site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राज ! तिमीले गर्दा... भन्दै युवती जब त्रिशूलीमा हाम फालिन्
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिशूली र मर्स्याङ्दी उच्चाटलाग्दो सुुसाइ रहेका थिए । पारि मुग्लिनतिर दोहोरीलत्तो सवारी थिए । वारि तनहुँ जाने बाटोतिर पनि सवारी र यात्रुको चाप उस्तै । तनहुँ जाने बाटोसँगै जोडिएको पुराना फ्रेस फिस रेस्टुरेन्टमा ग्राहकको घुइँचो थियो । अघिपछि पनि पाइला राख्ने ठाउँ हुँदैन । आज त झन् आइतबार ! कतै कुनै टेबुल खाली थिएनन् ।

भर्खरै सञ्चालनमा आएको मुग्लिन दोभानको पुलमाथि स्वेटर र पाइन्ट लगाएकी अन्दाजी वर्ष २० की युवती देखिइन् । बाटो बिराएजस्तो धेरैबेर यताउति गरिरहिन् ।

उनका पदचाप विलकुल शून्य थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

केही बेर टोलाएपछि उनले झोलामा रहेको मोबाइल निकालिन् । कानमा लगाउँदै केहीबेर कुराकानी गरिन् । उनले के कुरा  गरिन् त्यो सुन्ने साक्षी भने जोसँग कुरा गरिन् उनै बाहेक कसैले सुनेन । करिब पाँच मिनेट यस्तै दृश्य दोहोरिरह्यो, टाढैबाट यो दृश्य नियाली रहेका पत्रकार दिलादत्त पन्त भन्छन् ।

नजिकै रेस्टुरेन्टमा त्रिशूलीका माछाको स्वाद चाखिरहेकाहरूले युवतीका क्रियाकलापको खासै वास्ता गरेनन् । वास्ता गर्ने कुरा पनि आएन । सबै आ–आफ्नै धून र धन्दामा थिए ।

Global Ime bank

रेन्टुरेन्टमा काम गर्ने सुमन कुमालले युवतीको हाउभाउ नदेखेका होइनन् तर, ‘‘होला कुनै काम’’ भन्दै ग्राहकको सेवामा लागे ।

बाह्रखरीसँगको कुराकानीमा उनका साथी सन्तोष गुरुङ बेलिबिस्तार लगाउँछन्, “सुमन अर्को टेबलमा पुगेका पनि थिएनन्, मुग्लिनको नयाँ पुलबाट युवती एकाएक हाम फालिन् । फूलको थुङ्गा झैं ती युवती सीधै नील–भँगालामा खसिन् !”

अघिदेखि युवतीको रहस्यम हाउभाउको दर्शक बनिरहेका सुमनका खुट्टा लुलिए । मुटु बरफको ढिक्का बन्यो । एकछिन त के गरौं, कसो गरौंको भावमा मूर्तिवत् भए ।

केही क्षणको सन्नाटा चिर्दै उनले सन्तोषलाई भने, “पुलबाट केटी हाम फाली ! लौन बचाऊँ ! हे राम !”

केटी हाम फालेको थाहा पाउनासाथ रेस्टुरेन्टमा खाना खाइरहेकाहरू जुठै हात लिएर बरन्डामा आए । कति सडकतिर दौडिए । कति चप्पलै नलगाई पुलमै पुग्न भ्याए । तर, आँखै अगाडि हावामा कावा खाँदै नदीको मझधारमा परेकी युवतीको उद्धार गर्ने आँट कसैमा आएन ।

अलि पर्तिर यी सबै दृष्यको साक्षी बसिरहेका पन्तको पनि हात पुर्पुरामा पुग्यो । आँखै अगाडि युवती त्रिशूलीमा हाम फाल्दा पनि केही गर्न नसक्दा ग्लानीले गाँज्यो । धेरैबेर चुकचुकाए पनि ।

अताल्लिएका रेस्टुरेन्ट सञ्चालकले धन्न मोबाइल फेला पारेछन् । लक समेत नखोली सुरुमै १०० मा डायल गरे । 

“हेलो.. ! यहाँ मुग्लिन पुलबाट मान्छे हाम फाल्यो । बचाउन आउनुपर्‍यो !,” सुरज गुरुङ त्यतिबेलाको क्षण सम्झिँदै बाह्रखरीलाई भन्छन् ।

मैले मोबाइलतिर हात लम्काउन भ्याउँदा नभ्याउँदै रेन्टुरेन्टमा टेबलटेबलमा खाना पुर्‍याइरहेका सन्तोष त्रिशूली किनारतिर सोझिइसकेका थिए । गोताखोर जसरी लुगा पनि नफुकाली झ्वाम्मै त्रिशूलीमा हाम फाले, चिसोको पर्वाह नगरी ।

मर्स्याङ्दी र त्रिशूलीको दोभान । वरिपरि मानिसको चिच्याहट । खोलाको बिरक्तलाग्दो सुसाई । हतारमा उनले दिशा लिनै भ्याएनन् । आँखा चिम्लिएर बाँकटे हाने । संयोग भनौं युवतीको हात फेला पर्‍यो । उनले भएभरको बल खिचे । युवतीलाई च्याप्पै समातेर किनारतिर ताने । 

यति गर्दा नगर्दै दश मिनेट बितिसकेको थियो । नेपाल प्रहरी आइपुग्यो । तर, उनीहरू पनि के गरौं ? कसो गरौं ? को भावमा अलमलिएकै थिए ।

सडक, नदीको किनारमा रमिते चुकचुकाइरहेका थिए, “हेर कसको छोरी हो ? कहाँ कि हुन् ? यहाँ आएर... के देख्नु पर्‍यो नि ! शिव शिव... !”

यतिञ्जेलमा सन्तोषले युवतीलाई किनारमा ल्याइसकेका थिए । प्रहरी पनि त्यहीं पुग्यो । युवतीलाई किनारमा त ल्याए तर उनले आँखा खोलिनन् । पाथी–बाह्रमाना पानी खाइसकेकी हुँदिहुन् । पेट डम्म फुलिसकेको थियो ।

सन्तोषले जानेको सीप प्रयोग गरे । यस्तो अवस्थामा के गर्नुपर्छ सोच्नै, गम्नै परेन । धादिङ घर भएका सन्तोष बालखैदेखि अभ्यस्त थिए । उनले तुरुन्तै युवतीलाई उँधो मुन्टो लगाए । पेट हल्का थिचेर मुखबाट पानी निकाले । घायल युवतीको हातमाथि आफ्नो हात राखेर घोटे । पाँच मिनेटपछि युवतीले आँखा खोलिन् । सास फेर्न थालिन् ।

प्राण बच्यो । सन्तोषले ठूलो सास फेरे ।

राज... तिमीले गर्दा...

युवतीले आँखा उघार्नेबित्तिकै बोलेकाे शब्द थियाे, राज । तर, ती राज को थिए ? कहाँका राज हुन् ? राज र ती युवतीबीच के नाता–सम्बन्ध पर्थ्यो ? थाहा भएन । 

बरु युवतीलाई पूर्ण होसमा ल्याउने यत्नमा प्रहरीले साथ दियो ।

युवती बोल्न सक्ने भइन् । आँखाले इशारा गर्दै भनिन्– “भाइ मेरो ब्याग खोलैमा छुट्यो, ल्याइदेऊ न !”

मर्न भनेर खोलामा हाम फालेको मान्छेलाई झोलाको चिन्ता ! अचम्म...। आश्चर्यमा परिरहने सुविधा थिएन । एकातिर युवती जीवन र मरणको दोसाँधमा छिन् । अर्कोतिर उनी झोला ल्याइदिन अनुनय गरिरहेकी छन् ।

जाडाले कठ्यांग्रिएको शरीर लिएर सन्तोष पुनः नदीको भँगालामा हेलिए । यसपटक उनी भुमरीतिर सोझिएछन् । झण्डै त्रिशूलीको माछाको आहारा बनेनन् । पौडन पारङ्गत सन्तोषले भुमरीको पर्वाह गरेनन् । नदीमा डुबुल्की मार्दै मूल प्रवाहतिर सोझिए । पर झोला तैरिरहेको रहेछ ! सायद यसलाई पनि युवतीलाई छाड्न मन नहुँदो हो ।

“यी लिनुहोस् झोला..!” उनले युवतीको हातमा झोला थमाइदिए । 

सन्तोष जीवन बचाएको क्षण सम्झन्छन्, “झोला पाएपछि युवतीको आँखाबाट धेरै आँसु बग्यो । यति धेरै आँसु बग्यो कि मैले धेरैबेर उनको आँखामा हेर्न सकिनँ । रुँदैरुँदै उनले राजको नाम लिइरहिन् ।”

क्षणभरमै उनले नदीमा हाम नफालेको भए ती युवतीको लाश त्रिशूलीको किनारमा तैरिरहेको हुन्थ्यो अथवा बालुवाले छोपी सकेको हुन्थ्यो । प्रहरी मुचुल्का तयार पार्नतिर व्यस्त हुन्थ्यो ।

तर, सन्तोष उनका लागि भगवान् सावित भए । उनले आफ्नो ज्यान त्रिशूलीको जिम्मामा छाडिदिए । आफू युवतीको ज्यान बचाउन उद्धत भए ।

सन्तोषले जीवन रक्षा गरिदिएपछि युवती कृतज्ञ देखिइन् । उनको आँखामा जीवनबोधको छाया सलबलायो ।

“कि मलाई मर्न दिनुस्, कि मलाई अस्पताल लानूस्,” युवतीको अनुहारको आवेगको ज्वाला बल्ल निभ्यो । आफ्नो ज्यानको खुबै माया लागेर आएछ सायद ।

अस्पताल लैजान अनुरोध गर्न थालिन् । छातीमा असह्य पीडा भएझैं गरिन् । भर्खरै मृत्युको दहमा डुबुल्की मारेकाले पनि युवतीको अनुहार कहालिन थाल्यो । युवतीको हातगोडा पानीले ढाडिसकेका थिए ।

लुगाफाटो सबै भिजेकाले लगलगी काँपिरहेकी थिइन् । रेस्टुरेन्ट सञ्चालकले लुगाफाटो ल्याएर लगाइदिए । रेस्टुरेन्ट सञ्चालकको मानवता र करुणा देखेर रमितेहरूका आँखा सीमसारजस्ता देखिए । प्रहरी पनि चित खाए । त्रिशूली र मस्र्याङ्दीको जोर सुसेली मानताको साक्षी बसिरह्यो ।

युवतीको अनुरोध अगावै प्रहरीले स्ट्रेचर तयार पारिसकेका थिए । एम्बुलेन्स पनि आइपुगिसकेको थियो ।

क्षणिक आक्रोश–आवेगको बेग थाम्न नसकेर नदीमा हाल फालेकी र मुत्युको भेलमा डुबुल्की मार्दै गरेकी युवती बचाउन सकेकोमा सन्तोष प्रफुल्ल देखिन्थे ।

प्राण हल्केलामा राखेर युवती बचाउन नदीमा हेलिएको क्षण शब्दमा समेट्दै सञ्चालक सुरज भन्छन्, “ऊ मेरो काकाको छोरा हो । उसको जोखिम मोल्ने साहस देखेर म निःशब्द भएको छु । नदीमा बग्दै गरेकी युवतीलाई निस्प्राण हुनबाट जोगायो । मसँग धन्यवाद दिने शब्द पनि छैन ।”

यो समाचार तयार पार्दा नपार्दा एउटा शुभसमाचार सुनियो ।

जीवनमा भोग्नु परेको यातना–प्रताडना सहन नसकेर कलिलै उमेरमा नदीको भेलमा मिसिन खोज्ने र आफ्नो जीवनको अन्त्य आफ्नै आवेग बनाउन खोज्ने ती युवतीलाई रेष्टुरेन्ट सञ्चालक विजय गुरुङले छोरी बनाएर बाँकी जीवन दिशानिर्देश गर्न चाहेका छन् ।

“सन्तोषले ती युवतीको प्राण बचायो । म धर्मछोरी बनाएर उनलाई जीवनका सुख–दुःखसँग परिचित गराउँछु । जीवनको बाटो देखाउँछु,” सञ्चारकर्मी दिलादत्त पन्तमार्फत् उनले भनेका छन् ।

निभ्नै आँटेको दियोलाई नदीको भेलबाट जोगाएर उज्यालो छर्न खोज्ने ती मानवता र करुणाका प्रतिमूर्तिलाई हाम्रो पनि सलाम !

सञ्चारकर्मी दिलादत्त पन्तको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर २२, २०७६  १९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC