site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
जैविक इन्धनको उत्पादन र प्रयोग

विश्वको एउटा अग्रणी तेल उत्पादक कम्पनी ब्रिटिस पेट्रोलियमको तथ्यांकअनुसार अहिलेको दरले खपत हुँदै जाने हो भने सन् २०१५ सम्म खोज भएको खनिज इन्धनमध्य कोइलाले करिब ११४ वर्ष,  प्राकृतिक ग्यासले करिब ५३ वर्ष र तेलले करिब ५१ वर्षको मात्र आवश्यकता धान्न सक्छ । फलस्वरूप विश्वका सबैजसो मुलुक वैकल्पिक ऊर्जाको खोजीमा  र प्रयोगमा तदारुकताका साथ लागिरहेका छन् । वैकल्पिक ऊर्जा उत्पादनको विकल्पमा सौर्य ऊर्जा, आणविक ऊर्जा, जल विद्युत्, वायु ऊर्जा तथा जैविक इन्धन मुख्यरूपमा पर्छन् । 

प्रयोगका लागि विद्युतीय सवारी प्रयोग, घरायसी प्रयोगमा विद्युतीय सामग्रीको र औद्योगिक प्रयोगमा पनि जल विद्युत् र जैविक इन्धनको प्रयोगमा जोड दिने उपाय रहेका छन् । यीमध्ये उत्पादनका पहिलो दुई विकल्प पनि खनिज इन्धनजस्तै सीमित प्राकृतिक स्रोतमा आधारित विकल्प हुन् भने पछिल्ला तीन उपाय पूर्णरूपमा नवीकरणीय ऊर्जाका स्रोत हुन् । 

विद्युतीय सवारीसाधनको प्रयोग पनि पूर्णरूपमा नवीकरणीय ऊर्जाको प्रयोगको विकल्प भने होइन । सौर्य ऊर्जा तथा विद्युतीय सवारीमा आवश्यक पर्ने ब्याट्री उत्पादनको लागी प्रयोग हुने ‘लिथिअम आयोन’को भण्डार पृथ्वीमा सीमित छ जुन कालान्तरमा सकिनेछ । 

Agni Group

अर्को महत्त्वपूर्ण कुरा ब्याट्रीको आयु बढीमा १० वर्ष हुने र त्यसमा प्रयोग हुने एसिडको व्यवस्थापन पनि वातावरणीयरूपमा चुनौतीपूर्ण छ । 

यसको अर्थ इन्धन उत्पादनका लागि सबैभन्दा भरपर्दो विकल्प जलविद्युत् र जैविक इन्धनको उत्पादन हो भने प्रयोगको लागि सम्भव भएसम्म भण्डारण नगरी प्रयोग गर्न सकिने विद्युतीय सवारी जस्तो ‘ट्रली बस’, रेलको प्रयोग गर्ने र सम्भव नहुने स्थानको लागि जैविक इन्धनको प्रयोग गर्ने तथा उद्योगहरूमा पनि कोइला, डिजेलको सट्टा जलविद्युत् र जैविक इन्धनको प्रयोग हो । 

Global Ime bank

एउटा उदाहरण प्रस्तुत गरौँ । दक्षिण अमेरिकी राष्ट्र ब्राजिलको कुल इन्धन खपतमध्ये १५.७ प्रतिशत जैविक इन्धनले ओगट्छ जुन उखु मिलबाट उत्पादन हुने इथानोल नामक पदार्थको प्रयोग गरेर निकाल्ने गरिन्छ । स्मरणीय छ, ब्राजिल तेस्तो राष्ट्र हो जहाँ इन्धन भण्डारण तथा उत्खनन पनि हुन्छ, आणविक ऊर्जा पनि उत्पादन हुन्छ भने जलस्रोतमा विश्वकै सबैभन्दा धनी राष्ट्र हो ब्राजिल । 

तर पनि उसले आफ्नो इन्धनको प्रयोगलाई अत्यन्तै विविधतापूर्ण बनाएको छ  । अझ उसको नवीकरणीय ऊर्जाको प्रयोग दिन प्रतिदिन बढ्दै गएको तथ्यांकहरुले देखाउँछन् । 

अब हामी नेपालको इन्धन खपतको अवस्था हेरौँ । वातावरण मन्त्रालयको तथ्यांकलाई मान्ने हो भने अहिले पनि नेपालमा प्रयोग हुने ऊर्जामा ७७ प्रतिशत परम्परागत जैविक ऊर्जाले ओगट्छ जसमा काठ दाउरा प्रमुख हो । यसैगरी भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालको कुल व्यापार घाटा १३ खर्ब २१ अर्ब र कुल आयात १४ खर्ब २० अर्ब रहेकोमा इन्धनको आयातले मात्र १५ प्रतिशत अर्थात् करिब २ खर्ब रुपैयाँ ओगटेको छ र यसमा हरेक वर्ष वृद्धि भइराखेको छ । 

आजसम्मको अनुसन्धानले हाम्रो देशमा खनिज इन्धन उत्खनन तथा उत्पादनको सम्भावना पनि देखाएको छैन । हामी आणविक ऊर्जाको उत्पादनको कल्पना पनि अहिले गर्न सक्ने अवस्थम छैनौ भने अगाडि नै भनिसकियो सौर्य ऊर्जा पनि उति सारो भरपर्दो विकल्प हैन । 

यसको अर्थ ऊर्जा उत्पादनमा हाम्रो सबैभन्दा भरपर्दो विकल्प जलविद्युत् र जैविक इन्धन हो । जलविद्युत् उत्पादनमा अब हामी केही वर्षमा नै आत्मनिर्भर हुने क्रममा छौँ तर जैविक इन्धनको उत्पादनमा भने अहिलेसम्म पनि कुनै सारभूत उपलब्धि हासिल हुन सकेको छैन । अब जैविक इन्धनको उत्पादन र प्रयोग नेपालजस्तो देशको लागि किन अत्यावश्यक छ भन्नेतर्फ केन्द्रित होऊँ । 

नवीकरणीय ऊर्जाको प्रयोग विश्वव्यापीर/पमा नै अपरिहार्य रहेको विभिन्न अध्ययन र अनुभवले प्रमाणित गरिसकेका छन् । खनिज इन्धनको उत्पादन नहुने हाम्रोजस्तो मुलुकका लागि त नवीकरणीय ऊर्जाको प्रयोग झन् निर्विकल्प नै हो । 

व्यापार घाटा कम गर्न, वातावरणीय प्रभाव न्यूनीकरण गर्न, मौसम परिवर्तनको सामना गर्न, रोजगारीको अवसर सिर्जना गर्न र प्रदूषण कम गर्न नवीकरणीय ऊर्जाको प्रयोग अत्यावश्यक छ । यसका दुईवटा भरपर्दा विकल्प हामीसँग रहेका छन् । पहिलो जलविद्युत् हो भने दोस्रो जैविक इन्धनको उत्पादन र प्रयोग हो । 

जलविद्युत्का बारेमा धेरै बहस भइसकेको छ र नेपालले प्राथमिकताका साथ आत्मसात गरिसकेको क्षेत्र हो यो । अब रह्यो जैविक इन्धनको उत्पादन र यसको प्रयोगको आवश्यकता र औचित्य  ।  जैविक इन्धनको उत्पादन र प्रयोगको पहिलो आवश्यकता इन्धनको उत्पादन र प्रयोगमा विविधता प्रदान गर्नु हो । 

किनभने एकै स्रोतमा मात्र भर पर्दा भविष्यमा कुनै जोखिम आएमा विकल्प नहुने अवस्था सृजना हुनसक्छ । दोस्रो कारण हरेक क्षेत्रमा जलविद्युत् प्रयोग व्यावहारिक नहुन सक्छ । जस्तो सहरी क्षेत्रमा प्रयोग हुने सार्वजनिक सवारीमा ट्रली बसको प्रयोग गर्न सकिन्छ तर त्यो सबै स्थानलाई समेट्ने गरी निर्माण गर्न व्यावहारिक हुँदैन । 
यस्तो अवस्थामा खनिज इन्धन तथा विद्युत् दुवैको भरपर्दो विकल्प हो - जैविक इन्धन । त्यसैगरी निजी सवारीको प्रयोगमा पनि विद्युत्को प्रयोग कालान्तरमा भरपर्दो नहुने तथ्य बाहिर आउन थालेका छन् । 

यसको प्रमुख समस्या चार्जिंङ र प्रयोग पश्चात ब्याट्रीको व्यवस्थापन हो । यसको पनि भरपर्दो विकल्प जैविक इन्धन हो । 

सबैभन्दा महत्त्वपूर्ण क्षेत्र राजमार्गहरूमा अहिलेको हाम्रो क्षमता र प्रविधिले विद्युतीय सवारीको माध्यमबाट यात्रु तथा सामानको ओसारपसार असम्भव प्रायः हो । यसको लागि पनि बलियो विकल्प भनेको जैविक इन्धन नै हो । 

अझ केही अगाडि भारतमा गरिएको एउटा प्रयोगबाट हवाई इन्धनको पनि विकल्पमा जैविक इन्धन प्रयोग गर्न सकिने तथ्य स्थापित भइसकेको छ । तेस्रो कारण, घरायसी ऊर्जाको लागि वन जङ्गलमाथिको निर्भरता घटाउन पनि जैविक इन्धनको प्रयोग भरपर्दो विकल्प हो । 

चौथो नेपालको भौगोलिक विविधता र अवस्थितिले नेपाल जैविक इन्धन उत्पादनको लागि आवश्यक कच्चा पदार्थ उत्पादनको निम्ति उपयुक्त स्थान रहेको अध्ययनले देखाएका छन् । 

आखिर के हो त त्यो कच्चा पदार्थ ? त्यो हो नेपालमा सदियौंदेखि उत्पादन हुने तर प्रयोग नहुने फल सजीवन र यसलाई अंग्रेजीमा ‘जात्रोफा कार्कस’को नामले चिनिन्छ । 

जैविक इन्धनको लागि सजीवन नै किन त ? यो वनस्पतिको प्रयोगमार्फत व्यापकरूपमा इन्धन उत्पादनमा जोड दिने हो भने राष्ट्रले धेरै फाइदा उठाउन सक्नेछ । पहिलो र प्रत्यक्ष फाइदा इन्धनको आयात घटाई हाम्रो देशको बढ्दो व्यापार घाटा कम गराउँछ । 

दोस्रो,  प्रत्यक्ष र अप्रत्यक्षरूपमा व्यापक रोजगारीका अवसर सिर्जना गर्छ । यसले नेपालको कृषि क्षेत्रमा कायापलट गर्न सक्छ । किनभने यो सहबालीमा आधारित खेती भएकोले अन्य बाली पनि सँगै लगाउन सकिनेमात्र होइन यसले अन्य बालीको उत्पादन वृद्धिमा समेत सघाउ पुर्याउँछ ।

यो आफैँमा एक जैविक मल हो । साथै यसले पानीको संचिति गरेर सुख्खा समयमा माटोलाई ओस प्रदान गर्ने पनि गर्छ जसले सहबालीलाई सुख्खा समयमा हुर्किन सहयोग गर्छ । 

यसमा आधारित खेतीमार्फत अर्गानिक खेती प्रणालीको विकास गर्न सकिन्छ जसले रासायनिक मलको प्रयोग र आयातलाई कम गर्छ । यसको खेती बाँझो जमिन, नांगा डाँडा, नदी किनार, सडक किनार, नहरको छेउमा समेत गर्न सकिन्छ । यसबाट नेपालको वन क्षेत्रको वृद्धि पनि हुन्छ भने उत्पादन पनि बढ्ने नै भयो । 

चुरे क्षेत्रको व्यापक विनाशले तराईमा भइराखेको मरुभूमिकरणको समाधानको अचुक अस्त्र सजीवनको खेती हुनसक्ने देखिन्छ । सजीवनको फल मार्फत इन्धन उत्पादन हुनुका साथै त्यसमा आधारित अन्य उद्योग पनि प्रोत्साहित गर्न सके रोजगारी र आयका अन्य स्रोत पनि विस्तार हुनेछन् । 

अन्त्यमा, अहिले प्रधानमन्त्रीलगायत हरेकजसो मन्त्रीको भाषण सुन्ने हो भने कतै न कतै उत्पादन वृद्धि र रोजगार सिर्जनाका विषय सुनिने गरिन्छ ।

तर, यसका लागि ठोस कार्य योजना के छ त भनेर प्रश्न गर्ने हो भने यसको जवाफ कसैसँग पनि छैन । हामीले उत्पादन वृद्धि र रोजगारी सिर्जना यस्तो क्षेत्रमा गर्न सक्नुपर्छ जसमा हाम्रा विशाल छिमेकी राष्ट्रहरूसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नु नपरोस् । 

किनभने भूपरिवेष्ठित हाम्रो मुलुकले चीन र भारतसँग त्यहाँ हुने उत्पादनमा प्रतिस्पर्धा कुनै हालतमा गर्न सक्तैन । त्यसैले हाम्रा उत्पादन मौलिक हुनुपर्छ साथै हाम्रो एकाधिकार पनि । पर्यटन, जडिबुटी, जलविद्युत्, जैविक इन्धन त्यस्ता क्षेत्र हुन् । 

जैविक इन्धन उत्पादनको लागि नीतिगत व्यवस्था भएर पनि अहिलेसम्म कानुन बनेको  छैन । यो दुःखद त हो नै राज्यको उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि वाधक पनि हो । 

यसका साथै राज्यले लगानीको वातावरण सिर्जना गर्ने, जमीन उपलब्ध गराउने, प्रचारप्रसार गर्ने, उत्पादनको विक्रीको सुनिश्चितता गर्ने र यसका लागि आवश्यक पर्ने उपकरण तथा उत्पादित इन्धनको लागि ‘सब्सिडी’ प्रदान गर्ने हो भने रोजगारी सिर्जना र गार्हस्थ्य उत्पादनमा यसले धेरै ठूलो योगदान गर्नसक्ने देखिन्छ । 

(मानवशास्त्रमा एमफिल तहको शोधार्थी) 
twitter @lonelybidur 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC