site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मार्सी चामलको भात खुवाउने प्रसाईँ भन्छन् : प्रचण्ड बोलीमा बिक्छन्, ओली लिखित नै खोज्छन् 
Ghorahi CementGhorahi Cement

दुर्गा प्रसाईं एकजना विवादित व्यवसायी हुन् । विशेष गरेर राजनीतिक सम्बन्ध राख्नका लागि उनले गरेका कामहरु विवादित तथा चर्चित भएका छन् । नेकपाका अध्यक्ष द्वय प्रधानमन्त्री केपी शर्मा ओली तथा पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले उनको निवासमा मार्सी चामलको भात खाएको विषय करिब दुई वर्ष अघि निकै चर्चित र विवादित बनेको थियो । 

हालै प्रसाईँले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले २० करोड रुपैयाँ घूस मागेको पत्रकार सम्मेलन गरेरै जानकारी दिए । तर, यति ठूलो रकम घूस मागेको सार्वजनिक भइसक्दा पनि अनुसन्धान गर्नुपर्ने निकाय मौन छन् ।
उनै प्रसाईँ भन्छन्, -नेपालमा पाइला पाइलामा घूस नखुवाइ केही पनि गर्न सकिन्न । 

उनको राजनीतिक सम्बन्ध, त्यसको उद्देश्य, गिरीले उनीसँग माग गरेको २० करोडलगायतका विषयमा दुर्गा प्रसाईँले बुधबार बाह्रखरीसँग खुलेरै कुराकानी गरे । प्रस्तुत छ, प्रसाईँसँग बाह्रखरीले गरेको कुराकानीको अंशः

Agni Group

तपाईं मेडिकल माफिया, राजनीतिज्ञ, व्यवसायी या अरु के ? तपाईंले आफ्नो परिचय कसरी दिनुहुन्छ ?

म राजनीतिज्ञ पनि होइन, माफिया त हुँदै होइन, अझ मेडिकल माफिया त झनै होइन । म एउटा स्वच्छ व्यवसायी हुँ । शिक्षा, स्वास्थ्य र रोजगारीलाई मैले महत्व दिएको छु । 

Global Ime bank

रोजगारी सिर्जना गरेको छु । अहिले पनि १५ सय जनालाई रोजगारी दिएको छु । सुदूरपूर्वमा सबैभन्दा बढी ट्याक्स बुझाउने कम्पनी मेरै हो । 

कति बुझाउनुहुन्छ वार्षिक ट्याक्स ?

मैले वार्षिक १५ देखि २० करोड बुझाउँछु राज्यलाई ट्याक्स । अहिले झापामा दक्षिणपूर्वी एसियामा नमुना क्यान्सर अस्पताल ल्याएका छौं । त्यस्तो दक्षिणपूर्वी एसियामा नै छैन । 

त्यो पनि भर्खरै अपरेसनमा आएको छ । माफिया भनेर मलाई आरोप लगाउँछन् किन हो मैले बुझेको छैन । माफिया कस्तालाई भन्ने ? हतियार सप्लाई गर्ने, लागुऔषधको कारोबार गर्ने, चेलिबेटी बेचबिखन गर्नेलाई भन्नुपर्ने होइन र ? रसिया र दुबईमा त्यस्ता माफिया पाइन्छन् रे तर नेपालमा त्यस्ता व्यक्ति मैले अहिलेसम्म भेटेको पनि छैन ।

मलाई सरकारले मेडिकल कलेज बना भनेर सम्बन्धन दिएको हो । त्यसैका आधारमा मैले बैंकबाट लोन लिएर अस्पताल बनाएको हुँ । 

धेरैजनाले अहिले पनि प्रचण्डको पैसा दुर्गा प्रसाईँमार्फत म्यानेज भएको हो पनि भन्छन् नि ! हो ? 

भन्न त भन्छन् नै तर त्यो सबै गलत हो । यो बीचमा मलाई प्रचण्डको पैसाले अस्पताल बनायो पनि भन्छन् । प्रचण्डको पैसा एक रुपैयाँ लिएको पुष्टि भयो भने सबै सम्पत्ति दिन्छु । पुरै अस्पताल नेपाल सरकारको नाममा गरिदिन्छु । 

मेरो सम्पूर्ण व्यवसाय, मेडिकल कलेज आफ्नै सम्पत्ति र बैंकबाट लिएको ऋण मात्र हो । बैंकबाट ९७ करोड रुपैयाँ लिएको छु । अहिले त्यो बढ्दै गएर साढे दुई सय करोड पुगेको छ । बजारमा काम गराएको कतिपय पैसा तिर्न बाँकी नै छ । यस्तो सामान दिनेको ऋण नै करिब सवा सय करोड पुगेको छ । त्यो पैसा पनि तिर्न सकेको छैन । तीनकुनेमा विशाल पण्डित हुनुहुन्छ, उहाँले दिएको सामानको पैसा अहिलेसम्म तिर्न सकेको छैन । उहाँले अस्पतालको सामान बिक्री गर्नुहुन्छ ।

अहिले प्रचण्डको विषयमा कुरा गर्‍यो भने प्रचण्डकै मान्छे रहेछ भन्छन् । अहिले पनि नेपालमा ठूला घर बने भने प्रचण्डको हो, अग्ला भवन बने भने पनि प्रचण्डकै हो, सयवटा टिपर नेपाल भित्रिए भने पनि प्रचण्डकै हो पनि भन्छन् । दुबईमा २१ अर्ब प्रचण्डको छ भन्छन् तर यी सबै गलत हुन् ।

तपाईंले प्रचण्डका कुरा गलत हुन् भनेर कसरी  भन्न सक्नुहुन्छ त ? प्रचण्डको सम्पत्तिको विषयमा तपार्ईंलाई जानकारी कसरी भयो ?

उहाँलाई किन आवश्यक छ र पैसा ? उहाँ पैसा राखेर व्याज खाने मान्छे हो र ? नेपालमा राजनीति गर्ने मान्छेलाई कसरी सिध्याइन्छ भन्ने यो उदाहरण मात्रै हो । प्रचण्ड सीधा मान्छे हुन् ।

तपाईं प्रचण्ड र केपी ओलीको अत्यन्त नजिकको मान्छे भन्छन् । कसरी जोडिनुभयो उहाँहरुसँग ?

केपी ओली मेरा बुबाको मामा हुनुहुन्छ । पहाड घर एकैठाउँ हो । उहाँले उहिल्यैदेखि चिन्नुहुन्छ । पहिल्यैदेखि नाति नाति भन्नुहुन्थ्यो । कान्छा भन्नुहुन्थ्यो । जिस्क्याउनु पनि हुन्थ्यो । 

पछिल्लो समयमा प्रचण्ड र केपी शर्मा ओलीको सम्बन्धमा धेरै उतार चढाव भएपछि दुवै जनालाई सँगै राखेर भन्ने र सम्झाउने मान्छे पनि चाहियो । 

म पनि राजनीतिमा सम्बन्ध भएका कारण उहाँहरुसँग झनै नजिक भएको हुँ । मलाई सांसद हुनु थिएन । मन्त्री हुनु थिएन । मेरो एकमात्रै उद्देश्य मेची अञ्चलमा एउटा राम्रो कलेज बनाउने र अस्पताल बनाउने मात्रै थियो ।

मैले आफ्नै घरमा दुई नेतालाई २, ४ पल्ट वार्ता गराएकै हो । मैले दुवै जनालाई राखेर ‘तपाईंहरु एक हुनैपर्छ’ भनेर सम्झाएको चाहिँ हुँ । 

धेरैले नेपालका कम्युनिष्ट एक भएको हेर्न चाहेका छन् भनेर भनेका थिए । मेरो घरमा खाना खाँदा पनि यो कुरा भनेको हुँ ।

मैले केपी ओलीलाई त्यसबेला एक्लै राखेर भनें, ‘हजुरबुवा ! नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले नाम राखे । नेपालमा गणतन्त्र ल्याउन प्रचण्डले २१ औं शताब्दीमा पनि जनयुद्ध गरे । अब तपाईंले नेपालका सबै कम्युनिष्टलाई एक बनाउनुस् र नेपालको इतिहासमा नाम राख्नुस्’ । यति मैले भनेकै हो ।

मैले त्यसो भन्दा हो भनेर उहाँले भन्नुभयो । खाना खाएपछि उहाँहरु माथि चढ्नुभयो । तल झर्दा तीनबुँदे सहमति गर्‍यौं भनेर भन्नुभयो । मैले वार्ता मिलाएको भन्दिनँ तर वातावरण बनाएको हुँ । त्यसको केहीदिनपछि यो कुरा सार्वजनिक भएको हो । 

यहाँ त सांसद पाउनका लागि र नियुक्ति लिनका लागि आशा गर्नेले नेताहरुलाई केही भन्दैन, भन्नै सक्दैन ।

प्रचण्डसँगको सम्बन्ध के हो त ?

मेरो प्रचण्डसँगको सम्बन्ध अलि पहिलेदेखिकै हो । म ०५७ सालदेखि नै माओवादीसँग नजिक रहेर काम गरेको हुँ । 

०६० सालमा म पक्राउ परेँ । मलाई सैनिक हिरासतमा ६ महिना राखियो । 

त्यसपछि प्रचण्डसँग नजिक कसरी भएँ भने म नडराउने मान्छे हुँ ।

अलि अगाडि परेर कुरा गर्ने, अलि अलि सम्पत्ति पनि पहिल्यैदेखि भएको मान्छे हुँ । लोभ छैन । उहाँलाई बेला बेलामा घरमा पनि बोलाउन थालेँ । उहाँसँगको सम्बन्ध त्यसरी अघि बढेको हो । 

उहाँलाई अप्ठेरोपर्दा मलाई सम्झनुहुन्छ । उहाँको छोरीहरुले मलाई दाइ भनेर सम्झनुहुन्छ । त्यत्तिमात्रै हो ।

भनेपछि तपाईंले उहाँलाई आवश्यक परेको सहयोग गर्नुहुन्छ ?

गर्छु । तर एउटा छिमेकीले अर्को छिमेकीलाई अप्ठेरो पर्दा कस्तो सहयोग गर्छ त्यस्तै गर्छु । 

तपाइँ पनि मेरो ठाउँमा भएको भए गर्नुहुन्थ्यो । त्यो मानवताको सम्बन्ध हो । मानवताको नाताले एकलाई दुःख पर्दा अर्काले सहयोग गर्छ नै ।

प्रचण्डको सबै खर्च तपाईंले नै धानिदिएको भन्छन् नि ! हो ?

यो चाहिँ सत्य होइन । मैले उहाँको खर्च धानिदिएको होइन । कार्यक्रममा बोलाउँदा टिकट काटिदिएँ हुँला । त्यसबाहेक मैले पैसा दिएको छैन ।

यो सबै मेडिकल कलेजलाई सम्बन्धन लिनका लागि गरिएका कामहरु हुन् ?

होइन । यो मानवताको सम्बन्ध मात्रै हो ।

मेरो मेडिकल कलेजमा प्रचण्डको लगानी थियो भने सम्बन्धनका लागि मैले यति ठूलो लडाईँ गर्नुपथ्र्यो होला र ? त्यो त सबैले बुझ्नुपर्ने होइन र ? अहिलेसम्म त सम्बन्धन पाइहाल्नुपर्ने हो नि । प्रचण्ड आजको मितिमा पनि सेलिब्रेटी हुन् । त्यही भएर उहाँलाई लगेर उद्घाटन गराएको हुँ । उहाँलाई लैजाँदा अलि अलि प्रचार पनि होला, विज्ञापन पनि हुन्छ भनेर लगेको हुँ । त्यो बाहेक केही होइन । उहाँ सीधा नेता हो ।

केपी ओली र प्रचण्डबीचको सम्बन्ध बलियो बनाइदिन लाग्नेमध्येको तपाईं पनि एक हो भने यो सम्बन्ध दीगो होलाजस्तो देखिएन नि किन ?

त्यसबेला भएको कुरा नढाँटेरै भन्छु । म पनि भएर भएको कुरा के हो भने पार्टीको सम्पूर्ण जिम्मा प्रचण्डलाई दिने, पाँचवर्ष केपी ओलीले सरकार चलाउने । भएको कुरा यही हो । यो म जहाँ गएर पनि भन्न सक्छु । त्यो कुरा मेरै अगाडि भएको हो ।

अब अहिले कार्यवाहक पार्टी अध्यक्ष, कार्यवाहक प्रधानमन्त्री दिनुहुन्छ यो के गर्नुभएको हो मैले बुझिनँ ।

कार्यवाहक भनेको के हो ? अहिले त्यसैमा लडाईँ भएको हो कि । भित्र विवाद छ यो सबैले बुझेको कुरा हो । मैले सम्बन्धन पाउँ किन नपाउँ । कुरा सत्यसँग सम्बन्धित छ । 

पूरै पार्टी जिम्मा लगाउने कुरा भएकै हो त ?

हत्तेरिका ! नभएको कुरा भन्छु होला त । यो कार्यवाहक भनेको के हो ? किन दिएको कार्यवाहक ? तपाईंहरुको पत्रिकामा एकजना सम्पादक हुन्छ भने पार्टीमा दुईजना अध्यक्ष भन्ने पनि कहीँ हुन्छ त ! पार्टी एकजनाले, सरकार अर्कोले चलाउने कुरा भएकै हो ।

तपाईंको विचारमा केपी ओलीले प्रचण्डलाई धोका दिएका हुन त ?

अब अहिले परिस्थितिले त्यस्तो बनाएको हो कि के ले बनायो मैले भन्न सक्दिनँ । तर प्रचण्ड सीधा मान्छे चाहिँ हुन् । अब मैले प्रचण्डको कुरा गरेँ भने मार्सी र सार्सी भनेर मेरै कुरा काट्छन् । प्रचण्डले विश्वास गरेपछि भित्रैबाट गर्ने तर केपी ओलीले लेखेर मात्रै गर्ने । 
प्रचण्डले धोका पाएकै बढी विश्वास गरेर हो । 

कसले दियो धोका ? केपी ओलीले ?

केपी ओलीले मात्रै होइन । उहाँलाई अरुले पनि धोका दिएका छन् ।

हामी अर्को विषयमा प्रवेश गरौं 
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी र तपाईंको अहिले विवाद के हो ? तपाईंले २० करोड घूस मागेको बताउनुहुन्छ, उहाँले होइन भन्नुहुन्छ । के हो यथार्थ ?

गिरीसँग मेरो खासै सम्बन्ध होइन । पहिला पनि ८–१० पल्ट भेट भएको हो । उहाँले कहिले शिक्षा मन्त्रालयमा त कहिले स्वास्थ्य मन्त्रालयमा गइरहनुहुन्थ्यो ।

उहाँ आफूले आफूलाई डाक्टर भन्नुहुन्थ्यो । उहाँ २४ सै घण्टा शिक्षा मन्त्रालयमा बस्नुहुन्थ्यो । किन बस्नुहुन्थ्यो थाहा छैन । गिरिराजमणि पोखरेल जहाँ हुनुहुन्छ, त्यहाँ उहाँ पुग्नुहुन्छ । भोलि गिरिराजमणि पोखरेल स्थानीय विकास मन्त्री हुनुभयो भने उहाँ त्यहाँ पनि विज्ञको रुपमा पुग्नुहुन्छ । वहाँहरूको सम्बन्ध के हो मलाई थाहा छैन । 
उहाँ जहाँ पनि विज्ञ कसरी बन्नुहुन्छ ? यो पत्रकारले खोज्ने कुरा हो । जहाँ जहाँ गिरिराजमणि हुन्छन् त्यहाँ श्रीकृष्ण गिरी हुन्छन् । सम्बन्ध किन र के का लागि भन्ने अहिले पुष्टि हुँदैछ । 

यो कुरा मैले पत्रकार सम्मेलन गरेर पनि भनेको छु । यो देशका सम्पूर्ण पत्रकार, प्रधानन्यायाधीशदेखि सांसदहरु, गोविन्द केसी, सर्वसाधारण, सभामुख सबैलाई के कुरा थाहा छ भने चिकित्सा शिक्षा विधेयक पारित हुँदाको मर्म स्पिरिट के हो त भन्दा काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज धेरै भए । अहिले यहाँ नदिने तर काठमाडौं बाहिर पूर्वाधार पुगेकालाई दिने भनेको हो कि होइन ? यो कुरा सबैलाई जानकारी भएकै कुरा हो । 

चिकित्सा शिक्षा विधेयक पारित गराइदेऊ भनेर नेताको घरमा कति धाएँ धाएँ । 

बिहान ५ बजे उठेर पुग्थेँ । लौन यो विधेयक पारित गरिदिनुस् न भन्थेँ । यति पास गरिदिनुभयो कम्तिमा पनि १० जना गरिबका छोरा पढ्न पाउँछन् भनेर भनेँ । 

सबैको दबाबमा यो विधेयक पारित भयो । त्यसबेला गिरिराजमणि पोखरेलले पनि यो विधेयक पारित गर्न मानेका थिएनन् । प्रधानमन्त्रीको जोडबलमा भएको हो । त्यसपछि आयोग बनोस् भन्ने कुरा आयो । आयोग बन्यो पनि । पहिला ६ सय वटालाई सम्बन्धन दिए । मिलाउँदै दिँदै गरे । आयोग बनेपछि अन्तिममा २९ वटालाई दिए । 
नर्सिङको सम्बन्धन लिन जाँदा उहाँले बेलुका भेटौं भन्नुभयो । बेलुका भेट्दा २० करोड दिनुस् भन्नुभयो ।

सीधै २० करोड दिनुस् नै भन्नुभयो त ?

भन्नुभयो । उहाँले नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलको नामै लिएर पनि भन्नुभयो । उहाँले म स्कुल विभाग छोडेर त्यसै आएको होइन भनेर भन्नुभयो । गोविन्द केसीले पनि त्यसबेला यी गिरीलाई नल्याउँ भन्नुभएको थियो तर किन ल्याइएको रहेछ । अहिले थाहा भयो ।

योग्यता नपुगेको मान्छेलाई जबरजस्ती ल्याए । योग्यताका कुरा उठ्दा उठ्दै ल्याए । मलाई स्कुल विभागबाट यहाँ त्यसै ल्याएको होइन भनेर भने । मैले १०, २० लाख पनि घूस दिन्छु भनेको होइन । केही लाख फन्ड डाइभर्ट गर्न मिल्दैन भनेँ ।

त्यसपछि ?

त्यसपछि उहाँले त्यसो हो भने १० प्रतिशत सेयर दिनुस् भनेर भन्नुभयो । म त्यसपछि यो कुरा लिएर अध्यक्ष प्रचण्डकहाँ गएँ । योगेश भट्टराईलाई भनेँ । अन्य केही नेतालाई पनि भनेँ ।

तपाईं यो कुरा लिएर सबैभन्दा पहिले प्रचण्डकहाँ किन जानुभयो त ? उहाँ राज्य सञ्चालनमा त हुनुहुन्न ! अख्तियारदेखि प्रधानमन्त्रीसम्म किन जानुभएन ?

मैले यसमा धेरै विवाद गरेर पनि हुँदैन । किनकि अस्पताल चलाउनुछ । विवाद भयो भने बैंकले पैसा पनि दिन्न । पार्टीभित्रको कुरा भएकाले सम्झाइदिनुस् भन्न अध्यक्षकहाँ गएको हुँ ।

त्यसपछि प्रचण्डले ‘यो मान्छे धेरै फटाहा रहेछ’ भनेर भन्नुभयो । म अस्पताल उद्घाटनमा व्यस्त भएकाले नभ्याएको हुँ । त्यसपछि म पत्रकार सम्मेलन गरेको हुँ । अहिले अख्तियार, सम्पत्ति शुद्धीकरणमा गएको हुँ ।

आजभन्दा दुईवर्षअघि केही डाक्टरलाई नक्कली भनेर २७ दिनु थुनियो । किन भन्दा योग्यता नपुगेको भनेर तर अहिले योग्यता नपुगेको मान्छे आयोगको उपाध्यक्ष बन्न मिल्छ ? यो कुरा केन्द्रीय अनुसन्धान ब्यूरोले हेर्न पर्दैन ? कारवाही गर्न पर्दैन ? पक्राउ परेका डाक्टरहरुको कमजोरी १२ कक्षाको नम्बर नपुगेको मात्रै हो तर डाक्टर पास भएकै हुन् । तर आज ३ ठाउँमा ३ थरी सर्टिफिकेट दिएर काम गर्न पाइन्छ ?

मेडिकल काउन्सिल र न्याम्समा फरक फरक कागजात छन् । यो सबै लिएर जान्छु । 

नेपालमा पहिलोपल्ट होला मसँग घूस मागे भनेर पत्रकार सम्मेलन गरेरै भनेको छु ।

तपाईंले एउटा कुरा नढाँटेर भनिदिनुस् । यो अस्पताल यहाँसम्म ल्याउँदा कति ठाउँमा घूस खुवाउनुपर्‍यो ?

पाइला पाइलामा । पाइला पाइलामा  । पाइलैपिच्छे घूस खुवाउनुपर्छ ।

दुर्गा प्रसाईँजी तपाईँ रेकर्डमा हुनुुहुन्छ । यो कुरा छापिन्छ नि !

यो देशमा घूसविना केही हुँदैन । सत्य कुरा भन्दैछु । म नेपालको नागरिक हुँ भनेर नागरिकता लिन जाँदा पनि घूस खुवाउनुपर्छ भनेपछि कहाँ कहाँसम्म खुवाउनुपर्ला !

मेडिकल कलेजकै लागि भनेर कतिलाई घूस खुवाउनुभयो ?

मैले १० वर्षदेखि त सबै बिर्सिसकेँ । तर घूसविना यो नेपालमा केही हुँदैन । मैले फेरि पनि भन्छु घूसविना केही हुँदैन ।

मैले मेडिकल कलेजका लागि पूर्वाधार तयार पारेको कति भयो ? मैले सम्बन्धन किन पाइन त यसैबाट पुष्टि हुन्छ नि पाइला पाइलामा घूस खुवाउन नसकेको ।

गिरीले तपाईंसँग मागेको घूस त माथिसम्मै जाँदो रहेछ है त्यसो भए ?

त्यसरी पनि जाँदैन । त्यो प्यानलमै सीमित हुन्छ । कुन प्यानलका हुन् त्यसभित्रै रहन्छ ।

अहिले मेडिकल शिक्षामा देखिएको बेथिति हेर्दा गोविन्द केसी सही कामका लागि लडेका रहेछन् भन्ने लाग्दैन ?

मैले गोविन्द केसीको माग कहिले पनि नाजायज भनिनँ । उहाँको एउटै कुरा चित्त नबुझेको के हो भने बी एण्ड सी प्रचण्डको लगानीको हो त्यसलाई दिन हुँदैन भनेको मात्रै मेरो चित्त नबुझेको कुरा हो । बाँकी गोविन्द केसीका सबै माग जायज थिए र छन् पनि । उहाँले सोचेको र मैले सोचेको एउटै हो ।

मलाई धेरै कुरा बोल्न नलगाउनुस् । मैले गहिराइमा पुगेर बोलेँ भने राजनीति उथलपुथल हुन सक्छ । गणतन्त्र हामीले के का लागि ल्याएका रहेछौं भन्ने अहिले बुझ्दै छौं ।

बी एण्ड सी जनताको लगानीमा बनेको हो म यो बचाउन चाहन्छु ।

तपाईंले त्यहाँ कति लगानी गर्नुभयो ?

अहिलेसम्म ६ सय करोड लगानी भइसक्यो । 

त्यो पैसा कहाँबाट ल्याउनुभयो त ?

मैले भनेँ त ९७ करोड ऋण लिएको हो । बाँकी ब्याज बढ्दै गयो । कति सामानको पनि बुझाउन पाएको छैन ।

वार्षिक ४० करोड थप हुँदै गएको छ । 

अब सञ्चालन भएन भने के हुन्छ ?

भएन भने सरकारले सम्बन्धन दिएको हो । जनताको पैसा हो सरकारले बैंकको पैसा तिरेर लैजाओस् । 

अब तपाइँ र श्रीकृष्ण गिरीबीचको लडाइँ कहाँ पुगेर टुंगिन्छ त ?

मैले अब यस्ता भ्रष्टलाई छोड्दिनँ । म यस्तैका लागि सैनिक हिरासतमा बसेको होइन । म कानुनी लडाइँमै जान्छु ।

उहाँले तपाईंविरुद्ध मुद्दा दायर गरिसक्नुभयो नि !

मैले त्योभन्दा पहिल्यै गरेको हुँ । सबै मिलेर अब उहाँको योग्यता खोज्नुपर्‍यो । त्यसपछि सबै छर्लङ्ग हुन्छ । हामी त मौरीजस्तै हौं । मह लगाउन छाड्दैनौं । तर मह लागेपछि एउटा आउँछ खान्छ । मेडिकल कलेजमा भएन भने अर्को ठाउँमा जाउँला ।

यो बीचमा शिक्षामन्त्रीसँग कुरा भयो कि भएन ?

शिक्षा मन्त्री नै यो मेडिकल कलेजको बाधक हुन् । 

किन ?

गिरिराजमणि पोखरेल यो देशको शिक्षा र स्वास्थ्य राम्रो होस् भन्ने चाहनुहुन्न । उहाँ रहन्जेल शिक्षा स्वास्थ्य सुध्रिँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६  १२:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC