site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवन मेडिकल कलेज पाँच महिनादेखि ठप्प !
Sarbottam CementSarbottam Cement

काठमाडौं । चितवन मेडिकल कलेज (सीएमसी) को पठनपाठन पाँच महिनादेखि अवरुद्ध छ । अतिरिक्त शुल्क खारेजी र फिर्ताको माग राख्दै विद्यार्थीले आन्दोलन जारी राखेपछि पाँच महिनादेखि पढाइ सुचारु हुन नसकेको सङ्घर्ष समितिकी सदस्य मान्यता थापाले जानकारी दिइन् ।

“तोकेभन्दा बढी असुलेको शुल्क समायोजन गर्ने सहमति सरकार र मेडिकल कलेज सञ्चालकबीच भएपछि पठनपाठन सुचारु हुने आशा थियो । तर, विद्यार्थीमाथि शोषण गर्न पल्किएका मेडिकल कलेज सञ्चालकले शुल्क समायोजन गर्न अटेर गरिरहेका छन् ।  त्यसैले हामी आन्दोलनमै छौं । अतिरिक्त अशुलिएको शुल्क खारेजी र समायोजन नहुँदासम्म आन्दोलनबाट पछि हट्ने कुरा पनि आउँदैन,” थापाले बाह्रखरीसँग भनिन् ।

विद्यार्थीहरूको आन्दोलनका कारण वार्षिक परीक्षा पनि अवरुद्ध हुन पुगेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

गत मंसिर ९ गते सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच एमबीबीएस र बीडीएस सङ्कायअन्तर्गत पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीबाट उठाइएको अतिरिक्त शुल्क समायोजन गर्ने र तेस्रो र चौथो वर्षका विद्यार्थीबाट उठाइएको अतिरिक्त शुल्कबारे छलफल गरेर निर्णयमा पुग्न चिकित्सा शिक्षा आयोगलाई जिम्मा दिने सहमति भए पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको उनको दाबी छ ।

“हामी कलेज प्रशासनमा दिनहुँ गइरहेका छौं । शुल्क समायोजनको कुरा के भइरहेको छ भने बुझ्छौं पनि । प्रशासनमा न कोही भेटिन्छन् । न कसैलाई विद्यार्थीको भविष्यप्रति चिन्ता नै देखिन्छ,” उनले भनिन् ।

Global Ime bank

उनले आन्दोलनरत चिकित्सा शिक्षा सङ्घर्ष समितिले सीएमसी सञ्चालक हरिश्चन्द्र न्यौपानेसँग पनि पटकपटक कुरा गर्न खोजेको बताइन् ।

“हरिशचन्द्र सरसँग हामी छलफलमा बस्न नखोजेका होइनौं । सरकारसँग सहमति गरेर आएपछि ठोस रूपमा र देखिनेगरी कार्यान्वयन होस् भन्ने हाम्रो माग हो । उहाँले विद्यार्थीसँग छलफलमा बस्नै नचाहेपछि फोन पनि गर्‍यौं । फोनमा उहाँले ‘मेरो बेइज्जत हुनु भइसक्यो । अब मलाई केही मतलव छैन’ भनेर गैरजिम्मेवार कुरा गर्नुभयो । अरु भन्दा पनि डक्टर पढिरहेका विद्यार्थीहरूको भविष्य अन्यौलमा पर्‍यो,” उनले भनिन् ।

प्यारा मेडिकल पूरै उपेक्षामा

अधिकांश निजी मेडिकल कलेज सञ्चालकले प्यारा मेडिकल अन्तर्गतका सङ्कायमा पनि अतिरिक्त शुल्क उठाएका छन् । चितवन मेडिकल कलेज, नेशनल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज र युनिभर्सल कलेज अफ् मेडिकल साइन्समा प्यारा मेडिकलअन्तर्गतका विषय पढिरहेका विद्यार्थी शुल्क खारेजी र फिर्ताको माग राख्दै आन्दोलित भएका थिए । सीएमसीमा निकै चर्को रूपमा विद्यार्थीले कुरा उठाएका थिए ।

तर, सरकार र निजी मेडिकल कलेज सञ्चालकबीच वार्ता र सहमति हुँदा प्यारा मेडिकल अन्तर्गतका सङ्कायमा पढिरहेका विद्यार्थीहरू पूरा उपेक्षामा परेको मान्यता बताउँछिन् ।

“सरकारले प्यारा मेडिकल अन्तर्गतका सङ्कायमा पढिरहेका विद्यार्थीहरूको माग सुनेन । बढी उठाउन पल्किएका कलेज सञ्चालकले त उठाउने कुरै भएन,” उनी भन्छिन्, “उनीहरूको माग सुनुवाइ नभएसम्म पठनपाठन सुचारू हुन सक्दैन ।

प्यारा मेडिकलअन्तर्गत नर्सिङ्, बीपीएच, बीएमएलटी, बीएमआइटी, फार्मेसीलगायतका विषय विषय पर्छन् ।

ती सबै सङ्कायमा सबैजसो निजी मेडिकल कलेजले बढीबढी शुल्क उठाएका छन् । चितवन मेडिकल कलेजमा दुईदेखि पाँचलाख रुपैयाँसम्म अतिरिक्त उठाइएको मान्यताको दाबी छ ।

“चितवन मेडिकल कलेजका आठवटै सङ्कायका सबै वर्षका विद्यार्थीहरू आन्दोलित भएका थिए । एमबीबीएस र बीडीएस सङ्कायका विद्यार्थीको मात्रै मागको सुनुवाइ भयो,” उनले भनिन् ।

अभिभावक पनि आन्दोलित

अहिले विद्यार्थीको आन्दोलनमा अभिभावकहरू पनि गाँसिएको उनको भनाइ छ । केही दिनअघि मेडिकल विषय पढिरहेका विद्यार्थीका अभिभावकहरूले काठमाडौंको रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गरेर सहमति कार्यान्वयन गर्न, अतिरिक्त शुल्क समायोजन र फिर्ताको प्रक्रिया तुरुन्त थाल्न सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

“घरजग्गा बेचेर, धितो राखेर चिकित्सा विषय पढाउनुपर्ने अवस्था छ । कलेजले समयमा शुल्क भुक्तानी नगर्दा दिने मनोवैज्ञानिक त्रास बेग्लै छ । यी सबै झेल्दै आएका अभिभावक आन्दोलित हुनु स्वाभाविकै हो, उहाँहरूको ऐक्यबद्धताले हाम्रो आन्दोलन थप बलियो भएको छ,” उनले भनिन् ।

उनले निजी मेडिकल कलेजका सामु सरकार निरीह र लाचार बनेको टिप्पणी पनि गरिन् ।

“आफैंले गरेको सहमति कार्यान्वयन गर्न सक्दैन । विद्यार्थी, अभिभावक, सञ्चार क्षेत्रको साथ, सहयोग हुँदा पनि सरकार कडारूपमा किन प्रस्तुत हुन सक्दैन । मेडिकल माफियाहरूको पक्षपोषण किन गरिरहेको छ ? हामीले बुझ्न सकेका छैनौं,” उनले भनिन् ।

चिकित्सा सङ्घर्ष समितिले भदौ ५ गतेदेखि आन्दोलन गर्दै आएको छ ।  माग पूरा नहुँदासम्म आन्दोलन नै विकल्प बनेको उनको भनाइ छ । 

उनले अरू मेडिकल कलेजको अवस्था पनि सीएमसीभन्दा भिन्न नरहेको बताउँदै तत्काल सहमति कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण पनि गराइन् ।

यस्तो थियो सहमति


 


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ०७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement