site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खड्ग ओलीलाई साम्यवाद आयो, जनता दास युगमै
Ghorahi CementGhorahi Cement

जीवन एक विरोधाभाष (प्याराडक्स) हो ।

चैतन्य भन्छ– आन्दोलनको दुन्दुभी बजा । विद्रोहको अगुवा बन् । समयलाई सन् १९४९ तिरै फर्काएर सङ्ग्रामको तयारी गर् ।

शरीर प्रतिरोध गर्छ– अब संन्यास आश्रम रोज् । धर्मकर्ममा मन लगा । रामनामी ओढ् । योग–ध्यानमा निमग्न हो । ओठमा विष्णु सहस्रनाम नटुटा ।

Agni Group

नेपाली कम्युनिस्ट आन्दोलनका ‘भीष्म पितामह’ मोहनचन्द्र अधिकारीको जीवनसँग साक्षात्कार हुँदा जीवनको यस्तैयस्तै विरोधाभाषसँग जम्काभेट हुन्छ ।

कपाल राँटा नराखी फुलेर सेतै भइसक्यो । काँस बिर्साउने गरी । हिँडडुल गर्न खुट्टाले साथ दिँदैनन् । हातले दोछाया नपारे आँखा सामुन्ने उभिएको आकृति ठम्याउन पनि हम्मे पर्छ । दृष्टि पातलिँदै र धमिल्लिँदै गएका छन् । ओठमुखले र्‍याल नसमेट्दा हमेसा हातले स्याहारिहनुपर्छ ।

Global Ime bank

तर, क्रान्तिको धीत अझै मरेको छैन । चन्द्रागिरिको थाप्लामा डुब्न तर्खर गरिरहेको घाम झैं उमेरले नेटो काटे पनि परिवर्तनको तिर्खा अझै मेटिएको छैन ।

भन्छन्– “यो चराचर जगत् परिवर्तनको द्योतक हो । प्रकृति परिवर्तनशील भएकैले यो गति, यति र लयमा वेग हानिरहेको छ । प्रकृतिको यो बदलावबाट मान्छे अछूत रहन सक्दैन । किनकि, मान्छे प्रकृतिकै अभिन्न हिस्सा हो ।”

कलङ्कीको मूल बाटोबाट छड्किएर थानकोट निस्कने अर्को समानान्तर सडक हुँदै नैकापस्थित मोहनचन्द्र अधिकारी टोल पुग्दा दिन अपराह्नबाट ओह्रालो झरिरहेको थियो । समय गोधूलितिर अघि बढ्दै जाँदा जाडोको साम्राज्य पनि विस्तारित हुँदै थियो । दुई दिन अविराम झरी परिरहेकाले हुनुपर्छ, काठमाडौं पनि जाडोसँगै कठ्याङ्ग्रिएको थियो । चारतले घरको सिरानमा जाडाले सोफामा गुँडुल्किएर अधिकारी टीभीमा रामदेवको प्रवचनमा मुग्ध थिए ।

वामपन्थी आन्दोलनका अगुवा अधिकारी जीवनको उत्तरार्द्धतिर अध्यात्मपथका पथिक बनेका छन् । स्वजनहरू सत्ताको शिखरबाट समाजवादको सपना देखिरहँदा उनी भजन, किर्तनमा निमग्न छन् । शासकीय चिन्तन र भक्तिबाट सुदूर रहेर आन्तचिन्तन र आत्मभक्तिमा निर्लिप्त बनेका छन् । 

तत्त्वमीमांसा, अत्यात्मवादलाई बुढ्यौलीको हिस्सा बनाइरहेका अधिकारी बेलाबखत आफ्नो जिन्दगीतिर पनि फर्किन्छन् । धूलो लागेको क्रान्तिको मुहारपुस्तिका पल्टाउँछन् । सत्ताधारीसँग कुम जोडेर खिचाएका तस्बिर देख्दा कहिले भावशून्य हुन्छन् । कहिले अतिरेक रोमाञ्चित ।

१३ वर्षमा कम्युनिस्ट पार्टीको सदस्यता
१९९० सालको महाभूकम्पको चार वर्षपछि क्रान्तिको भैंचालो ल्याउने मोहनचन्द्र जन्मिए । कम्युनिस्ट पार्टीको सदस्यता लिँदा नेकपा जम्माजम्मी तीन वर्षे शिशु थियो ।

पूर्वी भक्तपुर कटुञ्जेका मूलवासी अधिकारी परिवार २००० सालको सुरुतिरै मोरङको विराटनगर बसाइँ सरेको थियो । तीन छोरामध्ये माहिला मोहनचन्द्र अहिले ठ्याक्कै सम्झन सक्दैनन्– ‘के कारणले परिवारले मूलथलो छाड्यो ?’

“त्यतिबेला बसाइँ सर्ने लहरै चलेको पो थियो कि !,” उनको दिमागले ठम्याउन खोज्छ । 

यत्तिचाहिँ ठोकुवा गरेरै भन्छन्– यसका पछाडि राजनीति कारण भने थिएन ।

बसाइसराइसँग राजनीतिको साइनो नजोडिए पनि विराटनगर पुगेपछि राजनीति उनको अभिन्न अङ्ग बन्न पुगे । समाज सात सालको परिवर्तनको प्रशव वेदनामा थियो । समाजमा परिवर्तनको रक्तश्राव जारी थियो ।

बालवयमै राज्यको दमनकारी ‘जुँगामुठे अनुहार’ राम्ररी ठम्याए र निधो गरे– “यो राज्यव्यवस्था हाम्रा लागि होइन । र, कदापि हाम्रो हुन सक्दैन ।”

क्रान्ति सकिएको दुई सालपछि नै कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरे । नेपाल कम्युनिस्ट पार्टी, नेकपाबाट । 

पार्टी महासचिव संस्थापक नेता पुष्पलाल श्रेष्ठ थिए । विचार, सिद्धान्तमा उनी पुष्पलालसँग एउटै बाटोमा नारिन सकेनन् । आमुन्ने–सामुन्ने रहे ।

२००६ सालमा कम्युनिस्ट पार्टी गठन भयो । ४ वर्षपछि, २०१० मा पहिलो महाधिवेशन भयो । मनमोहन अधिकारी महासचिवमा निर्वाचित भए । दोस्रो महाधिवेशनले केशरजङ्ग रायमाझीलाई महासचिव निर्वाचित गर्‍यो, २०१४ सालमा ।

नेपाल कम्युनिस्ट पार्टीले आन्दोलनको आकार लिँदै थियो । २०१७ सालमा राजा महेन्द्रले बीपी कोइराला नेतृत्वको निर्वाचित सरकारको गला निमोठे । त्यही वर्ष भारतको दरभङ्गामा केन्द्रीय कमिटी बैठक (इतिहासमा दरभङ्गा प्लेनमको नामले परिचित छ) आयोजना भएको थियो । राजाको कदम हेर्ने सवालमा नेकपाभित्र दुई धार देखापर्‍यो । पुष्पलाल समूह राजाको कदमको विपक्षमा खडा भयो । रायमाझी समर्थनमा उभिए । स्थूल स्वरूप ग्रहण गरिनसकेको कम्युनिस्ट आन्दोलनले विभाजनको मार खायो ।

तिनताक माओत्सेतुङको नेतृत्वमा भएको चिनियाँ सांस्कृतिक क्रान्ति (सन् १९६६) को प्रभाव नेपाल भित्रँदो थियो । चिनियाँ सांस्कृतिक क्रान्तिविरुद्ध त्यहाँ पनि फरक मत देखापरेको थियो । लिओ चाओकीकोविरुद्ध माओत्सेतुङले वक्तव्य जारी गरेका थिए, त्यसको बाछिटा भारतको पश्चिम बङ्गाल र नेपालको कोसीपूर्व पनि परेको थियो ।

सन् १९६० बाट चारु मजुमदार, कानु सन्यालहरूले थालेको नक्सलवादी (नक्सलाइट) आन्दोलनको डढेलोले वेग हान्दै थियो । त्यसको हावा नेपालतिर आउने नै भयो ।

सन् १९६७ मे २३ मा किसानहरूले राज्यसत्ताविरुद्ध धनुर्वाण प्रहार गरे ।

मोहनचन्द्र ठ्याक्कै सम्झन सक्दैनन्, एक किसान महिलाले पुलिस अधिकारीलाई तीर भेदन् गरिन् । त्यस घटनाले झापा र इतरक्षेत्रमा पनि प्रभाव पार्‍यो । ‘वर्ग शत्रु सफाया’ अभियानको भावभूमि तयार पार्‍यो ।

महेन्द्रको ‘कू’लाई हेर्ने नजर नमिल्दा अलग बाटो तय गरेको महमोहन अधिकारी समूहले पूर्वकोसी प्रान्तीय कमिटी गठन गर्‍यो । त्यहीअन्तर्गतको झापा जिल्ला कमिटीले ‘वर्ग शत्रु सफाया’ अभियानको सशस्त्र सङ्घर्ष सूत्रपात गर्‍यो ।

हिंसात्मक विद्रोहको पृष्ठभूमि तयार पार्दा झापा जिल्ला कमिटी ९ सदस्यीय थियो । झापाका गोपालकृष्ण प्रसाईं इन्चार्ज र मदन खपाङ्गी सहइन्चार्ज थिए ।

“म सुरुमा मेची अञ्चलको सहइन्चार्ज थिएँ । पछि इन्चार्ज बनेपछि सशस्त्र सङ्घर्षको आधार बलियो बनाउन भूमिका खेलेँ,” उनले थपे । झापा जिल्ला कमिटीले विद्रोहको पुल्ठो तयार पार्दै गर्दा पूर्वकोसी प्रान्तीय कमिटीचाहिँ हिंसात्मक संघर्षको विपक्षमा थियो । मनमोहन र भरतमोहन अधिकारीले ‘कम्युनिस्ट आन्दोलनमा हिंसा सर्वथा अनुचित छ’ भनेर कुरै पर्न दिँदैनथे ।

झापाका सीमान्तकृत किसानहरू सुदखोरको चपेटामा थिए । अधिकांश किसान भूमिहीन थिए । जग्गाजमिन भएका किसानहरूको लालपुर्जा साहुकहाँ बन्धक–धितोमा थियो । अर्काको जमिनमा पाखुरा जोत्नेहरू भरपेट खान पाउँदैनथे । आयस्ता बुझाउनै ठिक्क ।

विद्रोहको आगो फैलन कत्ति पनि समय लागेन ।

“नक्सलबारी क्षेत्रमा विद्रोहको राँको फैलिइसकेको थियो । गुरिल्ला एक्सन सफल भइरहेको थियो । हामीकहाँ पनि कसो सफल नहोला त भनेर परीक्षण गर्‍यौं,” उनको अनुहारमा अतीतद्योतक भाव छाउँछ । पुलकित देखिन्छन् ।

कानु सन्याल, जंगल सन्थाल, कमद मल्लिकहरूबाटै अनुशिक्षित र दीक्षित भएका थिए, झापाली अगुवा तर यसबारे पूर्वकोसी प्रान्तीय कमिटीलाई थाहा पत्तो दिइएको थिएन ।

२०२८ वैशाख ९ गते (लेनिन जयन्ती)का दिन उनीहरूले स्क्वाड गठन गरे । स्क्वाड गठनको २३ औं दिन पूर्वी झापाको ज्यामिरगढीमा गुरिल्ला ‘एक्सन’को आरम्भ भयो ।

ज्यामिरगढीका कर्णबहादुर गौतमलाई उनीहरूले ‘वर्ग शत्रु’ करार गर्दै ‘खत्तम’ को सूचीमा राखेका थिए । पहिलो प्रहार उनीतिरै सोझ्याए ।

गौतम धनाढ्य वर्गमा पर्दैनथे । न उनी जमिनदार नै थिए । 

“उनी जमिनदारको दलाली भने गर्थे । चल्तीको भाषा बोल्ने हो भने उनी कुख्यात बिचौलिया थिए । जमिनदार र किसानको बीचमा बसेर दुःखी, दारिद्र्यको श्रम–पसिनामाथि रजाइँ गर्थे,” गौतमविरुद्ध निशाना सोझ्याउनुको कारण अथ्र्याउँछन् मोहनचन्द्र ।

गौतमको सफायापछि प्रशासनले व्यापक धरपकड गर्‍यो । सयौं किसानमाथि मुद्दा लगाइयो । थुनामा जाकियो । अधिकांशले चरम यातना बेहोरे ।

झन्डै एक वर्षपछि (२९ वैशाख) दोस्रो ‘एक्सन’ हुन सक्यो, बुटाबारीका बुटन चौधरीविरुद्ध । त्यही साल गरामनिका विष्णुप्रसाद विमली र ईश्वरी चुडालमाथि ‘एक्सन’ भयो । २०२९ कात्तिकमा गरामनिकै उद्राकान्त चौधरी र पुस १० गते शनिश्चरेका धर्मप्रसाद ढकाल र उनका छोरा ज्ञानीमाथि निशाना सोझ्याए ।

अर्को वर्ष, २०३० कात्तिक ४ गते दुवागढीका ज्ञानबहादुर बस्नेत र भक्तबहादुर कोइरालाविरुद्ध ‘एक्सन’ सोझ्याएपछि सशस्त्र    सङ्घर्षले लगभग विश्राम लियो ।

एक्सन गरिएकामध्ये सातैजनाको सफाया भएको थियो । एक्सन बेहोरेकामध्ये कोइरालाले मात्रै प्राण बक्सिस पाएको मोहनचन्द्र सम्झन्छन् ।

“गुरिल्ला एक्सनले निरन्तरता पनि पाउँथ्यो होला । २०२९ कात्तिकमा समातिएका रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठको त्यही साल फागुन २१ गते अपराह्न सुखानीको जंगलमा कत्लेआम गरियो,” उनी सङ्घर्ष चिस्सिनुको कारण बताउँछन् ।

गुरिल्ला एक्सनमा हात, हतियार कब्जामा लिए पनि धनसम्पत्ति लुटपाट नगर्ने नीति थियो । मोहनचन्द्र एक्सनमा उत्रँदाको क्षण सम्झन्छन्, “उद्राकान्त र धर्मप्रसादको घरमा लाखौं रुपैयाँ फेला परेको थियो । तर हामीले एक पैसा पनि लिएनौं । आँगन मझेरीमै छरेर छाड्यौं ।” 

झापामा २०२८–३० सालमा मात्रै विद्रोह राँकिएको होइन । त्योभन्दा पूर्व २००८ सालमै विद्रोह देखा परेको थियो । भर्खर–भर्खर प्रजातन्त्र आएकाले त्यसले संगठित रूप धारण गर्न सकेन । भर्भराउँदो फिलिङ्गोलाई पहिले कांग्रेसले त्यसपछि पञ्चले कुल्चिएर निभाइदिए, २०१८ सालतिर ।

दुर्घटित विद्रोह
झापा विद्रोह झाँगिदै गर्दा राधाकृष्ण (आरके), सीपी मैनाली र केपी ओलीबीच टकराव सुरु भयो । विद्रोह नामेट हुँदा नहुँदै केपी ओलीलाई जिल्ला सचिवबाट आरके–सीपीले बर्खास्त गरिदिए ।

तिनताक मोहनचन्द्र भारत प्रवासमा दिए । सफायामा उत्रिएकाले प्रशासनले ‘जहाँ भेटाइन्छ, त्यहीँ गोली ठोक्नू’ भन्ने फरमान जारी गरेको थियो । लुक्दै, छिप्दै भारत पुगेका थिए । त्यहाँ पनि दमित, उपेक्षित मजदुरलाई कम्युनिस्ट आन्दोलनमा गोलबद्ध गर्दै थिए, कुल्लीकै आवरणमा ।

२०३० असोजको आरम्भैतिर केपी ओली हल्द्वानी पुगे । मोहनचन्द्रलाई बिनती बिसाए, “मलाई त सीपीहरूले जिल्ला सेक्रेटरीबाट हटाइदिए ।”

झापा विद्रोहको दुर्दान्त र आन्दोलनमा एउटै सिरान गरेर सुतेकाबीचको कलहले मोहनचन्द्र द्रवीभूत भए ।

“हल्द्वानीको बसाइबारे पनि अनेक टिप्पणी सुन्छु । झापाको ‘एक्सन’ सफल हुँदै गएपछि पश्चिम क्षेत्रमा पनि विद्रोह फैलाउनेबारे सोच्दै थिएँ,” उनको दिमागमा त्यतिबेलाको घटना ताजा भएर आउँछ ।

केपी ओली हल्द्वानी पुगेपछि उनी जोगबनीको बाटो हुँदै विराटनगर आए ।

विराटनगरमा माधव नेपालको डेरा थियो । उनी नेपाल बैंक विराटनगर शाखामा काम पनि गर्थे । प्रशासनको आँखाबाट जोगिनु पनि थियो ।

हल्द्वानी जानुभन्दा पहिले केपी माधव नेपालकै डेरामा बसेर गएका रहेछन् । विराटनगर फर्किएपछि मोहनचन्द्र केही दिन नेपालकै डेरामा आश्रय लिए । ओली रौतहटको गौरतिर हानिए ।

ओली गएको केही दिनपछि मोहनचन्द्र पनि उतै लागे ।

अहिले सम्झँदा मोहनचन्द्रलाई लाग्छ– म गौर जानु हुँदैनथ्यो । गौर गए पनि शिवप्रसाद कलवारको घरमा सेल्टर लिनु हुँदैनथ्यो ।

कलवार पहिले आफूलाई चौबीस क्यारेटको कम्युनिस्ट भन्थे । पछि पञ्चमार्गी बनेका थिए । विचारमा नअडिनेको भर पर्नुजस्तो जोखिम जीवनमा केही हुँदो रहेनछ !

गौर पुगेको मात्रै के थिए, केपी ओलीले ढिपी कस्न थाले, “यहाँबाट गइहालौं ।”

“यहाँ प्रशासनले झापा सङ्घर्षको अफवाह फैलाएको रहेछ । यहाँका केही कम्युनिस्ट विचारमा आस्था राख्नेमा पनि भ्रम परेको रहेछ । आज बेलुका बसेर भ्रम निवारण गरौं, भोलि उज्यालो नहुँदै बाटो लागौंला,” मोहनचन्द्रले बस्ने इच्छा व्यक्त गरे ।

केपी ओलीको कार्यक्षेत्र थियो । ओलीले हठ नत्यागेपछि मोहनचन्द्रले बस्न उचित ठानेन् । जुरुक्क उठे । झोला रित्तोरित्तो थियो, ओलीले भित्रबाट किताब ल्याए । तुलसीलालको ‘कुन बाटो’, पुष्पलालको ‘मूलबाटो’ । भित्र कता सात सालको आन्दोलनको पर्चा रहेछ, त्यो पनि छाड्न उचित ठानेनन् । झोलैमा राखे ।

बोझिलो झोला बोकेर मोहनचन्द्र अघि लागे । केपी ओलीले पछ्याउन थाले । बाटो देखाउने सुरज पार्टी कार्यकर्ताकै भतिजा थिए ।

मोहनचन्द्रलाई ती ‘भतिजा’को चाल निको लागेन । तर ओलीले विश्वास गरेकाले मुख फोरिहाल्न पनि भएन ।

मोहनचन्द्र चनाखो भएर उनैलाई पछ्याउँदै थिए । ती भतिजाले चौकीकै बाटो पो हिँडाउँदै रहेछन् । भाग्ने ठाउँ नै थिएन । पक्राउ खाए ।

“तुलसीलाल सिर्जित ‘कुन बाटो’, पुष्पलालकृत ‘मूलबाटो’ बोकेर हिँड्दाको परिणाम हात लागेपछि हामी दुईबीच मुखामुख गर्नुबाहेक कुनै विकल्प भएन,” उनी अहिले पनि थकथकी मान्छन् ।

धेरै खानतलासी गर्नै परेन । प्रमाण आँखा सामुन्ने छारस्ट थियो । पक्राउ परेका को हुन् भन्नेमा चाहिँ प्रहरी अन्योलै थियो ।

“नाम भन्....” प्रहरी केरकार गर्थ्यो ।

दुवै मूर्तिवत् मौन बस्थे ।

ओली हिरासतमा अभ्यस्त थिए । दसपटक भन्दा बढी पक्राउ, प्रताडना बेहोरिसकेकाले जब्बरै थिए ।

यातना दिन प्रहरी पनि अभ्यस्त रहेछ । गलाउने नयाँनयाँ उपाय रच्थ्यो ।

मोहनचन्द्र सम्झिन्छन्, “प्रहरीले प्रथमतः हामी दुवैलाई फलामे पोलमा टाँग्यो । सिम्किनाजस्तो लाठी पैतालामा बर्साउन थाल्यो ।”

ओलीकै कारण पक्राउ परेको भन्दै मोहनचन्द्र क्षुब्ध बनेका थिए । तर यातना दिन थालेपछि द्रवित् भए । 

“जति सक्छौ ताडना मलाई नै देओ । तर उनलाई नपिट,” मोहनचन्द्र आहत हुँदै प्रहरीसामु बिन्ती बिसाउँथे ।

भोलिपल्ट, २०३० असोज २४ गते नै उनीहरूलाई चलान गरियो । तर प्रहरी अधिकारीको यातना साम्य भएको थिएन । क्रूर, अमानुषिक यातना दिँदा पनि दुवैले मुख नखोलेपछि प्रहरी अधिकारी गलितम् भए । पहिचान गर्ने उपाय रच्न थाले ।

अर्कोदिन प्रहरी अधिकारीले पक्राउ परेका दुवैको जानपहिचान गरिसकेका थिए । उनीहरूलाई नै बकाउने अभिप्रायले सोधे, “अझै नाम बताउँदैनौ ?”

यातना दिनेमध्ये कैयौं प्रहरी मोहनचन्द्रका विराटनगर बस्दाताकका सहपाठी थिए । सँगै खेल्ने लँगौटियार पनि । क्रान्तिमा लागेपछि हुलिया बदलिएकाले चिन्न मुस्किल भए पनि कहाँ छिप्थ्यो !

लगातारको कुटाइले शरीर थप यातना सहन नसक्ने अवस्थामा पुगिसकेको थियो । मोहनचन्द्रको धैर्य टुट्यो । क्षीण तागत एकत्रित गर्दै दुवैले मुख फोरे ।

“नाम नखोली धरै दिएनन् । भलिभाँती कुटाइ खाएकाले क्षण–क्षणमा बेहोस हुन्थ्यौं । होस फर्कंदा पनि कुटिरहेकै हुन्थे,” प्रहरीको यातना सम्झँदा अहिले पनि मोहनचन्द्रको आङ सिरिङ्ग हुन्छ । शरीरमा काँडा पैदा हुन्छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी चन्द्रिकानन्द खरेल थिए । उनी कड्किए, “तिमीलाई त गोलीले उडाउने आदेश छ ।”

“उसो भए के हेरिरहेको त, उडाइहाल !,” उनले ताडित स्वर निकाले ।

“अदालतले फैसला गर्छ, मर्ने दिन कुरिराख् !,” खरेलले गिज्याउँदै भने ।

“नेपालमा त्यस्तो अदालत बनेको छैन, जसले राजनीतिक मान्छेलाई फाँसी देओस् !,” यातनाले नगलेका मोहनचन्द्र वचनले के गल्थे !

गौरकै थुनामा महिनादिन बढी रहे । त्यसपछि वीरगन्ज चलान भए । दुई दिनजति साधारण कैदीसँग राखेपछि बल्ल उनीहरूलाई आस्थाको बन्दीसरह व्यवहार गरियो । अलग्गै ठाउँ तय भयो ।

मोहनचन्द्र र केपी ओलीसँग प्रहरी अत्यन्त त्रस्त थियो । खुकुलो छाड्न डराउँथे । 

दोस्रो दिन बिहानै । मोहनचन्द्र र केपीलाई एउटै गाडीमा हालियो । मोटो डोरीले बाँधियो । गाडीछेउ एकातिर गोली भरिएको बन्दुक र अर्कोतिर नाङ्गो खुकुरी बोकेका दुई प्रहरी मूर्तिवत् खडा थिए । बीचमा एक पञ्च पनि साक्षी बसेको थियो ।

मोहनचन्द्रले दुवै प्रहरीको अनुहार गौण गरे । निष्कर्ष निकाले, “यी दुवै जल्लाद हुनुपर्छ ।”

गोलीले उडाउने भन्थे, नाङ्गो खुकुरी बोकेको प्रहरी देखेपछि मोहनचन्द्रले सोच्न थाले– “मख्खिचुस् पञ्चायतले के गोली खर्चन्थ्यो ! यही खुकुरीले छप्काउने रहेछ !”

उनले केपी ओलीलाई पुलुक्क हेरे । ओली झन् गलेका थिएनन् । उनको अनुहारमा विषादको क्लेससम्म थिएन । 

जीवनको आखिरी दिन सोचेका थिए मोहनचन्द्रले । होइन रहेछ !

काठमाडौं ल्याएपछि केपी ओलीलाई भद्रगोलमा राखियो । मोहनचन्द्र केन्द्रीय कारागार पुर्‍याइए ।

पञ्चायतको चित्त शान्ति भएको रहेनछ ! केही दिनपछि नै दुवैलाई जेलभित्रको जेल अर्थात् गोलघरको अन्धकारमा धकेलियो ।

२०३० मंसिर ११ गते गोलघर पुर्‍याइए । त्यसपछिको चार वर्ष कालकोठरी प्रतीत भयो । गोलघर डेढ फिट चौडाइ, उचाइ र लम्बाइ साढे तीन फिटजति हुँदो हो । मोटामोटा फलामे डन्डीले घेरिएको र एकजना मात्रै बस्न मिल्ने साँघुरो कक्ष हुनाले त्यो दुरुस्त पिँजरा थियो ।

गोलघर देखाउनेबित्तिकै उनीहरूले समवेत स्वरमा प्रतिवाद गरे, “मान्छे थुन्ने ठाउँ पनि यस्तो हुन्छ ? हामी बस्दैनौं यहाँ !”

जेलर कड्कियो, “को हो यहाँ हल्लाखल्ला गर्ने ?”

उनीहरूको प्रतिवादको कुनै अर्थ भएन । 

पिँजराको देब्रे कुनामा सानो प्वाल थियो । छेवैमा छोप्ने बिर्कोजस्तो । मुखमा दिसा लागेकाले बुझ्न कठिन थिएन । त्यो शौचालय थियो ।

पिँजरा देख्नेबित्तिकै मोहनचन्द्र र केपी ओली दुवैको होस ठेगानमा रहेन । जेलमा साथीभाइ हुन्थे । एउटै मेसमा खान पाइन्थ्यो । सँगै मर्न पाइन्थ्यो । बाँचे सँगै संसार देखिन्थ्यो । झ्याल–ढोकाको चरबाट पसेको उज्यालोसँग भेट हुन्थ्यो । पत्रपत्रिका नपाए पनि नयाँनयाँ कैदीबाट समाचार सुन्न पाइन्थ्यो ।

तर, पिँजराभित्र त्यस्तो सुविधा कहाँ ? त्यो त केवल मृत्युशाला थियो । त्यहाँबाट कमै मात्र बन्दी बाँचेर बाहिर आउँथे । बाँचेकामध्ये दशांश पनि सहीसद्दे हुँदैनथे ।

“अहो ! यस्तो बधशालामा एक्लै तडिपएरै मरिने भइयो,” बाँचेकामा खुब पछुतो भयो मोहनचन्द्र अधिकारीलाई । केपी ओलीतिर फर्किएर बाक्लो आहत बिसाए ।

पिँजरामा थुनिँदाथुनिँदा मोहनचन्द्र अर्धविच्छिप्त भए । मस्तिष्कका कोष र तन्तु लाटिन थाले । स्मरण शक्ति मुर्झाउँदै गए । शौचालय गइरहन मन लाग्ने, चक्कर आइरहने, आँखाअगाडि अनेक आकृति

देखिने, यावत समस्याको चक्रब्यूह खडा भए ।

समय यकिन छैन, त्यस्तै तीन वर्ष उनले गोलघरको प्रताडना झेले । 

अब त मुक्ति पाइन्छ होला भन्ने ठानेका थिए । पञ्चायत पुनः मोहनचन्द्रदेखि तर्सियो, पिँजराभित्रै धकेलेर बाहिरबाट ताल्चा ठोक्यो ।

चुरोटको त्यो अन्तिम सर्को !
२०३० चैत ३ गते तत्कालीन राजा वीरेन्द्रमाथि विराटनगरमा बम प्रहार गरेको अभियोगमा पक्राउ परेका भीमनारायण श्रेष्ठ र टिम्बुरबोटे काण्डका कमान्डर क्याप्टेन यज्ञबहादुर थापासँग मोहनचन्द्रको जेलमै भेट भएको थियो ।

राजनीतिक विचार र दृष्टिकोणमा अलग–अलग ठाउँमा उभिए पनि जेलभित्र आस्थाको सीमा मेटिएको थियो । भावनात्मक साइनो गाँसियो ।

आत्मीयता गाँसिनुको अर्को कारण पनि थियो– तीनैजना जतिबेलै पनि फाँसीको डोरीमा उनिन सक्थे । मृत्युको तोकआदेश बोकेर जल्लाद उपस्थित हुनसक्थ्यो ।

“तपाईं–हामीलाई मार्छ होला । तर पञ्जिका नदिएसम्म मार्न पाउने होइन । सरकार मार्ने नै निधोमा पुगेको हो भने हामी बहादुरीपूर्वक मर्नुपर्छ । कायर भए पनि प्राणदान दिने होइन,” अधमरो होसमा पनि मोहनचन्द्र हौस्याइरहन्थे ।

२०३५ माघ २४ या २५ गतेको चिसो रात । मोहनचन्द्र यसमा पनि यकिन छैनन् । प्रशासनले भीमनारायण र यज्ञबहादुर दुवैको पञ्जिका लिइसकेछ । फाँसी दिने निधो भयो । भोलिपल्ट ब्रह्म मुहूर्तमै जेलको फलामे बार खोलियो । यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई साङ्लाले बाँधेर प्रहरीले लिएर हिँडे ।

फाँसी दिने दिन नजिकिँदै जाँदा यज्ञबहादुर थापाको ओठमा चुरोट टुट्न छाडेको थियो । मोहनचन्द्रको गोजीमा पनि चुरोट टुट्दैनथ्यो । आफूले नलिएर पनि यज्ञबहादुरलाई दिन्थे ।

फाँसी दिने अघिल्लो रात पनि खुबै चुरोेट सल्काएका थिए उनले । रात घर्कंदै जाँदा उनको अनुहार सोहोरिएको थियो । आँखा केही भन्न खोज्थे । तर, मुख मौन बस्नै रुचाउँथ्यो !

“यज्ञबहादुरले चुरोटको ठूलो भित्तामा ठोस्दै भनेको अन्तिम वाक्य मलाई अझै सम्झना छ– लौ है मोहचन्द्रजी बाँचे फेरि भेटौंला,” उनलाई यज्ञबहादुरका बलिदानीले अहिले पनि उद्वेलित गराउँछ ।

यही वाणीले हुनुपर्छ, आजीवन उनी आफ्नो विचारप्रति दृढ छन् । क्रान्तिप्रति निश्चयी छन् ।

भोलिपल्ट दिउँसो पख जेलमा पहरा दिइरहेका कुनै प्रहरी अधिकारीले सुनाए, “क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठलाई पूर्वतिरको अमुक जंगलमा गोली ठोकेर फाँसी दिइयो ।”

मोहनचन्द्र अझै यकिन छैनन्– पञ्चायतले खै कता लगेर कत्लेआम गर्‍यो !

यस्तैयस्तै हर्कतले पञ्चायतको सर्वनाश भयो ।

केपी ओली अचानक मर्लान्त परे
बालखैमा दूध कटुवा, कुपोषित केपी ओलीलाई जेलमा स्याहार पुग्ने कुरा भएन । राधाकृष्ण मैनाली र मोहनचन्द्रको मात्रै घरबाट पैसा आउँथ्यो । आठ–दस रुपैयाँ । केपीको आउने बाटै थिएन । भेट्न आउने आफन्ती पनि खासै थिएनन् । र त, सहयात्रीहरूले उनैलाई पैसा राख्न दिन्थे ।

एकदिन साँझपखको कुरा हुनुपर्छ । केपी ओली मर्लान्त परेछन् । अनुहार धमिल्लिएर श्यामलो भइसकेको रहेछ ! आँखा पनि फुस्रिँदै गएका थिए ।

केपीको हालत बिग्रिएको चाल पाएपछि राधाकृष्णले जेलभित्रका पालेपहरेदारलाई बोलाए । पालेपहरेदारले जेलरकहाँ खबर पुर्‍याए । राधाकृष्ण अताल्लिएको देखेर मोहनचन्द्र पनि समीप आए । 

“मर्छ भनेर आएका तिमीहरू, म अहिले मर्दिनँ,” त्यस्तो अवस्थामा पनि ओली ठट्टा गर्न छाड्दैनथे ।

त्यहीदिनको साँझपख हुनुपर्छ, फाल्साका फाल्सा रगत दिसा गरे ।

जेलरलाई अनुनय गरेपछि सरकारी चिकित्सक बोलावट भयो । टीबी र अल्सरले एकसाथ गाँजेछ ।

“त्यति हुँदा पनि उनी गल्दैनथे । सुरुवाल लगाउन सक्दैनथे । तर, उठ्न खोज्थे,” मोहनचन्द्रको मथिङ्गलमा धूमिल सम्झना बाँकी छ, “खाना खान मान्दैनथे, चुरोट दिएर फकाउनुपथ्र्यो ।”

मोहनचन्द्र, राधाकृष्ण र केपी ओलीले गोलघरभित्र अनिर्वचनीय ताडना झेले । विच्छिप्त होऊन् । तड्पितड्पि मरून् भन्ने हेतुले नै गोलघरमा धकेलिएको हुँदो हो । 

“कहाँ मर्थ्यौं र हामी त्यति सजिलै, बाँचेर क्रान्ति सम्पन्न गर्नु थियो, साम्यवाद ल्याउनु थियो । जनतालाई मुक्तिको घाम देखाउनु थियो,” उनी जेलभित्रै देखेका सपनाको बेलीबिस्तार लगाउँछन् ।

कुनै दिन उज्यालो हुन्छ र जेलका गजबार खुल्छन् भन्ने आशा र जिजीविषाले उनीहरूको साथ छाडेन । जेलका फलामे बारभित्र मनोवैज्ञानिक त्रासदी खडा गरिएको थियो । २०३३ चैत १२ गते झापाली

युवालगायतले नख्खु जेलभित्रै सुरुङ खनेर भागेपछि यातनाको पराकाष्ठा नाघ्यो । नेल र हतकडी प्रिय साथी बने । तिनीहरूको संगीत जीवनधून बन्यो ।

जेलमा रहँदा, बस्दा केपी बढी नै आत्मविश्वासी थिए । गोलघरका भित्ता दिसाले रङ्गिएको हुन्थ्यो तर उनी सपनाको चाङमा सुत्थे ।

शरीरका अङ्गप्रत्यङ्ग मुर्झाउँदै गएको प्रतीत हुन्थ्यो । तर उनका आँखाले बाँच्नेबाहेक सपना देखेनन् । सायद त्यही इन्धनले जीवनतिर डोर्‍याइरह्यो ।

“गोलघरमा केपी ओलीको दुर्दशा देखेर मेरोसमेत भक्कानो छुट्थ्यो । राधाकृष्णका पनि गह भरिन्थे । राधाकृष्णले स्याहर्न कुनै कसर बाँकी राखेनन् । केपी ओलीले खै कति सम्झन्छन् ? गोलघरको सम्झना उनलाई हुन्छ कि हुँदैन ? साथी–सहयात्रीहरूको सम्झना आउँछ कि आउँदैन, थाहा छैन । तर मलाई गोलघरको सम्झनाले सदैव पछ्याइरहन्छ । कहिलकाहीँ ऐठन पनि हुन्छ,” उनको ओठबाट आहतको सुस्केरा छुट्छन् ।

जेलबाट छुटेपछि धेरै कुरा छुटे
२०४४ असार ११ गते केपी ओली १४ वर्षे जेल–जीवन काटेर बाहिर आए । मोहनचन्द्र छुटेनन् । झापा विद्रोहको अगुवा हुनुको नाताले समातिएका सबै सहयात्री छुट्नुपर्ने उनको सर्त थियो । आन्दोलनमा समेत थिए उनी ।

साथीहरू शनैःशनैः छुट्दै गए ।

२०४६ पुस १४ गते वीरेन्द्रको जन्मोत्सवमा थुनामुक्त हुने हल्ला चलेछ ।

मोहनचन्द्र जेलरका सामुन्ने कड्किए, “राजाको जन्मोत्सवमा छाड्ने कुरा छ रे हो ?”

“खै हजुर हामी के जान्नु !,” जेलरले अनभिज्ञता देखाए ।

“पुस १४ गते रिहा भएँ भने अरू कुरा जान्दिनँ, राजासँग व्यक्तिगत रूपमा भए पनि बदला लिन्छु,” मोहनचन्द्र क्रोधित भए ।

ज्यानमाराका रूपमा नभइ राजनीतिक आस्थाको बन्दीकै रूपमा रिहा हुनुपर्ने उनको पूर्ववत् अडान थियो । 

पाँच दिनपछि, २०४६ पुस १९ गते मोहनचन्द्र जेलमुक्त भए ।

केपी, राधाकृष्ण ज्यान मार्ने उद्योगमा कारबासको सजाय काटेका थिए । मोहनचन्द्रलाई कर्तव्य ज्यानकै मुद्दा थियो । तीन वर्ष बढी जेल सजाय काटे । 

सर्वाधिक जेल सजाय काटेकैले कम्युनिस्ट आन्दोलनले मोहनचन्द्रलाई ‘नेल्सन मन्डेला’ उपमा दियो ।

उनी जेलमै रहँदा को–अडिर्नेसन केन्द्र निर्माण हुँदै मार्क्सवादी लेनिनवादी पार्टीका रूपमा आन्दोलनको विकास भइसकेको थियो । जेलबाट रिहालगत्तै २०४६ सालको आन्दोलनको ज्वारभाटा उठ्यो । 

बहुदलीय व्यवस्थाको अभ्युदयसँगै माले आन्दोलनमा मार्क्सवादी समूह पनि मिसिन आइपुग्यो । कम्युनिस्ट आन्दोलनको भँगालो ठूलो भयो ।

एमालेको विनिर्माणसँगै पार्टी मूलतः पेटी बुर्जुवाको हातमा पुगेको मोहनचन्द्रले निष्कर्ष निकाले ।

“जेलमा रहँदै कम्युनिस्ट आन्दोलनले फरक बाटो समातिसकेको अनुभूति गरेको थिएँ । बाहिर आएपछि छ्याङ्ग भएँ,” आफू क्रमशः पार्टी आन्दोलनमा पछाडि पर्नुको कारण पर्गेल्छन् उनी ।

पाँचौं महाधिवेशन (२०४९ साल) मा उनी आफ्नै सिद्धान्तमा उभिए, चीनको जनवादी क्रान्तिको रापतापले सिर्जना गरेको सैद्धान्तिक कार्यक्रम नौलो जनवादका पक्षमा ।

सीपी मैनाली, झलनाथ खनाल परिमार्जित नौलो जनवादका पक्षमा थिए । महाधिवेशनले मदन भण्डारीको जनताको बहुदलीय जनवादको लाइन पास गर्‍यो ।

“हो, त्यहीबेलादेखि एमाले पेटी बुर्जुवाको पार्टी बन्यो । सर्वहारा वर्गको हातबाट पार्टी आन्दोलन फुत्कियो,” मोहनचन्द्र ठोकुवा गर्छन् ।

“कम्युनिस्ट, विशेषतः माक्र्सवादी आन्दोलनको सौन्दर्य नै वर्ग संघर्ष हो । तर पार्टी आन्दोलन वर्ग समन्वयतिर धकेलियो । अहिले कम्युनिस्ट पार्टीको हातमा सत्ता हुँदा पनि हेर्नुस् त,” उनी देशको हालत दृष्टिगोचर गर्न आग्रह गर्छन् । कम्युनिस्ट आन्दोलनमा देखिएको विग्रह हेर्न अनुरोध गर्छन् ।

पुँजीवादी कार्यक्रम लिएर समाजवादमा नपुगिने उनको सपाट बुझाइ छ ।

“जनताको बहुदलीय जनवाद वर्ग समन्वयको कार्यक्रम हो, त्यसले समाजवादमा पुर्‍याउँदैन । अपितु पुँजीवादकै आधिपत्य सिर्जना गर्छ,” उनी जोड दिएर भन्छन् ।

पाँचौं महाधिवेशनपूर्व पार्टी पोलिट्ब्युरो सदस्य थिए । पाँचौं महाधिवेशनपछि केन्द्रीय कमिटी सदस्य हुँदै स्थायी कमिटीमा पुगेका थिए । वैचारिक विमति हुँदाहुँदै पनि दुई लाइन सङ्घर्षको माध्यमबाट पार्टी आन्दोलनलाई वर्ग–समन्वयबाट विमुख गराउन सकिन्छ कि भन्ने अभिप्राय थियो । सकेनन् ।

छैटौं महाधिवेशनमा एमाले विभाजन भयो । उनले कतै पाइला राख्न उचित ठानेनन् । बाहिरै रहे । 

महाकाली सन्धिले एमाले दुई फ्याक भएको थियो । उनी अन्तिमसम्म महाकाली सन्धि अनुमोदनको विपक्षमा थिए । पार्टी र सदन, दुवै ठाउँमा दृढतापूर्वक विपक्षमा उभिए ।

“भारतले प्रभाव विस्तार गरिसकेकाले कसैले मेरा कुरा सुनेनन् । विपक्षमा उभिएका अरूको कुरा पनि सुनिएन । महाकाली नदी साझा हो, पानी आधाआधा हो भन्ने सङ्कथन निर्माण गरियो । त्यसैले शासन गर्‍यो । जबकि, लिम्पियाधुराबाट निस्किएको महाकाली नदीमा हाम्रो मात्रै हक लाग्थ्यो । हिजो भारतले पानी आधा लियो, आज मुहानै हडप्न खोज्दै छ,” उनको चित्त कुँडिएर आउँछ ।

जनकपुर महाधिवेशनपछि उनलाई सल्लाहकार परिषद्को ठाउँ देखाइयो । बुटवल महाधिवेशनपछि कपाल फूलेको चाल पाएर होला ज्येष्ठ कम्युनिस्टको कित्तामा पुर्‍याइए । 

झापा विद्रोहको झिल्कोबाट फैलिएको कम्युनिस्ट आन्दोलनले आठपटक सत्ताको नेतृत्व ग¥यो । कैयौंले मन्त्री, सांसद, राजकीय पदको सुखसयल भोग गरे ।

कम्युनिस्ट आन्दोलनकै लागि ज्यान तेजेका मोहनचन्द्र सत्ताको सुखभोगबाट कोशौं टाढा छन् । लोभलालच पनि देखाएनन् । २०४८ को आम निर्वाचनमा मोरङबाट उमेदवारी दिएका थिए । निर्वाचित हुन सकेनन् ।

२०५०–५१ मा राष्ट्रियसभाको सदस्य निर्वाचित भएका थिए । भनेजस्तो कार्यसम्पादन गर्न नसकेपछि राजीनामा दिएर हिँड्न खोजे ।

“सांसदको तलब–सुविधा बापतको रकम पनि एउटा फटाहाले कुम्ल्याइदियो, ठीकै भयो,” उनलाई दुःखमनाउ छैन ।

अहिले एमाले, माओवादी केन्द्र एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन भएको छ । नेकपाको आदिकालका सदस्य मोहनचन्द्रलाई पार्टीमा छु कि छैनसमेत थाहा छैन । खोजी गर्न पनि कोही आएका छैनन् ।

“म नेकपामा छु र ?” उनी आउने–जानेलाई यही प्रश्न दोहोर्‍याउँछन् ।

बल्खुमा पार्टी कार्यालय छउञ्जेल बेलाबखत आउजाउ गर्थे । हँसिया–हथौडा अंकित झन्डा देखे मात्रै मन फुरुङ्ग हुन्थ्यो । २०७२ को विस्मयकारी भूकम्पले बल्खु उजाडेपछि पार्टी धुम्बाराहीतिर डेरा सरेको सुनेका छन् ।

त्यतिबेलादेखि नै हो उनको आँखाबाट आन्दोलन ओझेल पर्दै गएको ।

एक–दुईपटक त धुम्बाराही जाउँ पनि नलागेको होइन । तर स्वचालित यन्त्र (पेसमेकर) ले मुटुलाई सघाउन थालेदेखि उनको नौनाडी फत्रक्क गलेका छन् । हेर्दाहेर्दै १७ वर्ष जेल बसेर हुर्काएको पार्टी पखेटा लागेपछि गुँडबाट बेपत्ता भएको बचेराजस्तै बिरानो भयो ।

ओली–प्रचण्ड दुवै खाँटी बुर्जुवा
कम्युनिस्ट आन्दोलनले नेपाली समाजको वर्ग विश्लेषण सकेको छैन । तर मोहनचन्द्रले अहिलेको कम्युनिस्ट पार्टीको नेतृत्वको चरित्र आधारभूत रूपमा ठम्याएका छन् ।

कम्युनिस्ट आन्दोलनबाट किनारा लाग्दै आफ्नै घरमा साँघुरिएका मोहनचन्द्र फुर्सदमा टेलिभिजनतिर आँखा पुर्‍याउँछन् । केही दिनअघि मात्रै उखु किसानले भुक्तानी नपाएपछि सरकार खोज्दै सिंहदरबार धाउन आए ।

उनीहरूले वर्षौंदेखि उखुको मोल पाएका थिएनन् । बिचौलियालाई सस्तोमा सुम्पन अभिशप्त थिए । यसपटक वर्षौंदेखिको पसिना साहुले दम्पच बनाइदिएपछि निरुपाय हुँदै उनीहरू सरकार गुहार्न आइपुगेका थिए । 

टेलिभिजनको पर्दामा दमित किसानका छचल्किएका आँसु देख्दा उनलाई आफू ‘दास युग’ मै रहेको आभाष भयो । परिवर्तनका लागि हजारांै नागरिक बलिवेदीमा होमिए पनि मुलुकको दशा र दिशा बदलिन नसकेकामा आफैंप्रति खेद पनि भयो ।

जोदाहा गोरु झैं खेतबारी नारिइरहँदा पनि किसान भोकै–नाङ्गै छन् । भूमिमाथि निश्चित वर्गको प्रभुत्व, आधिपत्य अद्यापि छ । हली–गोठालाको अवस्था ज्युँका त्युँ छ । बजार बिचौलियाको कब्जामा छ । उत्पादनका स्रोत–साधनमाथि निश्चित वर्गको एकाधिकार छ । देशको अर्थतन्त्र विप्रेषण र विश्व पुँजीबजारको निगाहमा टिकेको छ । साम्राज्यवादको दान–दातव्यमा अडिएको छ ।

श्रमिक–किसानमाथि शोषण–उत्पीडन बहाल रहँदा समाजवादको कल्पना गर्न सकिँदैन । तर, सत्तामा आसिनहरू भनिदिन्छन्, “देश समाजवादमा गइसक्यो, नपत्याए संविधान पढ, त्यहाँ प्रस्टै लेखिएको छ– समाजवादउन्मुख व्यवस्था ।”

“केपी ओलीलाई त साम्यवादै आयो होला, तर उनका रैतानहरू दासयुगतिरै छन्,” उनी निश्चय गरी भन्छन् ।

निष्कर्षमा उनी ओलीभन्दा पुष्पकमल दाहाल प्रचण्डका कटू आलोचक हुन् । २०५२ फागुनमा युद्धको शङ्घोष गर्दा उनले प्रचण्डलाई ठाडै सोधेका थिए, “हिंसात्मक संघर्षको औचित्यपुष्टि गर्न सक्नुहुन्छ ?”

त्यतिबेलाको परिस्थिति पृथक थियो । वाक्, लेखपढको स्वतन्त्रता थियो । शान्तिपूर्ण सङ्घर्षले जितेको अवस्था थियो । तर, प्रचण्डले हतियारबाट मात्रै क्रान्ति सम्भव देखे । मोहनचन्द्रको नजरमा कम्युनिस्ट आन्दोलनको अपूरणीय भड्काव थियो, त्यो ।

“त्यो हतियार सीधै राजसंस्थातिर ताकेको भए पनि हुन्थ्यो । निशानामा निमुखा परे । हली–किसानलाई नै गोली दागियो,” मोहनचन्द्र आक्रोशित हुन्छन् ।

२०६२ तिर पुग्दा माओवादी आन्दोलन दुर्घटित भयो । अहिले विघटित भएर नामेटप्रायः छ । तर उनको प्रश्न युद्धको घाउ–खतजत्तिकै आलो छ ।

“कमरेड प्रचण्ड ! हिजो जसकाविरुद्ध धावा बोल्नुभयो । उसैसँग आत्मसमर्पण गरी बन्दुक त बिसाउनुभयो । तर, बेपत्ता परिवार, युद्धमा अङ्गभङ्ग भएका, शाहदत प्राप्त गरेका परिवारको अपरिमेय पीडा, नथामिएका आँसु कहाँ लगेर बिसाउनुुहुन्छ ?” उनी प्रचण्डलाई उसैगरी प्रश्न गर्छन् ।

जीवनको ओह्रालोतिर झर्दै गर्दा उनलाई देशको चिन्ताले भतभती पोलेको छ । शासन–सत्ताको उपल्लो थलोमा रहेकाको संवेदनशून्यताले त झन् मन खान्छ ।

परिवर्तन चाहनेहरूको चेतना बाँझिइसकेको छैन । केपी–प्रचण्डले रातो रङको दौरा–सुुरुवाल लगाएका छन् र हँसिया–हथौडा चित्र भएको झन्डामुनि नै बसेका छन् भन्दैमा नागरिक चुप लाग्दैनन् । समय बासिबिदो बस्दैन ।

“म बूढो भएँ भन्दैमा युग चुपचाप बस्छ र ? जुनसुकै बेला हतियार उठ्नसक्छ,” आँखा अगाडिको ऐनमा प्रतिविम्बित आफ्नै बूढो अनुहार हेर्दै आङ तन्काए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २२, २०७६  १३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC