site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
नेपालभित्र चीनको सक्रियता बढ्यो
Sarbottam CementSarbottam Cement

नेपालमा बेला बखत भारतीय प्रहरीको सक्रियतामा भारतका अपराधीलाई देशभित्रै प्रवेश गरेर पक्राउ गरेर लगिएको समाचारपछि नेपाली मिडियामा त्यसको चर्को विरोध हुन्छ अनि बिस्तारै सेलाएर जान्छ । अब, चीनले पनि आफ्ना देशका अपराधी समाउन नेपालमा सक्रियता देखाएको छ ।

गएको साता चीनको सक्रियतामा १२२ चिनियाँ नागरिकलाई नेपाल प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । उनीहरूसँगबाट ठूलो संख्यामा ल्यापटप बरामद गरिएको हुनाले चीनले आरोप लगाएअनुसार उनीहरू वित्तीय अपराधमा संलग्न भएको लख काटिएको छ । नेपालमा भने उनीहरूलाई अभद्र व्यवहार गरेको आरोप लगाइएको छ ।

गत साताको सोमवार नयाँ पत्रिका, नागरिक तथा राजधानीमा चिनियाँ पक्राउको ठूलो समाचार प्रकाशित भयो । नयाँ पत्रिकाले आठ कोलमको ब्यानर समाचार बनाएर शीर्षक राख्यो, ‘१२२ चिनियाँ पक्राउ, लिन चार्टर्ड जहाज आउँदै’ ।

Prabhu Bank
Agni Group
NIC Asia

सो समाचारअनुसार चिनियाँ अधिकारीले करिब छ सय जनाको सूची लिएर आई नेपालमा रहेका आफ्ना नागरिकलाई पक्राउ गर्न नेपाल प्रहरीलाई अनुरोध गरेको थियो ।

सो कार्यका लागि दुई देशका प्रहरीले करिब तीन महिना तयारी गरेको थियो । समातिएका व्यक्तिहरू समूह समूह बनाएर काठमाडौंको बूढानीलकण्ठ, बाँसबारी तथा मनमैजुमा बसोबास गरिरहेका थिए ।

Global Ime bank

प्रहरीले ती व्यक्तिलाई कुन अभियोगमा मुद्दा चलाउने भन्ने निक्र्योल गरिसकेको नभए पनि चिनियाँहरू नेपालमा पक्राउ परेका पुराना सबै घटनालाई समानान्तर समाचार बनाएर नयाँ पत्रिकाले समातिएका चिनियाँ नागरिकप्रति पाठकको धारणा प्रभावित पार्ने समाचार बनाएको छ । 

सोही दिनको नागरिकले पनि यस घटनालाई मुख्य समाचार बनाएर प्रस्तुत गरेको छ । नेपालमा हुने गम्भीर प्रकृतिका अपराधमा चिनियाँ नागरिकको संलग्नता बढ्दै गएको पाइएपछि नेपाल र चीन सरकारका अधिकारीबीच छलफल एवं चीन सरकारको आग्रहपछि ती व्यक्तिहरूलाई पक्राउ गरिएको नागरिकले जनाएको छ ।

नागरिकका अनुसार चिनियाँ राष्ट्रपति सी चिन फिङ नेपाल भ्रमणमा आएको समयमा नेपाल र चीनबीच भएको समझदारीपत्रको तेस्रो बुँदामा आपराधिक विषयमा पारस्परिक कानुनी सहायताबारे नेपाल र चीनबीच सन्धि हुने उल्लेख भएको र सोही बुँदालाई कार्यान्वयन गर्ने क्रममा चीन सरकारले शंकास्पद चिनियाँ नागरिकलाई ‘डिपोर्ट’ गर्न आग्रह गरेको हो ।

नागरिकले पनि पक्राउ परेका चिनियाँ नागरिक विद्युतीय अपराधमा संलग्न भएको विषयमा पाठकलाई विश्वस्त तुल्याउन महालेखा नियन्त्रक कार्यालयको स्थानीय तहको डाटा ‘ह्याक’ भएको समाचारलाई मुख्य समाचारभित्र बक्स बनाएको छ । तर, सो समाचारको पक्राउ परेका चिनियाँ नागरिकसँग कुनै प्रकारको सम्बन्ध भने देखिँदैन । 

राजधानीमा पनि मंगलवार मुख्य समाचार प्रकाशित गरिएको छ जसमा सोमवार प्रहरीले गरेको अपरेसनलाई महत्त्व दिइएको छ । राजधानीका अनुसार फिलिपिन्समा यस्तै प्रकृतिको कारबाहीमा ६०१ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । यस्तै कम्बोडिया, भियतनाम, लाओस, इन्डोनेसिया र मलेसियालगायत देशमा पनि चीन सरकारको अनुरोधमा कारबाही अघि बढेको समाचारमा लेखिएको छ । 

बुधबारको नयाँ पत्रिकाले यस विषयमा सम्पादकीय पनि लेख्यो । सो पत्रिकाले समाचारमा पक्राउ परेका चिनियाँ नागरिकको अपराध नखुलाएको भए पनि सम्पादकीयमा डलरको अवैध काराबार, सुन तस्करी, वन्यजन्तुका अंगको ओसारपसार र लागुपदार्थसमेतमा संलग्न चिनियाँ अपराधीकोे जालो निकै ठूलो भएको भन्दै पर्यटकको नाममा जो कोहीलाई स्वागत गर्ने हाम्रो परम्परामाथि पनि प्रश्न गरेको छ । चिनियाँ प्रहरी आफैँले धेरै सूचना संकलन गरेर नेपाल प्रहरीले पक्राउ गर्नमात्र सहयोग गरेकाले नेपाली सुरक्षा निकायको कार्य सम्पादन कमजोर रहेकोमा पनि नयाँ पत्रिकाले टिप्पणी गरेको छ । 

पक्राउ परेका चिनियाँहरूको वास्तविक अपराध नखुलेको विषयमा कान्तिपुरको बुधबारको समाचारले केही थप जानकारी दिएको छ । पक्राउ परेका चिनियाँ नागरिकलाई कुन कसुरअन्तर्गत कारबाही गर्ने भन्नेमा प्रहरीलाई अन्योल भएकाले कसुर नखुलाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला अदालतबाट पाँच दिनको हिरासतमा राख्ने म्याद लिएको समाचारमा जानकारी दिइएको छ ।

अर्थात्, चीनले अनुरोध गरेको आधारमा अपराधको जानकारी नै नभई नेपाल प्रहरीले ती चिनियाँ नागरिकलाई पक्राउ गरेको देखिन्छ । 

राजधानीको बुधबारको अंकमा नेपालमा अझै दुई हजार चिनियाँ अपराधी रहेको समाचार प्रकाशित छ । पोखरा, चितवन र लुम्बिनी पनि निगरानीमा परेको र पक्राउ परेकासँग राहदानी पनि नभएको समेत सो समाचारमा जनाइएको छ । राजधानीले यो अपरेसन गरेर अपराध नियन्त्रण गर्ने कार्यमा सफल भएकोमा सुरक्षा निकायको प्रशंसा सहित सम्पादकीय पनि प्रकाशित गरेको छ । 

बिहीवार कान्तिपुरले चिनियाँ अपराधी सम्बन्धि अर्को समाचार प्रकाशित ग¥यो जसअनुसार चीनले कुख्यात तीन अपराधी पक्राउ गरिदिन नेपाललाई औपचारिक अनुरोध गरेको छ । रेडकर्नर नोटिसमा नै सूचीकृत ती अपराधीलाई खोजिदिन चीन सरकारले नेपाललाई पत्र पठाएको हो । साथै सोही समाचारको कुनामा सोमवारको दिन पक्राउ परेका १२२ जनालाई डिपोर्ट गर्ने की सुपुर्दगी गर्ने भन्ने विषयमा द्विविधा भएको समाचार पनि प्रकाशित छ ।

बिहीवारको गोरखापत्रले चार्ली फोक्सर अपरेसनमार्फत पक्राउ परेका चिनियाँलाई अध्यागमन विभागमार्फत चीनै फिर्ता गर्ने तयारी भएको समाचार प्रकाशित गरेको छ । राजधानीले पनि ‘चीन पठाउन अध्यागमनको सहयोग खोज्दै प्रहरी’ शीर्षकमा समाचार प्रकाशित गरेको छ । शुक्रवारको कान्तिपुरले चिनियाँहरू बस्दै आएको घरहरूको तस्बिर प्रकाशित गरेको छ । यो समाचारमा घर धनीहरूको नाम पनि सो पत्रिकाले प्रकाशित गरेको छ । 

बुधबार सम्पादकीय लेख्दै कान्तिपुरले चिनियाँ नागरिक पक्राउका सन्दर्भमा पाँच महत्त्वपूर्ण प्रश्न गरेको छ । पहिलो, किन अभियोग लगाउन सकिएन ? दोस्रो कसुरको अन्योल किन र दुई देशको अभिव्यक्ति यस विषयमा किन फरक पर्‍यो भन्ने छ । तेस्रो, विदेशी नागरिकलाई पक्राउ पुर्जी नदिई पक्राउ गर्नु कति वैध हुन्छ भन्ने प्रश्न पनि सो दैनिकले गरेको छ । चौथो, सुपुर्दगी सन्धि नभएको अवस्थामा अध्यागमन कानुन लगाएर फिर्ता पठाउँदा भोलिको जटिलता कस्तो होला भन्ने प्रश्न छ भने पाँचौ ‘अन एराइभल’ भिसा दिने नेपालले पुइभर भिसा दिनेतर्फ ध्यान पुर्‍याउनु पर्छ भन्ने रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १३, २०७६  ०९:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC