site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 जोखिमको उडान

विदेश बस्नुको पीडा पनि गजबको छ । कतै भनौ आफैँले रोजेको बाटो न भनौं पोल्छ आफैँलाई घरीघरी । कतै झुक्किएर केही खुस्किहाल्यो भने एकथरी मायाले भन्छन् - “यतै आउनुहोस्, मिलेर बसौंला।" यतिसम्म त ठीकै छ । आफूलाई पनि लाग्छ माया गर्नेहरू पनि छन् । कोही सहानुभूति देखाउँछन् । अर्कोथरी प्याच्च भन्छन् देश छोडेको ठूलै अपराध हो झैँ गरी । दश दिनसम्म रन्थन्याउँछ दिमाग । लाग्छ “त्यतिसम्म नभने पनि त हुने” । तर अरूलाई रोक्न पनि त नसकिने !

“हाम्रो गाउँको विदेशमा बस्नेहरूले चिन्ता नगरे हुन्छ” – गाउँ सम्झेर लेखेको एउटा कवितामा मैले नचिनेको गाउँले भाइले फेसबुकमा लेखे । एक मनले लाग्यो,  नचिनेको यसरी हेप्ने मान्छेलाई - “अनफ्रेन्ड” गरिदिऊँ । केही नगरेर ठट्टाको शैलीमा सोधेँ - “माया गर्न त पाइएला नि?” उनले निर्धक्क लेखे - “त्यो त ठीक छ” । आफूभित्रको आक्रोश त्यही अलिकति भए पनि दिएको सान्त्वनाले पखालेँ । हरे !  आफ्नो गाउँको माया गर्न पनि पो नपाइने स्थितिमा पुगिएछ । आफूप्रति दया गरौँ या त्यो नमीठो अभिव्यक्ति दिनेप्रति ?

आज बिहानै उठेँ,  हात मुख धोएँ । पत्नी अफिस जाने तयारी, छोरी स्कुल जाने । सबैतिर हतार थियो, आफूले पनि टप्प हतारहतार चारो टिपेर लागेँ कलेजतिर । बाटोमा गाउँ सम्झिएँ । किन भन्नुहोला  बाटोमा केही राम्रो देखे पनि सम्झिइन्छ र नराम्रो केही देखे पनि सम्झिइन्छ गाउँ । चिल्लो, राम्रो बाटो देखे – आहा आफ्नो गाउँमा यस्तै भैदिए हुने भन्ने लाग्छ । नराम्रो केही देख्दा पनि गाउँ सम्झिन्छ । देश छोडेर जानेहरू धेरै सायद देशको मायै मारेर जानेमा गनिन्छन् ।  विडम्बना सबैभन्दा धेरै देश सम्झने,  माया गर्नेहरू सायद उनीहरू नै हुन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटघाट हुन्छ साथीहरूसँग, कुराकानी हुन्छ कलेजमा । उनीहरू आफ्ना कुरा गर्दै हाँस्दै गर्छन् । म कहिले बुझेर हाँस्छु र कहिले नबुझेर हाँस्छु । हरेक पटक हाँस्दा गाउँ सम्झिन्छु ।

क्यानडामा आएपछि सुरुका काममा जाँदाका दिनहरू सम्झिएँ । आफूले बोल्दा अरूले नबुझ्ने, अरूले बोल्दा आफूले नबुझ्ने त कति कति । त्यो बेला एक्लै टेबुलमा बसेर खाँदा के के सम्झिएँ के के । कहिले आमा सम्झिएँ, कहिले घर,  कहिले साथीहरू, कहिले गाउँ । मैले नसम्झिएको सायद केही थिएन त्यति बेला । कल्पना गर्थेँ, टेबुलभर चिनेका आफ्नै साथीहरू भइदिए गफ गर्दै खानुको मजा बेग्लै हुन्थ्यो होला । त्यस्ता कतिपय चिजहरू त विदेशिँदा सबै उतै छुटेछन् । अहिले किस्ता किस्तामा सम्झनामा आइरहन्छन् ।

Global Ime bank

मेरा बा दस वर्ष जति यता आएर बस्नु भो । दुई वर्ष आमासँगै हुनुहुन्थ्यो र आमा बितेपछि एक्लै । अहिले ९४ वर्षको पुग्नु भो र दुई वर्षदेखि नेपालमै बसिरहनु भएको छ । गुनगुनाई रहनुहुन्थ्यो के के कोठामा । म जिस्किएर भन्थें - “के बरबराउनु हुन्छ एक्लै एक्लै?”  उहाँको सरल जबाफ हुन्थ्यो - “ त्यसै कुरा गर्छु क्या भित्तासँग ” बूढो हुनु भो त्यसैले होला भनेर सोच्थें म । के भन्नुहुन्थ्यो, कसलाई सम्झेर कुरा हुन्थ्यो, कस्तो लाग्थ्यो – मैले कहिल्यै बुझ्ने प्रयत्न गरिन । बरु बूढो भएर बरबराएको भनेर टारिदिन्थेँ ।

पहिले गाउँमा छँदा घरमा मान्छे आएको त्यति मन पर्दैनथ्यो बालाई । मान्छे धेरै आउँदा, खाना खुवाउनु पर्दा वा यस्तै केही कुरामा आमाबाको झगडा नै पर्थ्यो । यता आएपछि भने घरमा मान्छे बोलाउँदा बा औधी खुसी हुने । कसैको घरमा खानामा बोलाउँदा पनि त्यस्तै खुसी । कहिले काहिँ हामीलाई मात्रै बोलाएको ठाउँमा हामीमात्र गएर राति घरमा आउँदा ठुस्स परेको बाको अनुहार हेर्न लायक हुन्थ्यो केही बेर । बच्चाजस्तै गर्नुहुन्थ्यो । झर्कोफर्को चल्थ्यो -“ बुढा रिसाएछन् आज” भनेर हामी अर्कोतिर लाग्थ्यौँ ।

घरमा कोही आउँदा होस् या बाहिर जाँदा होस् बाको हतार हेर्न लायक हुन्थ्यो । पहिल्यै तयार । निस्किँदा पहिल्यै जुत्ता लाएर बाहिर र कोही आउँदा घरमै बैठक कोठामा तयार । भेट हुन पाएको छैन कहिले कहिलेका र कहाँ कहाँका कुराको सुरु । अरूले बुझेका छन् कि छैनन्, वास्ता गरेका छन् कि छैनन् बालाई केही मतलब हुँदैनथ्यो । साथीहरू बुझे पनि नबुझे पनि बालाई खुसी बनाउन सुनि दिन्थे बाका कुरा । धेरै पटक त सम्झाउनुपर्थ्यो बालाई कुरा छोट्याउन ।

अहिले भने बल्ल थाहा हुन थालेको छ मलाई बाका ती बानीहरूको रहस्य । हामी अहिले क्यानाडाको एउटा सानो सहरमा छौँ । हामीबाहेक अर्को एउटामात्र नेपाली परिवार छ यहाँ । बोल्न पुग्दैन । बोलिरहन मन लाग्छ । कहिले काहीँ रातिसम्म कुरा गरेको गर्‍यै गर्दा भोलिपल्ट काममा जानुपर्ने पत्नी अप्ठ्यारो मानीमानी कुरा गरेको देख्दा लाग्छ – अब बाजस्तै भएछु म । झन् सानी छोरीले घरी घरी बाजस्तै लाग्नेगरी बूढो भएको भनेर सम्झाई रहन्छे । बाजस्तै लाग्दा आफूले फेरि गाउँ सम्झिन्छु ।

उता बस्नेहरूले के देख्छन् कुन्नि गाउँमा, कति सम्झिन्छन् होला गाउँ कुन्नि यता पानी पर्दा पनि गाउँको याद आउँछ, घाम लाग्दा पनि । भोकै बस्दा पनि गाउँको याद आउँछ, टन्न अघाउँदा पनि । उठ्दा, सुत्दा पनि सम्झिन्छ र हिँड्दा, उभिँदा पनि सम्झिन्छ । 

अधिकांश हामी विदेशिएकाहरु बिहान एकपटक इन्टरनेटमा नेपाल चाहर्छौं । बिहान पत्रिकामा,  फेस बुक, टुईटरमा र साँझ यु टुब, फोन, म्यासेन्जरमा । छोराछोरीको अनुहार हेर्‍यो, त्यही गाउँ आउँछ । आफ्नो पाक्दै गरेको उमेर हेर्‍यो - त्यही गाउँ । बाबुआमा र आफन्त सम्झियो, त्यही गाउँ । हरेक घटना, हरेक याद संस्मरण, हरेक सपना कल्पना उतै जोडिएका छन् । कहिले त लाग्छ सबैभन्दा धेरै जीवनका अनगिन्ती मीठा क्षणहरूबाट वञ्चित हुने हामी विदेशिएका नै हौँ, अझ मानसिक सुखमा । बूढो हुँदै जाँदा मान्छेहरूको चाउरिएको अनुहारमा पनि कल्पनै कल्पनाले गाउँको नक्सा नै पो बन्दो हो कि ! अक्कलझुक्कल देखिने बूढा जापानीहरूको चाउरिएको अनुहार हेरेर म यस्तै सम्झिन्छु कहिले कहीँ ।

अस्ति भर्खर एकजना दाई (काकाको छोरा) ४० वर्षपछि घर फर्किनु भएछ भारतबाट । भतिजोले फेस बुकमा फोटो राख्यो । अत्यन्त खुसी लाग्यो । उहाँ फर्किने गरेर आउनु भयो या नफर्किने गरेर – केही थाहा छैन । हामी सानो छँदा हिँडेका ती दाइ । अन्तिम साससम्म छोरो पर्खिएर केही नलागेपछि बिदा भएकी उनकी आमा  र यति लामो समयपछि घर फर्किँदा उनको अनुहारमा बनेका चाउरीहरू मेरो दिमागमा घरीघरी आए । दाइको अनुहारमा मैले गाउँको नक्सा, आमाको आकृति र फर्किन नसकेका अनगिन्ती बाधाहरू देखेँ – त्यसभित्र सिङ्गो आफैँलाई पनि देखेँ ।

छोड्न सजिलो छ गाउँ । सजिलै तान्छन् बहिरका रङ्गीन कल्पनाले । तर, बिर्सन अत्यन्त गाह्रो पनि छ । मलाई केही आफन्तहरू फर्केर आउने सल्लाह दिन्छन् । राम्रो लाग्छ – सकेदेखि त मैले चाहेको पनि त्यही हो । तर, उनीहरू आफैँ रुकुमको सुन्दर गाउँ चौरजहारी, अहिले त नगरपालिका भइसकेको छ, छोडेर कोही नेपालगन्जमा त कोही काठमाडौंमा बस्छन् । त्यहाँबाट गाउँ फर्किने उनीहरूको सोच मेरोभन्दा कमजोर छ । मेरो जति पनि उनीहरूको गाउँ फर्किने सम्भावना देख्दिन म त । मजस्तै उनीहरू पनि गाउँ सम्झिँला हुन् । मात्र १९, २० को फरक होला । मेरो अनुहारमा भोलि गाउँको गाढा नक्सा बन्दा  उनीहरूकोमा पनि त्यस्तै तर अलि मधुरो नक्सा त पक्कै बन्नेछ भन्ने मलाई लाग्छ ।

कुरा गाउँ छोड्नु,  देश छोड्नुको मात्रै भन्दा खण्डित भएर बाँच्नुको हो । सीमा भित्रै बसौँ या बाहिर - थलो छोडेर बस्नुको पीडा उस्तै हुन्छ । रहरहरू पछ्याउँदा पछ्याउँदै, सपनाहरू सजाउँदा सजाउँदै, अवसरहरू खोज्दा खोज्दै फर्किन गाह्रो हुने गरेर पाइलाहरूले दूरी नापेको थाहै नहुने रहेछ । टुक्रा टुक्रामा खण्डित अनुभूतिहरूले घचघच्याएपछि झल्याँस्स हुने । पखेटा नहालेको भए उडेर माथिमाथि जोखिमको उडान भन्दा तलकै बामे सराइमा पो वास्तविक सुख हुन्थ्यो कि ?  कमसेकम आमाले भेट्ने दूरीमा त भइन्थ्यो ।  माटोको स्पर्श त रहिरहन्थ्यो ! 

उँडी नसकेकालाई त अझै सोच्ने समय छ !

 

(टिमिन्स, क्यानडा)

 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC