site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
म कथा किन लेख्छु !
Sarbottam CementSarbottam Cement

मोहन राकेश


किन ? यो प्रश्नको उत्तर दिन गाह्रो छ । जीवनमा, हामी कुनै पनि काम किन गर्छौं ? किन हाँस्छौं ? रुन्छौं किन ? प्रसन्न, चिन्तित वा व्याकुल किन हुन्छाैं ? यसको एक मात्र उत्तर हो– यस्तो हुनु स्वाभाविक हो । जीवनका हरेक परिस्थितिको हामीमाथि कुनै न कुनै प्रतिक्रिया भइरहेको हुन्छ नै । हामीले कतिकै चाहौं, त्यो प्रतिक्रियाबाट बँच्न सक्दैनौं । हावा चल्छ त्यसैले त वृक्षका पातहरू हल्लिन्छ नै । यो सोध्नु– ‘यो किन यसरी हल्लिरहेको छ ?’ त्यसको उत्तर के आउला ? हो, हामी बनेका नै यस्तै छौं र हावाको स्पर्शले मात्रै पनि हामीलाई चञ्चल गरिदिन्छ ।
हामीबीचको हरेक मानिसले हरेक दिनको आफ्नो जीवन जिउँदै, धेरै कुरा महसुस पनि गरिरहेको हुन्छ, उसले धेरै सोच्छ पनि । परन्तु हरेक व्यक्तिको महसुस गर्ने र सोच्ने प्रक्रिया आफ्नो–आफ्नै हुन्छ । यसैले परिणाम पनि अलग–अलग नै हुन्छ । कोही कष्ट सहेरै पनि बसिदिन्छ । कसैले हाँसेरै कुरालाई टारिदिन्छ । कोही  परिस्थितिसँग जुध्न अखडामा नै ओर्लिन्छ । र, कोही त्यसका विषयमा लेखेरै पनि सन्तुष्ट हुन्छ । मलाई जीवनका सम्बन्धमा आफ्नो प्रतिक्रिया लेखेर व्यक्त गर्नु स्वाभाविक लाग्छ, त्यसैले लेख्छु । ‘कथा किन लेख्छु ?’ यसको उत्तर दिन आजसम्मको जीवनका केही टुक्राहरू जम्मा गर्नु आवश्यक होला ।

जब म पाँच या छ कक्षामा पढ्थेँ, बजारमा ‘सखी लुटेरा’ र ‘बहराम डाँकू’ जस्ता उपन्यास घरका मानिससँग लुकाएर, भाडामा ल्याएर पढ्थेँ । त्यतिबेला मलाई आफ्नो पैतालामुनिका सारा भूमि सुरुङ र तहखाना जस्तो प्रतीत हुन्थ्यो । र, म ती तहखानाहरूको रहस्योद्घाटनका विषयमा सोच्दथेँ । हामी दुई साथी थियौं । बजारमा ‘बहराम डाँकू’को जिन्दगीका जति पनि उपन्यास भेटिन्थे, ती सबै पढिसकेका थियौं । र, हामी दुवै यो निष्कर्षमा पुगेका थियाैं कि त्यसभन्दा अगाडिको उसको जिन्दगीको वृत्तान्त लिपिबद्ध गर्ने दायित्व अब हामीमाथि छ । हामी दुवैले मिलेर यो कामलाई पूर्णता दिने निश्चय गर्‍यौं । पहिलो भाग लेखेर मैले आफ्ना ती मित्रलाई दिएँ र भनेँ– अर्को भाग तिमी लेख । तर उसको भविष्यले उसलाई एउटा साबुन कारखानातिर डोर्‍याउँदै थियो । त्यसैले उसले दोस्रो भाग कहिले पनि लेखेन । यस विषयलाई लिएर ऊसँग झगडा पनि भयो र ‘बहराम डाँकू’ सदाका लागि तहखाना (जमिनमुनिको अँध्यारो कोठा)मा बन्द भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

कलेजको समयमा मलाई कविता लेख्ने शोख थियो । एउटा कारण त– कविता एउटा यस्तो विषय थियो जुन सुनाउन सकिन्थ्यो र त्यसबखत सुनाउनु मेरा लागि लेख्नुभन्दा अधिक महत्वपूर्ण थियो । र, अर्को कारण थियो– मलाई यो विश्वास थियो कि साहित्यको सबैभन्दा महत्वपूर्ण अङ्ग कविता नै हो । मलाई अहिले पनि विश्वास छ, हिन्दीका धेरैभन्दा धेरै आलोचकहरू, जो साहित्यको चर्चा गर्दा वाल्मीकिबाट आरम्भ गर्छन् र नयाँ प्रयोगशील कवितामा आएर शक्ति सिध्याउँछन् । स्खलीत हुन्छन् । 

ती दिनहरूमा मेरा कविताहरू या त, त्यो समयको प्रचलित शैलीको अनुकरण मात्रै थियो या व्यङ्ग्यात्मक । तर चाँडै नै मलाई यो महसुस हुन थाल्यो कि जब म इमानदार भएर लेख्छु त्यसबेला कविता, कविता हुँदैन... त्यसमा धेरै अंश प्राक्कथन वा विवरण भइदिन्छ । परिणामतः युनिभर्सिटीको जीवनमा मैले कथा लेख्न सुरु गरिदिएँ । त्यसपछि जबजब जीवन र जीवनलाई प्रभावित तुल्याउने परिस्थितिहरूसँग गहिरो परिचय भयो, मैले पाएँ कि आफ्नो र अरूको जीवनको सूक्ष्म द्वन्द्व र अन्तरद्वन्द्व मेरोअगाडि आइदिन्छ ! यी सबै विषयले मलाई दुःखी, प्रसन्न या उदास बनाएर जान्छ । तिनलाई म कथाका माध्यमबाट अधिक सफलतापूर्वक व्यक्त गर्न सक्छु । 

Global Ime bank

त्यसो त पछिल्लो १० वर्षमा मैले कथाका अतिरिक्त नाटक र निबन्ध पनि लेखेँ, तर कुनै पनि परिस्थितिलाई ठीकसँग समाउन वा अभिव्यक्त गर्न पाउने जुन सन्तोष मलाई कथा लेखेर मिल्छ, त्यो अन्य रचनाहरूमा मिल्दैन । यद्यपि, कथाको कलात्मक सीमाहरूले पनि आफ्नो अङ्कुश लगाएर राखेको हुन्छ... किनभने कथा नै एउटा यस्तो चीज हो जुन छरपष्ट भएर चारैतिर छरिने सम्भावना धेरै रहन्छ । र, कतिपटक व्यक्ति आफैंले पनि थाहा पाउँदैन कि जे उसले लेखिरहेको छ त्यो केवल एउटा स्केच वा रिपोर्ताज मात्रै होइन...फेरि पनि कथा लेख्नमा मैले यो सुविधा पाएको छु कि जीवनका कुनै पनि टुक्रा वा कुनै पनि मुड वा कुनै पनि चरित्र वा कुनै घटनालाई कथाअन्तर्गत इमानदारीपूर्वक उतार्न सकिन्छ । 

कथा छोटो पनि लेख्न सकिन्छ र लामो पनि । तर कुरा हो, त्यसको महत्वपूर्ण वा रहस्यपूर्ण विषयलाई समाउन सक्नु । जीवनको त्यो व्यङ्ग्य, विचार, विरोध वा अन्तरविरोध शब्दहरूमा उतार्नु नै हो, जुन कैयनपटक आफ्नो सूक्ष्मताका कारण पकडमा आउँदैन । कुरो साधारण नै हुन्छ । त्यही जीवन हामी सबैले जिउने गरेका पनि हुन्छांै । लगभग एकजस्तै परिस्थितिमा हामी हिँडिरहेका हुन्छौ । 

कुनै राम्रो कथा हामी पढ्छौं, जीवनको त्यो खण्ड–सत्य मेरा लागि अपरिचित हुँदैन । त्यो सत्यलाई कसरी उठाउनु छ, कतिपय कुरा भन्नु छ, र कुन सार्थक शब्दहरूमा कथा भन्नु छ... यो जान्नु नै सम्भवतः कथा भन्ने कला हो । म जान्दछु कि अपरिचित र असाधारण जीवनलाई चित्रित गर्ने रचनाहरू त्यति लोकप्रिय हुँदैनन्, जति साधारण दैनिक जीवनलाई चित्रित गरिएका रचनाहरू हुन्छन् । म साधारण जीवन जिउँछु र हरेक दृष्टिबाट एक अत्यन्त साधारण व्यक्ति हुँ । यसैले पनि कथा लेख्नु, आफ्नो यस साधारणताको वातावरणलाई कथामा ढाल्नु, मलाई अत्यन्तै स्वाभाविक लाग्छ ।

केही दिनको कुरा हो, लखनऊमा मेरा एक मित्र जो सुप्रशिद्ध कथाकार पनि हुन्, उनले मसँग भने– बम्बईमा रहँदा जब दादरको लामो पुलबाट उनी पास हुन्छन् त्यसबेला उनको मनमा आयो त्यो पुलको जीवनको एकक्षणलाई कुनै कथामा क्याप्चर गरुँ, तर यो अहिलेसम्म उनीबाट बन्न सकेको छैन । एकदमै साधारण कुरा थियो, तर यसले दुईवटा विषयमा प्रकाश पार्छ । एउटा त यो, कथा लेख्ने बटुवाले बाटो हिँड्दै पनि कथा पाउन सक्छ । कुनै पनि साधारण पदार्थलाई कथाको नायकका रूपमा आफूलाई त्यसका सामुन्ने प्रस्तुत गर्न सक्छ । र, अर्को कुरा के हो भने, त्यो साधारण पदार्थको कथा लेखिनु लेखकका लागि त्यति सजिलो र साधारण विषय भने हुन्न । 

साहित्यका आलोचकले त्यसको प्रताडना त पछिपछि गर्छन् । सबैभन्दा पहिले त उसलाई नानाभाँती भन्ने, उसको मेहनतमा टाउको दुखाउने एउटा आलोचक ऊभित्रै हुन्छ । साहित्यिक आलोचकले त यही जानेका हुन्छन् कि के र कति लेखेको छ । परन्तु ऊभित्रको त्यो आलोचकले यो पनि बुझेको हुन्छ कि उसले के लेख्न चाहेको थियो, तर लेख्न सकेन ! त्यसले न कुनै कुरा लुकाउन सक्छ, न त कुनै किसिमबाट व्याख्या गरेर उसलाई सन्तुष्ट गर्न सक्छ । 

मेरो मनमा प्रायः कथा लेखेपछि यो असन्तोष उत्पन्न हुन्छ कि त्यो कुरो भएन जुन म चाहन्थेँ । कतै कुनै कमी छ या एउटाको ठाउँमा अर्को कुरा आयो । कतिपटक त दुईदुई–तीनतीन पटक लेखेर पनि सन्तोष मिल्दैन । यसरी आफ्नो मस्तिष्कबाट सदा बैर वा द्वन्द्व चलिरहन्छ । जुन कुरा बाहिर देखिएको छ या जुन कुरा महसूस भइरहेको हुन्छ, त्यसको चित्र या प्रभाव मस्तिष्कले सजिलै आफूमा समेट्छ । तर शब्दले जब त्यसलाई व्यक्त गर्न थाल्छ, त्यसपछि दोष निकाल्ने काम बोक्छ । 

कथा लेखेर सकिएपछि जब मलाई महसुस हुन्छ कि कुरो अझै बनेको छैन, त्यसपछि झोक्किएर लेखेका कागजहरूलाई च्यातिदिन्छु । साथै, यो चाहन्छु कि दोष पता लगाउने आफ्नो यो मष्तिष्कलाई सजाय दिऊँ । तर म पाउँछु हरेक नष्ट गरिएको रचनाहरूले मलाई अझै परिमार्जित गरिरहेको हुन्छ र हरेक असफल प्रयत्नले कतैकतैैबाट मलाई सम्हालीरहेको हुन्छ । कहिलेकाहीँ मनले भन्छ कि यी सारा झञ्झटहरुमा किन ध्यान दिइरहेका छौ... यसरी आफैंसँग जुध्नुमा के नै रहेको छ र ? तर अर्को नै पल म यो पाउँछु कि मेरो यही आक्रोश पनि एउटा कथाको विषय हो । कथा नभन्न सकेको असमर्थतामा पनि एउटा सुन्दर कथा लेख्न सकिन्छ !

र, यसरी नै यो क्रम चल्दै आइरहेको छ, चली नै रहेको छ । मैले धेरै मानिससँग सुनेको छु कि सारा जीवन र साहित्यमा थोरै कथाहरू मात्रै त छन्, जसलाई हरेक लेखकले पटक–पटक लेख्छ । त्यही प्रेम, त्यही ममता, त्यही इच्छा, त्यही राग द्वेश... सबै आदिमकालदेखि आजसम्म त्यही नै हो । अलिकति हेरफेर गरेर हरेक कथा कुनै न कुनै पहिलेका कथाको पुनरावृत्ति नै हुन्छ । तर मलाई स्थिति आजसम्म यसभन्दा सर्वथा विपरीत प्रतीत भएको छ । मलाई सधैं यही लाग्यो कि जीवनले मलाई यति कथाहरूको पुँजी दिएको छ कि सारा जीवन लेखिरहे पनि सबै कथाहरू लेख्न सकिन्न... केवल समयको अभावका कारण नै होइन, बरु यसकारण कि धेरै जसो कथाहरू छन् जो हजारांै पटक चाहँदा पनि बनाउन खोजेजस्तो बन्दैन, अथवा त्यस्तो बन्दैन जस्तो बनाउने लेख्दाको समयमा कल्पना गरिन्छ । 

यसैले पनि यो आफ्नै जीवनसँग जीवनभरको होडबाजी नै हो । यस होडबाजीमा म हार्न चाहन्नँ । कथा नलेख्दा पनि यो अवश्य सोच्दछु कि यो वा त्यो कथा अहिले लेख्नु छ । बन्यो भने लेख्छु । यदि बनिरहेको छैन भने पनि यो विश्वास गर्छु कि कुनै न कुनै दिन अवश्य लेख्नेछु । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २६, २०७६  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC