site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘लौरी पनि म पनि उँधै सलल’

नेपाली उखान – ‘लौरी पनि म पनि उँधै सललल ।’ उखानले नदी वा पानीमा बगेको आफू र आफ्नो सुरक्षाको टेको लौरीले समेत धान्न नसकेर दुवै बगेको जनाएको हुनुपर्छ, पार नपाइएको उद्बोध । भनिन्छ, पानी र माया तल बग्छ । तल बग्नु पानीको स्वाभाविक गति हो । देशको गति भने तल बग्नु होइन माथि उक्लनु हो ।  

पानीको बहावमा तलमाथि सन्तुलन खोज्न मिल्दैन । त्यो ओरालै बग्ने हो । मायामा भने सन्तुलन खोज्न मिल्छ । तर, देश तल बग्नु हुदैन । देश उध्र्व गतिको हुन्छ, प्रगतिको उचाइतिर लाग्नुपर्छ । बिरुवा माटोमा जरा गाडिएर पनि माथि, अझ माथि उठ्छ । राज्यको स्वाभाव पनि त्यस्तै हो । दुर्भाग्य, अहिले नेपाल राज्य उँधो झर्दैछ, ओरालो लाग्दैछ । अर्को अर्थमा पश्चगामी वा उध्र्वको विपरीत अधोगामी राज्य बनाइएको छ । देशको उध्र्व वा अधो गतिको निर्धारण मूलतः सरकारी भूमिकाले तय गर्छ । 

देश कता जाँदैछ ? कसैलाई थाहा छैन । ठोकेर भन्न कोही सक्दैन । कसैले सक्छ देश कता जाँदै छ भन्न ? भूखण्ड जहाँको तहीँ छ । देश यतिमात्रै होइन, भूखण्डभित्रको जीवन हो देश । जीवनलाई प्रभावित गर्ने परिणामलाई तौलेर नै देश कता जाँदै छ भनिने रहेछ । सरकारले कता लाँदैछ ? सोधिने रहेछ ।  

Prabhu Bank
Agni Group
NIC Asia

दुई तिहाइको सरकार तर अकर्मण्य भन्नोस् कि ‘किं कर्तव्य विमूढ’ कम्युनिस्ट सरकार । परिणाममा खोइ दुई तिहाइको कौशल ? देखिनुपर्ने होइन र ! कम्युनिष्ट सरकारको असफलताप्रति निर्धक्क टिप्पणी गर्दा ‘अरिंगाल’ हरुलाई अपाच्य होला । अनौठो भएन । तर, देशको त तिनले पनि भलो नै सोचेका होलान् । सोचून् – सहिष्णु र संवेदनशील चिन्तनले । देश सबैको हो । यसको असफलतामा कोही सफल हुने होइन । अरिंगालले टोक्न सक्छ, भारी बोक्न सक्तैन ।   

भाषण र हल्ला गर्न खप्पिस कम्युनिस्ट र त्यही प्रवृत्तिले चलाएको सरकारले अहिलेको अवस्थामा नेपाली नागरिकलाई देशको उध्र्वगति र मतिप्रति ढुक्क र विश्वस्त हुने कुनै आधार निर्माण गरेको छैन । यो सरकार बनेको झन्डै दुई वर्षमा खास खास विषयमा भरपर्दो आधार तयार भएको देखिनुपर्ने हो । तर त्यो हुनसकेको छैन, भएन । केही यस्ता बुँदाको विषयमा विमर्श गरौँ । 

Global Ime bank

राजनीतिबाट सुरु गरौँ । प्रस्टसँग सोधौँ र सोचौँ, यो सरकारको गतिविधिले लोकतन्त्र सुदृढ र गतिशील भएको छ ? संघीयताको मर्म कति लागू गरिएको छ ? नागरिकले सोध्न पाउने हक र  स्वतन्त्रता फराकिलो पारिएको छ कि प्रेस स्वतन्त्रता निर्बाध हुने ऐन, नियम र कानुन बनाइएको छ ? उत्तर नकारात्मक नै पाइनेछ । स्वतन्त्रताको घेरा साँघुरो पारिँदैछ । 

अहिले त संविधानविपरीत ऐन, कानुन बनाइएका छन् वा बनाउने कोसिस भएको छ । संविधानको व्यवस्था प्रतिकूल सागरनाथ वन परियोजनाबारे गरेको निर्णयमा परेको मुद्दा सरकारले हारेको छ । उदाहरण हो यो । सरकारी असहिष्णुता र अहंकार छरपस्ट छ । जो कसैले विवेक प्रयोग गरे स्थिति छर्लङ्ग देखिन्छ । 

अर्को प्रसंग, चिकित्सा शिक्षामा अराजकता छ । बलियो  दाबा गर्ने सरकारले विद्यमान लुरे समस्याहरु पनि समाधान गर्न सकेको छैन । चिकित्सा शिक्षाका सरोकारवाला विद्यार्थी, चिकित्सा कलेज सञ्चालक र सम्बद्ध अविभावकको प्रतिनिधिहरुसँग बसेर सामयिक समाधान खोज्न नसकेकै कारण यस क्षेत्रमा अराजकता ‘क्रोनिक’ भएको हो । अराजकता सरकारकै कारण निरन्तर छ । अराजकताको कारण नेपालको चिकित्सा शिक्षा र सेवा लथालिंग हुदै विदेशी संस्था पोसिने वातावरण मलिलो पारिएको छ । 

त्यस्तै, निजी शिक्षालयहरुप्रति सरकारी रबैया प्रतिकूल छ । सक्नेले फेरि दार्जलिङतिर छोराछोरी पठाउनुपर्ने उब्जाउ अवसर तयार पारिँदैछ । देशमा स्थापित संस्थाहरुलाई व्यवस्थित, नियमित र प्रभावकारी बनाउनेतिर सरकारी ध्यान छैन । जतासुकै व्यवधान र असन्तुष्टिको फिलिङ्गो सरकार नै झोस्दैछ । निर्माण व्यवसायीहरु प्रधानमन्त्रीको निवास बालुवाटार गेटमा धर्ना बस्छन् । बिरामीहरु त्यसै गर्छन् । कर्मचारीको असन्तुिष्ट र अप्ठ्यारोको सुनुवाइ छैन । व्यवस्थापन र सुशासन शून्यजस्तै । 

सरकार नेपाली नागरिक सबैको हो । कमसे कम, सबै चिन्तन र आस्थाले सरकारी निष्पक्षता वा तटस्थता अनुभूत गर्नसक्ने देखिनुपर्ने हो । सरकारको आचार संहिता पनि हुन्छ होला । त्यो त देखिएन नै । निर्वाचन आयोगले पालना गर भनेको आचार संहिताको पनि सरकारले उपनिर्वाचनकै बेला धज्जी उडायो । राज्यको सबै शक्ति, साधन, स्रोत खिचेर केन्द्रीकृत गरेको सरकार नागरिकलाई प्रतिफल दिन असफल साबित भएको छ । सबै पक्षले राखेको माग र तिनको समस्या समाधान गर्न सरकार उत्सुक छैन । उल्झनमाथि बल्झन थपिरहेछ । दायित्व निर्वाहमा सरकार चुकेको स्पष्टै छ । लोकतन्त्र मतमात्रै होइन मति पनि हो । सहमति, सहभागिता पनि हो । यस्तो ‘चान्स’अहिले छैन । राज्यका सबै संयन्त्रमा कम्युनिस्ट ‘डान्स’ मात्रै छ । 

बिरलै सुनिने ह्याकिङ्बाट बैंकिङ ठगी हाल करोडौंमा भएको छ । अन्य ठगी पनि निकै बढेको घटना सार्वजनिक भइरहेका छन् । बिचौलिया फस्टाएका छन् । महँगी यति चर्को भयो कि उपभोक्ता उपभोग्य सामग्रीको प्रयोग र खरिद घटाउन बाध्य भएका छन् । सामान्य हैसियतको नागरिक बाच्नै कठिन ! महँगीको कारण घटेको क्रयले अलिकति घटेको देखिने आयातको डंका पिट्न सरकारी संयन्त्र तल्लीन छन् । आयात घट्दा निर्यात बढी देखिनु उत्पादन प्रतिफल होइन । सरकार संरक्षितहरुको भ्रष्टाचार र अवैध जग्गा दलाली ढाकछोप गरिएको छ । अनियमितताका ठूलठूला काण्ड भए । 

आन्तरिक वा वाह्य लगानी आकर्षक भएन । आर्थिक स्थिति र रोजगारमूलक उत्पादन उत्साहजनक छैन । जनतालाई थोपरिएको करको भार गरुङ्गो छ । त्यही करको रकम नै जथाभावी बाँडेर लोकप्रियतावादी बाटो अख्तियार गरेको कम्युनिस्ट सरकारले पैसाको प्रलोभनमा मत र मति किन्ने सहज उपाय अपनाएको देखिन्छ । पैसा दिएर जनताको मत, मति किन्न सकिँदैन भन्ने प्रमाण उपनिर्वाचनमा पनि देखियो । ‘उल्फाको धन फुपूको श्राद्ध’ जसरी कार्यकर्ता पोस्ने कुरा भएका छन् । 

गृहनीति स्पष्ट नभएको सरकारको बाह्य नीति असन्तुलित मात्रै होइन भविष्यका लागि खतरनाक हुने संकेत छ । हल्ला खल्लाको बलमा आन्तरिक र बाह्यनीति चलाइरहेको सरकार नीतिगत र व्यवहारिक सन्तुलन कायम राख्न असफल हुँदैछ । आत्मतुष्टिले राज्यको आवश्यकता र संवेदनालाई सम्बोधन गर्दैन । विगत छोडौँ, हालै पुनः विवादमा आएको सीमाक्षेत्र लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा सरकारी रबैया बचकना रह्यो । 

सीमा विवाद र नेपाल पक्षको दाबा सप्रमाण भारत समक्ष राख्ने उद्देश्य यो सरकारले देखाएन । मात्र हल्ला गर्यो । नक्सा र प्रमाण जुटाएको सबुत देशकै नागरिकलाई दिन कोसिस नगर्ने सरकारले भारतलाई देला भनी के विश्वास गर्ने ? प्रधानमन्त्रीदेखि सरकारी कम्युनिस्ट नेताले एक इन्च भूमि पनि दिँदैनौ भन्ने ‘राष्ट्रवादी बिकाउ’ नारा खुब चर्को घोके । अब ‘तैँ चुप मै चुप’ छन् । 

विगतमा मिलिजुली बनेका कमजोर सरकार भए रे !  अहिले त दुई तिहाइ बहुमतको शक्तिशाली सरकार । विकास, न्याय र सबैभन्दा खाँटी लोकतन्त्रवादी भएको नारा दिएर आएको कम्युनिस्ट सरकार । तर, किन जतासुकै भद्रगोल, अराजकता र अनिश्चय ? माथिको स्थिति वर्णनले चारैतिर अँध्यारो देखिने अवस्था किन ? के मुलुक क्रमशः असफलतातिर धकेलिँदै हो ? 

कतै सरकार चारैतिर असफलता, अराजकता, अनिश्चय र समस्यै समस्या बढाएर यसको दोष लोकतन्त्र, संसदीय प्रजातन्त्र र संविधानलाई थोपर्न उद्यत भएको हो कि ? आफ्नो असफलता पद्धति, प्रणाली र संवैधानिक व्यवस्थामाथि थोपरेर अधिनायकवादी कम्युनिस्ट शासन लाद्ने तयारी गर्दै हो कि यो सरकार ? दुई तिहाइको अपूर्व असफलता नियत नियोजित हो वा नादानी वा  गैरजिम्मेवार र खुबीहीन के हो ? लाग्छ, गम्भीर खोजाइ र विश्लेषण आवश्यक छ । 

एउटा सत्य चाहिं के हो भने यो सरकार कम्युनिस्टको हो । कम्युनिस्टको विश्वास लोकतन्त्र हुँदै होइन, वैचारिक स्वतन्त्रता पनि होइन र विकास पनि होइन । हो भने यिनको दर्शन शासन केन्द्रित देखिन्छ । अराजकता, गरिबी, अशिक्षाको जगमा शासन हत्याएर बन्दुकको नालले घाँटी (आवाज) थिचेर शासन चलाइरहने जुक्ती (कु)बुद्धि हो कम्युनिस्ट । कतै यही दर्शनको उत्प्रेरणा नै अहिलेको सरकारी शैलीमा विम्बित भएको हो कि ? कम्युनिस्ट बन्ने, बनाइने ध्येय ? 

पुराना योजनाको उद्घाटनमा ताली पिट्नु, निर्माणको  स्वनिर्मित नयाँ आधार होइन ।  उखान र  बखानले आधार बन्दैन । गन्तव्य समाजवाद हुँदै साम्यवाद भन्ने कम्युनिस्ट सरकार सञ्चालकहरुले चारैतिर वा आँखा खोली हेर्दा जता हेर्यो त्यतैतिर, अर्थात् राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक वा सबैतिर उत्पन्न गरेको असफलता र निराशाले जनता घेरिएका छन् । अब, स्थिति नेपाली नागरिकले त्यो उखान ‘लौरी पनि म पनि उँधै सलल’ होइन, ‘देश पनि म पनि तलै सलल, देशको टेको जनता उँधै सललल’ गाए हुनेभयो । हेक्का राखौँ – ‘सलल’ अर्थात् देश असफल हुँदैछ । अनि परिणाम के, कता जाला ? 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २६, २०७६  ०८:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC