site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
सात प्रदेश नै राख्ने हो भने संघीयता खारेज गरे हुन्छ
Sarbottam CementSarbottam Cement

समाजवादी पार्टी र जनता पार्टी नेपालबीचको एकता प्रक्रिया अघि बढेको छ । उपेन्द्र यादव नेतृत्वमा रहेको संघीय समाजवादी पार्टी र डा. बाबुराम भट्टराईको नेतृत्वमा रहेको नयाँ शक्तिबीचको एकतापछि अब राजपासँग एकता गर्ने तयारी छ । दुवै पक्ष एकताका लागि सहमत भए पनि प्रक्रिया र नेतृत्वमा भने सहमत भइसकेको छैन ।
दुवै पार्टीबीचको एकता प्रक्रिया, संविधान संशोधनका लागि भइरहेको प्रयासलगायतका विषयमा समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठसँग बाह्रखरीका जगन्नाथ दुलालले गरेको कुराकानीः


संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकीकरण भएर समाजवादी पार्टी बनेको पनि लामो समय भयो । तर, अझै एकता प्रक्रिया टुंगिएन नि ? 

पार्टी एकताको प्रक्रिया निरन्तर जारी नै छ । केन्द्रमा एकता भइसकेपछि भ्रातृ संस्थाहरू पनि एकता भइसकेका छन् । मुस्लिम संघ बाँकी थियो, शुक्रबार त्यो पनि एकता भइसक्यो । त्यस्तै प्रदेशहरूमा पनि पार्टी एकता सकिएको छ । पहिचानमा आधारित राष्ट्रिय समितिहरूका काम पनि आधा सकिएका छन् । जिल्लाको एकता प्रक्रिया पनि दुई तिहाई जति टुंगिइसकेको छ । अब गाउँ र स्थानीय तहमा प्रक्रिया जारी छ । 
वैचारिक राजनीतिक कामसँगै सँगठनात्मक काममा पनि समायोजन द्रुत गतिमै छ । अरू पार्टीहरू लामो समयदेखि उकता प्रक्रियामा छन्, तर टुंगिएको छैन । उनीहरूको तुलनामा हाम्रो निक्कै छिटो टुंगिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समाजवादी दलको एकजना अध्यक्ष उपेन्द्र यादव सत्तापक्ष र अर्का अध्यक्ष डा. बाबुराम भट्टराई प्रतिपक्षीको बेञ्चमा बस्नुहुन्छ । एउटै पार्टी संसदभित्र फरक–फरक बेञ्चमा कहिलेसम्म बसिरहन्छ ? 

निर्वाचन आयोगले हामीलाई पार्टी एकीकरणको मान्यता दिएपछि बाबुरामजी पनि सत्तापक्षको बेञ्चमा बस्नुभएको थियो । अब समस्या छैन ।

Global Ime bank

तपाईंहरूले संविधान संशोधनको मुद्दा उठाउँदै आउनुभएको छ । प्रदेशहरूको संख्या थप्नुपर्छ भन्ने मुख्य माग छ । संविधान संशोधन र प्रदेश थप किन ?

हामीले खोजेको संशोधन त धेरै छन् । यो संविधान पानापानामा संशोधन गर्नुपर्नेछ ।  तर, हामीले उठाएको मुख्य विषयचाहिँ प्रशासनिक संघीयताबाट पहिचानसहितको संघीयता हो ।  त्यसका लागि राज्यपुनर्संरचना उच्चस्तरीय सुझाव आयोगले दश प्लस एकको अवधारणा दिएको छ । त्यो त्यसै हचुवामा आएको होइन । संसारभरिकै संघीय प्रणालीको ८ वर्ष अध्ययनपछि त्यो आएको हो । त्यसलाई बाइपास गरेर ४ जना नेताको खल्तीबाट ७ प्रदेश ल्याइयो त्यसमा हाम्रो असन्तुष्टि हो ।

सात प्रदेश कुन विद्वान्को प्रस्ताव हो ? कुन विद्वत वर्गले यसको औचित्य पुष्टि गर्‍यो ? कुन आयोगले वा कुन समितिले ? कसैले पनि बनाएको होइन ।  त्यसैले हामीले संघीयताको मुख्य मान्यता समुदायगत साझेदारीमा आधारित संघीयता भनेका छौं । केन्द्रमा साझा शासन, प्रदेशहरूमा स्वशासन ।  यो मान्यतालाई लागु गर्नका लागि संरचनामा परिवर्तन चाहेका छौं । त्यसका लागि संविधानको धारा २७४ को उपधारा ४, ५, ६, ७ मा संशोधन गरेर नयाँ राज्यको सृजना वा सिमाना हेरफेरका लागि प्रभावित प्रदेशसँग छलफल गरी संघीय संसदले सँख्या थप्न वा घटाउन पाउनुपर्छ । 

अहिले बनेका कुन–कुन प्रदेशमा थपघटको आवश्यक्ता देख्नुहुन्छ ?

अहिले प्रदेश ६ र ७ मा एउटै समुदाय छ । ऐतिहासिक खसान राज्यभित्र यो दुई प्रदेश बनेको छ । हामी पनि भारतको उत्तरप्रदेशजस्तै बनाऔं । ठूलो प्रदेश जसले केन्द्रको राजनीतिमा दखल गर्छ । अहिले त पूर्वको दखल छ नि । ठूलो प्रदेश बनाएर, स्रोत साधन सम्पन्न बनाएर हिजोजस्तै ठूलो खसान राज्य महाकाली, सेती, भेरी, कर्णालको माथिल्लो भागलाई हामी एउटै प्रदेश बनाउन चाहन्छौं । 

७ भनेको ठाउँमा ६ प्रदेश होला । पूर्वमा लिम्बुवान र किराँत अलग बनाउँछु भन्छन् भने पाए । मधेसमा थरुहट र मधेस प्रदेशका रूपमा जान्छुभन्दा पाए । त्यो जनताले निर्णय गर्ने कुरा हो । जनताका प्रतिनिधिहरू दुईतिहाईले त्यो फेर्न पाउने होस् भन्ने नै हाम्रो मुख्य विषयवस्तु हो ।

सरकारमा जानुअघि नेकपासँग तपाईंहरूको दुई बुँदे समझदारी भएको थियो । तर, अझै कार्यान्वयन भएन नि ? 

जुन बेलामा दुई बुँदे सम्झौता गरेका थियौं त्यस बेला एकल एजेन्डाका रूपमा माथि भनेका कुरामा खुला हो भने सरकारमा जान्छौं, होइन भने जाँदैनौं भनेका थियौं । अरू विषय त हामीले दुई तिहाई ल्याउँदा जुनसुकै बेला परिवर्तन हुन्छ । तर, अहिले हामीले दुईतिहाई नै ल्यायौं भने पनि संविधानमा परिवर्तन गर्ने व्यवस्था त छैन । त्यसकारण संविधानलाई लचिलो बनाऔं भन्ने हाम्रो मुख्य एजेन्डा हो । 

होइन भने संविधानलाई बाइपास गरेर सडक आन्दोलनबाटै नयाँ संविधान बनाउनुपर्ने अवस्था आउँछ । यदि पुराना राजनीतिक दलले मानेनन् भने नयाँ जनक्रान्तिको माध्यमबाट यो संविधान हटाउनुपर्छ ।  त्यसैले त्यो बाटो अहिले हामीले चाहेका छैनौं । तर, धकेलियो भने जनक्रान्तिकै बाटोमा जान्छौं । हामीले जनताको अभिमतबाट दुईतिहाई ल्याउँदा त्यो कुरा गर्न सक्ने बनाउन चाहेका छौं । त्यो बनाउने हिसाबले संविधान संशोधन गर्ने हाम्रो मुख्य कुरा हो ।

तपाईंहरू संविधान संशोधन गराउने भन्दै सरकारमा गए पनि सक्नु भएन नि ? मूल समस्या के हो ? 

संविधान संशोधनको विषय हामीले सडकबाट पनि उठाएका छौं । सदनबाट पनि पटक–पटक उठाएका छौं । त्यसका बाबजुद यो समाधान भएको छैन । त्यसको कारण संघीयतालाई हेर्ने दृष्टिकोण हो ।  मूल समस्या के हो भन्ने जुन सवाल छ, त्यसको कारण संघीयतालाई हेर्ने दृष्टिकोण नै हो । 

नेकपा र कांग्रेसले संघीयतालाई शासन प्रणाली र संरचनाका रूपमा मात्र ग्रहण गरेको देखिन्छ । संघीयता सैद्धान्तिक महत्त्वको विषय हो, यो एउटा सिद्धान्त हो भनेर उहाँहरूले अहिलेसम्म पनि कहीँ स्वीकार्नुभएको छैन ।
 
तपाईंहरूले बुझेको संघीयताचाहिँ कस्तो हो त ? 

संसारमा संघीयतालाई ‘इजम’ का रूपमा व्याख्या गरिन्छ । संघीय शासन भनेको केन्द्र र प्रदेहशहरूकाबीचमा सार्वभौमसत्ता बाँडफाँड हुने सिद्धान्त हो । नेपालमा सार्वभौमसत्ता भन्नाले भूमि भन्ने बुझिन्छ ।  सार्वभौमसत्ता भनेको सम्पूर्ण शक्ति हो । त्यसमा पनि मुख्य राजकीय सत्ता र शासनाधिकार हो । केन्द्रमा संघमा र प्रदेशमा प्रादेशिक संरचनामा रहने गरी सार्वभौमसत्तामा साझेदारी हुन्छ । ७ प्रदेश बनाइएको छ । यो राज्यको संरचना हो । संरचनामात्र बनाउन त संघीयता नै चाहिँदैन नि । 

चीनमा पनि अहिले प्रदेश छँदै छन् । पहिचानसहितका कतिपय प्रदेश बनेका छन् । जस्तै, लिङस्या हुई प्रदेश भनेर हुई समुदायको, सिङ च्यान उहुर उहुर समुदायको, चाङ समुदायको अलग प्रदेश छ । तिब्बत छ, इनर मंगोलिया छ । बेलायत एकात्मक राज्य भए पनि त्यहाँ स्कटिसपहिचनसहितको स्कटल्यान्ड छ । 

आइरिसहरूको आयरल्यान्ड छ । त्यसकारण संघीयता भनेको संरचना मात्र होइन ।  अब शासन प्रणालीको कुरा गर्ने हो भने पनि अहिले पनि मुख्यमन्त्री छ नि त । प्रदेशमा मुख्य मन्त्री छ, केन्द्रमा प्रधानमन्त्रीले शासन गर्छ । शासन प्रणाली त कम्युनिष्ट कांग्रेसले पनि स्वीकारेको छ । तर, संघवाद स्वीकारेका छैनन् ।

संघीयतासहितको संविधान आइसकेको छ । मूलतः कांग्रेस कम्युनिस्ट मिलेरै त्यो संविधान बनाएका हुन् । उनीहरूले नै संघीयता नस्वीकारेको भन्नु  वस्तुगत होला र ? 

उनीहरूले नस्वीकारेको कुरा संघवाद हो । संघवादको सिद्धान्त हामीले आविष्कार गरेका हौं र ? होइन नि । त्यसको मान्यता आल्थुसियसहरूले अगाडि सारे । त्यसलाई अमेरिका ह्यामिल्टन, जर्ज वासिङ्टन जस्ता नेताहरूले विकास गरे ।  ‘फेडेरालिज्म’ भनेर शब्दकोषमा राखेको पनि ४ सय वर्षभन्दा बढी भइसकेको छ । संघवादलाई वादकै रूपमा ग्रहण गरेर राज्यको शक्ति केन्द्र र प्रदेशमा बाँडफाँड हुनुपर्छ । 

प्रदेशहरू सार्वभौमसत्ता सम्पन्न हुनुपर्छ । जस्तो अमेरिकाका ५० वटै राज्य सार्वभौमसत्ता सम्पन्न छन् । स्विट्जरल्यान्डका २६ वटै क्यान्टर सार्वभौमसत्ता सम्पन्न छन् । कतिपयले त्यो त जोडिएकाले भएको भन्छन् तर त्यस्तो होइन । राज्य टुक्रिएर पनि बनेका छन् त्यहाँ । 

सन् १९७८ मा स्विट्जरल्यान्डमा जुराक्यान्टन भयो । के जुराक्यान्टन सार्वभौमसत्ता सम्पन्न छैन ? छ ।  राजकीय सत्ता र शासनाधिकार भएका प्रान्तहरू हुने । यो अवधारणालाई अस्वीकार गरेको हुँदा नेकपा र कांग्र्रेसले पहिचानको मान्यतालाई वास्ता गरेका छैनन् ।  अर्को, केन्द्रले प्रदेश भंग गर्न पाउने अधिकार गरेको छ । यस्ता धेरै कमीकमजोरी यो संविधानमा छन् । 

यी सबै कमीकमजोरीलाई हामीले अहिले नै सच्याउँ भनेका छैनौं । अहिले हामीले १० प्लस १ मा जाऔं भनेका छौं । १० भौगोलिक प्रदेश र एक गैरभौगोलिक विशेष प्रदेश ।

सात प्रदेश नै बढी भयो भनेर कतिपयले आलोचना गरिरहेका छन् । यस्तो अवस्थामा अझ प्रदेश थप गर्नुपर्छ भन्नुको औचित्य कसरी पुष्टि गर्न सक्नुहुन्छ ? 

यो सात प्रदेश त म भार नै देख्छु । यस्तो ७ प्रदेश राख्ने हो भने संघीयता खारेज गरे हुन्छ । संघीयता भनेको शासनमा साझेदारी र सहअस्तित्वका लागि हो ।  कसको बीचमा साझेदारी ? सगरमाथा र मकालुबीचमा वा कर्णाली र गण्डकी नदीकाबीचमा सहअस्तित्वको कुरा हुन्छ र ! सहअस्तित्व त समुदाय समुदायकोबीचमा हो नि । 

जुन देशमा बहुजातीय छ संघीय शासन छ । बेलायत एउटा अपवाद छ । केन्द्रमा साझेदारी छैन त्यहाँ । बहुजातीय देशहरू स्पेन, बेल्जियममा संघीय शासन छ ।  जहाँ एकल जातीय देश छ त्यहाँ एकात्मक शासन प्रणाली छ । एकात्मक शासनमा तल सरकारको एकाइ मात्र हुन्छ । तर, संघीय शासन प्रणालीमा माथि सरकार, तल पनि सरकार हुन्छ । 

माथि पनि सार्वभौमिकता तल पनि सार्वभौमिकता रहन्छ । मूलतः सार्वभौमसत्ता प्रदेशमै रहेको हुन्छ  । यहाँ त यो मोडेलबाट जाँदै गएन । पहिचानसहितको संघीयताको मूल्य र मान्यतामा हाम्रो संघीयता गएन । जुन मैले विभिन्न देशको उदाहरणबाट भनेँ केन्द्रीय सरकारकै शाखाजस्तो गरी एउटै समुदायको बाहुल्यता केन्द्र र प्रदेशमा हुने हो भने यो प्रदेश भार मात्र हो । त्यसकारण यो भार अन्त्य गर्नुपर्छ ।  

यस्तो बनाउने हो भने एकात्मक नै ठीक हो । शासनमा साझेदारी र सहअस्तित्वको सिद्धान्तमा जाने हो भने पहिचानमा आधारित संघीय शासनमा जानुपर्छ । त्यसका लागि १० वटा प्रदेश बनाउनुपर्छ । एउटा गैरभौगोलिक प्रदेश बनाउनुपर्छ । त्यसो हुँदा केन्द्रमा साझा शासनका लागि प्रत्येक प्रदेशबाट फरक फरक समुदायका मानिसले प्रतिनिधित्व गर्ने अधिकार पाउँछन् । 

त्यस हिसाबले ११ प्रदेशको अवधारणा आएको हो । प्रदेशमा पनि बहुजातीय, बहुभाषिक हुन्छ । समुदायगत जातीय जनसँख्याका आधारमा प्रदेशमा पनि प्रतिनिधित्व हुन्छ । केन्द्र र प्रदेश लोकतान्त्रिक राज्य हुन्छ । विशेष संरचनाहरू समुदाय केन्द्रित हुन्छन् । 

सत्तारुढ नेकपाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिन्छ भनेको छ । तपाईंहरूले आवश्यकता र औचित्य पुष्टि गर्न किन नसक्नुभएको  ? 

त्यो गलत कुरा हो । आवश्यकता र औचित्यको कुरा गर्नु वास्तवमा विश्वासघात गर्ने षड्यन्त्र हो । दुई बुँदे सम्झौतामा आवश्यकता र औचित्य कहाँ लेखेको छ ? त्यो त लेखेको छैन । 

तपाईंले अहिले हेर्नुस् । दुई बुँदे सम्झौतामा त यो आवश्यता छ, औचित्यपूर्ण छ भन्ने कारणले नै संविधान संशोधन गर्ने भनेर लेखिएको हो । के केपी ओलीले भाङ खाएर लेखेको हो ? के प्रचण्ड जीले हेर्दै हेरी सहि गरेको हो र ? 

आवश्यक्ता र औचित्य कुरा उठाउनेहरू विश्वासघाती हुन् । जबसम्म देशमा ठूलो संघर्ष हुँदैन तिनीहरू त्यस्तै कुरा गरिरहनेछन् । हामी नेपालको सम्राट बन्यौं भनेर सोचेका छन् भने त्यो उनीहरूको मूर्खतापूर्ण कुरा हुन्छ । 

सरकारमा जाँदा भएको सम्झौता कार्यान्वयन नभएपछि अब बाहिरिनुपर्छ भन्ने मत पनि समाजवादी दलभित्रै देखिएको छ । कहिलेसम्म समाजवादी दलले सरकार छोड्छ ? 

हामीसँग विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्छ । यदि सम्झौता कार्यान्वयन हुँदैन भने नेकपासँगको हाम्रो सहकार्य टुट्छ । हामी अब अन्तिम पटक प्रयास गर्छौं ।  नेकपाको शब्दकोषमा असजिलो हुँदा सम्झौता गर्ने र आफूलाई अनुकुल हुँदा धोका दिनेछ भने जस्तालाई तस्तै हुन्छ । र, हामी छिट्टै सरकारबाट बाहिरिन्छौं ।
 
कति समय दिनुहुन्छ नेकपालाई अब ? 

गणितमा भन्नुभन्दा अहिले बिरामी प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको कामना गर्छु । 

नेपालबाट भारत जाँदा स्वास्थ्मन्त्री रहनुभएका तपाईंहरूको पार्टी अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्कँदा कानुन मन्त्री बनिसक्नुभएको थियो । समाजवादी दलले त पत्तै नपाई निर्णय भयो नि होइन ? 

अहिले मन्त्रिमण्डल पुनर्गठन भयो हामीसँग सल्लाह नगरी । यो सहकार्यको संस्कृति विपरीत छ । हामीले त्यसलाई अवसरका रूपमा लियौं । कानुन मन्त्रालयबाटै त्यो जाने भएकाले स्वीकारेर संविधान संशोधनका लागि अवसरका रूपमा उपयोग गर्ने भनेर हामी बसेका छौं ।

समद्धि र सुशासनको नारा दिएर बनेको वर्तमान सरकारको कामकारबाहीसँग समाजवादी दल कत्तिको सन्तुष्ट छ ? 

बालुवाटार बेचविखन, टुंडिखेलसमेत खाली नराख्ने, एनसेल काण्ड भएकै छ । नेपाल काण्डै काण्डको देशजस्तो बनेको छ । पुरानो सत्ता वास्तवमा परिवर्तनपछि पनि हाबी छ ।  त्यो चेसबोर्डभित्र नेताहरू बसेकोजस्तो मात्र भएको छ । यसलाई परिवर्तन गर्न अझै संघर्ष गर्नुपर्ने देखिन्छ ।  जनताले विश्वास गर्ने गरी समृद्धि, सुशासन ल्याउनका लागि त्यही ढँगको संरचना चाहिन्छ । 

अहिलेको संरचना एकदमै भ्रष्ट छ । एकदमै कर्मचारीतन्त्र खालको छ । त्यसलाई जति छिटो रूपान्तरण गर्न सक्छौं, त्यति छिटो नेपालले समृद्धि र सुशासन हासिल गर्न सक्छ ।  अहिलेको संरचना हेर्दा त दुई दिन काम गरेपछि चार दिन आराम गर्नुपर्ने प्रधानमन्त्री हुनुहुन्छ । 

दुर्भाग्य त भन्दिनँ म भौतिकवादमा विश्वास गर्छु । संयोग भनौं कि, गिरिजाप्रसाद कोइराला पछिल्लोपटक प्रधानमन्त्री हुँदा सिलिन्डर नै बोकेर प्रधानमन्त्री रहेको देखेँ ।  सूर्यबहादुर थापा पनि पछिल्लो कालमा सिलिन्डर नै बोकेर प्रधानमन्त्री हुनुभयो । र, अहिले प्रधानमन्त्रीज्यू कमजोर स्वास्थ्य अवस्थालाई ख्याल नगरी बसिरहनुभएको छ । 

वास्तवमा उहाँले अहिले प्रधानमन्त्रीको पद त्याग गरेर देशलाई अग्रगामी दिशामा लान सक्ने व्यक्तिलाई हस्तान्तरण गर्नुपर्छ । उहाँले आफ्नै पार्टीको सरकार भएपछि त्यसको अभिभावकत्व ग्रहण गरेर बस्नुपथ्र्यो ।  देशलाई अहिले २४ घण्टामा कम्तीमा १८ घण्टा खट्ने प्रधानमन्त्री चाहिन्छ ।  नेपालको राजनेतामा यसको अभाव देखिन्छ । मलाई त कस्तो लाग्छ भने आर्यघाटमा पनि कुर्सी च्यापेर मरौं भन्ने धेरै नेताको देखियो । यो ट्रेन्ड भएसम्म समृद्धि र सुशासन गाह्रो कुरा हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  १०:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC