अन्वेष राई थुलुङ
‘आई हेट पोलिटिक्स ।’
वर्तमान समयको एउटा पपुलर क्लिसे । तर अधिकांश आधुनिक युवाको फेभरेट डाइलग । किन ? किनभने ‘पोलिटिक्स इज अ डर्टी गेम’ । एक साधारण जवाफ अर्थात् उनीहरुको अर्को क्लिसे उत्तर । यसभित्र अरु क्लिसे राजनीति पनि छ जो पुरानै भ्रष्टाचार, नातावाद, कृपावादको वरिपरि घुमिरहेको हुन्छ । जसको सिकार एक न एक युवा जहिल्यै भइरहेको हुन्छ । त्यो युवाले देशको राजनीति अर्थात् ‘मेजर गेम’लाई ‘फेयर गेम’ हो भनेर मजाक गर्न सक्दैन । तर यतिमा हामीले ‘पोलिटिक्स इज अ डर्टी गेम’ भन्ने ‘हेट स्पिच’को आडमा कतै राजनीतिलाई नसुन्ने गरी त घृणा गर्न थालेनौं ?
‘मान्छेलाई मान्छे हुन नदिने अवस्था मान्छेले नै बनाएको हो ।’(प्राक्कथन) सानो प्रसङ्गमा जाऊँ । २०६१ साल भदौ १६ अगाडि इराकमा १२ नेपालीको हत्या गरिएको थियो । हत्याको विभत्स भिडियो बाहिरिएसँगै नेपालमा रहेका मुसलमानहरुले यातना खेपे । मानिसहरुको ठूलो जत्था नेपालकै मुसलमान र मस्जिदमाथि पनि जाइलागे । किन जाइलागे ? त्यो हत्यामा उनीहरुको संलग्नता के थियो र उनीहरुलाई नेपालको ठूलो भीडले दोषी करार ग¥यो ? यो एउटा सानो उदाहरण हो ।
भर्खरै मात्र शम्भू राई र प्रकाश सपुतको गीतको कपिराइटको कुरामा आएका केही उग्र स्टाटसलाई नै लिऊँ । यी सब हाम्रा मानसिकताका उपज हुन् । मानसिकता अर्थात् हामीले बनाएको ‘व्यक्तिगत माइन्ड सेट’ । विश्वास संयन्त्र । हाम्रो मानसिकताका निर्माणहरु कसरी हुन्छन् ? कुन र कसको ‘न्यारेटिभ्स’ले हाम्रो मानसिकता निर्माण गरिएका छन्÷हुन्छन् ? र, यसको के ‘बटरफ्लाई इफेक्ट’ परिरहेको छ ?
लेखकको आफ्नै कन्फेसन छ । उनी भन्छन्, ‘मातृभाषा नेपाली बोल्ने समुदायमा जन्मिएको म भाषागत पकडकै कारण कक्षामा प्रथम हुन्थेँ ।’ (प्राक्कथन) पञ्चायती राष्ट्रियताको नाममा हामीले अराष्ट्रिय बनाइरहेको समाज सांस्कृतिक भिन्नताको कारण एक पूर्वाग्राहमा परेको छ भन्ने कुरा यही वाक्यबाट हामी बुझ्न सक्छौं । द्वन्द्वलाई सिर्फ सामाजिक सद्भाव भड्काउने हाउगुजीबाट बुझेको नेपाली समाजले उत्पीडितहरुको प्रश्नलाई कसरी बुझ्ने ? ‘भेले’, ‘भैया’, ‘मदिसे’ भनेर वर्षौं पहाडिया उत्पीडन बोकेको एउटा समुदायलाई हामीले कसरी बुझ्यौं÷बुझिरहेका छौं ? मधेसी स्वयम्को ठोस र एक अर्थ नहुँदै गर्दा म स्वयम्ले भने यसलाई डा. अम्बेडकरले भारतमा सम्पूर्ण वर्णीय रुपबाट उत्पीडित समाजलाई एकत्रित गराउन ‘दलित’ शब्दको चयन गरेजस्तै महसुस गरिरहेँ ।
तराई झर्दै गर्दा हामीले (पहाडे नेपाली) देख्ने कालो मानिस हाम्रो लागि उतिसारो सम्मानको पात्र हैन । वर्णीय रुपबाट पहाडकै उत्पीडित समुदायले समेत तराईको रिक्सावालालाई ‘तँ’ सम्बोधन गरेर हेप्ने मानसिकता राख्छ । तर ६२÷६३ पछि आफूलाई राजनीतिक रुपबाट मधेसले शक्तिशाली बनाएर उभ्याए पनि के त्यो पर्याप्त थियो ? केही समयअगाडि यज्ञश लिखित ‘भूइयाँ’ का पात्रहरु पनि सँगै सम्झना आउँछ । सामाजिक आन्दोलनको अगुवाइ गर्ने ती ‘भुइँमान्छे’हरुको पक्षबाट लेखिएको कथाको आन्दोलनको विषयमा पुस्तकको गाताको पछाडिको भागमा लेखिएका कुरालाई हेर्दा यसबारे बुझ्न खोज्छु ।
‘विस्फोट हुन नसकेको लावा धर्तिको गर्भमा सल्बलाएझैं समाजको गर्भमा सलबलाइरहेका हुन्छन् आन्दोलनहरु । ...’ भुइयाँ पुस्तकभित्र रहेका पात्रहरु आफ्नो औसत जीवनका लागि सङ्घर्ष गरिरहेका हुन्छन् । चाहे ती पात्रहरु कमलरी हुन या हुन् सुकम्बासी या हुन् कुनै दलित । उनीहरु कतै न कतै राज्यव्यवस्थाको कारणले पनि पीडित छन् । सुरुवातमै एक जमिन्दारको १४ हजार विघा जमिन हुनुलाई हामीले यसै जमिन पायौं भन्न मात्र मिल्दैन । सायद यस्तै ‘सामूहिक ऐँठनहरु’ एकत्रित भएर पनि एक मधेस एक प्रदेश मागे, तर फेरि थरुहट किन फरक धारमा उभियो र आफ्नै राज्य माग्यो ? पहाडमा बसेका धेरै मानिसले सायद यहीबेला मात्र बुझे, कालो रङ्ग र तराईमा रहने जातिबीच पनि विविधता छ । हामीले देख्ने मधेसीहरुभित्र थारु पनि रहेछन् र थारु अलग रहेछ सायद यही दिन मात्र हामीले बुझ्यौं ।
‘आई हेट पोलिटिक्स’ र ‘शान्तिको भजनमात्र गरिरहँदा’ हामीले नेपालभित्रको विविधतालाई धेरै पछि सायदै बुझ्न र महसुस गर्न सक्थ्यौं । यो पुस्तकले यही मधेस राजनीतिको विविधताको विषयमा चिरफार गर्छ ।
मेरो सामान्य बुझाइमा समेत विनाकारण आन्दोलन हुन सक्दैन, तर नेपालको राजनीतिमा एकदमै शक्तिशाली बनेको आन्दोलन किन शक्तिहीन जस्तो भयो ? एउटा मीठो प्रसङ्ग छ । सोह्रबुँदे सहमतिविरुद्ध आन्दोलनमा जाने चेतावनी दिँदै गर्दा एक नेताले भनेको कुरा । ‘हिजो आन्दोलनमा कुटाइ खाने जनताले आज नेताको पत्नी र प्रेमिका सभासद् भएको देखेका छन् । यो नेतृत्वको पछिपछि लागेर कोही सडकमा टाउको फुटाइ माग्न तयार छैन ।’ (३९) यसो हेर्दा गर्न खोजिएको मधेसीहरुको मुद्धा केन्द्रित राजनीति ‘डर्टी’ हुँदै ‘नटी’ गेमतिर गइरहेपश्चात् ‘पावर घट्दै गको’ (नाटक जोखाना) हो जस्तो लाग्थ्यो ।
फिल्म कबड्डी कबड्डी कबड्डीको डाइलग सापट लिँदा ‘सिद्धान्त डगमायो ।’ तर यसको अर्को भावनात्मक पाटो पनि छ । विश्वास गुमाउँदै गरेका मधेसी दलहरु फास्टट्र्याकबाट बनेको संविधानपश्चात् अन्योलमा थिए । यता तथाकथित मूलधारको राजनीतिमा भने अर्कै दोहोरी चलिरहेको थियो । पुस्तकभित्रैबाट आधार लिँदा पिताम्बर शर्माको भनाइअनुसार प्रदेशको बाँडफाँट खासखास नेताहरुको सुविधाको सीमाङ्कन थियो । (४८) यस्तोमा भावनात्मक रुपबाट आफू हेपिएको जस्तो आभास मधेसी नेतृत्वले भन्दा बढ्ता जनताले गरे । र, उनीहरु आफैं सडकमा उत्रिए । तर आन्दोलनमा कोही मारिए आन्दोलनपछि बन्ने सरकारले ५० लाख क्षतिपूर्ति दिने ललिपपले गर्दा यो आन्दोलन बद्नाम बन्न गयो । पहाडिया नजरमा त झन् खराब हुन पुग्यो ।
...उनीहरुले सोनलकै अघिलल्तिर आक्रोश पोखे, ‘‘जोगबनी बन्द गर । महेन्द्रनगर बन्द गर । भैरहवा बन्द गर । सबै खुला छन्, वीरगञ्ज मात्रै किन बन्द ?’’...(२०२) आन्दोलनको कुरामा उनीहरुमाझ कोही विभिषण पनि थिए जसले सोही अवसरमा साइकल चढ्नेहरुले घर बनाए भनेर बुझे पनि । र, अन्ततः आन्दोलनले निष्कर्ष निकाल्न सकेन । पुस्तकभित्र भएका विवरणहरुले मधेस आन्दोलनको द्वन्द्व केवल पहाडिया रवैया र मानसिकता रहेको देखाउँदैन । राजनीतिक रुपबाट पनि मधेसी आन्दोलनको सही तवरले अभ्यास नभएको आभास हुन्छ । मधेस नेतृत्वभित्रै भएको अवसरवादी, नातावादी चिन्तनलगायतका अनेकन कारण पनि पुस्तकले देखाउँछ । मधेसी जनताले आफ्ना नेतृत्वलाई ‘विश्वास’ गर्न भावना नभएर, ‘बाध्यता’ मानेको महसुस हुन्छ ।
एक पात्र छ ‘वीरेन्द्र’ । (७५) जो पेशाले काठमाडौंको नाइ हो । जो मधेसमा पनि छ र पहाडमा पनि । उनीहरुमाझ चलिरहेको मनस्थितिलाई नियाल्दा हामीले बुझेको सत्य र बुझ्न नसकेको सत्य अनि बीचमा उभिएको पर्खाललाई बुझ्न सकिन्छ । ...पहाडका वीरेन्द्रहरु सोच्थे– सिमानामा भारतको त्यत्रो मनपरि छ, तैपनि किन मधेसी नेताहरु चुइँक्क बोल्दैनन् ? मधेसका वीरेन्द्रहरु सोच्थे– शासनमा सधैं पहाडी हुन्छन्, उनीहरु किन त्यसबारे भारतसँग दह्रो कुरा राख्दैनन् अनि सीमाबाट एसएसबीबाट पिटाइ खानेचाहिँ हामी हुन्छौं ।...(७६) यो एक सामान्य प्रसङ्गले ‘हामी’माझ रहेको पर्खालको विषयमा कुरा गर्छ ।
हाल कालापानीको प्रसङ्ग चलिरहँदा हामीले सोसियल मिडियामा धेरै मधेसीहरु सीमासँग लडिरहेको कथा पाइरहेका छौं । सेयर पनि गरिरहेको छौं । हिजोका दिनमा जो मधेसीलाई हाम्रो मानसिकताले नेपाली भनेर मानिरहेको थिएन, आज किन सेयर गरिरहेछ ? मधेसमा रहने अचानक परिवर्तन भएको हो या एउटा पूर्वाग्रही विचार अनि मानसिकताले हामीमा राज गरिरहेको छ÷थियो ? यो एकदमै महत्वपूर्ण कुरा हो । हिजोकै समय पनि बारबार कुरा आउँथ्यो, नारायणीपारि सुस्तामा उनीहरु लडिरहेका थिए । आफू यही देशको नागरिक हुँ र यस्तोमा मैले मेरो देशलाई मेरो विपन्नता, भौगोलिक तथा सामाजिक विभेद, उत्पीडित हालतमाथि प्रश्न गर्न पाउँछु भन्ने कुराको पनि छुट थिएन । यस्तोमा हाम्रो एकल चिन्तनले उनीहरुलाई विखण्डनवादी भनेर आरोप मात्र पो लगायौं कि ? सर्लाहीका बुद्धिजीवी डा. अब्दुल रहिम मिकरानीकै शब्दमा, ‘... यो संविधान जतिसुकै उत्कृष्ट भनिए पनि मधेसीको आलो रगतले लेखिएको हो ।’ (२७८) यसलाई हामीले पहाडको एकल नजरिया वा मानसिकताले बुझ्न सक्दैनौं ।
‘आई हेट पोलिटिक्स’ होस् या होस् ‘आइ लभ पिस’ । टीकापुर काण्ड होस् या नाकाबन्दी । हामीले जुन हिसाबले एकपक्षीय आधारबाट जो र जसलाई ‘भिलेन’ जस्तो देखिरहेका छौं त्यसको सम्बन्ध कतै न कतै हामीले बोकेको ‘मदिसे’ मानसिकतासँग पनि छ । कमेडी च्याम्पियनको अडिसन राउन्डमा बाराका आदर्शकुमार मिश्रा सुरुवातमा भन्छन्, ‘म मदेसी हो र यो नै मजाक हो ।’ उनले आफैंलाई व्यक्त गर्दै गर्दा सोही मधेसीको कुरा गर्छन् जो उत्पीडनमा छ ।
रङ्गकर्मी सरिता साह पनि आफु मधेसी हुनुको कथा भन्छिन् । समर्पण श्रीले नेपाल लाइभमा लेखेको उनको कथाभित्र एउटा प्रसङ्गमा उनलाई उनकै पहिचानमाथि मजाक गर्न लगाउँछन् । उनी मान्दिनन् । रिसाउँछिन् । जो जन्मैले जुन पहिचानमा हुर्किएको छ उसलाई अझ मधेसी बन् भन्नुको आशय के थियो ? यी प्रतिनिधि घटनालाई सापट लिँदा, मधेसीहरु आन्दोलित हुनु केवल नेताहरुको बहकाव थिएन भन्ने बुझ्न सकिन्छ । यस्तोमा हामीले ‘शान्तिको भजन’ गाउँदा गाउँदै सायद यी कुराहरु नजरअन्दाज भए । यद्यपि, बसन्त बस्नेतको पुस्तक पढ्दै गर्दा मधेसका नेपालीहरु आफ्नै नेतृत्वसँग पनि सन्तुष्ट देखिँदैनन् । आफ्नै दल र नेतृत्वहरु पनि उनीहरुका लागि कताकता ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ जस्तो भएको छ !
इतिहासमा जब फ्रान्केन्सटाइनको परिकल्पना हुन थाल्दै थियो, त्यसबेला विज्ञान मृत मानिसहरुलाई विद्युतीय तरङ्गबाट जीवित गराउने परिकल्पना हुन थाल्दै थियो । धार्मिक रुपबाट यसलाई उचित नमान्नेहरु पनि थिए । त्यसबेलासम्म मानिसको शरीर एक रहस्यजस्तो थियो र भुतप्रेत भन्ने कुरा शक्तिशाली थियो ।
बेला के आयो भने, वैज्ञानिकहरुले त्यस समय मृत शरीरको अध्ययन गर्न थालिसकेका थिए । र, मानिसहरुको भित्री अङ्गको रहस्यबारे जानकारी मेडिकल वैज्ञानिकहरुलाई भइरहेको थियो । त्यसपछि मेडिकलको विकासमा ‘ग्याल्भानिजम’को सुरुवात भएको मानिन्छ । हालसम्म बुझिएको पोलिटिक्स इज डर्टी गेम कसले भन्यो भनी आधारिक व्यक्ति गुगलमा खोज्दा भेटिएन । आशयको हिसाबले हरेक देशमा यो भनाइ पपुलर रहेछ । हामीले मधेसीहरुको विषयमा बुझेको कुरा कसैले भनिदिएको ‘न्यारेटिभ्स’भित्र सुनसान त छैन ?
२८९ पृष्ठको पुस्तक मधेस वरिपरि घुम्छ । ‘भुइँमान्छेहरुको कथा’ धेरै प्रसङ्गमा किस्साजस्ता मात्र छन् र यो राजनीतिक विषयतिर बढी केन्द्रित छ । सामाजिक जीवनका सामान्य कथाहरु हुँदा अझ राम्रो हुन्थ्यो होला । बढी राजनीतिक परिवेश वरिपरि घुमेको विषयवस्तुले सामान्य पाठकलाई नबाँध्न सक्छ ।
थरुहटको विस्मयको विषयमा एक पात्रको पृष्ठ २३३ मा एउटा सानो प्रसङ्ग छ । थरुहट आन्दोलनले गर्दा भत्किएको सद्भाव अहिलेसम्म नजोडिएको उनको प्रसङ्गमा ती पात्र बोल्छन् । ‘‘काठमाडौंमा नेताहरु केके निर्णय गर्छन्, हामीमाथि बेकारमा यहाँ राजनीति भयो । मनै फाट्यो ।’’
यसमा हामीले सोच्नैपर्ने विषयहरु धेरै छन् । सोही पात्रको भनाइको आशयलाई मान्दा मन फाट्नुको कारण के हो ? के कारणले हुन्छ यस्तो ‘बटरफ्लाई इफेक्ट’ ? के आन्दोलन गलत थियो ? वा आन्दोलनको प्रवृत्ति गलत थियो ? वा अरु कारण केही थियो ? पुस्तकले यही बहसको लागि पनि प्रसस्तै ठाउँ दिएको छ ।
राजनीतिभित्र हामी के गरिरहेका छौं भन्ने कुरामात्र महत्वपुर्ण हुन्न । हामी (नेतृत्व)ले बोलिरहेको कुराले सामाजिक स्तरमा कस्तोखालको मानसिकताको निर्माण भइरहेको छ भन्ने कुरा पनि महत्वपुर्ण हुन आउँछ । भन्नलाई एउटा नागरिकलाई आफ्नो विचार स्वतन्त्र राख्न पाउने अधिकार छ भनेर भन्ने गरिएको छ, तर यथार्थमा त्यतिमात्र हुँदैन । हरेक नागरिक कुनै न कुनै आस्था, जातिसँग जोडिएको हुन्छ । एउटा न एउटा समाजसँग जोडिएको हुन्छ । उसले विचार स्वतन्त्र राख्दैमा उसलाई उसको विचारकै आधारमा मात्र कहिल्यै हेरिएको म आफैंलाई आभास छैन ।
मधेस आन्दोलनले क्षेत्रीय राजनीतिको रुपबाट केन्द्रीय सत्तालाई जोडदार प्रश्न उठाएको हो । क्षेत्रीय राजानीतिमा आफ्नो पहिचानप्रतिको चेतलाई धेरैले नश्लीय देखे पनि शक्ति विनिर्माण, विकेन्द्रीकरणलाई हामीले बुझ्न आवश्यक छ । यतिमा कुनै पहाडिया सामन्तले बनाएको भाष्यको आधारमा हामीले तराईका मानिसलाई हाउगुजी भनेर देख्यौं कि ? वा ‘आई हेट पोलिटिक्स’ र ‘शान्तिको भजन गाइरहँदा’ केही कुरा छुटायौं ? ७२ को विस्मय यही प्रश्नहरुको बहस हो ।