site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कथा : भेगस इफेक्ट
Sarbottam CementSarbottam Cement

पोस्तक श्रेष्ठ

लस एन्जलस एयरपोर्ट । मन्दिरालाई लिन शाम्वी आएकी थिई । देख्नेबितिक्कै मन्दिरालाई ग्वामलाङग अँगालो हाली ।

"वाऊ दिदी, यू लुक डिफरेन्ट । अ कम्प्लिट मेक ओभर ? अनि तिम्रो चस्मा खोई त ?"

Prabhu Bank
Agni Group
NIC Asia

शाम्वी-मन्दिराकी सानीआमाकी छोरी । उमेरले केही कान्छी तर एउटै छिमलका भने हुन्छ । शाम्वीको खास नाम चाहिँ शाम्भवी हो, तर सजिलोका लागि सबैले उसलाई शाम्वी भन्थे ।

मन्दिराका तयारी चाउचाउ जस्ता घुम्रिएका केशराशिहरु सर्लक्क सीधा भएका थिए ।हल्का सुनौलो रङमा ‘डाई’ पनि गरेकी थिई । चस्माले बिदा पाएको थियो- ‘कन्ट्याक्ट लेन्स’ राखेकी थिई । वास्तवमा मन्दिराको स्वरुपै बदलिएको थियो ।

Global Ime bank

"ल है दिदी, ज्वाइँको नजर मलाई भन्दा जेठी-सासूतिर बढी जाला नि ?" शाम्वीले ठट्टा गरी । मन्दिरा मुस्कुराई ।

"अनि दिदी, भेगसको स्टप-ओवर कस्तो भयो त ?"

हिजोको रातबारे सम्झिँदैमा मन्दिराको गाला रक्तिम भयो । शरीरमा एक प्रकारको काउकुती दौडियो ।

००००

शाम्वीको बिहे-भोज । वरवधुलाई बधाइ दिनेहरुको पंक्ति लामो थियो । मन्दिरा शाम्वीसँग उभिएकी थिई । एकछिन फुर्सद हुँदा शाम्वी मन्दिराको कानमा फुस्फुसाउन आई । "दिदी, तिमीलाई थाहा छ, ऊ त्यो केटो छ नि, कर्ली हेयर, कालो सुटमा । तिमीलाई हेर्न आएको रे ! तिमी पनि राम्रोसँग हेर है, उसलाई ।" शाम्वीले मन्दिरालाई एउटा युवकतिर इशारा गरी । मन्दिराले फरक्क फर्केर हेरी ।

"ह्वाट ! ?"

मुटुको वेग बढ्यो । कोठाको तापमान एक्कासि बढेको जस्तो भयो । हप-हपी गर्मी महसुस भयो । शरीरमा चिड-चिड पसिना छुट्यो र एकैछिनमा निथ्रुप्प भिजी ।

"उसको नाम कस्तो फन्नी छ - मार्कण्डेय रे ! म त राम्रोसँग भन्न पनि जान्दिनँ ।"

त्यो युवक अरु कोही नभएर मार्क थियो - जसलाई मन्दिराले भेगसमा भेटेकी थिई । भेटेकी मात्र होइन, भेगसको मातमा उसँग अरु के-के भयो, सम्झिँदैमा पानी-पानी भई ।

त्यही बेला मार्कले फर्केर हेर्‍यो । आँखा जुध्यो तर मन्दिराले हतपत नजर लुकाई । ऊ त्यहाँ उभिइरहन सकिनँ । फटाफट निस्केर बाथरुमतिर गई ।

००००

"हाई म्याण्डी"

मार्क पच्छ्याउँदै आयो ।

"तिम्रो नाम त मन्दिरा रहेछ ।"

मन्दिरा केही बोलिनँ । के भनूँ-के बोलूँ, असमञ्जसमा परी ।

"मलाई पठाइएको तस्बिरभन्दा त तिमी बिल्कुलै फरक रहिछौ र मैले तिमीलाई भेगसमा चिन्न सकिनँ ।"

अहिले पनि मन्दिरा मौन रही । केही संकोच, केही लज्जा, केही अफशोच, केही उद्वेग, अनेक भाव अनुहारमा आएर गए ।

त्यही बेला मार्कको फोन बज्यो ।

"सरी है, मेरो बोसको फोन आयो । आई निड टु टेक इट ।"

मार्क बाहिरियो । मन्दिरालाई केही राहत महसुस भयो । शाम्वीको बिहेको पार्टी चलिरहेकै थियो । तर त्यसपछि मार्क फर्केर आएन । उ निस्किएको ढोकातिर मन्दिराको नजर भने गइरह्यो । एक-मनले नफर्किए नि हुन्थ्यो भन्ने कामना गरी । तर उ नफर्किँदा खुल्दुली पनि उत्तिकै लागिरह्यो ।

००००

 होटल बेलाजियो । लस भेगस । 'सिन सिटी' - अर्थात सबै पापकर्म हुने सहर! कस्तो होला त ? मन्दिराको भेगसमा पाइला परेको यो पहिलोपटक थियो । त्यही पनि विमानमा समस्या आई आकस्मिक अवतरण गर्नुपरेकाले । उसको कोठा बाइसौँ तलामा रहेछ । भित्र छिर्नेबितिक्कै झोला बेन्चमा फ्यात्त राखी र झ्यालबाट तलतिर हेरी । सहर रङ्गीचङ्गी बत्तीले धपक्क बलेको थियो । गल्लीमा मान्छेहरुको भीड, होहल्ला, संगीतको आवाज- त्यति माथि पनि कानमा ठोक्किन आइपुग्यो । बाहिरको रमझम लोभलाग्दो थियो । होटेलअघि पानीको तलाऊ रहेछ । त्यहाँ रंगीचंगी पानीको फोहरा विभिन्न रुप र आकारमा संगीतको लयसँगै नृत्य गरिरहेका थिए । मन्दिराको मन पनि त्यसरी नै तरंगित भयो । दिनभरिको हवाईयात्रा र पट्यारलाग्दो विमानस्थलको पर्खाइ, शरीर थकित थियो, तर मनले भने आराम चाहिरहेको थिएन ।

मन्दिरा नुहाएर ताजा भई । हल्का 'मेकअप' लगाई र निस्किई । होटलका स्तम्भहरु, छत र हरेक प्रांगणहरुमा युरोपेली शैलीका कलाकौशल, वास्तुकला, प्रस्तर-प्रतिमाहरुले भरिपूर्ण रहेछ । अनेकानेक अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘ब्रान्ड’का पसलहरु, रेस्टुरेन्ट, बारहरु रहेछन् । मान्छेहरुको भीड उत्तिकै- एकछिन त ऊ त्यतिकै रनभुल्ल परी । हिँड्दा-हिँड्दै कसिनोतिर पुगिछे । कसिनो भरिभराऊ थियो । उसले कहिले जुवा खेलेकी थिइन । तैपनि एकछिन बिनाउद्देश्य भौंतारिई । युवादेखि वृद्धसम्म जुवामा आफ्नो भाग्य परीक्षण गर्दै थिए । छोटा, टिमिक्क पोसाक लगाएका बार्बी-पुतलीजस्ता स्टेवार्डहरु पेय पदार्थ बोकेर यताउति गरिरहेका थिए । उसलाई थकाई लाग्यो । सामुन्नेमा 'लिली बार एन्ड लाउन्ज' थियो । भित्र छिरी । भोक भने लागेको थिएन । एउटा 'मकटेल' मागी । पेय पदार्थको चुस्कीसँगै कसिनोका गतिविधि नियाल्न थाली ।

रुममेट एभलिनलाई एउटा सन्देश पठाई ।
"म भेगसमा छु, जहाजमा प्राविधिक समस्या आयो र यहाँ आकस्मिक अवतरण गर्‍यो । अब भोलिमात्र एल-ए उड्छ होला ।"

उताबाट एभलिनको सन्देश आयो ।

"वाह, भेगस ! ? मोज गर ।"

त्यही बेला लस एञ्जलसबाट शाम्वीको फोन आयो । उसलाई पनि त्यही जवाफ दिई । उताबाट शाम्वीले के भनी, राम्रोसँग बुझिएन ।

"शाम्वी, म यहाँ भेगसमा होटेलमा छु, यहाँ हल्लाखल्ला छ, केही सुन्न सकिनँ । अहिले कोठाबाट फोन गर्छु है ।"

त्यसपछि फोन काटिदिई । शाम्वीकै विवाह समारोहमा जान मन्दिरा मिनियापलिसबाट आएकी थिई ।

"हाई !" बगलको काउचमा बसिरहेको युवकले हात हल्लायो । कोही चिनेको पो पर्‍यो कि भनेर मन्दिराले पनि हात उठाई । सायद मन्दिराको प्रत्युत्तर उसलाई निमण्त्रणा जस्तो लागेछ क्यारे- ऊ जुरुक्क उठ्यो र मन्दिराको सामुन्ने बस्न आयो ।

"मैले भेगसमा एक्ली नेपाली केटी अहिलेसम्म भेटेको थिइनँ ।"

उसले आफ्नो बियरको बोतल कफी टेबलमा टेस्याउँदै बोल्यो । कस्तो संयोग-ऊ नेपाली नै रहेछ । सायद उसले मन्दिराको शाम्वीसँगको वार्तालाप सुनेको थियो ।

"तिमी गति पर्ने भयौ त्यसो भए !" मन्दिराले शुष्क जवाफ दिई ।

"मतलब ?" केटोले बुझेन ।

"केही होइन । भेगस आउने केटीहरुबारे निकै जानकारी राख्छौ जस्तो छ नि ?" मन्दिराले कटाक्ष गरी ।

"नेपाली केटीहरुबारे धेरै के जानकारी राख्नुपर्छ र ? जतिसुकै आधुनिकताको स्वाङ गरे पनि परम्परा र संस्कारको पछ्यौरी त ओढेकै हुन्छन् ।" आँखा झिम्क्यायो उसले ।

"ह्वाट ? तिमी मेरो पहिरनको कुरा गर्दै छौ ? ह्वाट अ बिग-माउथ ? !"

मन्दिराले बाहुलाविहीन, घुँडा-घुँडा आउने हल्का गुलाबी रंगको सिफनको 'ड्रेस' लगाएकी थिई । साँझको चिसो छेल्न हो वा उदार वस्त्रबाट चियाइरहेको यौवन छेक्न- एउटा पातलो पारदर्शी 'सल' पनि बेरेकी थिई ।

“कुनै औपचारिकता छैन, परिचय छैन, एकैपटक कस्तो धृष्टता ? !” मन्दिरा क्षुब्ध देखिइन् ।

"हेई, तिमी त रिसायौ जस्तो छ नि, म त आफ्नै देशवासी भनेर यसो हल्का रमाइलो गरेको !" केटो सम्हालियो ।
"बाई द वे, म मार्क ।"

मन्दिरालाई लाग्यो, केटोले छद्म नाम बतायो । उसले पनि मनमनै सोची- मैले पनि यसलाई आफ्नो वास्तविक परिचय किन दिनु र ?

"म म्याण्डी", मन्दिराले हात बढाई । वास्तवमा उसको रुममेट एभलिनले मन्दिरालाई म्यान्डी नै भनेर बोलाउँथी ।

"अनि, तिमी कुन सर्वत पिउँदै छौ ?" केटोले मन्दिराको पेय पदार्थतिर इंगित गर्दै कटाक्ष गर्‍यो ।
"सर्वत रे ? ! ?"
"यस्तै कुनै ‘मकटेल-सकटेल’ त होला नि, ‘रियल ड्रिंक’ पिउने हिम्मत त कहाँ छ र नेपाली बालिकाहरुसँग ?"

“बालिका रे ? !”
मन्दिराको ग्लास करिब रित्तिएको थियो र मार्कको कटाक्षले घोचेको थियो । त्यही बेला एउटी ‘सर्वर’ केटी नजिकै आई । उसले लगाएको गञ्जीमा लेखिएको थियो- 'भर्जिनिटी इज नट ए डिगनिटी बट जस्ट अ ल्याक अफ अपर्टुनिटी'-अर्थातकौमार्य कुनै गरिमा होइन, मात्र अवसरको पर्खाइ हो ।

"तिमी कुमारी हौ ?" मार्कले केटीलाई आँखा झिम्क्यायो ।

"म कुमारी नै हुँ, मौकाको पर्खाइमा छु, विश्वास गर्छौ ?" उसले पनि आँखा झिम्क्याई ।

उनीहरुको प्रश्नोत्तर सुनेरै मन्दिराको अनुहार लाल भयो, जुन मार्कको नजरबाट बचेन ।

'छ्या, कस्तो लाज पचेको नकचरो रहेछौ, तिमी ?"

'यहाँ यस्तै कुरा हुन्छ, म्याण्डी, सबै कुरा सीधा ।"

एभलिनले आफ्नो साथीसँग मन्दिराको परिचय गराउनुपर्‍यो भने भन्थी - 'मिट माई रुममेट म्याण्डी, द भर्जिन गड्डेस फ्रम नेपाल ।' एभलिनको त्यही कुरा झल्याँस्स याद आयो । एभलिनको कुनै पनि केटा साथी चार-पाँच महिनाभन्दा बढी टिक्दैनथे । उसको लागि पिज्जा, बर्गर, कफी र यौन उस्तै थिए । स्वाद फेरिरहनुपर्ने । मन्दिराले मनमनै गम खाई - के आफू कुमारी भएकीमा उसलाई साँच्चिकै गर्व छ त ? कि ‘सर्वरकेटी’ले भने जस्तै अवसरको नजुरेको मात्र हो ? उसले आफ्नै प्रश्नहरुको यकिन जवाफ पाउन सकिनँ । मन्दिराको कसैसँग प्रेम परेन भन्दा पनि हुन्छ । हाई-स्कुलमा एउटासँग आँखा मात्र जुध्यो, कहिल्यै बोली फुटेन । कलेजमा केही केटाहरु पछि लागेका त थिए, तर पढाइ र कामको बोझले गर्दा उनीहरुतर्फ ध्यान दिन सकिन । त्यसपछि कुनै गम्भीर प्रस्तावै आएन । कोही-कोही सहकर्मीले 'डिनर-डेट' का लागि सोधिरहेका त हुन्छन् । तर ती प्रस्तावहरुको गन्तव्य 'बेडरुम' सम्म मात्र हुन्छ भन्ने उसले बुझ्थी र हाँसेरै टारीदिन्थी ।

"तिमीहरुलाई के ल्याइदिऊँ ?" सर्वर केटीले सोधी ।

"कृपया मलाई बाल्भनी, डबल" मार्क बियर छाडेर ह्वीस्कीतर्फ लाग्यो ।

"अनि म्यामका लागि ?"

मन्दिरालाई पेय पदार्थहरुबारे त्यति ज्ञान थिएन । तर मार्कको अघि किन पाखे हुनु ? कस्सो-कस्सो एउटा नाम याद आयो ।

"लङ आइल्यान्ड आइस टी"

‘रुममेट’ एभलिनको प्रिय पेय । सुन्दा चियाको कुनै प्रकार जस्तो लागे पनि वास्तवमा यो एउटा कडा ककटेल थियो- जिन, भोड्का, रम र तकिला उच्च मात्रामा मिसाएर बनाइएको । यही पिएर एभलिन झ्याप्प हुन्थी र मस्तीले झुम्थी । बारमा कोही सुगठित शरीरको पट्ठो देख्यो कि लहसिन्थी र उसैसँग निस्कन्थी ।

मन्दिराले मागेको पेयको नाम सुनेर पहिला त मार्कको नेत्र विस्फारित भयो । त्यसपछि खै के सोचेर हो, ऊ मुस्कुरायो ।

मन्दिराको ककटेल आइपुग्यो । लामो-सुरिलो ग्लास । कागतीका चानाहरु, बरफका टुक्राहरु र बाबरी पत्रको सजावट । अनुभवीले जस्तो नलीले पेय पदार्थ हुँडली र पहिलो चुस्की लिई । स्वाद अनौठो हुने नै भयो । तर मार्कको अगाडि आलोकाँचो नदेखिने दम्भ पालेकी उसले पारखीले झैँ अभिनय गरी । उसले मदिराजन्य पेय पदार्थ छुँदै नछोएकी त होइन । कहिलेकाहीं सामाजिक जमघटहरुमा ‘वाइन’को प्याला जरुर समात्थी तर एक-दुई चुस्की लिएर त्यसै छाडिदिन्थी ।

"अनि, भेगसतिर केटीहरुसँग जिस्किनेबाहेक अरु के काम गर्छौ तिमी ?"

"म ? म आईटी फिल्डमा छु । एउटा कन्फरेन्समा भाग लिन भेगस आएको ।"

 "अनि तिमी, भेगस कसरी एक्लै ?"

एभलिनले एकचोटि भनेकी थिई- आफूबारे केटाहरुलाई पहिलो भेटमै सबैकुरा नबताउनू है । एभलिनको त्यही गुरुमन्त्र याद आयो र चलाखीका साथ कुरा बटारी ।

"म त भेगसतिर बी-एमहरुसँग भेट हुन्छ कि भनेर आएको ।" मन्दिराले आँखा झिम्क्याई ।

"बी-एम, मतलब ?"

"बिग-माउथ"

"वाऊ, तिमीसँग सेन्स अफ ह्युमर पनि छ ? "

दुवै मज्जाले हाँसे ।

"अनि तिम्रो गर्लफ्रेन्ड, श्रीमती ?" मन्दिराको नजर मार्कको देब्रेहातको साइँली औँलातिर गयो, जुन रित्तो थियो । अर्थात् त्यसमा औँठी थिएन ।

"म स्वतन्त्र पक्षी, खुला आकाशको !"

"तिमी विवाहको विपक्षमा छौ ?"

"त्यस्तो पनि होइन । भनेको जस्ती केटी पाउनुपर्‍यो नि ।"
"कस्तो ? भर्जिन ?"

सायद 'लङ आइल्यान्ड आइस टी' ले असर देखाउन सुरु गरेको थियो । मन्दिराका अवरुद्ध स्नायूहरु खुकुला भएका थिए । संकुचित तन्तुहरु फुक्दै थिए । संकोच भागेको थियो ।

"भर्जिनिटी मेरा लागि महत्त्वपूर्ण छैन । म खुला, उदार र आधुनिक मान्छे हुँ । एनी वे, छोड यस्ता कुराहरु । तिमीलाई केही खेल्न आउँछ
? स्लट मसिन, पोकर, ब्ल्याक-ज्याक ?"

"सिकाइदिन्छौ ?"

उनीहरु एकछिन कसिनोमा भुले । उनीहरुले केही पैसा जिते पनि । तर मन्दिरालाई यी जुवाका खेलहरुमा कुनै दिलचस्पी लागेन ।

"लेट्स गो फर वाक, म तिमीलाई लस भेगसको रात्रिजीवन देखाइदिन्छु ।" मार्कले प्रस्ताव राख्यो ।

‘एउटा अपरिचित पुरुषसित मध्यरातमा बाहिर निस्कनु र ?’ मन्दिराले मनमनै गमी ।
“मलाई थाहा थियो, तिम्रो संस्कारले तिमीलाई राति बाहिर निस्कन दिँदैन” मार्कले व्यंग्य कसिहाल्यो । प्रति-मनोवैज्ञानिक क्षेप्यास्त्र प्रहार गर्न खप्पिस रहेछ ।

सायद क्षेप्यास्त्रले लक्ष्य भेदन गर्‍यो । मन्दिराले एकछिन आँखा तरेर हेरी । त्यसपछि जुरुक्क उठी र मार्कलाई पनि उठ्न संकेत गरी । बेलाजियोको सामुन्नेमा पेरिसको जस्तै आइफल टावर रहेछ । उनीहरु त्यसको ‘अब्जरभेसन डेक’मा चढे । त्यहाँबाट संगीतको लयमा लहराइरहेको पानीका फोहराहरु अति मनमोहक देखिए । त्यसपछि उनीहरु 'लिंक प्रमेनाद' मा एकछिन टहलिए । रातको समयमा पनि मान्छेको भीडभाड उत्तिकै थियो । भन्छन् नि- भेगस कहिल्यै निदाउँदैन रे ! हिँड्ने बानी कम भएकी मन्दिरा एकैछिनमा सुस्त भई । त्यसपछि उनीहरुले एउटा ट्याक्सी लिए । मार्कलाई यहाँको हरेक चोक, गल्ली, बार, नाइट क्लबहरुबारे जानकारी रहेछ । उसले ट्याक्सी कहिले कता मोड्न लायो, कहिले कता । कुनै चोकमा कन्सर्ट भइरहेको थियो भने कुनै चोकमा बक्सिङ खेल । उनीहरु केही बारहरुमा छिरे । नाइट क्लबहरुमा पसे । यसबीच उनीहरु एक-अर्कासँग खुलिसकेका थिए । मार्कको हात मन्दिराको कम्मरसम्म पुगिसकेको थियो । नशाले लच्केको मन्दिराको शिर बेला-बेला मार्कको काँधमा टेको लिन पुग्थ्यो । मार्कको पाखुरा मन्दिराको सहारा बनिसकेको थियो ।
एउटा झिलीमिली भवन अघि ट्याक्सी रोकियो ।

"यो के हो ?"

"स्ट्रिप-क्लब"

"हँ ? !" मन्दिरा झस्की । स्ट्रिप-क्लबबारे एभलिनबाट सुनेकी थिई, तर कहिल्यै गएकी थिइन । केही लज्जा महसुस पनि भयो । तर कौतुहुलता पनि उत्तिकै थियो । रक्सीको नशा र आधुनिकताको स्वाङ, सायद दुवैले काम गर्‍यो । मन्दिरा ट्याक्सीबाट ओर्ली र फटाफट भित्र पसी । भित्रको माहोल उसका लागि सर्वथा नौलो थियो । हरेक उमेर समूहका मानिस थिए । मस्त खाइपिई रहेका । चहकिला रंगीचंगी बत्ती झल्याक-झुलुक गरिरहेका, पाश्चात्य संगीतको तालमा अनेकानेक अर्धनग्न युवती विभिन्न भावभंगीमा नृत्यरत, कोही भने सुरिलो खम्बामा नागजस्ता बेरिएर अनेक कलाबाजी देखाइरहेका । मार्क र मन्दिरा एउटा काउचमा गएर बसे । एकैछिनमा एउटी युवती आई र मार्कको काखमाथि उभिएर अनेक भावभंगीमा हल्लिन थाली– ‘ल्याप डान्स’ अरे ! वस्त्रको नाममा उसको शरीरमा केही धर्सो मात्र थियो जसले वक्ष-क्षेत्र र कटी-प्रदेश मुस्किलले छोपेको थियो । मार्कले २० डलरको नोट ती नृत्याङ्गनाको कटी-प्रदेशको धजामा अड्काई दियो ।

त्यसपछिको गन्तव्य – ‘क्यावरे’ नृत्य, जसमा नृत्याङ्गनाहरु संगीतको लयमा क्रमश: वस्त्र उतार्दै गइरहेका थिए र अन्त्यमा विल्कुलै प्राकृत स्वरुपमा पुगेका थिए । सुरुमा त निर्वस्त्र शरीर देख्दा मन्दिराको नजर सर्मले झुकेको थियो - तर छिट्टै अभ्यस्त भई पनि । होटल फर्कँदा बिहानको ३ बजिसकेको थियो । यतिबेलासम्म मन्दिराले आफ्नो शरीरको नियन्त्रण गुमाइसकेकी थिई । शरीरको सम्पूर्ण भार मार्कमा थियो ।

"म्यान्डी, डु यु बिलिभ द्याट भर्जिनिटी इज अ डिगनिटी ?" नशामा चुर मन्दिरालाई ओछ्यानमा पल्टिन मद्दत गर्दै मार्कले सोध्यो ।

"आई थिङ्क इट्स जस्ट अ ल्याक अफ अपरचुनिटी ।"

मन्दिराको बोली लर्बराएको थियो । आँखाहरु लठ्ठ थिए । ओठहरु तृषित । होसमै हो वा बेहोसीमा, मार्क उठ्न खोज्दा मन्दिराको दायाँ हात मार्कको गलामा बेरियो । मार्क मन्दिरातर्फ झुक्यो ।

००००००

फोनको घण्टी लगातार बजेपछि मन्दिराको निद्रा खुल्यो ।ब्युँझदा टाउकोमा पीडा भइरहेको थियो । अंग-प्रत्यंग फतक्क गलेका थिए । विमान कम्पनीको फोन रहेछ । एयरपोर्ट ११ बजे पुग्नू भन्ने खबर थियो । आँखा मिच्दै घडी हेरी- बिहानको १० बजिसकेको थियो । उठ्न लाग्दा आफूलाई निर्वस्त्र पाई । भित्री वस्त्रहरु भुँईंतिर अलपत्र थिए । सुरक्षा कवचको खोस्टा त्यतिक्कै मिल्किएको थियो । लज्जाको चिसो सिरेटो शरीरभरि कुद्यो । केही हराएको जस्तो-केही गुमाएको जस्तो महसुस भयो । कता-कता दिगमिग लागेर पनि आयो । मन्दिराले कम्बल शरीरमा लपेटी र बाथरुमतिर दौडिई । हतार-हतार तातोपानीले शरीर त पखाली, तर मन भने पखालिएन ।

ओछ्यानको अर्को छेऊमा मार्क अझै मस्त निद्रामा थियो । उसलाई उठाउन पनि मन लागेन । उसप्रति थोरै घृणा पनि महसुस भयो । मन्दिरा त्यसपछि फटापट बाहिर निस्की । बितेका रातका घटनाका कडीहरु जोड्ने प्रयास गर्दा-गर्दै एक घण्टाको हवाई यात्रा पूरा गरी ।

००००००

शाम्वीको बिहे सकियो । मन्दिरा मिनियापलिस फर्की ।

"हे भर्जिन गड्डेस, वेलकम ब्याक ।" एभलिनले अँगालो मारी ।

मन्दिरा खिन्न देखिन्थी । केही जवाफ दिइन ।

"ह्वाट ह्यापेन्ड ? यू लुक सो डाउन !"
"जस्ट अ भेगस इफेक्ट !" अहिले भने खिस्स मुस्कुराई ।
“समथिङ ह्याप्पेन्ड ?
मन्दिरा मौन बसी ।

"हे, चियर अप, ह्वाट हयाप्पेन्स इन भेगस स्टेज इन भेगस !" अर्थात् भेगसमा जे हुन्छ, भेगसमै रहन्छ-भेगसको प्रख्यात लोकोक्ति ।

भेगसको असर उत्रिन समय लाग्यो । जो केटा उसलाई विवाहका लागि हेर्न आउँदै थियो, अन्जानमा उसँगै लसपस भयो । कस्तो विडम्बना ! के सोच्यो होला उसले ! ? मन्दिरालाई थकथकी लागिरह्यो । तर उसलाई एउटा कुरा भने अचम्म लाग्यो- विवाहका लागि केटी हेर्न जाँदै गरेको युवकले बाटैमा मौका पाएपछि अर्कैसँग सम्बन्ध पनि राख्न सक्छ ! हुन त उसले हाका-हाक्की भनेको थियो-उ खुला, उदार र आधुनिक मान्छे हो भनेर ।

साता बित्यो, महिना बित्यो । मार्कण्डेयउर्फ मार्कबाट केही खबर आएन । विवाहबारे उसले के निर्णय गर्‍यो होला ? मनमा खुल्दुली लागिरह्यो । सानी-आमा, साना-बुबाले केही भन्नुभएन । कहिलेकाहीं शाम्वीसँग सोध्थी तर ऊ पनि बेखबर थिई ।

एकदिनपछि शाम्वीको फोन आयो !

“हे दिदी, त्यो मार्कन्डेय हो कि मुर्कुन्डे हो, त्यसलाई तिमी पहिलादेखि चिन्थ्यौ र ?
“किन के भयो र ?
“त्यसले तिमीलाई ‘रिजेक्ट’ गरेछ नि । अरु पनि के-के भनेको पो सुने । तिम्रो चरित्रको बारेमा कुरा गर्दै थियो रे ! हाउ डेयर ही ?

टाउकोमा कसैले काठको मुंग्रोले बजारेको जस्तो भयो । मस्तिष्क शून्य भयो । केही बोल्न सकिनँ । मुटुको वेग तीव्र भयो । खलखली पसिना आयो । क्रोधले थर-थर काँप्न थाली । के गरौँ - आफैँलाई चिथरौँ कि भुतालौँ जस्तो महसुस भयो । दिमागले केही सोच्न सकिनँ । उसको नजर एभलिनको मिनीबारतिर गयो । गिलासमा भोड्का खन्याई र स्वाट्ट पारी । त्यही बेला एभलिन टुप्लुक्क आइपुगी ।

“सरी एभलिन, तिमीलाई नसोधी तिम्रो भोड्का पिएँ । म यसको सट्टा-भर्ना गर्छु नि है ।”

“हे, चिन्ता नमान । तर तिमी त यसरी पिउने मान्छे होइनौ ? बुझेँ-बुझेँ- भेगसको असर अझै बाँकी छ ! बदमास केटी !” मन्दिराले जिस्काई ।

मन्दिरा भने हाँस्न सकिन । उसको असामान्य अवस्था एभलिनबाट छिपेन ।

“सबै कुरा त ठीक छ, म्यान्डी ?

मन्दिराले ठीक छैन भन्ने भावमा टाउको हल्लाई ।

“के भयो, तिम्रो समस्या मलाई भन्न सक्छौ ?

मन्दिराले सबै कथा सुनाई- मार्कसँग भेट भएको कुरा- भेगसका नाइट-क्लब र क्याबरे शोहरुका कुरा- मार्कसँग कौमार्य गुमाएको कुरा - मार्कले विवाहका लागि उसलाई हेर्न आएको कुरा- चरित्रहीनताको आरोप लगाएर अस्वीकार गरेको कुरा- सबै सुनेर एभलिन स्तब्ध भई ।
 

“म्यान्डी, म तिम्रो ठाउँमा हुन्थेँ भने मलाई यी कुराहरुले खास मतलब राख्थेन । तर तिमी म हौइनौ । तिमी विशिष्ट छ्यौ । तिमी जस्ती संस्कारी र अनुशासित केटीले यसरी पीडित हुनुपरेको मलाई विल्कुलै चित्त बुझेन । तिमीलाई त्यो केटोले झेल गरेछ र तिमी मज्जाले फँसिछौ । बिहे नगरे नगरोस्- ठीकै छ- त्यस्ता पुरुषसँग बिहे नभएकै राम्रो । तर ऊ आफू चरित्रवान् रहिरहने र तिमीलाई भने चरित्रहीनताको आरोप लगाउने ? यो सही भएन ।

“के गर्ने त एभलिन ?

००००

कथा यहीं सकिएन । मन्दिराले मार्कलाई फेसबुकमा मित्रताको निम्तो पठाई । साता बित्यो । १० दिन बित्यो । मार्कको कुनै प्रत्युत्तर आएन । मन्दिराले अनुमान त गरेकै थिई- उसले त्यति सजिलो फेसबुकमा जोड्ने छैन भनेर । उसले एउटा सन्देश टाइप गरी-

“हे, मलाई फेसबुकमा जोड्न किन हिच्किचाएको ? सायद बिहेको कुराले हो ? यति छिट्टो बिहे गर्न कसलाई हतार छ र ? जिन्दगीको मज्जा लिन भर्खर त सिक्दै छु । हामी फेसबुकमा साथी बन्न त सक्छौं नि !”

“होइन-होइन । मैले तिम्रो सन्देश पहिला ख्याल गरिनछु । माफ गर ।”

उताबाट मार्कको जवाफ तत्कालै आयो । सायद प्रतिबद्धताबिनाको सम्बन्धका लागि पुरुष हमेसा तयार रहन्छ ।

“भेगसको त्यो अनुभवका लागि तिमीलाई धन्यवाद है ! मैले त जीवन यति रंगीन र स्वादिलो हुनसक्छ भनेर कहिले सोचेको थिइनँ । त्यो रातको घटना सम्झेर अहिले पनि काउकुती लागिरहेको छ ।” मन्दिराले गफमा मादकता छरी ।

“हो त, त्यो रातको मज्जा मैले पनि भुलेको छैन ।” उतापट्टि मार्क पनि हौसियो ।

"पलङमा तिम्रो कलाकौशल गजबको थियो !" यो लेख्दै गर्दा मन्दिराको आफ्नै गाला रातो भयो । उसले ‘इमोजी’ पनि त्यस्तै पठाई ।

"वाऊ, तिम्रो सहभागिता पनि त उत्तिकै आक्रमक थियो नि !" मार्कले ‘इमोजी’ मार्फत आँखा झिम्कायो । वास्तवमा मन्दिरालाई राम्रोसँग केही याद थिएन । उसले त नशामा सबै होस गुमाएकी थिई ।

उनीहरु फेसबुकमा जोडिए । हरेक दुई-तीन दिनमा कुरा हुन थाल्यो- रसिलो कुरा- कसिलो कुरा- रंगीन कुरा-वैंशालु कुरा- मस्तीले भरिएका कुरा । बिहेका कुरा भने फेरि कहिल्यै दोहर्‍याएनन् ।

“मलाई तिम्रो कसिलो अँगालोमा फेरि बाँधिन मन छ, मिनियापलिसतिर आउने काम पर्दैन तिम्रो ?

“तिम्रो निमन्त्रणा हो भने म आइहाल्छु नि, कन्फरेन्स नै किन चाहिन्छ र, भन कहिले आऊँ ?

मार्कको कुरा सुनेर मन्दिरा उत्साहित भई । अन्तत: मार्क मिनियापलिस आइपुग्यो । मल-अफ-अमेरिका । मलसँग जोडिएको-राडिसन होटल ।नजिकको फायर-लेक बार । मन्दिराले साँझ साढे ७ बजे भेट्ने समय दिएकी थिई । केही समय बाँकी नै थियो । उसको नजर बारको प्रवेशद्वारतिर गइरह्यो । बेचैनी साथ घडी हेरिरह्यो । घडीको सुई पनि सुस्तरी घुमिरहेको प्रतित हुन्थ्यो । साढे ७ बज्यो । मन्दिरा आइन । ८ बजेतिर बल्ल मन्दिराको फोन आयो ।

“सरी मार्क, मेरो रुममेट अचानक बिमारी भई र उसलाई ‘इमरजेन्सी’मा लिएर आएकी छु । म तिमीलाई भोलि मात्र भेट्न सक्छु । डन्ट माइन्ड, है ।”

त्यही बेला नजिकको टेबुलमा एउटा ‘ब्लन्डी’ आई - अर्थात् सुनौलो केशराशि भएकी तरुनी । छोटो टिमिक्क परेको स्कर्ट, पातलो ज्याकेट र पेन्सिल-हिल जुत्ता लगाएकी । उसले आफ्नो ज्याकेट खोलेर कुर्सीमा राखी । उसको बाहुलाविहीन पहिरननको अग्रभाग उदार रुपले खुला थियो र यौवनका अवयवहरु बेफिक्रीसँग बाहिर चियाउँदै थिए । आदतको दास मार्क नलोभिने कुरै भएन ।

“तिम्रो अनुहार परिचित जस्तो लाग्यो नि ! सायद मैले तिमीलाई पहिला कतै देखेको छु ।” ऊ कुरा गर्न तम्सियो ।

"सायद तिमीले मलाई सपनामा देख्यौ कि ? केही बदमासी त गरेनौं नि सपनामा ?" युवतीझन खर्राँट निस्किई ।

“होइन, होइन” । मार्क हाँस्यो । “तिमी त एकदम चाखलाग्दी रहिछौ । तिमी ‘डेट’ को प्रतीक्षामा छैनौं भने म तिमीसँग टेबल सेयर -गर्न सक्छु ?

“अवश्य, तिमी जस्तो सुन्दर युवकसँग टेबल सेयर गर्ने मौका विरलै मिल्छ ।” युवतीले चिल्लो घस्नसम्म घसी ।

उनीहरुबीच परिचय आदान-प्रदान भयो ।

“म मार्क”

“म एभलिन”

"तिमीहरुलाई केही ल्याइदिऊँ ?" एउटी होस्टेस नजिक आई र सोधी ।

“लङ आइल्यान्ड आइस टी”

यो पेयको नाम सुनेर मार्क अलि झस्कियो ।

“कस्तो संयोग, मेरी एउटी साथी पनि यही पिउँछे !”

“अनि, तिमी स्थानीय हौ ?” एभलिनले सोधी ।
“होइन, म न्युयोर्कबाट । यहीँ राडिसनमा बसेको छु ।”

 

उनीहरुको वार्तालापले गति लियो ।‘लङ आइल्यान्ड आइस टी” र ‘बल्भनी’ ह्विस्कीका प्यालाहरु थपिँदै गए र मात चढ्दै गयो । युवती लहसिँदै गई । कुरै-कुरामा ऊ कहिले मार्कको हात समात्न पुग्थी त कहिले आँखा जुधाउँथी । एभलिनका मुलायम हातहरुमा उसले निमन्त्रणा महसुस गर्‍यो । नीला आँखाहरुमा प्यास मात्र देख्यो ।

बार बन्द हुने बेला भइसकेको थियो । ढिलो भयो भन्दै एभलिन उठ्न खोजी- तर सकिन । ऊ ढल्मलाई ।

“मलाई लाग्छ, तिमी घर जान सक्ने अवस्थामा छैनौ, तिमी मेरो कोठामा एकछिन आराम गर ।” मार्क यही मौकाको पर्खाइमा थियो ।
 

एभलिनले केही भनिन । उसको मौनतालाई मार्कले स्वीकृतिका रुपमा बुझ्यो । उसले एभलिनलाई हात समातेर उठायो र उनीहरु होटलतर्फ बढे । एभलिन धरमर गर्दै हिँड्न थाली । मार्कले एभलिनको देब्रे हात आफ्नो काँधतिर बेर्‍यो र दायाँ हातले उसको कम्मरमा च्याप्प समात्यो । एभलिनको टाउको मार्कको काँधमा झुल्न थाल्यो ।

०००

मिनीसोटा जिल्ला अदालत, सेन्टपल । अभियुक्तलाई राख्ने काठेघेरोमा थियो- मार्क । न्यायाधीशले मार्कमाथिको आरोप पढेर सुनायो- नशामा रहेकी युवती एभलिनसँग अनिच्छित यौनसम्बन्ध राखेको । मार्कसँग बारमा भेट भएको, सँगै रक्सी सेवन गरेपछि होस गुमाएकी, आफूलाई होसमा पाउँदा आफ्नो शरीरमाथि मार्कलाई पाएको, त्यसपछि मार्कलाई धकेलेर ऊ बाथरुमतिर छिरेकी र त्यहींबाट प्रहरीलाई फोन गरेकी बताएकी थिई एभलिनले । मार्कलाई अभियोग स्वीकार गर्ने र कम सजायका लागि निवेदन गर्ने वा अभियोग अस्वीकार गर्ने र मुद्दा लड्ने विकल्पहरु दिइएको थियो । तर उसले अभियोग अस्वीकार गर्‍यो र अदालती प्रकियामा गयो । मार्कको वकिलले मार्क र एभलिनको सम्बन्ध होसमै भएको र मञ्जुरीमै भएको दलील गर्‍यो । तर साक्षी-प्रमाणहरु उसको विरुद्धमा देखिए । प्रत्यक्षदर्शी बेल-डेस्क र रिसेप्सनका कर्मचारीहरुले मार्क र एभलिन होटल प्रवेश गर्दा एभलिन अनियन्त्रित रहेकी र उसको शिर मार्कको काँधमा झुलिरहेको देखेको बताए । होटलको लबी, एलिभेटर, हल-वेमा भएका सीसीटीभी क्यामेराका फुटेजहरुले त्यही पुष्टि गर्‍यो । मार्कको अर्को दुर्भाग्य, एकजना होटल कर्मचारी गल्तीले मार्कको कोठा ढकढ्क्याउन आइपुग्दा उसले भित्र बिस्तरामा नग्न युवती निदाइरहेको अवस्थामा देखेको र ऊ एभलिन नै भएको ठम्याइदियो । तन्नामा र एभलिनको शरीरमा पाइएको डीएनए मार्कको डीनएसँग मिल्न गयो ।अदालतले एभलिन शारीरिक र मानसिक रुपले इन्कार वा प्रतिरोध गर्नसक्ने अवस्थामा नरहेको र यस्तो अवस्थामा हुने यौन सम्बन्ध युवतीले अनिच्छित माने यो तेस्रो दर्जाको यौन अपराध हुने बतायो । सरकारी वकिलले त कानुनमा व्यवस्था भएको अधिकतम १५ वर्ष जेल र ३० हजार डलरको जरिवानाको माग गरेको थियो, तर मार्कको पहिला कुनै अपराधिक अभिलेख नभेटिएकाले न्यायाधीशले ८ वर्ष जेल र १५ हजार डलरको जरिवाना तोके ।

प्रहरीले मार्कलाई हत्कडीसहित बाहिर निकाल्यो । बाहिर निस्कँदै गर्दा उसको नजर दर्शकदीर्घामा रहेकी मन्दिरामाथि पर्‍यो । मन्दिरा मुस्कुराइरहेकी थिई । मार्कलाई झल्याँस्स याद आयो- एभलिनलाई पहिला कहाँ देखेको- कहाँ भेटेको भनेको त मन्दिराको फेसबुकमा पो देखेकोरहेछ । कतै यी दुई केटीको चाल त थिएन, उसलाई फँसाउने ? यो सम्झेरै उसको मथिंगल रन्थनिएर आयो ।

त्यो साँझ उता कोठामा एभलिनले भोड्काको बोतल खोली ।

“म्यान्डी, ल आऊ-अब उत्सव मनाऔं ।”

“म अब पिउँदिनँ, एभलिन । मलाई माफ गर ।”

“ठीक छ, जो तिम्रो मर्जी ।” एभलिन एक्लैले भोड्काको ‘सट’ लिई ।

“तर, तिमीलाई धेरै धन्यवाद है, मेरा लागि तिमीले यति ठूलो खतरा मोल्यौ, के तिमी साँच्ची नै नशामा बेहोस नै थियौ र ?

“बेहोस नै हुने गरी त म कहाँ पिउँछु र । अपरिचितहरुसँग पिउँदा नियन्त्रण गुम्ने गरी कहिले पनि पिउँदिनँ ।”

मन्दिरा भने केही खिन्न देखिई ।

“हे, तिम्रो भेगस इफेक्ट अझै उत्रेको छैन ?” एभलिनले सोधी ।

“हामीले केही ज्यादा त गरेनौं नि, एभलिन ?

“अहँ । जे गर्‍यौँ, एकदम ठीक गर्‍यौँ । हामी मजबुत बन्नुपर्छ, म्यान्डी । पुरुषहरुले नारीसँग मित्रता गरुन्- इमानदारीका साथ । माया गरुन् – इज्जत साथ । जब उनीहरु हामीलाई उपभोग्य वस्तु ठान्छन्, अपमान गर्छन्, उनीहरुलाई पाठ त सिकाउनै पर्‍यो नि । अब मार्कले अन्य चेलीहरुलाई ‘चरित्रहीन्’को उपमा कहिल्यै दिन सक्दैन ।”

मन्दिरा अहिले भने विश्वस्त देखिई । स्वीकारोक्तिमा शिर हल्लाई । उसको भेगस इफेक्ट उत्रेको प्रतीत हुन्थ्यो ।

समाप्त

२४ नोभम्बर २०१९, मिनियापलिस, मिनीसोटा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC