकेको हुनाले मेरो भय, ब्याकुलता धेरै घटिसकेको हुनुपर्छ । त्यसैले त्यो ब्याकुलता आएन, भय पनि आएन । 

प्रहरीले पक्राउ गरेपछि अध्यागमनको कोठामा एकछिन बसियो, तपाईंलाई हामी पक्राउ गर्न आएको भने । मैले ठिक छ, जे गर्नपर्छ गर्नुहोस् भनें । सोधें घर जान पाउँछु ? उनीहरूले पाइँदैन भने । लैजाने हो भने लैजानु भनें । परिस्थिति यस्तो आयो भन्ने बुँझें, अब नेक्स्ट के हुन्छ भनेर मनैमन तयार भएर अगाडि बढें । सुरुमा प्रहरीले टेकु लग्यो । त्यसपछि दरबारमार्ग । 

८ दिनसम्म प्रहरी हिरासतमै बस्नुभयो । भित्र बस्दा कस्ता व्यवहार भए, के सोच्नुभयो ?

प्रहरीलाई मैले भनें पक्राउ गर्नुको कुनै तुक छैन, तथ्य वा आधार छैन । मैले उनीहरूलाई नचिने पनि प्रहरीले मलाई चिनेका थिए ।

प्रहरीले आदरसाथ, नियमअनुसार पक्राउ गरेपछि पक्राउ पुर्जीमा सही गरेर छाप गर्न लगाए । फर्म भर्नुपर्छ भने भरें । साँच्चै भन्ने हो भने उदार नै भएर मलाई कुन ठाउँमा राख्दा उपयुक्त होला भनेर उहाँहरूले सोच्नुभयो । भएकोमध्ये दरबारमार्ग लैजानु ठिक होला भनेर टेकुबाट दरबारमार्ग ल्याउनु भयो । 

शुभचिन्तकहरूले मेरा लागि नर्भिक अस्पतालमा दुईवटा कोठा तयार गरेर राख्नु भएको रहेछ । तपाईं छाती दुख्यो भन्नुहोस् वा यस्तो अप्ठेरो भयो भन्नुहोस् । 

सीधै अस्पताल लैजान्छौं भनेर सल्लाह पनि दिनुभयो । तर, मनमा के आयो भने त्यस्तो गर्नु त उचित भएन । म झुटो कुरा बोल्दिनँ भनेर फुर्ति गरेको होइन, झुटो बोल्न संकोच लाग्छ । 

धेरै ध्यान गरिसकेको हुनाले झुटो कुरा बोल्नुपर्ने अवस्था आयो भने घण्टी बज्छ । ए... तिमीले झुटो कुरा बोल्न लाग्यौ भनेर । त्यस कारणले त्यहाँ मलाई के पनि महसुस भयो भने, मैले नै ढाँटें भने भोलि मैलै साधकहरूलाई प्राणिको हत्या गर्न हुँदैन, झुटो बोल्नु हुँदैन, चोरी गर्न हुँदैन भन्ने आधार नै गुमाएँ नि । 

झुटो बोलेर अस्पताल गएको भए त साधकहरूमा धर्मप्रतिको आस्था घट्छ नि । झुटो बोलेर अस्पताल जान आवश्यक पनि देखिनँ । मैले त्यसो गरेको भए मेरा धर्मगुरुहरूलाई पनि धक्का पथ्र्यो । आफ्नो सुविधाका लागि झुटो कुरा बोल्न उचित नभएकाले बोलिनँ । झुटो नबोलेपछि कसैले जबरजस्ती अस्पताल त लैजाँदैनन् नि ।

पक्राउ परिसकेपछि मुद्दा मामिला चल्यो । तर, तपाईंले आफ्नोतर्फबाट कुनै कानुन व्यवसायी राख्नुभएन, आफ्नो मुद्दा आफैं लड्नुभयो, किन ?

कानुन व्यवसायी नराखेको होइन । पक्राउ परेको २४ घण्टाभित्र अदालतमा पेस गर्ने क्रममा ४ जना राखेको थिएँ । उहाँहरूले बहस गर्नुभएको थियो । तर, मलाई के लाग्यो भने उहाँहरूले त कानुन व्यवसायीका रूपमा मात्रै बहस गर्नुहुन्छ । मर्का परेको घटनाको विषयमा बढी मलाई थाहा थियो । 

कानुन व्यवसायीले कानुनी रूपले बोल्नुहुन्छ, मैले पनि बोल्न पाउने भएकाले मैले सत्यका रूपमा तथ्यका रूपमा बोल्ने हो । त्यो हिसाबले मैले अदालतमा बोलेको हुँ । कानुन व्यवसायीको कुरा सुनेपछि मैले पनि अलिकति भए पनि कानुन बुँझें । हिरासतमा त्यस्तो व्यक्तिलाई राख्नुपर्छ जुन व्यक्ति भाग्ने सम्भावना छ, पैसा कहीं लुकाउँछ, प्रमाण नष्ट गर्छ । मेलै न्यायाधीशलाई भने, श्रीमान् म भाग्ने भए त यहाँ आउँदै आउने थिइनँ । 

यो दृष्टिले श्रीमान्ले शंका गर्नुपर्ने, चिन्ता गर्नुपर्ने कारण नै छैन, मलाई हिरासतमा पठाउनुपर्ने कारण छैन । मैले पैसाको हिनामिना गर्छु कि भन्ने हो भने पनि पैसा अदालतमा सुरक्षित छ । प्रमाण नष्ट गर्न मसँग कुनै प्रमाण छैन । न्यायाधीशले मेरो कुरा सुन्नु पनि भयो, तर जवाफ नदिएर उठेर हिंड्नुभयो, पूर्व निर्धारित जस्तो । बयानका लागि आउनुहोस् भनेको भए म अदालत उपस्थित भैहाल्थें । 

केही शंका गर्नुपर्ने थिएन । तर, मलाई हिरासतमा पठाइयो ।  आरोपितको प्रतिष्ठा, विश्वसनीयता पनि हेर्नुपर्ने, हेरिएन । ल मलाई त हिरासतमा राख्यो । मेरी छोरीलाई हिरासतमा राख्नु त विल्कुल गलत थियो । मैले न्यायाधीशलाई भने, बयान मसँग लिनु छ, छोरीलाई किन हिरासतमा राख्ने ? तर सुनुवाई भएन । त्यो के कारणले भन्ने विषयमा हामीले अनुमान मात्रै लगाउँन सक्छौं ।

मलाई राज्य र प्रशासनले विवेक प्रयोग नगरेकोमा चिन्ता लाग्यो । पछि दण्ड पाउने होइन अहिले नै दण्ड दिउँ भन्ने अवधारणा राखेर हिरासतमा पठाइयो । त्यो त सही भएन नि । म जस्तो व्यक्तिलाई त यस्तो हुन्छ भने सर्वसाधारणलाई के होला ? यो सही भएन । हामी सबैका लागि चिन्ताको विषय हो यो । 

तपाईं विपश्यनामा लागेकाले शक्ति दियो भन्नुभयो । त्यो समयमा छोरीले कस्तो महसुस गर्नुभएको पाउनुभयो ?

मलाई खुसी छ कि छोरी भएर पनि उनले यस्तो अवस्थाको सामना गरिन्, आँट गरिन्, बल गरिन् । दुःखी भइनन्, ब्याकुल भइनन् । हुन त म जत्ति नभए पनि उनी पनि साधना र अभ्यास गरेकी मानिस हुन् । उनले पनि साधाना थालेको १०–१५ वर्ष भयो । त्यसैले उनलाई पनि त्यो शक्ति प्राप्त थियो । उनलाई मेरो चिन्ता थियो । तर, म मात्रै हिरासतमा परेको भए घरमा रहँदा चिन्ता हुन्थ्यो– के भयो, कसो भयो भनेर तर, आफूसँगै भएकाले बुवालाई केही भइहाल्यो भने मेरो साथ र सहयोग रहन्छ भन्नेमा उनी ढुक्क थिइन् । 

उनलाई के समस्या पर्‍यो भने महिला राख्ने ठाउँ एकदैम चिसो, खोरभित्र ट्वाइलेट पनि फोहोर, दुगन्धित हुँदा अलि असर पर्‍यो तर मानसिक रूपमा त उनी पनि पूरै बलियी देखिइन् ।

सो घटनाप्रति अर्थात् तपाईंप्रति निजी क्षेत्रले चालेको कदमलाई कसरी हेर्नुभएको छ ?

म धेरै आभारी छु । निजी क्षेत्रले जुन हिम्मत गर्‍यो, साहस गर्‍यो । 

यस्तो गर्नु, त्यस्तो गर्नु भन्ने मलाई मौका पनि थिएन, भनेको पनि थिइनँ । उहाँहरूले स्वस्फूर्त रूप ज्योतीलाई यस्तो खालको व्यवहार हुनुभएन भन्नुभयो । 

मलाई लाग्छ कि यस्तो किसिमको चेतना हुनु, राम्रो पनि हो ।  किनकि निजी क्षेत्रलाई राज्यले नहेपोस् । निजी क्षेत्रले गरेको व्यवहारप्रति म अनुग्रहित छु । अर्को शब्दमा भन्ने हो भने उहाँहरूले म प्रति देखाउनु भएको सम्ममानका रूपमा पनि मैले यसलाई लिएको छु । 

ज्योती समूहको चौथो पुस्ता पनि निरन्तर व्यवसायमा छ । यत्तिका लामो समयसम्म अझ मुलुकको कठिन अवस्थाका बेलामा पनि व्यवसाय गर्ने, राजस्व तिर्ने, रोजगारी दिने यो घरानाप्रति राज्यले चालेको कदमलाई तपाईं के भन्नुहुन्छ ?

मैले राज्यप्रति विश्वास गरेको थिएँ । यहाँ एउटा यस्तो नाटक रचियो, जहाँ धेरै अन्याय भएको छ । धेरै बदमासी भएको छ ।  राज्यलाई झुक्याइयो । प्रहरीलाई झुक्याइयो, दबाब दिइयो ।  फिल्ममा गरिएको जस्तो नाटक । जस्तो मोटरसाइकल र गाडी दुर्घटना भयो भने गल्ती सानो सवारी साधन चालकको भए पनि दोष ठूलालाई नै थोपरिन्छ । दोष त सानाको पनि हुन सक्छ । 

यहाँ पनि मलाई लाग्छ कि रूप ज्योती भन्ने धनाढ्य, विगेन्द्रकृष्ण मल्ल भन्ने साधारण व्यक्ति । त्यसैले उसप्रति सहानुभूति जाग्यो होला ।  उहाँ राज्य (सरकार) भित्र र म बाहिर भएको हुँदा उहाँको कुरामा विश्वास गरेर राज्यले मद्दत गरेको पनि हुन सक्छ । नत्र त मलाई पक्राउ गर्नुपर्ने कुनै आधार नै थिएन ।

यो घटनापछि नेपालको निजी क्षेत्रले के पाठ लिने ? अथवा कुनै पाठ लिनुपर्छ भन्ने देख्नुहुन्छ ?

दुई प्रकारको पाठ यस घटनाबाट सिक्न सकिन्छ । एक, यस्तो परिस्थितिको सामना गर्न सकेको अवस्थामा दोषबाट मुक्त हुन सकिन्छ भन्ने ।  यदि कोही एक्स्प्लोइट गर्न आयो भने तिर्न आवश्यक छैन, नतिरे पनि हुन्छ भन्ने पाठ लिन सकिन्छ । त्यसका लागि विपश्यनाको बल जरुरी छ । दोस्रो, सशंकित हुन जरुरी छैन । उहाँलाई त यस्तो भयो हामीलाई भयो भने के गर्ने भन्ने चिन्ता लिनु हुन्न । केही समयका लागि झुक्याउन सकिन्छ तर त्यो सधैंका लागि त हुँदैन । 

अलिकति अगाडि बढेपछि राज्य नै प्रभावित हुन्छ ।  यो घटनापछि धेरै व्यापारी भेट्न आए । तपाईंको त हाम्रोभन्दा धेरै व्यवस्थित छ, सही छ, लटरपटर केही छैन । तर, हाम्रो जानेर होस वा नजानेर एक दुईवटा तलमाथि भएको हुनसक्छ ।  तपाईंले जस्तो सामना गर्न त हामीलाई त्यति सजिलो छैन भन्ने उहाँहरूको चिन्ता थियो । 

अर्को के कुरा पनि थाहा भयो भने धेरै जनालाई यस्तो परेको छ, बाहिर पो आएन । मैले पनि गलत विकल्प अपनाएको भए यो कुरा बाहिर आउने नै थिएन, कसैलाई थाहा नै हुँदैनथ्यो नि । 

यस्ता घटना भएको सुन्नमा आए । त्यो चिन्ताको विषय हो । यो चिन्ता निजी क्षेत्रलाई मात्रै होइन, सबैलाई हो । 

राज्य संयन्त्रले सही रूपले काम गरेन, विवेकले काम गरेन भने न्यायपालिकाको शरण जाने हो । त्यहाँ गएर सही न्याय पाउँदैनौं भन्ने मनमा भयो भने त राज्यमा बस्न सकिँदैन । यो झन डर लाग्दो अवस्था हो ।

यो घटनापछि निजी क्षेत्र अलि बढी नै त्रसित भएको देखिन्छ, अवस्था त्रसित हुनुपर्ने खालको नै रहेको तपाईं पनि देख्नुहुन्छ ? 

यहाँको ऐन, कानुन नै गलत भए । ऐन, कानुन यस्ता बनाइएको छ कि त्यसमा जो पनि मुछिन सक्छ । उदाहरणका लागि, भ्रष्टाचार ऐन हेरौं ।  तपाईं पेट्रोल पम्पमा गएर पेट्रोल भर्नुभयो, पेट्रोल भर्नेलाई धन्यवाद भनेर २ रुपैयाँ दिनुभयो भने पनि तपाईं भ्रष्टाचारी हुनुभयो । त्यो पेट्रोल पम्प निजी क्षेत्रको हो । 

व्यक्ति सरकारी कर्मचारी होइन, फेरि पनि यो ऐनको परिभाषा यस्तो व्यापक बनाइएको छ कि नेपाल आयल निगम सरकारी संस्था, निजी पेट्रोल पम्पमा काम गर्ने व्यक्ति पनि सार्वजनिक पद धारण गरेको जस्तो परिभाषित हुन्छ । 

परिभाषा नै व्यापक बनाएपछि त जहाँ पनि जो पनि पर्न सक्छ । 
त्यसैले परिभाषा व्यापक बनाउन हुँदैनथ्यो । सम्पत्ति शुद्धीकरणमा पनि त्यस्तै किसिमको समस्या छ । तपाईंलाई दुःख दिन मन लाग्यो भने दुःख दिन मिल्ने गरी परिभाषा गरिएको छ । नगर्ला अर्को कुरा हो, तर ऐन त त्यस्तो छ नि । 

गलत नीतिका कारण व्यवसायमा दुष्परिणाम भोग्नु परेको छ । म संसद्मा हुँदा पनि धेरै पटक त्यस्ता ऐनको विषयमा बोलें ।

यो घटना अन्तिममा डिलिङ्ग मिल्यो पनि भनिएको छ नि ?    

पक्राउ गर्नुअघि ५ करोड मागिएको र मलाई पक्राउ गरेपछि ८ करोड मागिएको भन्ने मैले पनि सुनें ।  अर्को दिन २० करोड मागियो भन्ने पनि सुनें । त्यसमा म अडिग थिएँ र मेरी छोरीले पनि भन्दै थिइन् कि जे गर्नुपर्ने भइसक्यो ।  अब सौदा गर्ने, नेगोसिएट गर्ने त कुरै थिएन । हामीले त स्ट्यान्ड लिइरह्यौं, यो ठगीको मुद्दा होइन, यसमा हाम्रो संलग्नता छैन, यसको पैसा अदालतमा जम्मा छ । 

त्यसकारण लेनदेनको आवश्यकता नै परेन । हामी अडिग थियौं । प्रहरीले अनुसन्धान गर्दा पनि त्यही निष्कर्ष आयो । सरकारी वकिलको कार्यालयमा बयानका क्रममा पनि अभियोग लगाउनुपर्ने आधार छैन भन्ने सुनेको थिएँ ।  यो अभियोग केवल दुःख दिने नियत मात्रै हो भन्नेमा हामी ढुक्क थियौं । 

यत्ति मात्र हामीलाई लागेको थियो कि ९ दिन त राख्यो हदै राखे २४ दिन राख्न सक्छ । मैले भनेको पनि थिएँ, अर्को १० दिन राख्ने हो भने दुई–दुई दिन गरेर नराख्नुहोस् । एकै पटक १० दिन भनेर राख्नुहोस् ।  छुट्दा अर्को आश्चर्य भयो, सबै टुङ्गो लागेर जान लागेको भनेका थियौं ।  पाउनुपर्ने रकम पाइसकेको हुनाले जाहेरी फिर्ता लिइयो भन्ने सुनें । कस्तो विचित्र । म ठोकेर भन्छु, मेरोतर्फबाट कुनै अधिकार पनि दिएको छैन, अनुरोध पनि गरेको छैन र मेरोतर्फबाट एक पैसा पनि दिएको छैन । 

पाउनुपर्नेको पैसा त अदालतमा जम्मा छ । कुरा त चलेको थियो, तर म र मेरो परिवारको संलग्नता नै नभएको विषयमा हामी किन सम्झौता गर्ने भनेर पछि हटेनौं । 

नेगोसिएट गर्ने भएको भए त पहिले नै दिन्थें । मेरोतर्फ कुनै लेनदेन भएकै छैन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २०, २०७६  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC