site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘जोक’ हो र चलचित्र ?
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


सफल केसी र प्रतीक गुरुङ गत सोमबार मण्डला थिएटर चौरमा थिए । नयाँ चलचित्रको कथामा काम गरिरहेका उनीहरु मैतीदेवीस्थित कार्यालयबाट अनामनगर आइपुगेका । चियाको चुस्कीसँगै चुरोटको मजा लिँदै गर्दा दिन भने घर्किसकेको थियो । चिसो स्याँठ चल्न थालिसकेको थियो । चलचित्रकर्मीहरु प्रायः चलचित्रको काम गरिरहँदा ‘हतार’मा भेटिन्छन् । तर उनीहरु त ‘बिन्दास’ देखिन्थे ।

सफल र प्रतीक तिनै दुई व्यक्ति हुन्, जसले चलचित्र ‘हरि’ निर्देशन गरे । अहिले उनीहरु नयाँ चलचित्रको तयारीमा छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कति सकियो कथाको काम ?

“हामीसँग कथाको प्लट छ, त्यसमा छलफल गरिरहेका छौं,” सफलले भने । छेउमा रहेका प्रतीकले थपे, “हामी कथा कागजमा लेख्दैनौं । यहाँ (हातले दिमागतिर देखाउँदै) लेख्छौं ।”

Global Ime bank

यतिकै उनीहरु दुईजना छलफल गर्छन् । छलफलबाट  नयाँनयाँ आइडिया फुराउँछन् । अनि निष्कर्षमा पुग्छन्, यो लेख्ने । यही चरणमा छ अहिले उनीहरुको भावी चलचित्रको कथा । 

कथा के हो ? 

हाम्रो आफ्नै कथा हो ।

भन्नाले ? म स्पष्ट हुन खोजेँ ।  

जब ‘हरि’ बनाएपछि चलचित्र नगरी, समाज, घर, साथीभाइ र निर्मातासँग भएका घटनाप्रतिघटना नै उनीहरुको नयाँ चलचित्रको विषय हो । 

चलचित्र बनाउन समस्या, त्यो भन्दा ठूलो समस्या रिलिज डेट लिन, त्यो भन्दा पनि ठूलो समस्याचाहिँ ‘सो’ पाउन । यी सबै समस्या भोगे सफल र प्रतीकले ‘हरि’मा । त्यो भन्दा पनि ठूलो तनाव त बक्सअफिसले दियो उनीहरुलाई । चलचित्र चलेन ।

लगानी उठ्ने कुरै भएन । ८६ लाख लगानी भएको चलचित्रबाट निर्माताको हातमा जम्माजम्मी १० हजार पर्‍यो ।  

रगतपसिना मिसाएर बनाएको चलचित्रमा कत्रो भरोसा थियो । तर दर्शकले साथ दिएनन् । लगानी उठ्ने कुरै भएन । अनुहार देखाउनै लाज लाग्यो निर्माताको अगाडि । 

“तीनचार दिन त शीर पूरै झुक्यो नि हाम्रो । निर्माताको अगाडि परेनौं नि,” सफलले तीतो सत्य सुनाए, “तीनचार दिनपछि बिस्तारै हेर्नेहरुले राम्रो भन्नुभयो । समीक्षकको तारिफ आयो । त्यसपछि अलि हिम्मत बढ्यो । अनि निर्माताले नै यस्तै हो, चलचित्र त राम्रै हो नि भनेपछि बल्ल झनै फुर्ती आयो ।” कुरा सुनेर प्रतीक मुस्कुराए ।

कति निर्माता त ‘हरि’को निर्देशक भनेपछि आफूहरुबाट टाढिने गरेको टर्रो अनुभव पनि सँगाले उनीहरुले ।  

चलचित्र दर्शकले बुझेनन् ? 

“हैन हैन, हामी त्यसो भन्दैनौं । हामीले दर्शकको टेस्ट बुझेनौं,” जिज्ञासामा प्रतीकले चलचित्र नचल्नुको दोष आफैंले लिए । 

अब दर्शकको स्वाद थाहा पाउनु भयो ?

सफल : (हाँस्दै) थाहा पाइयो । 

कस्तो स्वाद मन पराउँदारहेछन् त दर्शक ?

सफल : कमेडी ।

अब बनाउने चलचित्र कमेडी नै हो ?

सफल : जान्रचाहिँ कमेडी । 

जताजता बजार त्यतैत्यतै हो तपाईंहरु पनि अब ?

प्रतीक : हैन । हामी दर्शकको मनोविज्ञान बुझेर राम्रो चलचित्र बनाउने प्रयत्नमा छौं । हामीले बनाएको चलचित्रले फिल्म लिट्रेसी पनि बढेको हाम्रो विश्वास छ । 

कथा खोज्ने क्रममा थुप्रै भेटिए होला नि ?

निराशामै पनि अनुहारमा मुस्कान झुल्किएको सफलले भने, “आए तर, कस्तो कथा भनेर के भनौं ! सुनाउन पनि लाज लाग्छ ।’’ कथा लेखिदनुस् भनेर पनि केही व्यक्ति आए । उनीहरुले स्टोरी लाइन दिए । सफल र प्रतीकले ठीकै छ नि त लेख्दिन्छौं भने ।  

दुई हप्तामा पूरै स्टोरी चाहिन्छ भने । 

अरुको स्टोरीमा स्क्रिप्ट लेखिदिनु पर्ने त्यो पनि दुई हप्तामा । एड्भान्स रकम स्वरुप चेक दिएको थियो । साट्न जाँदा चेक बाउन्स ।  

“दिनरात गरेर स्क्रिप्ट तयार पार्‍यौं । भेट्दा त मैले प्लट पो भनेको त स्क्रिप्ट नै त कहाँ लेख्नुस् भनेको पो भन्छ,” सफल भन्छन्, “चलचित्रको स्क्रिप्ट दुई हप्तामा लेख्नुपर्ने त्यो पनि अरुको कथामा । तर पनि हाम्रो पनि बाध्यता थियो, लेख्यौं ।

अन्तिममा त त्यसो पो भन्छ । चलचित्र जोक हो ? स्क्रिप्ट भन्ने बित्तिकै लेखिन्छ ?” 

चलचित्रलाई नेपालमा अधिकांशले जोकका रुपमा लिएको प्रतीकको भनाइ छ । हप्तामा स्क्रिप्ट चाहिन्छ । साउन्डलाई एक साताको समय छुट्याइन्छ । 

“कतिसम्म जोक गरिन्छ भने रिलिज डेट लिएर फिल्मको घोषणा गरिन्छ,” सफल थप्छन्, “चलचित्रमा भिजुअल २५ प्रतिशत हो भने साउन्ड ७५ प्रतिशत, तर समय १० दिनमात्रै अनि कसरी बन्छ राम्रो चलचित्र ?” 

सफललाई हलिउडतिरका चलचित्रको साउन्डले मुटुमा छुन्छ । तर नेपाली चलचित्रको साउन्ड पर्दाबाट तल ओर्लिएको उनले अनुभूत गर्न पाएका छैनन् । 

० ० ०

प्रसङ्ग आयो कथाभित्रको कथाको  

मनले खाएका कथा आइपुगे तपाईंहरुसँग ?

“कथा लेख्न नै लजाउँछन् यहाँ । कहाँ आउनु ?”

को ? 

लेखक, स्क्रिप्ट राइटर । 

“जता फर्कियो त्यतै कथा छ यहाँ । समाजको कथा पनि लेख्नु पर्दैन । आफ्नै जिन्दगीमा कयौं घटना हुन्छन्, त्यसैलाई लेखे भैगयो नि । तर लाजले लेख्दैनन्,” सफल सुनाउँछन्, “आखिर कथामा दर्शकले आफू र आफूजस्तै व्यक्ति र आफ्नै जस्ता कथा खोज्ने त हो ।” 

“यहाँ लेखेको कथा पनि राइटर तथा निर्देशकले आफ्नै समकालीनहरुलाई सुनाउँदैनन् । किनकि उनीहरुलाई लाज लाग्छ । यस्तो होइन यस्तो पो हो भनेर अरुले भन्देला र तल परिएला कि भन्ने भयले खाएको छ,” सफलले सुरु गरेको विषय प्रतीक टुङ्ग्याउँछन् । 

सफलसँग अर्को अनुभव पनि छ, उनले स्क्रिप्ट लेखिदिए । कलाकारहरुलारुई कसको क्यारेक्टर के हो भनेर उनले सबै बुझाइदिनु पर्ने रे ! 

निर्देशकको काम के ? जसले चलचित्रको कथा नै बुझेको छैन, उसले कस्तो चलचित्र बनाउँछ ? हेलचेक्रयाइँ गर्नुको पनि हद हुन्छ नि, सफल असन्तुष्ट सुनिए । 

प्रतीकले थपे, “यही प्रवृत्तिले त हो समग्र चलचित्र क्षेत्रलाई आममानिसमा नै अति सामान्य भनेर बुझाइदिएको !”

राम्रो लोकेसन देख्यो भने निर्देशकले त्यसका लागि एउटा सिन लेख्नुपर्‍यो भनेको सफललाई याद छ । कुनै क्यारेक्टरलाई घुसाउन कथा थपिएको सम्झना छ । त्यसैले त कथामा बहाव नै हुँदैन । “त्यसैले त खिचडीजस्ता हुन्छन् चलचित्र,” प्रतीकले चलचित्र लेखनको आमप्रवृत्तिप्रति व्यङ्ग्य कसे ।   

० ० ०

पैसा हुँदै नभएको पनि होइन । टाइट होला, तर पैसा छ चलचित्रमा । समस्या गम्भीर नभएर हो । परिणामः मेरै साथीहरु अहिले यो क्षेत्र छोडेर पत्रकारिता गरिरहेको सफलले सुनाए ।  

पैसा नभएको होइन । छ । लगानी गर्ने निर्माताको अभाव भएको पनि होइन । छन् । तर प्रवृत्ति गलत भएर बिग्रिएको हो । चलचित्रलाई गम्भीर रुपमा लिने मान्छे नभएर बिग्रिएको हो । 

निर्मातालाई स्टोरी सुनाउने दिनदेखि ऊ ठगिन थाल्छ । दरबार मार्गको रेस्टुराँमा बोलाउँछ निर्देशक तथा कार्यकारी निर्माताले लगानीकर्तालाई । चार जनाले कफी र सामान्य खाजा खाएको बिल ५ हजार उठ्छ । २० रुपैयाँमा एक कप चिया आउने चिया पसलमा भेट्न हुँदैन ? सफलको प्रश्न । 

अनावश्यक खर्च कम गरेर स्क्रिप्टमा, साउन्डमा, कलरमा लगानी गरे बन्छ राम्रो चलचित्र, प्रतीक आत्मविश्वासी सुनिए । 

० ० ०

सफल मध्यबानेश्वर बस्छन् । प्रतीक धापासी । सफल मध्यबानेश्वरबाट मैतीदेवी आउँछन्, प्रतीक धापासीबाट । मैतीदेबीमा दिनभरि बसेर कथामा छलफल गर्छन् । उनीहरुलाई अढाइ वर्षको डेडलाइन छ । एक वर्ष स्क्रिप्टमा खर्चिएर बाँकी एक वर्षमा हलका लागि चलचित्र तयार पार्दैछन् । 

सर्रियालिजममा आधारित चलचित्र ‘हरि’ बनाएर समीक्षकको तारिफ बटुलेका उनीहरु यो पटक पनि केही भिन्न चलचित्र लिएर आउँदैछन् । 

“हामीले हरि बनाएपछि अहिले फिल्म स्कुल पढिरहेका विद्यार्थीलाई आफूले सोचेजस्तो चलचित्र बनाउने बाटो खुल्यो । त्यो भन्दा पनि हामीले सोच्दै नसोचेको अर्थ लगाए दर्शकले,” सफलले भने ।

“अब पनि हामी भीडमा हराउने चलचित्र बनाउँदैनौं । त्यस्तो चलचित्र त अहिले बनिरहेकै छन् नि, हामीले नै किन त्यस्तो चलचित्र बनाउनु पर्‍यो ? बरु बनाउँदै बनाउँदैनौं,” प्रतीकले स्पष्ट पारे ।

चलचित्रले सन्देश दिनै पर्छ भन्ने मान्यता सफल र प्रतीक राख्दैनन् । दर्शकले हलमा दुई घण्टा अल्छि मान्नु भएन भन्ने उनीहरुको बुझाइ छ । बाँकी जसरी बनाए पनि हुन्छ, जस्तो बनाए पनि हुन्छ तर दर्शकको ध्यान तान्नुपर्‍यो ।

ध्यान त नेपाली हैन हिन्दी चलचित्रले तानिरहेको छ नि ? “हाकाहाकी चोर्नु छ । आफ्नो कथा छोड्नु छ । अनि हिन्दी र अङ्ग्रेजी चलचित्रले ध्यान नखिचे कसले खिच्छ,” बलिउडबाट प्लटप्लट नै उडाउने नेपाली प्रवृत्तिविरुद्ध खरो सुनिए सफल ।   

० ० ०

चलचित्र विविध व्यक्ति र उनीहरुको कार्य अनुभवको एकीकृत रुपको ‘उत्पादन’ हो । तर यहाँ एउटै व्यक्तिले सकेसम्म धेरै काम गर्छ । निर्देशकले कथा लेख्छ । अभिनय गर्छ । फिल्म खिच्छ । र, गीत पनि लेख्छ । “तर फिल्म यति सजिलो काम होइन ता कि एकै जनाले सबै काम गर्न सकोस्,” सफलले चलचित्रलाई अति सजिलो सम्झिने प्रवृत्तिबारे मुख फोरे । आफूले भन्दा अरुले राम्रो गर्न सक्छ भने अरुको साथ सहयोग लिन किन हिचकिचाउनु ? उनको प्रश्न नेपाली चलचित्र उद्योगलाई ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस ५, २०७६  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement