काठमाडौं । नेपाल निलो र जापानिज फुटबल लिग खेलिसकेका खेलाडीहरु सम्मिलित टोलीबीच शुक्रबार मैत्रीपूर्ण खेल हुँदैछ । बेन्चमा बस्ने र उमेर समूहका खेलाडी समावेश गरिएको नेपाल निलो र जापानको दोस्रो डिभिजनको लिग खेलेका उत्कृष्ट खेलाडी समावेश गरिएको टोलीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउसो ३ बजे हुनेछ । जापान फुटबल संघको समन्वयमा नेपाल आएको टिमले नेपाली खेलाडीसँग खेल्न पाउँदा खुसी व्यक्त गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाको जापान भ्रमणका क्रममा मैत्रीपूर्ण खेलबारे सम्झौता भएको थियो । सोहि अनुसार टोली काठमाडौं आएको हो । एन्फाले रंगशालामा हुने खेल हेर्नका लागि भीआईपी सिटमा एक हजार र साधारणतर्फ पाँच सय रकमको टिकट काट्नुपर्ने जनाएको छ ।
टोलीले आगामी २९ गते मनाङ मस्र्याङदी क्लबसँग खेल्नेछ ।