site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
समाचारमा ‘स्टोरी’ खोज्दै अनुप
Ghorahi CementGhorahi Cement

नरेश फुयाँल


जिन्दगीको यात्रा उसै पनि ‘नागबेली’ छ । कहिले उकाली त कहिले ओराली अनि घुम्तीहरुसँगको जम्काभेट । सपना कति भेटिन्छन्, कति क्षितिजसरी टाढा हुन्छन् । यस्तै उतारचढावपूर्ण जीवन अनुप काफ्लेको पनि रह्यो । भलै ध्वनिको तरङ्गझैं त्यसको लहर निकै तल–माथि नहोला । उनका बुवाको सपना अर्कै, उनी स्वयमको रहर अर्कै । सपनाको संसार अमेरिका पुगे । चलाखी गरेर लेख्न थाले । ‘एट्लान्टिक’ म्यागेजिन, ‘वासिङ्टन पोस्ट’, मा काम गरे ।  ‘न्युजविक’ र ‘फोब्र्स’ मा पनि लेखे । वक्ररेखामा जिन्दगी हिँड्यो, अहिले नेपाल आए अनुप । ‘काठमान्डू पोस्ट’को सम्पादक भए । उनै अनुपले हामीसँग साटे नेपालमा इन्टर्नसिपबाट सुरु गरेर अमेरिकामा गरेको पोख्त पत्रकारिता र नेपाल फर्किएर न्युजरुमको नेतृत्व गर्दासम्मको अनुभव । 

० ० ० 

Agni Group

बुवा सरकारी जागिरे, नायव सुब्बा । आमा शिक्षिका । उनीहरुको चाह थियो– जेठो छोरोलाई इन्जिनियर र कान्छो छोरालाई डाक्टर बनाउने । 

बालवय त हो, अनुपलाई भने कहिले डाक्टर, कहिले इन्जिनियर त कहिले पाइलट बन्ने रहर हुन्थ्यो । कलिलो उमेर त हो, जसले लोभलाग्दो कुरा गर्‍यो त्यतै लोभिन्थे । 

Global Ime bank

परिवारले इन्जिनियरको बाटो देखाएको थियो, तर उनको लगाव थियो अङ्ग्रेजी भाषामा । रुचि थियो हाजिरी जवाफमा । मन पथ्र्यो अन्तरराष्ट्रिय समाचार । 

प्रकाश थापाले हरेक सोमबार नेपाल टेलिभिजनमा हाजिरी जवाफको कार्यक्रम चलाउँथे । दुर्गानाथ शर्माले विश्वघटना प्रस्तुत गर्थे । यी कार्यक्रमका नियमित दर्शक थिए, अनुप ।

विदेश जान पाए हुन्थ्यो भन्ने रहर त थियो, तर उद्देश्य नै भने बनाइसकेका थिएनन् । बुवाआमाले तय गरिदिएको बाटो नै त होला हिँड्ने भन्ने थियो । 

०५७ सालमा एसएलसी दिए । उच्च शिक्षाका लागि ढोका खुल्यो । पोखराबाट काठमाडौं लागे । स्पष्ट निर्देशन थियो, साइन्स पढ्ने । छात्रवृत्ति पनि पाए । पढाइ सुरु गरे । जब पढाइ सुरु गरे, उनले आफूलाई पर्गेल्दै गए । निष्कर्ष निकाले, इन्जिनियरिङ विषय मेरा लागि हैन । 

दुई वर्षको पढाइ सकियो । उनले साहस बटुले, इन्जिनियरिङ पढ्दिनँ भन्न । भने । 

बुवाले सोधे, किन पढ्दैनस् ? 

अनुप: मलाई इन्जिनियरिङ पढ्ने मन छैन ।

बुवा: के गर्छस् त ?

अनुप: मलाई बाहिर गएर पढ्ने मन छ । र, लेख्ने मन छ । 

इन्जिनियरिङ छोडे । ०६० सालमा अनुप पुगे ‘दि हिमालयन टाइम्स’ । तीन महिना ‘इन्टर्नसिप’ गरे । 

फिचर सेक्सनमा थिए । दिनहुँ रिपोर्टिङ गर्न जान्थे । कहिले छोटा त कहिले लामो फिचर लेख्थे । 

कहिले बाइलाइन आउँथ्यो, कहिले आउँदैनथ्यो । उनले त्यो बेला क्रिकेट, बाटोमा हात हेर्न बसेका ज्योतिषी र उसका ग्राहकका बारेमा र केही आर्थिक रिपोर्टिङ पनि गरेका थिए । साथीभाइ तथा परिवारले पत्रिकामा नाम देख्दा ओहो नाम आएछ भन्थे । परिवार पनि मख्ख, अनुप पनि दङ्ग ।

तर अनुपको उद्देश्य भने फरक थियो । उनलाई बाहिर पढ्न जानका लागि ‘क्लिप्स’ तयार पार्नु थियो । भिजा अप्लाई गर्न कागजपत्र बलियो बनाउनु थियो । यो बेलासम्म उनले निर्णय लिइसकेका थिए, म पत्रकार बन्ने हो ।

पत्रकारितामा केले आकर्षित गर्‍यो ? 

अनुप नोस्टाल्जिक हुन्छन् । “बुवाले मलाई पत्रिका लिन पसल पठाउनु हुन्थ्यो । त्यो बेला अक्सर बुवाले ‘छलफल’, ‘दृष्टि’, ‘जनआस्था’ जस्ता पत्रिका किन्न पठाउनु हुन्थ्यो । ती अखबारले पनि मलाई पत्रिका पढ्ने बानी बसालेको थियो,” अनुप भन्छन्, “दिउँसो सरकारी जागिर खाने बुवा साँझ होटलमा काम गर्नुहुन्थ्यो । होटलबाट फर्किंदा हामी केटाकेटी नै भएकाले कहिले के कहिले के खानेकुरा पेपरले र्‍याप गरेर ल्याइदिनु हुन्थ्यो । प्रायः ती पेपर अङ्ग्रेजी हुन्थे । ‘टोरन्टो सन’ आज पनि मलाई याद छ, मैले देखेको पहिलो अङ्ग्रेजी पत्रिका थियो । ती पत्रिका पनि म पढ्थेँ ।”

सरकारी क्वार्टरमा बस्थे । अधिकांशः लोकसेवा पढेका र पढ्ने हुन्थे । ‘अन्तरराष्ट्रिय मञ्च’ र ‘विश्व दर्पण’ लगायतका पत्रिका हुन्थे । त्यो पनि पढ्थे उनी ।

पत्रिका पढ्ने लत बसेको कुरा सुनाएपछि अनुपले हामीलाई लेख्न पाए हुन्थ्यो भन्ने लोभ पलाएको तथ्य सुनाए । त्यो लोभ इख नै किन नहोस्, तर त्यसले उनलाई लेख्न हुटहुटी जगाएको थियो । पत्रकारिता के हो र कसरी गर्ने भन्ने उनलाई थाहा थिएन, तर लेख्न पाए हुन्थ्यो भन्ने मनमा सोच आउँथ्यो । 

के थियो, त्यो घटना ?

निर्वाचनमा भोट आफूले चाहेको पार्टीलाई नहालेको भन्दै अनुपको आमाको जागिर सरुवा भयो । तीन घण्टा लाग्थ्यो पोखराबाट । अनि सुरु भयो घरमा दुःख । “बुवाले अरुको मोटरसाइकल मागेर पेट्रोल भरेर बिहान–बेलुकै पुर्‍याउन, ल्याउन जानुपर्ने भयो । मैले खाना बनाएर भाइलाई खुवाउनु र भाँडा माझ्नुपर्ने भयो,” अनुपले अनाहकमा पाएको दुःखका दिन स्मरण गरे, “त्यो बेला मलाई लाग्थ्यो यसरी फोकटमा दुःख दिने, फोहोरी राजनीतिबारे पत्रिकामा लेख्न पाए !” मतदानको स्वतन्त्र अधिकार उपभोग गर्दा भोग्नुपरेको पीडा र पत्रकारिताप्रति पलाएको भरोसाले पनि उनलाई सुसुप्त रुपमा तानेको थियो । 

इन्टर्न गर्दा तीन महिनामा करिब ६० वटा स्टोरी तयार पारे । केही आफैंलाई मन परेका, केही चित्त बुझेका मात्रै । रहरले गरेको काम थियो । ती स्टोरीको माया थियो । तर त्यो बेला आफूलाई ‘क्याबात्’ गरेँ भन्ने लागेका स्टोरी हेर्दा चित्त बुझ्दैन ।  

कारण ?

‘यस्तो कमजोर लेखन थियो मेरो ।’ तर त्यो इन्टर्नमा गरेको काम थियो । पत्रकारिताको कखरा सिक्दा लेखिएको थियो । स्टोरी राम्रा–नराम्रा जे भए पनि त्यो बेला उनले सिके । त्यसले आत्मविश्वास चुलाइदियो । नचिनेका मान्छेहरुसँग बोल्न सिकायो । पराइसँग घण्टौं संवाद गरेर आफूलाई चाहेको कुरा खोज्न सक्ने बनायो । त्योभन्दा पनि ठूलो कुरो त अमेरिका जान सहयोग गर्‍यो । 

इन्टर्नसिपको समय सकियो । तीन महिना काम गर्दा फिचर एडिटर कोहेली सेनसँग राम्रो सम्बन्ध बनिसकेको थियो । अनुपले ‘पढ्न अमेरिका जान्छु’ भने । सेनले ‘बेस्ट अफ लक’ भने ।

मनमा परिवारलाई धोका दिने नियत त थिएन, तर अनुपले परिवारलाई छले । वातावरण विज्ञान पढ्छु भनेर अमेरिका उडे, तर कलेज पुगेपछि विषय परिवर्तन गरे । 

कुन विषय ?

इङ्लिस लिटरेचर र इन्टरनेसनल अफेयर पढ्न थाले । कलेजको पत्रिकामा काम गर्न थाले । पछि त्यसको सम्पादक नै भए । 

त्यही समय उनले जिन्दगीमै सुनौलो अवसर पाए । न्युजविक र फोब्र्समा इन्टर्न गर्ने मौका पाए । चार वर्षे ब्याचलर्सपछि मास्टर्स पढ्न उनी कोलम्बिया युनिभर्सिटी पुगे । स्नातकोत्तरचाहिँ पत्रकारितामा गरे । उनको रुचि इन्टरनेसनल रिपोर्टिङमा थियो । सँगै औधि रुचि न्युमिडियामा थियो । न्युमिडियाको एक वर्षे कोर्स पनि गरे । 

‘एट्लान्टिक म्यागजिन’मा काम पाए । अमेरिकाको सबैभन्दा पुरानो उक्त म्यागजिन विश्वकै पुरानामध्येको एक थियो । यसको डिजिटज सेक्सनमा काम गर्थे अनुप । 

‘एट्लान्टिक म्यागजिन’मा काम गरिरहेका उनलाई एक वर्षमा ‘वासिङ्टन पोस्ट’को ढोका खुल्यो । त्यो उनका लागि सबैभन्दा ठूलो अवसर थियो । भलै त्यो अवसरका लागि उनले काठमाडौंमा पढिरहेको इन्जिनियरिङ ड्रप गरेका थिए ।

बुवाआमाको सपना कुल्चिएका थिए । अमेरिका पुगेर बुवाआमालाई ढाँटेर फरक बाटो हिँडेका थिए । विज्ञानका सूत्रहरु छोडेर समाचार लेखनका सूत्र ‘फाइभ डब्ल्यू, वान एच’ पढेका थिए । बुवाआमालाई बिझ्ने केही पनि गर्नु थिएन उनलाई । आफू हिँडेको बाटो सुनौलो थियो भनेर प्रमाणित गर्नु थियो । त्यो सुरु गरे । 

डिजिटल एडिटरको जिम्मेवारी पाए । त्यो जिम्मेवारी थियो इन्टरनेसनल डेस्कको । संसारका विभिन्न देशमा छरिएर रहेका संवाददाताहरुको सम्पर्कमा बस्ने । ब्रेकिङ न्युज लेख्ने । ग्लोबल पोलिटिक्स र इस्युहरुमा कलम चलाउनुपथ्र्यो । 

करिब छ वर्ष ‘वासिङ्टन पोस्ट’मा बसेर काम गर्दाका थुप्रै अनुभव छन् अनुपसँग । कुनै तीता कुनै मीठा । कति सुनाउन मिल्ने त कति सुनाउँदा पनि ऐँठन हुने । 

सुरुआती सङ्घर्षका दिन चिनेका मान्छेहरुसँग पाउरोटी खाएर पनि बसे । पसलमा काम गरे, होटलमा भाँडा माझ्ने, कलेज जाने र पत्रिकामा इन्टर्न गरेको कठोर दिनहरु पनि उनले झेले सपनाको देश अमेरिकामा । 

सङ्घर्षले बाँच्न सिकायो । मेहनतले अवसरका ढोका खोल्यो । परिवारप्रतिको जिम्मेवारीले विचलित हुन दिएन । यात्रामा नयाँ ढोका उघार्ने प्रयत्न गरिरहे ।  

‘वासिङ्टन पोस्ट’मा हुँदा विश्वका विभिन्न देश रिपोर्टिङका लागि पुगे । हरेक वर्ष नेपाल आए । कामका लागि खाडी जाने नेपाली युवाको स्टोरी ‘वासिङ्टन पोस्ट’मा लेखे । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारको लडाइँको समाचार लेखे । माओवादी क्यानटोन्मेन्टमा रहेको सङ्क्रमणकालीन समयको समाचार लेखे । भर्खरै जनयुद्धबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका माओवादी नेता डा. बाबुराम भट्टराईको प्रोफाइल लेखे । 

अफगानिस्तानमा युद्ध चरिहरहेको थियो । जति पनि समाचार आउँथे, अमेरिकाको पक्षबाट आउँथे । तर उनलाई थाहा थियो, सबभन्दा अप्ठ्यारो ठाउँमा ब्रिटिस आर्मी थियो । ब्रिटिस आर्मीमा गोर्खाजहरु थिए । अनुपलाई लाग्यो अमेरिकाभन्दा बाहिरको प्रस्पेक्टिभबाट किन समाचार नलेख्ने ? एउटा सानो राष्ट्र अफगानिस्तान कसरी विश्व शक्ति अमेरिकासँग युद्ध गरिरहेको छ ? 

उनले निर्णय लिए– म आफैं जान्छु, रिपोर्टिङ गर्छु ।  

रिपोर्टिङकै क्रममा अनुप दुईपटक अफगानिस्तान पुगे । युद्ध चलिरहेको थियो । ब्रिटिस आर्मीसँग रहेर रिपोर्टिङ सुरु गरे । ‘ब्याटल फिल्ड’को रिपोर्टिङ पत्रकारका लागि निकै चुनौतीपूर्ण हुन्छ । अनुपका लागि पनि थियो । तर उदाउँदो करिअर थियो । ग्राफ माथि चढाउनु थियो । उनले ‘रिस्क’ मोले । 

कहिले एम्बुस त कहिले दोहोरो भिडन्तको बीचबाट रिपोर्टिङ गरे । सूचनामात्रै होइन न्युमिडिया पढेका र व्यवहारमा पनि त्यसलाई उतार्ने प्रयास गरिरहेका अनुपलाई भिडियो पनि खिच्नु थियो । दुईतर्फी भिडन्त भइरहन्थ्यो, उनी त्यसको भिडियो खिचिरहन्थे । 

दोस्रो पटक अफगानिस्तान पुगेका थिए । सहयोग ब्रिटिस सेनाकै थियो । वर्ष सन् २०११ थियो । महिना डिसेम्बर थियो । ब्रिटिस सेना क्याम्पबाट बाहिर निस्कियो । सम्भावित आक्रमण र त्यसको प्रतिकार, सुरक्षा चुनौती र विजयका लागि गर्नुपर्ने सावधानी तथा उपायबारे हेरक दिन मिटिङ हुन्थ्यो । त्यस दिन पनि मिटिङ बस्यो । छलफल भयो । सेना र पत्रकार सँगै हिँड्दा ठूलो ‘रिस्क’ हुन्थ्यो । त्यसैले सँगै हिँड्नु हुँदैनथ्यो । केही अन्तर राखेर हिँड्थे अनुप । 

“एउटा सेन्ट्री प्वाइन्टबाट अर्को सेन्ट्रीमा जानुपथ्र्यो । त्यहीबेला मिल्यो भने गाउँलेसँग कुरा गर्न पाइन्थ्यो । हिँड्दै जाँदा एउटा ठूलो चौर आइपुग्यो । त्यहाँ पुगेपछि दुस्मनले हान्न सक्छ, त्यहाँ पुगेपछि दौडिनु भनेर ब्रिटिस र्गोर्खामा रहेका एक नेपालीले मलाई भन्नुभएको थियो,” अनुपले भने, “कार्निका थियो त्यो ठाउँ, जब खुला ठाउँमा पुग्यौं, गोली बर्सिन थाल्यो । भिडियो क्यामेरासँग रहेको म दौडिएर माटोको पर्खालमुनि डाइभ हानेँ । तर भिडियो खिच्न छोडिनँ । १२/१५ केजीको बुलेटप्रुफ ज्याकेट लगाएको थिएँ । एके फोर्टी सेभेनबाट गोलीका पर्रा छुट्थे । आकाशमा हेलिकोप्टर आयो । बम खसाल्यो । २५ देखि २५ मिनेट दोहोरो भिडन्त भयो । हामी लुक्दै अर्को सेन्ट्रीमा पुग्यौं । केही समयमा भिडन्त रोकियो । चिया खाएर फर्कियौं ।”

खतरनाक क्षेत्रमा आएर रिपोर्टिङ गरेँ भन्ने त उनलाई लागेको थियो, तर जब उनले वासिङ्टन पुगेर भिडियो हेरे साँच्चै अनुपलाई डर लाग्यो । उनी आफैंले आफैंलाई प्रश्न गरे– ‘यो भिडियो म आफैंले खिचेको हुँ ?’ उनी भन्छन्, “साँच्चै त्यो बेला शरीरका रौं ठाडा भए । डर लाग्यो । र, मैले निर्णय लिएँ– अब यस्तो जोखिम कहिले उठाउँदिनँ ।”

“उमेर, जोश र करिअरको त्रिवेणीको परिणाम थियो त्यो जोखिम उठाउनुमा,” अनुपले स्पष्ट पारे “जुन बेला म ब्याटल फिल्डका बन्करहरुमा लुकेर फोटो, भिडियो र सूचना खोजिरहेको थिएँ, त्यो बेला मलाई म वासिङ्टन नफर्किन पनि सक्छु भन्ने दिमागमा कहिल्यै लागेन । तर जब वासिङ्टन पुगेँ र भिडियो एडिटमा बसेँ, ती दिन मृत्यु र जीवनको दोसाँधमा रहेका दिन रहेछन् भन्ने अनुभूति भयो ।” 

अफगानिस्तान र इराकमा उनका केही पत्रकार साथीहरु बिलिन भए । कतिका अङ्गभङ्ग भए । चिनेकै साथीले ज्यान गुमाएपछि अनुपले आफैंलाई सोधे– ‘म किन यो सब गरिरहेको छु ?’ 

आफैंले रोजेको पेशा । मनले खाएको क्षेत्र । कसलाई के भन्नु थियो र ? बुवाआमाले दुःखले जोरजाम गरेर राखेको पैसाले आफू अमेरिका पुगेको सम्झिए । केही पैसा घर पठाइरहेको सम्झिए । मनमा हुत्तिएर एउटा प्रश्न आयो । ‘मलाई केही भयो भने ?’ अनि अनुपलाई लाग्यो, जोखिम उठाएर ग्ल्यामरस वारको रिपोर्टिङ मेरा लागि होइन अब ।

‘वासिङ्टन पोस्ट’को न्युजरुममा अनुप अल्पसङ्ख्यक थिए । गोरा अनुहारको बोलावाला थियो । अनुप गोराको भन्दा भिन्न कोण खोज्न चाहन्थे । अमेरिकाको प्रस्पेक्टिभबाट त गोरा अनुहारले लेखिहाल्थे । त्यसैले उनी अमेरिकाको सहभागितालाई लिएर स्थानीय के भन्छन् ? युद्धले पारेको प्रभाव, त्यसको दूरगामी असर उनी पर्गेल्न चाहन्थे । जुन उनलाई सहज पनि थियो । कारण उनी सेतो हैन स्थानीयझैं खैरो छालाका थिए । उर्दू र हिन्दी बोल्थे । आफूजस्तै र आफ्नै भाषा बोल्ने मान्छेसँग स्थानीय खुल्थे । उनले खोजेको जस्तो ‘कन्टेन्ट’ आउनु अन्ततः पत्रिका र पाठकका लागि नै फाइदा थियो । 

‘वासिङ्टन पोस्ट’मा छ वर्ष काम गर्दा उनले थुप्रै समाचार लेखे । कति उनी आफैंलाई मन परे होला, कति पाठकलाई । 

बुधबार मध्याह्न ‘काठमान्डू पोस्ट’को थापाथलीस्थित कार्यालय पुग्दा अनुपले आफैंलाई चित्त बुझेको एउटा विषय र त्यसमाथि लेखिएका समाचार सम्झिए ।   

अमेरिकामा बाराक ओबामा राष्ट्रपति थिए । उनको महिमा विश्वभरि थियो । बुसभन्दा राम्रो व्यक्ति भन्ने छवि थियो । त्यसमा शङ्का पनि थिएन । 

तर उनको समयमा भएको युद्धको आतङ्क कति थियो ? युद्धका सामान्य नियमहरु पालना भएका छन् कि छैनन् ? खोज्नु थियो । बुसको पालामा आर्मी इराक पठाइएको थियो । जहाँ इराकीमात्रै होइन यूएस आर्मी पनि मारिएका थिए । 

तर ओबामाको पालामा ड्रोन आक्रमणमा कयौं व्यक्तिले ज्यान गुमाएका थिए । त्यसको रिपोर्टिङ कसरी गर्ने ? थिङ्क ट्याङ्कसँग सल्लाह भयो । टप रिपोर्टरहरु आवद्ध भए ।

अफगानिस्तान, सोमालिया, इराक, नर्थअफ्रिकामा कुन दिन कतिखेर कहाँ आबवामा प्रशासनको निर्देशनमा ड्रोन आक्रमण भयो ?, कति मानवीय क्षति भयो ? तथ्याङ्कमा आधारित समाचार बनाउन सुरु भयो । त्यो समाचारको क्रम तीन वर्षसम्म चल्यो । आत्मसन्तुष्टि दिने त्यो समाचारमा अनुपमात्रै त थिएनन् । तर उनी पनि सामेल थिए । विश्वले वाहवाही गरिरहेका व्यक्तिका बारेमा तथ्य केलाएर गरिएको समाचारको पृष्ठभूमि सुनाउँदा आज पनि अनुप रोमाञ्चित हुन्छन् । 

० ० ०

ओसामा बिन लादेन मारिएको सूचना आयो । विश्वभरका लागि त्यो अत्यन्तै ठूलो समाचार थियो । राति नै कार्यालय पुगे । समाचार कसरी कभर गर्ने सम्पादकसँग छलफल भयो । रिपोर्टरहरु अफगानिस्तान, पाकिस्तान, पेन्टागन पुगेर रिपोर्टिङ गर्छन् । न्युजरुममा बसेर के लेख्ने ? छलफल चल्यो । २५ जनाले दुईदिन कार्यालय बसेर बिन लादेनका विषयमा थुप्रै कन्टेन्ट तयार पारेको पनि भुलेका छैनन् अनुपले ।

० ० ०

एक दिन कार्यालयमा काम गरिरहेका थिए । अनुपको फोनमा घन्टी बज्यो । फोन नेपालबाट थियो । फोन गएको थियो, ‘काठमान्डू पोस्ट’बाट । व्यक्ति थिए, कैलाश सिरोहिया । 
कैलाशले भनेका थिए, “के हो, नेपाल फर्किने हो ?”

कैलाश नेपालको ‘बिग मिडिया हाउस’को मालिक । अनुप अमेरिकामा पत्रकारिता गरिरहेका । कैलाश अमेरिका गएका बेला भेट भएको थियो । डिजिटल मिडिया र त्यसमा कसरी सँगै काम गर्न सकिन्छ ? छलफल भएको थियो । 

तर त्यो भेटमा अनुप नेपाल फर्किनेबारे कुनै कुरा भएको थिएन । 

अचानक ‘काठमान्डू पोस्ट’बाट अफर आयो । उनले तत्काल जवाफ दिन सकेनन् । 

करिब दुई वर्षअगाडि फर्किए अनुप । अफरपछि उनले सम्झिए आफ्नो विगत । कामको समीक्षा गरे । अनि सम्झिए उनले ‘काठमान्डू पोस्ट’मा इन्टर्न गर्न अप्लाइ गर्दा नपाएको क्षण । डीआईजीकी छोरी छनोट भएको, तर आफू विकल्प खोज्दै टीएचटी पुगेको झल्झल्ती सम्झिए । 

परिवारसँग सल्लाह गरे । आफन्तसँग छलफल गरे । ‘एट्लान्टिक’ म्यागजिनमा काम गरेको, ‘वासिङ्टन पोस्ट’मा बसेर लामो अनुभव सँगालेको । ‘न्युजविक’ र ‘फोब्र्स’को न्युजरुममा पनि काम गरेको अनुभवले आँट दियो । बर्सेनि नेपाल आएर यहाँको समाचार लेखिरहेकाले नेपालमा नबसे पनि यहाँका विषयहरुमाथि चासो निकै थियो । नेपालकै विषय, व्यक्ति र प्रवृत्तिबारे लेख्नु थियो । सम्झिए, यो समयमै आउनु सुनौलो अवसर हो । र, निर्णयमा पुगे अनि अफर स्वीकार गरे । भए ‘काठमान्डू पोस्ट’को सम्पादक । 

मैले जानेको स्किल नेपालमा प्रयोेग गर्नु र गराउनु थियो,” नेपाल फर्किनुको उद्देश्य सुनाए अनुपले ।  

० ० ०

अमेरिकामा सडकमै ओर्लिएर पत्रकारिता गरे । ओबामादेखि विन लादेनसम्मको । अफगानिस्तानदेखि अफ्रिकासम्मकोे समाचारमा कलम चलाए । अमेरिकाका सञ्चारमाध्यमका समाचार कक्ष त उनले जरैदेखि बुझे, नेपाली समाचार कक्ष बुझ्दैछन् । 

अमेरिकको पत्रकारितामा गम्भीरता छ नेपालमा त्यसको अंश निकै कम पाएँ भन्न अनुपको जिब्रो लक्पकाउँदैन । सबै एकै प्रकारका नहोलान्, तर बाहुल्य यस्तै रहेको उनले अनुभव गरे । 
अमेरिकामा पाठकका लागि समाचार लेखिन्छ, हरेक समाचारलाई ‘स्टोरी’ भनिन्छ, नेपालमा ‘इन्फर्मेसन’ मात्रै भनिन्छ । 

आजको भर्चुअल दुनियाँमा नागरिक पत्रकारिता सुरु भइसक्यो । पत्रकारकै सूचनाको स्रोत सामाजिक सञ्जाल भइसक्यो । अनुपलाई लाग्छ– यस्तो समयमा सूचनामात्रै होइन ‘अडियन्स’ले सूचनाभित्रको निहित कथा खोज्छ भन्ने यथार्थ नेपाली पत्रकारिताले बुझ्नु जरुरी छ ।  

पत्रकारिता कसका लागि हो ? नेपाली पत्रकारिताले मनन् गर्ने समय आइसकेको बताउने उनी पत्रकारिता कमाउने पेशा नभए पनि बाँच्न सक्ने गरी मिडियाहाउसले पारिश्रमिक दिनुपर्ने बताउँछन् ।

प्रसङ्ग पत्रकारको पारिश्रमिकको आयो । अनुप पत्रकारिता सुरु गर्दाको सुरुआती वर्षतिर फर्किए । आफ्नो पहिलो वर्षको पारिश्रमिक सुनाए, वार्षिक २५ हजार अमेरिकी डलर ।

महिनाको करिब दुई लाख रुपैयाँ थियो त्यो तलब । ठाउँ वासिङ्टन डिसी । ११ सय डलर अर्थात् १ लाख १० हजार भाडा बुझाउनुपथ्र्यो । “नेपालमा मात्रै होइन विश्वभर नै पत्रकारितामा आकर्षक तलब छैन । यसले पनि पत्रकारको मेहनतमा प्रभाव पार्छ,” उनले भने ।

पत्रकारमाथिको लगानी कन्टेन्टमाथिको लगानी हो भन्ने बुझाइपछि मात्रै गुणस्तरीय कन्टेन्टमा बृद्धि हुने उनको मान्यता छ ।

नेपालमा एउटै विषयमा समूहमा काम गर्ने कल्चरको अभाव देखे उनले । कल्चर बनिसकेको यो प्रवृत्तिलाई त्यागेर पाठक र संस्थाको हितका लागि नयाँ अभ्यासमा जानुपर्ने उनले देखेको टड्कारो आवश्यकता हो । 

अनुपले यहाँ लागू गर्न खोजेको प्रयास हो यो । सफल हुन्छन्–हुँदैनन् त्यो भविष्यकै गर्भमा छ । तर उनले चाहेकोमध्ये एउटा पक्ष हो यो । त्यसो त स्पोन्सर्ड न्युज भनेर समाचारमाथि नै लेख्ने ‘कल्चर’ पनि विकास गर्दैछन् उनी, भलै बजारको दबाब प्रकाशनले थेग्न सक्छ या सक्तैन त्यो पनि भविष्यले नै देखाउला । 

त्यसो त विकसित देशमा बसेर गर्ने पत्रकारिता र विकासशील देशमा गरिने पत्रकारितामा आकाश–धर्तीको फरक छ, प्रकाशक र विज्ञापनदाताको सोचाइ र ‘अडियन्स’को बुझाइको लेभलमा । करिब डेढ दशक काम गर्दा अमेरिकामा किन यस्तो समाचार भनेर उनलाई एक कल फोन आएन । तर यहाँ त घण्टी बजिरहन्छ । 

“विकसित देशमा निश्चित वर्ष काम गरेपछि पदोन्नतिको पद्धति हुन्छ । सिनियर भएपछि कर्नरमा सिसाले घेरिएको कोठा बन्छ । स्यालरी बढ्दै जान्छ,” अनुप अमेरिकाकी अनुभव सुनाउँछन्, “नेपालमा त्यो सिस्टमको विकास भएको छ ? यहाँ कति मिडिया हाउसले समयमै स्यालरी नै दिँदैनन् भन्ने समाचार आउँछन् । यी सबै परिवर्तन ल्याउन सजिलो पक्कै छैन । समय अवश्य लाग्छ ।” 

समयले सायद प्रविधिको माग गर्‍यो । नयाँनयाँ आविष्कार हुँदै गए । सूचना प्रविधिको फड्को झन् ठूलो भयो । प्रिन्टबाट अडियो, अडियो÷भिडियो हुँदै मिडिया डिजिटलमा आइपुग्यो । धेरैले भन्छन्– प्रिन्ट, अडियो/भिडियो, तस्बिर सबैको कोल्याबरेसन डिजिटल मिडिया अनलाइन प्रिन्टका लागि चुनौती हो । तर अनुप भन्छन्, “बलियो कन्टेन्ट जुन मिडियामा आउँछ त्यो नै अन्य मिडियाका लागि चुनौती हो ।”

दिनदिनै सडकमा पुगेर अमेरिकाका पत्रकार समाचार खोज्छन्, हामीमा त्यो प्रवृत्ति छ ? अन्तिममा उनले प्रश्न गरे, “जनताको बीचमा गएर नगरेको पत्रकारिता कसरी जनताका लागि हुन्छ ?” 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २१, २०७६  ०८:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC