site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
देवेन्द्रमानको देब्रे क्लिक
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


“ओहो अहिले त कति सजिलो सजिलो बाबु, डिजिटल प्रविधि आएपछि, क्यामेरा नै नचाहिने भयो । मोबाइलबाटै फोटोको काम चल्छ,” बिहीबार हामीलाई देख्नबित्तिकै देवेन्द्रमान सिंह भन्दै थिए, “स्टोन एजमा हामीले काम गरेको । फोटो खिच्न गाह्रो, खिचेपछि फाइल गर्न गाह्रो !” 

भोलि के बन्ने ठोस उद्देश्य थिएन । ‘जसोजसो बाहुनबाजे उसैउसै स्वाहा !’ जसले जे भन्यो त्यही बन्न मन लाग्ने । जे देख्यो त्यसमै मन जाने ।

Prabhu Bank
Agni Group
NIC Asia

मामा (केदारमान सिंह श्रेष्ठ) पत्रकारिता गर्नुपर्छ भन्थे । उनलाई २४ घण्टा ‘स्ट्यान्डबाई’ बस्नुपर्ने– मनै पर्दैनथ्यो । भन्थे– गर्दिनँ । एसएलसी पास भए । केदारमानले भने, “पत्रकारिता पढ ।” स्वतन्त्र भएर हिँड्ने, रामाउने पेशा उनलाई मन पथ्र्यो । समयमा खान र बस्न नपाइने पत्रकारितामा किन आँखा जान्थ्यो र ?  

वन विज्ञानमा मन खिचियो । देवेन्द्रमान हेटौंडा पुगे कलेज खोज्दै । प्रवेश परीक्षा दिए । उत्तीर्ण पनि भए । होस्टल हेरे । हावापानी हेरे । कलेजको वातावरण हेरे । उनको मन खिस्स भयो । काठमाडौं र हेटौंडा किन हुन्थ्यो र समान ? घर फर्किएपछि देवेन्द्रमान हेटौंडा फर्किएनन् ।

Global Ime bank

मामाको घरमा बस्थे । मामा पत्रकार । एएफपीमा काम गर्थे । गर्दिनँ भन्दा पनि सहयोग गर्नै पर्ने । असिस्टेन्ट जस्तै थिए उनी ।

“आज काङ्ग्रेसको कार्यक्रम छ, जाऊ त कसले के भन्छ लिएर आऊ भन्नुहुन्थ्यो मामाले,” केदारमान सम्झिन्छन्, “भनेको मान्नै पर्‍यो । जानै पर्‍यो । गएँ ।”

खुलामञ्च पुग्दा पुलिसको ठूलो उपस्थिति थियो । डर लाग्यो उनलाई । तर पनि उनी एउटा कुनामा गएर बसे । गणेशमान सिंह बोलिरहेका थिए । गणेशमानपछि कृष्णप्रसाद भट्टराई बोले । त्यसपछि पालो आयो वीपी कोइरालाको । उनलाई क्यान्सरले समाइसकेको थियो । स्वर बसिसकेको थियो । 

वीपीले भने, ‘पञ्चहरुले राजालाई ढाल बनाएर शासन गरिरहेका छन् ।’ भाषणकै पञ्चलाइन यही वाक्य लाग्यो उनलाई । 

केदारमाले साधे, “के ल्यायौ ?”

देवेन्द्रमानले हेर्दै भने, “ल यो त गज्जब छ ।” 

केदारमानले समाचार बनाए । एएफपीमा पठाए । 

भोलिपल्टका अन्तरराष्ट्रिय सञ्चारमाध्यममा त्यही समाचार ठूल्ठूला हेडलाइन बनेर आयो । 

देवेन्द्रमान छक्क परे । सार्वजनिक रुपमा बोलेको कुराको यति धेरै महत्व ?  

० ० ०

वीपी बनारसबाट फर्किने दिन थियो । त्यो समाचार र तस्बिर केदारमानलाई चाहिएको रहेछ । देवेन्द्रमान पढेर फर्किंदै थिए । केदारमानले भने जाऊँ हिँड ।

देवेन्द्रमानले केदारमानलाई पछ्याए । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको टर्मिनल पुगे । 

केदारमानले भने, “हेरिराख है, वीपी आको ।” 

देवेन्द्रमान हेरिरहेका थिए । 

जहाज अवतरण भयो । केदारमानले सोधे, “कसैलाई देख्यौ ?”

देवेन्द्रमान : तीन–चार जना मान्छे झरे, उनीहरुलाई कारमा राखेर लगे । 

केदारमान : ल हिँड । 

उनीहरु गाडी चढे । उनीहरुको गाडी र वीपी चढेको अनुमान गरेको गाडी गेटमा एकैपटक पुगे । 

देवेन्द्रमान र केदारमान चढेको गाडीले वीपी चढेको अनुमान गरेको गाडीलाई फलो गर्‍यो । बौद्धमा सडक बनिरहेको थियो । गाडी स्लो भयो । 

केदारमानले भने, “हेर त त्यो गाडीमा वीपी छन् कि !”

देवेन्द्रमानले चिनेका थिएनन् । 

केदारमानले भने, “नाक चुच्चोचुच्चो भको अग्लो छन् ।” 

देवेन्द्रमानले देखे एकजना कालोकालो मोटो, अर्को चस्मा लगाको र अर्को पनि छ, तर अनुहार देखिएन ।

वीपीले आफूलाई कसैले फलो गरेको थाहा पाएछन् । कारको झ्याल खोलेर अलिकति टाउको निकालेर हात हल्लाए । 

केदारमानले भने, “हो त रछ त । कन्फर्म भयो । जाऊँ ।”

समाचार बन्यो । केदारमानले समाचार बनाएर पठाए । 

० ० ०

वीपी जीवनकै अन्तिम अवस्थामा थिए । उनलाई उपचारका लागि बैङ्कक लगियो । केही दिनमा फर्काइयो । केदारमान काङ्ग्रेस नेताहरुसँग सोधिरहन्थे, “वीपी बाबुको अवस्था कस्तो छ ?” 

रोयटर्सले समाचार लेख्यो– वीपीको निधन भयो । 

“हामी वीपीको नजिक भएर कति काम गर्‍यौं, तर तारन्तार सूचना माग्दा पनि होइन भनेर सूचना दिएनन्,” आज पनि केदारमान ती काङ्ग्रेस नेताप्रति असन्तुष्ट सुनिन्छन् । 

“रोयटर्सको साथीले वीपीको निधन हुनुभन्दा पहिला नै निधन भयो भनेर समाचार तयार पारेको रहेछ, सूचना पाउन बित्तिकै पठाएर ब्रेक गर्‍यो । तर काङ्ग्रेस नेताले हामीलाई धोका दिए,” उनी भन्छन्, “सूचना पाएपछि आएर समाचार लेख्यौं । त्यही बेला बिजुली बत्ती गयो । बत्ती नभएपछि टेलिकमको लाइन ‘अन’ हुँदैनथ्यो । दौडिएर टेलिकम्युनिकेसन गएँ । लाइन त दियो, तर कनेक्ट भएन । वीपीको मृत्युको समाचार छ, बोर्डबाट पठाउन दिनुपर्‍यो भनेर त्यहाँका हाकिमसँग रिक्वेस्ट गरेर समाचार पठाएँ । पौने ८ बजेको बीबीसी हिन्दी समाचारमा त्यो ब्रोर्डकास्ट भयो ।”

वि.सं. २०६२/६३ को आन्दोलनमा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई प्रहरीले समातेर भ्यानमा राखेपछि देवेन्द्रमानले खिचेको तस्बिर । 


एलिजाबेथ नेपाल आएका बेला एएफपीलाई नेपालमा फोटोग्राफर चाहिएको रहेछ । देवेन्द्रमानले थाहा पाए । पाएको अवसर किन गुमाउनु ? अप्लाई गरे । ओके भयो ।

तस्बिर खिचे । पठाए । सायद सोचे जस्तै तस्बिर पायो एएफपीले । देवेन्द्रमानको कामबाट खुसी भयो । 

नेपालको राजदरबार पनि खुसी भयो । 

कारण ? 

हनुमान ढोकामा कार्यक्रम थियो । बिहान १० बजेको कार्यक्रम । १२ बजेसम्ममा देवेन्द्रमानले तस्बिर तयार पारेर पठाए । काठमाडौंको बिहानको कार्यक्रमको बेलायती पत्रिकाले अर्को दिन नै कभर गर्‍यो । त्यसभन्दा पहिला दुई दिनपछि मात्रै फोटो आउँथ्यो । 

त्यसपछि केदारमान एएफपीको जागिरे भए । 

एलिजाबेथ फर्किएलगत्तै सार्क सम्मेलन भयो । ०४६ को आन्दोलन भयो । त्यसको तस्बिर उनले बाक्लै पठाए । 

० ० ०

०४३ भदौ २० गते पत्रकार पदम ठकुराठीलाई गोली हानियो । दरबारले हान्न लगाएको आशङ्का थियो । ‘सन्डे टाइम्स’ले देवेन्द्रमानलाई समाचार लेख्न भन्यो । समाचार पठाए । यो–यो पुगेन भन्थ्यो । तीन दिनमा समाचार पूर्ण भयो । अब माग्यो तस्बिर । वीर अस्पतालमा बेहोस अवस्थामा रहेका उनको तस्बिर खिच्नु पर्ने थियो । अस्पतालको तस्बिर खिचे । श्रीमती र आफन्तको तस्बिर खिचे । ‘सन्डे टाइम्स’लाई गोली लागेका पदम ठकुराठीकै तस्बिर चाहिएको थियो । देवेन्द्रमानले क्यामेरा लुकाए । घाइतेको आफन्त भनेर प्रहरीलाई ढाँटे । र, पदमका आफन्तले पदम रहेको क्याबिनमा उनलाई लगिदिए । अनि खिचे देवेन्द्रमानले पदमको तस्बिर । र, ‘सन्डे टाइम्स’ले तस्बिरसहितको समाचार छाप्यो । 

० ० ०

०४६ को आन्दोलन सफल भयो । ३० वर्ष लामो पञ्चायत ढल्यो । राजनीतिक सङ्क्रमणको समय थियो । को प्रधानमन्त्री बन्ने भन्ने सर्वत्र चासो थियो । 

हरेक दिन गणेशमान सिंहको घर चाक्सीबारीमा नेताहरु भेला हुन्थे । छलफल गर्थे । तर प्रधानमन्त्री को हुने भन्ने निर्णय भैसकेको थिएन । दरबारलले नियुक्त गर्नुपथ्यो । दलहरुमा सहमति भएर मात्रै पनि हुँदैनथ्यो । राजाले पनि पत्याउनु पथ्र्यो । 

हरेक दिन चाक्सीबारी गयो । समाचार कलेक्सन गर्‍यो । तस्बिर खिच्यो । अनि फाइल गर्‍यो । दिक्क लाग्न थालिसकेको थियो । सदाझैं देवेन्द्रमान चाक्सीबारी पुगे । त्यो दिन गणेशमानले दरबार पुगेर राजा वीरेन्द्रलाई भेटेका रहेछन् । तस्बिर त खिचे, तर सधैं उही व्यक्ति, उस्तै फोटो के पठाउनु भन्दै पठाएनन् । 

राति १२ बजे फोन आयो । ‘वासिङ्टन पोस्ट’को फोन रहेछ । उसले आफ्नो हङकङ ब्युरोलाई भनेछ । हङकङले देवेन्द्रमानलाई फोन गरेको रहेछ । सोध्यो, “नेपालको अहिलेको अवस्थामा प्रधानमन्त्रीका लागि मुख्य सम्भावित व्यक्ति को हो ?” 

देवेन्द्रमानले भने, “गणेशमान सिंह ।” 

“त्यसो भए उहाँको रिसेन्ट तस्बिर चाहियो ।” 

राति १२ बजे उठेर देवेन्द्रले फोटो डेभलप गरे । प्रिन्ट गरे । र, पठाए । 

भोलिपल्ट बिहान उठेर टेलेक्स अन गर्दा म्यासेज आइरहेको थियो । ‘वासिङ्टन पोस्ट’को फ्रन्ट पेजमा समाचारसहित तस्बिर छापिएको थियो । 

० ० ०

०५८ जेठ १९ गते राति हङकङबाट फोन आयो । 

“के गरिराखेको ?” 

“सुतिराखेको छु ।”

“तिम्रो देशमा के भइरहेको थाहा छ ?”

“थाहा छ ।” 

“ल ठीकै छ, यतिबेला त के जान्छौ, भोलि बिहानै दरबार गएर जनताको आक्रोश कस्तो आउँछ खिचेर पठाउनू ।” 

त्यसै गरे । दरबारको गेटमा पुगेर भीडको तस्बिर खिचे । दरबारको ढोका खिचे । वीरेन्द्र र ऐश्वर्यसहित राजपरिवारका  सदस्यहरुको शव स्वयम्भू छाउनी अस्पतालमा थियो । देवेन्द्रमान त्यहीँ पुगे । शव यात्रा सुरु भयो । तस्बिर कसरी खिच्ने ?

कुदेर गएर नजिकै घरको देब्रेतिरको पर्खालमा चढे, त्यहाँबाट शव स्पष्ट देखियो । वीरेन्द्र र ऐश्वर्य दुवैको शवको तस्बिर खिचे । दिल्लीबाट एएफपीको फोटो पत्रकार पनि आएको थियो । उनी शव यात्राको तस्बिर खिच्दै पशुपति आर्यघाट गए । 

दवेन्द्रमान घर गएर दुइटा तस्बिर फाइल गरे । वीरेन्द्रको तस्बिर ‘न्युयोर्क टाइम्स’मा छापियो । ऐश्वर्यको तस्बिर पनि अन्य पत्रिकामा छापियो । 

० ० ० 

अन्तरराष्ट्रिय समाचार समितिमा समाचार र तस्बिरका लागि २४ घण्टा स्ट्यान्डबाई बस्नुपर्ने । चाहियो भनेपछि चाहियो–चहियो । सबै कार्यक्रममा एउटा व्यक्तिले नभ्याइने त्यसैले उनी अरु फोटो पत्रकारहरुसँग सम्पर्कमै रहिरहन्थे । 

देवेन्द्रमानले सम्झिए रवि मानन्धरलाई । 

शान्तिसम्झौताको तयारी भइरहेको थियो । तत्कालीन विद्रोही माओवादी नेता पुष्पकमल दाहाल प्रचण्ड कुन दिन आउँछन् र फोटो खिच्न पाइएला भन्ने पर्खाइ थियो पत्रकारलाई । रवि दिनहुँ बालुवाटार जान्थे, शान्तिसम्झौताको केही दिनअगाडि । दिउँसोको समय थियो ।

सुरक्षाकर्मीका गाडीसहित नेताका गाडीहरु छिरे । सुरुमा त कुन गाडी भनेर अन्योल भयो । जब प्रचण्ड चढेको गाडी यो हो कि भन्ने अनुमान भयो, गाडीको सिसा कालो थियो ।

कसरी खिच्ने प्रचण्डको फोटो ? रविले क्यामेराको फिल्टर निकाले । एउटा लेयर हट्यो । क्यामेरा लगेर प्रचण्ड चढेको गाडीमै टसाएर क्लिकक्लिक पारे ।

त्यही गाडीमा रछन् प्रचण्ड । आएछ प्रचण्डको तस्बिर । 

देवेन्द्रले थाहा पाए प्रचण्ड बालुवाटार छिरे । कोसँग होला त फोटो ? 

रविलाई फोन गरे । उनले खिचेका रहेछन् । मागेर त्यही तस्बिर एएफपीले प्रयोग गर्‍यो । त्यो तस्बिर धेरै अन्तरराष्ट्रिय सञ्चार माध्यमले प्रयोग गरे । 

रविको अर्को गुन पनि बिर्सिएका रहेनछन् देवेन्द्रले । सार्क शिखर सम्मेलन नेपालमा भैरहेको थियो । हरेक सार्क शिखर सम्मेलनमा भारत र पाकिस्तानकै चर्चा हुन्थ्यो । अरु देश त छायामा पर्थे । 

भारतीय र पाकिस्तानी परराष्ट्रमन्त्रीले अँगालो हालेको अथवा हात मिलाएको तस्बिर खिच्न पाए त गज्जब हुन्थ्यो । त्यो मुभमेन्ट खोजिरहेका थिए, देवेन्द्रमान । 

हेर्दाहेर्दै पाकिस्तान र भारतका परराष्ट्रमन्त्री साइड वार्ताका लागि छल्लिएछन् । पछि लाग्दालाग्दै उनले सोचेको मुभमेन्ट छुट्यो । “म उनीहरुको ठीक पछाडि पुग्नु पनि उनीहरुले मिलाएको हात छुट्यो,” उनले भने । 

रवि त्यहीँ थिए । सोधे, “तिमीले खिच्न भ्यायौ ?” 

रविले खिच्न भ्याएका रहेछन् । 

मागेर एएफपीमा पठाए । 

भोलिपल्टका अधिकांश अन्तरराष्ट्रिय दैनिकमा त्यही तस्बिर छापियो । 

० ० ०

भारत र पाकिस्तानका परराष्ट्रमन्त्रीले हात मिलाएको तस्बिर एएफपीमा छापिएपछि रोयटर्स र एपीले आफ्नो नेपाल प्रतिनिधिलाई सोध्यो त्यो तस्बिर हाम्रोमा खोई ? रोयटर्स र एपी दुवैका नेपाल प्रतिनिधिले देवेन्द्रमानसँग त्यो तस्बिर मागे । रविले खिचेको त्यो तस्बिर एएफपी, एपी र रोयटर्सका सञ्चारमाध्यमले प्रकाशन गर्दा विश्वभर फैलियो । 

० ० ० 

२०५५मा साग गेम थियो । बङ्गलादेशले फुटबल जित्यो । आयोजक नेपाललाई पराजित गरेको थियो । आफ्नो देशले अन्तरराष्ट्रिय भूमिमा गएर जितेको उनीहरुका लागि ठूलो समाचार थियो । त्यहाँका अधिकांश पत्रिकाले समाचार तयार पारेर तस्बिरका लागि ठाउँ राखेर एएफपीको फोटो कुरेर बसेका रहेछन् । 

देवेन्द्रमान आफैं खेलको तस्बिर खिच्न रङ्गशाला पुगेका थिए । उनलाई एएफपीले भन्यो तत्काल त्यो तस्बिर पठाऊ । तुरुन्त घर आएर उनले तस्बिर पठाए । बङ्गलादेशमा रहेका ५० भन्दा धेरै दैनिक पत्रिकाले त्यो तस्बिर छापे । एपी र रोयटर्सले त्यो खेलको समाचार खिच्न भ्याएनछन् । त्यही तस्बिरलाई क्रेडिट दिएर एपी र रोयटर्सले पनि देवेन्द्रमानकै तस्बिर आफ्ना ग्राहकलाई पठाए । उनको तस्बिर बङ्गलादेश र सार्क राष्ट्रमा चर्चित भयो । सामान्यतः एउटा एजेन्सीले अर्को एजेन्सीको समाचार तथा तस्बिर हम्मेसी प्रयोग गर्दैन । प्रयोग भएको पाइनु लगभग दुलर्भ अवस्था हो । देवेन्द्रमानलाई एएफपीको केन्द्रीय कार्यालयले नै बधाई पठायो । 

० ० ०

१९८० मा एएफपीले देवेन्द्रमानलाई फोटो पत्रकारका रुपमा नियुक्ति दियो । अब उनलाई चाहियो नेपाल सरकारको सूचना विभागको कार्ड । देवेन्द्रमानले सूचना विभागमा निवेदन दिए कार्डका लागि । 

सूचना विभागले प्रेस काउन्सिलमा निवेदन फर्वार्ड गरिदियो । एक महिना, दुई महिना, तीन महिना बित्यो तर कार्ड आएन । चार महिना भयो र पनि आएन । प्रेस काउन्सिल जाँदा त्यहाँ देवेन्द्रमानलाई भनियो– लेख्नेलाई पो पत्रकार भन्ने हो त, फोटो खिच्ने पनि पत्रकार हुन्छ ? हुँदै नभको नयाँ कुरा लिएर आएर पनि हुन्छ ? दिन मिल्दैन भने । सूचना विभागले पत्रकार भनेर प्रेस पास दिएपछि सरकारले एउटा फोन लाइन दिन्थ्यो । सरकारी कार्यक्रममा जान पाइन्थ्यो । त्यो बेला फोन लाइन पाउनु भनेको चानचुने कुरा थिएन । 

चार महिनापछि बल्ल उनले फोटो पत्रकार भनेर प्रेस पास पाए । त्योसँगै टेलिफोनको लाइन पाए । 

० ० ०

कहिलेकहिले सामान्य भनेर खिचिएका तस्बिरले ठूलो प्रभाव पारेको याद छ देवेन्द्रमानलाई । ठ्याक्कै वीपीको समाचार ल्याउँदा त्यसले पाएको स्थानजस्तै । 

ल्हासा भर्खर खुलेको थियो । अमेरिकीहरु खुब जान्थे । एक चीन नीतिविरुद्धको तिब्बत आन्दोलन छँदैथियो । त्यहाँका गतिविधि कभर गरेको भन्दै चीनले बेलाबेलामा अमेरिकीलाई निकाल्दिन्थ्यो । 

त्यसरी नै निकाल्दिएका दुई जना काठमाडौं आएको खबर देवेन्द्रमानले पाए । तिनीहरुको सम्पर्कमा पुगेर तस्बिर खिचे । ‘न्युयोर्क टाइम्स’मा फ्रन्ट पेजमा छापिएको समाचारमा देवेन्द्रमानले खिचेको तस्बिर पनि छापियो । 

भोलिपल्ट ती अमेरिकीसँग देवेन्द्रमानको भेट भयो, उनीहरुको रेस्पोन्स थियो, ‘ओ यु आर द म्यान, हु मेड अस हिरो’ भनेर अँगाालो हाले । 

० ० ०

देवेन्द्रमानले भने जस्तै उनले ‘स्टोन एज’मा फोटो खिच्न सुरु गरे । जुनबेला तस्बिर नेगेटिभ हेरेर धुलाउनु पथ्र्यो । सहज थिएन । तर इज्जत थियो । नाम र दाम दुवै थियो । थुप्रै तस्बिर खिचे उनले एएफपीमा १९८० देखि २००२ सम्म काम गर्दा । प्रायः अन्तरराष्ट्रिय समाचार संस्थाहरुले नेपालका संस्कृति, सगरमाथा, राजनीतिक व्यवस्था परिवर्तन र ठूल्ठूला दुर्घटनाका समाचार र तस्बिरमात्रै लिन्थे । तर समय र सौभाग्य ०४६ को जनआन्दोलनको बेला उनी तस्बिर खिच्थे । त्यसैले त्यो समयका राजनीतिक घटनाको पनि थुप्रै तस्बिर प्रयोग भए उनका ।

३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थाको समयमा एकसय एक नेताहरु थिए । तिनका अधिकांश तस्बिर छन् देवेन्द्रमानसँग । गिरिजाप्रसाद कोइराला र मरिचमान सिंह श्रेष्ठ तस्बिर खिच्दा पोज दिन जान्दैनजान्ने । गणेशमान सिंह यसमा निकै सतर्क । त्यसैले गणेशमानको तस्बिर खिच्न निकै सजिलो र राम्रो आउने, उनले अनुभव सुनाए ।

मनोमोहन अधिकारी कहिल्यै हाँस्दैनहाँस्ने । ‘कमरेड हाँस्नुस् न, फोटो राम्रो आएन’ भन्यो भने उनी भन्थे, ‘कसरी हाँस्नु ?’ त्यसैले प्रायः मनमोहनको हँसमुख तस्बिर भेटिँदैन । तर देवेन्द्रमानले एकपटक झुक्काए । संसद्मा बसिरहेका बेला उनी हाँसे । देवेन्द्रमानले क्यामेराको बटम दाबीहाले । उनी भन्छन्, “सायद मनोमोहनको हँसमुख तस्बिर यही मात्रै हो कि जस्तो मलाई लाग्छ । भए पनि बाहिर त्यति देखिँदैन ।” 

० ० ०

फ्रान्ससहित विश्वलाई दशकौं झुक्काएको । नेपाल थाइल्यान्ड, भारत, मलेसिया, फ्रान्स, अफगानिस्तान, टर्की, ग्रिसलगायतका देशमा दर्जनभन्दा बढी हत्या गरेका । तर पनि प्रहरीको पञ्जामा नपरेका चाल्र्स शोभराजलाई अन्ततः नेपाल प्रहरीले सन् २००३ मा समात्यो । विश्वभर हङ्गामा मच्चियो । 

उनको तस्बिर हेर्न संसार लालायित थियो । विडम्बना ! प्रहरीले सार्वजनिक गर्दा उनेल आफ्नो अनुहार रुमालले छोपे । अदालत लैजाँदा पनि क्यापले रुमाल थिचेर त्यो रुमालले पूरै अनुहार छोप्थे । 

फोटो पत्रकारहरु प्रहरीलाई भन्थे, ‘त्यो रुमाल हटाइदिनुस् न ।’ तर उनी मान्दैनथे । एक दिन प्रहरीले उनको रुमाल थुत्न खोज्यो । रुमाल भुइँमा खस्यो । देवेन्द्रमानको क्यामेराले रुमाल नढाकिएको उनको तस्बिर कैद गर्न भ्याइहाल्यो । 

अर्को दिन पनि उनी त्यसैगरी रुमालले मुख छोपेर निस्किए । पत्रकारले उसैगरी आग्रह गरे । तर उनले मानेन् । प्रहरीले भन्यो, “के मुख छोप्छौ अब तिम्रो तस्बिर फ्रान्सका हरेक पत्रपत्रिकामा छापिएका छन् ।”

त्यो तस्बिर एएफपीका लागि देवेन्द्रमानले खिचेर पठाएका थिए । त्यसपछि नै चाल्र्सले आफ्नो अनुहार देखाउन थालेका हुन् । 

कति तस्बिर सहजै खिचे, कति लामो समयको अथक प्रयासपछि । कति नसोचेका तस्बिर लोकप्रिय भए कति सोचका तस्बिर फ्यास्स भए । तर जे होस् विश्वमा कुनै त्यस्तो प्रतिष्ठित पत्रिका र म्यागेजिन छैन होला जसले देवेन्द्रमानले खिचेको तस्बिर नछापेको होस् । 

तस्बिर : सुनिल प्रधान

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १९, २०७६  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement