site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बेनामी उजुरी कम भयो वा मुद्दा दायर र फैसला हुने दरमा प्रगति भयो भन्दैमा देशमा भ्रष्टाचार नियन्त्रण भएको ठान्नु ‘सुतुरमुर्गे’ आत्मरतिमात्रै हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन भएपछि पनि देशमा भ्रष्टाचारको कमी भएको छैन । यो संवैधानिक हैसियतको आयोगको अहिलेको गठन विधि, कानुन, कार्यशैली र आयुक्तहरूको नियतमा सुधार नहुँदासम्म यसले भ्रष्टाचार नियन्त्रण गर्न सहयोग पुग्ने ठान्नु मूर्खतामात्रै हो । भ्रष्टाचारको जरो खोतल्ने हैन सूचकांकमा सुधार गर्ने रणनीति आयोगको प्राथमिकतामा परेको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसमा अवसरमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको रणनीतिमा आयोगले आगामी ५ वर्षमा नेपालमा भ्रष्टाचारको अवस्था भारत र भुटानसरह बनाउने लक्ष्य निर्धारण गरेको छ । 

नेपालको मझौला जिल्लामा जति पनि जनसंख्या नभएको भुटानसँग दाँजिनुको कुनै अर्थ छैन । रह्यो भारत ! भारतमा भएको संस्थागत भ्रष्टाचारका कहालीलाग्दा घटनाहरू सम्झँदा त्यही बाटोमा लाग्ने हो भने बरु भ्रष्टाचार नियन्त्रण नभए नै बेस भन्नुपर्ने हुन्छ । यथार्थमा नेपालमा भ्रष्टाचार व्याप्त हुनुमा सबैभन्दा ठूलो दोष समाजको छ । जसरी भए पनि पैसा कमाउन नसक्ने व्यक्तिलाई बेकामको लाछी ठान्ने सामाजिक मानसिकतामा परिवर्तन पहिले आवश्यकता हो । यो मानसिकता परिवर्तन गर्न सजिलो त छैन तर गलत तरिकाले पैसा कमाउनेलाई राजनीतिक दल र राज्य संयन्त्रबाट इज्जत दिन छाड्ने हो भने बिस्तारै यस प्रवृत्तिमा सुधार हुनसक्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

सेवाग्राहीबाट ५० रुपियाँ लिएर काम छिटो गर्ने सहायक स्तरको कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चंगुलमा पर्छ । पर्नु पनि पर्छ । तर, सिंगो खोला वा नदीको प्राकृतिक स्रोतको दोहनमा लागेको स्थानीय गुन्डा, त्यसका संरक्षक स्थानीय तहका निर्वाचित पदाधिकारी, तिनीहरू सम्बद्ध राजनीतिक दलका नेता, सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी, स्थानीय, जिल्ला र प्रदेश तहका प्रहरीहरूलाई त अख्तियारले समाउँदैन । अर्को चुनावमा राजनीतिक दलहरूले तिनै बालुवा चोर गुन्डालाई उमेदवार बनाउँछन् । उसले दोहनको त्यही क्रमलाई निरन्तरता दिन्छ र राष्ट्रको अर्बौं रुपियाँ क्षति पुर्याउँछ । राजनीतिक नेताहरूको जीवन शैली तिनको वैध कमाइले धान्नेभन्दा कैयौं गुणा महँगो र विलासी देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ऐनले त्यस्तो अवस्थामा आफैँ अग्रसर भएर पनि कारबाही गर्ने अधिकार दिएको छ ।

दुर्भाग्य, अहिलेसम्म त्यस्ता कुनै राजनीतिक नेता ‘ठूला माछा’ कारबाहीमा परेको उदाहरण छैन । निकट भविष्यमा सत्तारुढ दलका कुनै नेता कार्यकर्तामाथि कारबाही हुने सम्भावना पनि देखिँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूको नियुक्ति नै ‘दलगत निष्ठा’का आधारमा हुने भएपछि सत्तारुढ दलका नेतालाई कारबाही होस् पो कसरी ? जनताका आँखामा सबैभन्दा भ्रष्ट देखिएकाहरूलाई कारबाही नहुने भएपछि समाजमा भ्रष्टाचारलाई हेर्ने दृष्टिकोणमा सुधार हुनसक्ने पनि भएन । अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काम नगर्ने कर्मचारी र जनप्रतिनिधिलाई विकास आयोजना अलमल्याउने निहुँमात्र बनेको छ । सबैभन्दा पहिले ‘मुहान’ सफा गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग यथार्थमै भ्रष्टाचार नियन्त्रण गर्ने जमर्को गर्दैछ भन्ने सिद्ध गर्न सक्नुपर्छ । नत्र, यो संवैधानिक निकाय अहिलेसम्म राजनीतिक प्रतिशोध लिन र भ्रष्टहरूलाई चोख्याउन प्रयोग भएको संस्थाका रूपमा इतिहासमा कलंकित हुनेछ ।        

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २४, २०७६  १४:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC