site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मृत्यु: अभिशाप कि आशीर्वाद ? 

केही समयपहिले मेरी सासु आमाको मृत्यु भयो । डाक्टरकोमा पुर्‍याउन पनि नपाउँदै । देख्नेले भने - “बाटामा हिँड्दै गर्दा थचक्क बस्नु भो त्यसपछि ढल्नु भो” । डाक्टरले अड्कल गरे उहाँलाई ‘हार्ट अट्ट्याक’ भयो ।  उहाँ भर्खर ५४ वर्षकी हुनुहुन्थ्यो । आमाको खबर सुनेपछि मेरी पत्नी छाती पिटी पिटी रुन थालिन् । आँगनमा राखेको आमाको लासमा मुन्टो गाडिन् र भनिन् - "म टुहुरी भएँ, अब म मर्छु ।" कसैले सम्झाउन सकेनन् उनलाई । त्यहाँ भेला भएकाहरू प्रायः सबैका आँखामा आँसुको भेल बगिरहेको थियो त्यो कारुणिक र भावविह्वल दृश्य देखेर । म पनि  आँसु पुछ्दै अलप भए त्यहाँबाट आफ्नै चित्त बुझाउन ।

''सारालाई रुवाएर आउनुपर्ने मृत्युले हाम्रो जीवनमा के महत्त्व राख्छ जन्म जसरी मृत्यु आउँदैन भने?’ मैले सोचेँ ।

मेरी सासु आमाले कसैको मन दुखाइनन् । दुई छोरीकी आमा उनले हरेक समय सन्तानको सुखको भन्दा अरु सपनै देखिनन् । हरेक दिन कि 'सुगर'का रोगी पतिको हेरचाहमा आफूलाई व्यस्त राखिन् कि १/२ वर्षका नातिनातिनाको हेरचाहमा । दुख्दा पनि ऐया भनिनन् र किनभने उनी कसैलाई दुःख नहोस् भन्ने ठान्थिन् । आफूभित्रको दुःख आफैँसँग राखिन र आँफूलाई सँधैभर खुसी देखाइरहिन् । "मेरी आमाले धेरै दुखः गरिन् अब खुसीका दिन बल्ल आउँदैछन्," हरेक पल मेरी पत्नी मलाई सुनाउँथिन् - "तिमीजस्तो ज्वाइँ पाएर मेरी आमा मख्ख हुनुहुन्छ ।" 

Prabhu Bank
Agni Group
NIC Asia

सासु आमाको मृत्युमा धेरैले भने - "राम्रो मरण भयो।" 

कतिले भने - "भाग्यमानी रहिछिन्, ऐया पनि नभनी बितिन् ।" 

Global Ime bank

कतिपयले भने - "बिचरी उमेर नपुगीकनै मरिन्, सुखका  दिन छोराछोरीसँग बिताउन यिनलाई जुरेको रहेनछ।"
म अमेरिकाबाट आएको भर्खर दुई दिन भएको थियो । म एक महिनाको क्रिस्मस बिदा लिएर नेपाल आएको थिएँ । बिदाको समय छोरी र पत्नीसँग बिताउन । मैले अमेरिकाको विश्वविद्यलयमा भर्खरै पाएको पढाउने जागिरको खुसी परिवारसँग साँट्न र एक वर्ष पुग्न लागेकी हाम्री छोरीको जन्मदिन पनि मनाउन म धेरै 'एक्साइटेड' थिएँ । मेरी पत्नीले एउटा कागजमा मेरो एक महिनाको नेपाल बसाइमा के के गर्ने, कहाँ काहाँ जाने भनेर सूची तयार पारिसकेकी थिइन् । पहिलो नम्बरमा मेरा बिरामी ससुरा बाको उपचार गराउने, त्यसपछि छोरीको जन्मदिन मनाउने र छोरीलाई लिएर बूढाबुढी चितवन, झापा, पोखराका महत्त्वपूर्ण ठाउँ घुम्ने र समय रहे बाआमालाई पनि एक दुई ठाउँ घुमाउने । फेसबुकको भिडियो कलमा यिनै कुरा गर्दै हामी रोमाञ्चित भइराखेको थियौँ । म एक महिने बिदामा नेपाल आउने बेलासम्म । काठमाडौं एयरपोर्टमा मलाई लिन मेरी पत्नी, छोरी र मेरी आमा आएका थिए । त्यसको दुई दिनपछि त मेरी सासु आमाको मृत्युको खबर आइहाल्यो । 

त्यो दिन अलिक बढी चिसो थियो काठमाडौंको मौसम । सिरकबाट बाहिर आउने मन थिएन। एक वर्ष पुग्न एक सातामात्र बाँकी रहेकी हाम्री छोरीको जन्मदिन कसरी मनाउने भनेर हामी सोच्दै थियौँ । छोरी ओछ्यानमा उठी र मैले उसलाई अँगालो मार्दै गरेको एउटा तस्बिर खिचिदिन पत्नीलाई भने । उनले खिचिदिइन् र तुरुन्तै मैले त्यो तस्बिर फेसबुकमा अपलोड गरेँ  र लेखेँ - "मेरी छोरी ओछ्छ्यानबाट उठ्नेबित्तिकै पहिलो काम यसरी बाबासँग तस्बिर खिचाउन चाहन्छिन् । "

एक्कासि मेरी पत्नी डाँको छोडेर रुन थालिन् - " आमालाई के भो लौन नि, पोखरा हस्पिटलमा हुनहुन्छ , भान्दाइले मलाई बोलाउनु भो चाँडो आइज भनेर, केही नभई त बोलाउनु हुन्न थियो ।" उनी त्यहीँ बिलौना गर्न लागिन् हातमा फोन लिएर  ।

"उपचार हुँदैहोला तिमी किन आत्तिएको, आफूलाई समाल" - मैले थुम्थुमाउन खोजे । तर मेरो केही लागेन । रात्ति सुत्ता लगाएकै कपडा माथि एकसरो कपडा लाएर जुत्तासमेत लाउन नपाई पत्नी र म छोरीलाई बोकेर एयरपोर्टतिर लाग्यौँ ट्याक्सीमा । भावविह्वल भएको देखेर होला तुरुन्तै एयरपोर्टमा पनि टिकट मिलिहाल्यो । र हामी खबर आएको एक घन्टाभित्रमै पोखरा एयरपोर्ट पुग्यौँ । उनले भनिरहिन् - "बूढो मेरी आमालाई केही भएको छैन नि ?  केही भो भने म कसरी बाँच्नु ? म मर्छु ।"

"आशा गरौँ सबै ठीक छ । त्यहाँ नहुने भए हेलिकप्टरमा काठमाडौँ ल्याउँला । म त्यसको जिम्मा लिन्छु । म केही हुन दिन्न । प्लिज धैर्य गर ।" मैले उनका आँसु पुछ्दै भने । एक हातमा उनले छोरी बोकिरहेकै थिइन् भने मैले एउटा झोला र सानो लगेज जसमा मैले कच्याक कुचुक पारेर छोरीका लुगा हालेको थिएँ । फेरि एकैछिनमा फोन आयो सासु आमा हस्पिटलमा हुनुहुन्न - “घरै आउनुहोला ।"

त्यो सुन्नेबित्तिकै मेरी पत्नी मूर्छा परिन् । उनले सोचिन् आमा बितिसकिन् तर आफ्ना आँखाले नदेखुन्जेल उनी कसरी पत्याउन सक्थिन् ? हिजो रातिमात्र ओठभरि हाँसो राखेर उनीसँग बोलेको,  मसँग बोलेको । "ल ज्वाइँ छिटो आउनु भेटम्" सासु आमाले मलाई भनेको सम्झेँ मैले पनि । फेरि त्यस दिन चुनाउ रहेछ पोखरामा जसको कारण गाडी नचलेको रहेछ । 

"मलाई छिटो मेरी आमा भए ठाउँ लग्देऊ । म बाँच्न सक्दिन ।" उनी त्यहीँ आर्तनाद गर्न लागिन् । एक वर्ष पुग्न लागेकी छोरी पनि त्यो दृश्य देखेर रुन थाली । मेरा हात खुट्टा पनि काम्न थाले । तर, मैले सोचेँ म सम्हालिनु पर्छ । मैले छोरी र ब्याग दुवै लिए । पत्नीलाई पानी खुवाएँ । मेरी पत्नीले चिनेको कोही पत्रकार साथी गाडी लिएर टुप्लुक्क त्यहाँ आइपुगे र हामीलाई मेरो ससुरालीतिर लगे । हामी दुवैले अनुमान गरिसकेका थियौँ आमा बितिसकिन् तर आशा भने मारेका थिएनौ ।

त्यहाँ पुग्नेबित्तिकै घरअगाडि आँगनमा मान्छेको ठूलो  भिड लागेको देखियो । रुवाबासी चलिरहेको थियो। त्यो दृश्य देखेपछि मेरी पत्नीले आफूलाई सम्हाल्न सकिनन् । हातबाट छोरीलाई कसैले लियो । कोही आएर उनलाई समाएर आमाको लास भए ठाउँ लगे र उनी त्यहाँ लासमा छाँद हाली विलाप गर्न लागिन् । मैले त्यो दृश्य हेर्न सकिन र कतै कुनामा गएर आँसु पुछिरहेँ । 

उनको बिलौना मैले सुनिरहेँ - "आमा, तिमी आउन ! आउन तिमी, आमा ! म टुहुरो भँए। अब मेरो को छ यो संसारमा ? आमा तिमी आउन "

उनी यस्तरी चिच्याइन् कि मानौ मृत्युसमेत डराउनेछ । यस्तरी रोइन् कि त्यो भेलमा ठूलो भिड नै बगेर गयो। "ऊ आमाले आँखा खोलिन् " उनले मृत शरीरलाई देखाउँदै फेरि चिच्याइन् - "अस्पताल लैजाउन मेरी आमालाई" । समुन्द्रको छाल हुन्थ्यो उनको आँसु भने हजारौं कोसपर बस्ती डुब्ने थियो। आकाशको चट्याङ्ग हुन्थ्यो उनको चिच्याहट भने सयौं बस्ती उजाडिने थियो । तर, जति गरे नि उनले मृत्युबाट आमा खोसेर ल्याउन सकिनन् । अन्ततः घाट पुगिन् र आमालाई दागबत्ती दिइन् । बल्दै गरेको आगोसमेत डरायो उनको साहस देखेर । 

उनी घर आएपछि फेरि एकचोटी मुर्छा परिन् भित्तामा आमाको तस्बिर देखेर। "म कसरी समालियौँ यो अनुहार हेरेर, आमा" उनी फेरि चिच्याइन् र निकालिन् दराजबाटआमाको मन पर्ने सारी र अँगालो मारिन - "आमा, यो तिम्रो मन पर्ने सारी । यही सारीमा हुर्किए मेरा खुसी र सपना । मेरो खुसीको लागि तिमीले के गरिनौ ? कति जाडो मेरो मायामा काट्यौ, कति पेट खाली बस्यौ । म ठुस्किन्थे, म झर्किन्थे । तिमी हास्थ्यौँ, मलिन भएर बोल्थ्यौ । बल्ल बल्ल सपनाको बाली पाक्न आँटेको थियो । अब, तिमी छैनौ मेरो सपनाको के अर्थ ?  मेरो अस्तित्वको के अर्थ ?" उनी रोइन्, खुब रोइन्, आँसु नरित्तिउन्जेल रोइन् । आँसु रित्तिएर पनि रोइन् ।

मलाई लागेको थियो उनले अब होस गुमाउने छिन् । अनि म पनि एक्लो हुनेछु । त्यो उनको वेदना आफ्नी छोरीलाई जन्म दिएभन्दा कयौं गुणा बढी देखिन्थ्यो । अन्तत : अहिले उनकी आमा, मेरी सासु आमा यो संसारमा छैनन् । मेरी पत्नीका आँखामा आँसुका डोब छन् तर आफूले जन्माएकी छोरीका खुसीका  छालर पनि मेरी पत्नीका आँखामा छचल्किन थालेका छन् । एउटी आमा कसैकी छोरी हुँदाको पीडा र कसैकी आमा हुँदाको कर्तव्य मेरी पत्नीले महसुस गर्न थालेकी छिन् । उनले मृत्युलाई नजिकबाट चिन्ने मौका पनि पाएकी छिन् । उनी आफूले कुनै हालतमा स्वीकार्न नसक्ने तथ्यलाई बिस्तारै स्विकार्दैछिन् । उनी जीवन र मृत्यलाई नजिकबाट नियाल्दैछिन् । बिस्तारै मृत्यु स्वीकार्दैछिन् । 

मेरी सासुआमाको मृत्युमा पीडा हुनु त छ नै तर यसले आफन्त, साथीभाइ र नातागोताबीच अझ मझबुत र बलियो सम्बन्ध बनाएको छ । माया, करुणा, स्नेह र सहानाभूतिको बीजारोपण भएको छ । जीवन आखिर के रहेछ र ? तेरोमेरो भन्नु के रहेछ र ?  रिस, ईर्ष्या, डाह कति बेकार रहेछ भन्ने बुझाएको छ । उनीहरूका आफन्तबीच मलाई पनि प्यारो ज्वाइँ बनाएको छ । त्यो अभिशाप मृत्यु एक किसिमले आशीर्वाद पनि हो सायद !  मेरी सासुआमालाई हार्दिक श्रदाञ्जलि !

हालः अमेरिका  

 (Tulasi Acharya, author of Running from the Dreamland. Currently, he lives in the USA and teaches writing at a college.)

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  ०८:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC