site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
छपाक : एउटा क्रूर आवाज 
Sarbottam CementSarbottam Cement

अक्षर काका


२२ अप्रिल २००५ । नयाँ दिल्ली गर्मीले उकुसमुकुस थियो । तापमान ३० डिग्रीबाट उकालो लागेको हुँदो हो । बिहान १० बजे नै घरबाट निस्कन मुस्किल !

लक्ष्मी अग्रवाल घरबाट निस्किइन् । आकाशमा उडिरहेका चरा फुतफुती खस्ने प्रचण्ड धूप छिचोल्दै खान रोडतिर अघि बढिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

घर र पुस्तक पसलको दूरी बढीमा एक माइल हुँदो हो । त्यसैले परिवारका सदस्यले साथै जानु उचित ठानेनन् । एक्लै थिइन् ।

आफू काम गर्ने पुस्तकगृहमा पुग्न आधा माइल पनि बाँकी थिएन । लक्ष्मीका आँखा नइम खानमाथि पर्न गयो । खानको साख्यै भाइकी प्रेमिका पनि नइम सँगै थिइन् ।

Global Ime bank

दुवै बडो हतास देखिन्थे । भावभङ्गिमा द्विविधाग्रस्त थियो । उनीहरूको ‘अनोखा’ र ‘सन्दिग्ध’ व्यवहारले लक्ष्मी सुरुमा त अचम्भित पनि भइन् । तर आफ्नो सुर भने छाडिनन् ।

सरासर पुस्तक पसलतिर लागिन् । केही पाइलामात्रै अघि बढेकी थिइन्, दुवैले उनैलाई पो पछ्याउन थाले ! 

पुस्तक पसलतिर पुग्न २० गज पनि बाँकी थिएन होला, अचानक ती हतास युवतीले गति तीव्र बनाइन् । र, कुम ठोक्न आइपुगिन् । 

अनायास धक्का बेहोरेपछि लक्ष्मीको होसहवास गुम्यो । मौका छोपिरहेकी सन्दिग्ध युवतीले भर्खरै बियरको बोतलबाट खन्याएको झोलिलो पदार्थ लक्ष्मीको अनुहारमा छ्याप्प.. छ्यापिदिइन् । आवाज निस्कियो– छपाक !

१५ वर्षीया लक्ष्मीले भेऊ पाउनै सकिनन् । अनुहारमा के खन्याइयो ? नजिकैको पसलमा समोसा तारिहेको तातो तेल हो या अमुक भट्टिमा भकभकी उम्लिएको पानी !

भुङ्ग्रोमा परेको माछाजस्तै उनी सडकमा बजारिइन् । पलभरमै शरीरबाट धुवाँको मुस्लो छुट्यो ! अतिशय जलन भयो । बाटामा आर्तनाद छायो ।

व्यस्त नयाँ दिल्लीको सडकमा ओहोरदोहोर गर्नेहरूको ताँती थियो । तैपनि उद्धार गर्न कोही अघि सरेन ।

आर्त लक्ष्मीले प्राणको याचना गरिरहिन् । वातावरणमा गगनभेदी चित्कार छाइरह्यो । बटुवाहरू कोही नजिक परेनन् । बरु परपरै बसेर ‘रमिते’ बने ।

धन्न ! एकजना वयोवृद्धको आँखा परेछ । उनले तुरुन्तै आफूसँग बोतलमा रहेको पानी खन्याइदिए । आधा बोतल पानीले डाह कसरी शमन हुन्थ्यो ! झनै तड्पिइन् ।

उनै वृद्धले एम्बुलेन्स, प्रहरीलाई बोलाएर अस्पतालसम्म पुर्‍याउन मद्दत गरे ।

त्यसपछि सुरु भयो लक्ष्मीको तेजाबसँगको सङ्घर्ष । 

गाउँघरतिर नइमलाई गुड्डा पनि भन्थे । अक्सर लक्ष्मी पनि नइमलाई गुड्डा नै भनेर बोलाउँथिन् । 

गुड्डा र लक्ष्मीको चिनजान लामो होइन । अढाइ वर्षमात्रै भएको थियो लक्ष्मीले उनलाई राम्ररी चिनेको । नइमकी बहिनी लक्ष्मीको समवयी थिइन् । मनमुटु गाँसिएकी । अनन्य सहेली ।
करिब १० महिनाअघि लक्ष्मीभन्दा दोब्बर उमेरका नइमले विवाहको प्रस्ताव लिएर आएका थिए ।

लक्ष्मीले इन्कार गरिन् । लक्ष्मीलाई अझै पढ्नु थियो । १५ वर्षको उमेरमै घरगृहस्थीतिर धकेलिनु थिएन । सपनाहरू सिर्फ बुहारीको भूमिकासँग साट्नु थिएन । छोरीको नाइँनास्तीका अगाडि परिवारको केही जोड चलेन ।

लक्ष्मी त पन्छिइन्, तर नइम कहाँ हट्न मान्थे र सजिलै ! उनले पिछा छाड्ने सङ्केत दिएनन् । बरु अनेक मानसिक प्रताडना दिन थाले ।

२० अप्रिलको रात नइमले मोबाइलमा म्यासेज पठाएका थिए, “तिमी अघि बढ्न चाहन्छौ होइन ? आमा–बाबुको नाम चम्काउने योजना पनि छ क्यारे !”

१५ दिनअघि पनि नइमले मोबाइलमै माया गर्छु भन्दै म्यासेज छाडेका थिए । जवाफ नपाएर छटपटिएका नइमले पुनः सन्देश प्रवाह गरेका थिए, “मलाई अहिले नै जवाफ चाहियो !”

प्रेम अस्वीकार गरेको निहुँमा तेजाबको आगामा खाक हुनुपर्छ भन्ने लक्ष्मीलाई के थाहा ? के थाहा नइमको माया प्रेम होइन तेजाब हो र जीवनभर पोलिरहने छ भनेर !

नइमको तेजाबको ‘छपाक’मा उनको तन–मन र भर्खरै पल्लवित तथा पुष्पित हुँदै गरेको यौवन स्वाहा भयो । सपनाको उरुङमाथि एकाएक डढेलो सल्कियो ।

लक्ष्मीका लागि तेजाब, कानुन र समाज एकै थिए । हरबखत यिनले जलनमात्रै दिन्थे । तेजाब, कानुन र समाजसँगको लडाइँमा उनले सुस्तसुस्त सफलता प्राप्त गर्दै गइन् ।

डढेलोले खाएको वनमा पालुवा पलाउँछ, मान्छेको मन पनि फेरिन्छ, हरियो हुन्छ । सपनाको मञ्जरी छाउँछ । जीवनले काँचुली फेर्छ । 

मेघना गुल्जार निर्देशित र दीपिका पादुकोण निर्माण–अभिनित चलचित्र ‘छपाक’ले उनै लक्ष्मीको विदारक कथा वाचन गरेको छ । लक्ष्मीको भूमिका निर्वाह गरेकी छन् उनै पादुकोणले ।

तेजाब, कानुन र समाजसँगको सङ्घर्षबाट लक्ष्मीले कसरी त्राण पाइन् र जीवनलाई उज्यालोतिर डोर्‍याइन् भनेर जान्न खोज्नेहरूलाई छपाक चलचित्र मात्र होइन, समाजको कुरुप ऐना पनि हो । जहाँ तेजाबले खाएको अनुहार छ्याङ्ग देखिन्छ । ‘छपाक’ भित्र तेजाबले सल्काएको आगोमात्रै छैन, आगोपछिको जीवनको सुनौलो आभा पनि सन्निहित छ ।

पानी ओह्रालो झर्छ, व्यभिचार र दूराचारको वेग उकालो चढ्दो रहेछ । भारतमा सल्किएको तेजाबको आगाले हामी छिमेकमा बसेकालाई पनि प्रताडित तुल्याइरहेको छ । कहिलकाहीँ त यसले उत्तरपन्थी बाटो अगाँलेको पनि प्रतीत हुन्छ । 

आगो र राजनीतिको फैलावटलाई कुनै पर्खालले छेक्न सक्दैन । खुला सीमा हुँदै फैलिएको तेजाबको डढेलोले हाम्रो सम्झना दासको जीवन भष्मखरानी तुल्याइसकेको छ । विन्दवासिनी कंशाकार, सङ्गीता पुलामी मगर, सीमा बस्नेत, जेनी खड्का, सुस्मिता दास, वसन्ती परियार र मुस्कान खातुनहरूको मुस्कानमा बुलडोजर चलाइसकेको छ ।

छपाकका शीर्ष पुरुष पात्र संवाद बोल्छन्– “भारतको कानुनमा तातो चिया र तेजाब खन्याउनु एकै हो, ऐनमा दुवैलाई उत्तिकै सजाय निर्धारण गरिएको छ ।” कहाँ चिया कहाँ तेजाब ? तर दुवैको दुरुपयोग गर्नेलाई समान सजाय ? कस्तो कानुन ? कस्तो काइदा ?

लामो कानुनी लडाइँ र सङ्घर्षपछि छपाकमा मालतीले तीन लाखको मुआब्जा (क्षतिपूर्ति) पाउँछिन् । अपराधीलाई १० वर्षको काराबास तोकिन्छ ।

नेपालको कानुनी अवस्था त झन् उदेकलाग्दो छ । यहाँ तेजाब छ्याप्ने अपराधलाई सरकारले साइबर बुलिङजत्तिको पनि कसुरदार ठान्दैन । 

फौजदारी अपराध संहिता– २०७४ को दफा १९३ अनुसार तेजाब छ्याप्ने अपराधीले कसुरको प्रकृति हेरेर अनुहार कुरूप पारेमा पाँच वर्षदेखि आठ वर्ष कैद र एकलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिबाना तोेकेको छ । 

शरीरको अन्य अङ्ग कुरूप तुल्याएमा, पीडा पुर्‍याएमा तीनदेखि पाँचवर्षसम्म कैद र पचास हजारदेखि तीनलाख रुपैयाँसम्म जरिबाना निर्धारण गरेको छ ।

संसद्मा विचाराधीन सूचना प्रविधि विधेयकमा साइबर बुलिङ (कसैले विद्युतीय प्रणालीको प्रयोग गरी निरन्तररूपमा हैरानी गर्ने, जिस्क्याउने, होच्याउने, हतोत्साहीत गर्ने, अपमान गर्ने, हप्काउनेजस्ता कार्य) गरेमा १० लाख रुपैयाँसम्म जरिबाना र पाँचवर्ष कैद अथवा दुवै सजाय हुने व्यवस्था छ ।

सङ्गीता–मुस्कानहरूलाई तेजाबले भन्दा फौजदारी संहिताले बढ्ता पिरोलेको छ । कानुन निर्धो हुँदा समाजमा अरू थुप्रै छोरीहरूले आफ्नै नियति भोग्नुपर्ने भो भन्ने चिन्ताले भयग्रस्त तुल्याइरहन्छ उनीहरुलाई ।

मेघनाले परिकल्पना गरेका दृष्यभन्दा निकै गहिरो हुन्छ तेजाबको घाउ । र त, छपाकले पनि समेट्न सकेको छैन तेजाबको सदैव आलै रहने दर्द । मृत्युतक नटुङ्गिने पट्यारलाग्दो कानुनी लडाइँ । 

तेजाबपीडितको अपरिमित चित्कार, क्रन्दन र हृदयाग्नि सायदै चलदृष्य र कुनै सिनेमामा वाचित हुन सक्छ ! अझ चलचित्रसम्म आइपुग्दा तेजाबको मूलचित्कारमाथि व्यावसायिकताको लेप लागिसक्छ ।

तथापि, महिलालाई ‘उपभोग्य वस्तु’ ठान्ने भोगी नजरले मात्रै हेर्ने भारतीय चेतका सामु पादुकोणको प्रयास आफैंमा प्रशंसित छ ।

छपाकमा प्रतिध्वनित तेजाबपीडितको चित्कार सुनेर भारतका कतिपय राज्यले तेजाब बिक्रीमा कडाइ गर्न थालेका छन् । कतिपय राज्यका सरकार प्रमुखले तेजाबमा जल्दै–बल्दै गरेका आफ्ना छोरीहरूको अकिञ्चन अनुहार झलझली देख्न थालेका छन् । बिक्रीमा पूर्णतया प्रतिबन्ध लगाएका छन् । उत्तराखण्ड सरकारले तेजाबपीडित महिलालाई निवृत्तिभरणको वचन दिएको छ ।

यति हुँदाहुँदै पनि भारतीय सत्ताको मूलचरित्र भने उदाङ्गिन छाडेको छैन । पुस २० गते जवाहरलाल नेहरू विश्व–विद्यालयमा भएको हिंसात्मक हमलाविरूद्ध ऐक्यवद्धता जनाएपछि दीपिका केन्द्रीय सत्ताको आँखाको तारो बनेकी छन् । 

उच्च न्यायालयले प्रदर्शनमा रोक लगाउने फैसला सुनाएपछि दिल्लीका सिनेगृहमा छपाकको पीडा प्रदर्शित हुन पाएको छैन  । दर्शकले छपाकमा छचल्किएको आँसु हृदयङ्गम गर्न पाएका छैनन् ।

हामीकहाँ पनि भारतको भन्दा भिन्न अवस्था होइन ।

वीरगञ्जकी मुस्कान खातुन ६ महिनादेखि मृत्युसँग मुकाबिला गरिरहेकी छन् । भदौ २० गते स्कुल जाँदै गर्दा वीरगञ्ज महानगरपालिका–४, बिर्ताचोकमा सांसद आलम र मजिद मियाले तेजाब छ्यापिदिएकाले उनको अनुहारबाट मुस्कान अलप भएको छ । हरबखत चित्कार र क्रन्दनमात्रै ध्वनित भइरहेको आभास हुन्छ ।

‘छपाक’मा शीर्ष पात्र मालतीले शैल्यक्रियापश्चात् कानमा झुम्का ‘लड्काइन्’ । तेजाबले दायाँ कान ठुट्याएकाले मुस्कानको त्यो सपना सायदै तङ्ग्रिनेछ । १४ वर्षमै सपना छिमलिएकाले सायदै उनी हँसमुख लिएर समाजमा हिँडडुल गर्न सक्छिन् !

कीर्तिपुर अस्पतालको शैय्यामा तड्पिइरहेकी मुस्कानको भग्न अनुहारमाथि हाम्रो सिनेकर्मीको नजर पर्न मुस्किल छ । आदिम मूल्य–मान्यता र परम्परावादी फेरो समात्दै आएका सिनेकर्मीहरूले मुस्कानको पीडा सायदै समात्ने हिम्मत गर्लान् ।

छपाकको डिस्कोर्सबाट सिनेमा मात्र होइन राजनीति र समाज पनि कोशौं टाढा छ । राजनीतिले सम्झना दासको तड्पाइ र सङ्गीताको रुवाइ महसुस गथ्र्यो भने सदनले चुपचाप फौजदारी अपराध संहिता पारित गर्ने थिएन । गुठी विधेयकको प्रतिवाद गर्ने काठमाडौंको सडक तेजाबको कसुर निर्धारण गर्ने बेला मौन सुनिने थिएन ।

तेजाबको कसुरमा कठोर आवाज उठाउनुपर्ने समाजको अनुहारमा कहिले भावुक अतिरञ्जना देखिन्छ । कहिले त्यसैत्यसै बहकिदिन्छ । समाजको बहकाइ, तेजाबको जलनसँग समानान्तर रूपमा जुधिन् सङ्गीता ।

मेरा केही समाज व्यवस्थाले ‘दलित’ थमाएकाहरू साथी छन् । कार्यक्षेत्र एकै भएकाले सँगै भाग बस्ने मौका जुर्छ ।

एउटै भागमा खाँदा पनि मभित्र उच्च जातिवादी अहङ्कारले घेरा हाल्दैन । न उनीहरूले मेरो भागमा औंला डोब्दा, ‘खै चिनी लागेको छ कि छैन ?’ भन्दै पिउँदापिउँदैको चिया सुक्र्याउँदा मेरो अभिमान धूलिसात हुँदैन । न मभित्र दफन भइसकेको बाहुनवाद नै जिउँदो रूपमा प्रकट हुन्छ र दमनका खातिर सल्काएको आगोमा होत्रबाट घ्यु थपिएझैं हुन्छ ।

मभित्र निर्जीव अवस्थामा रहेको उच्च जातको अहङ्कारले मुन्टो उठाउन नपाओस् भनेर सहज पारिदिन्छु पनि । 

जब सङ्गीतामाथि खनिएको तेजाबको आगोलाई अछुत प्रेमको विद्रोह चित्रित गरियो, अपराधी जीवन बिकलाई जबरजस्त ‘विद्रोही प्रेमी’को पगरी गुथाउन खोजियो । मुद्दाको यस्तो भड्काव र उच्छृङ्खलताप्रति समभाव देखाइरहन मेरो ब्रह्मले दिएन । 

म हुर्रिंदै सङ्गीता ओत लागेको वसन्तपुरको जीर्ण घरमा पुगेँ । घरजस्तै भग्न थियो उनको हालत । घरभित्र पनि हरियो मजेत्रो ओढेर धुमधुम्ती बसेकी थिइन् । हमेसा शीर निहुर्‍याइरहन्थिन् । मानौं, तेजाबको होइन, ठूलो अपराधपश्चात्को तापले नूर गलेको छ ।

तेजाबले दुवै नाक टालिएकाले प्लास्टिकको पाइपको सहाराले नाकको पोरा खुलाइएको रहेछ । नाकबाट सिँगान होइन, रगत र पीपको धारा छुट्थे । दुवै कानको दुर्दशा नाकको भन्दा पृथक थिएन ।

कोठामा कतै ऐना थिएन । हुन्थ्यो भने उनी प्रत्येकपल्ट आफ्नै अनुहार देखेर तर्सिने थिइन् । तेजाबको घाउ झन् पीडादायी भएर आउने थियो !

मिडियाप्रतिको भरोसा, आशा र विश्वास धर्मराइसकेको रहेछ । मर्माहत हुँदै सोध्थिन्– “किन आउँदा हुन् यी पत्रकार घरीघरी खाटा बसेको घाउको पाप्रा उप्काउन ?” 

पत्रकारका संवेदनाशून्य प्रश्नले उनलाई तेजाबजत्तिकै पोल्थे । मुटुमा जलनको ज्वारभाटा उठ्थ्यो ।

मृत्यु शैय्याबाट फर्किएको दुई दिन पनि भएको थिएन । अनुहारमा शल्यक्रियाको घाउ आलै थियो । प्रत्येकपल्ट शल्यक्रिया गर्दा जीवनको आखिरी दिन प्रतीत हुँदोरहेछ !

आहतको सुस्केरा बिसाउँदै सङ्गीता सुनाउँथिन्– प्रत्येकपल्ट शल्यक्रियारूपी मृत्यु शैय्यामा पल्टनुभन्दा मर्नु नै निको लाग्छ । कम्तीमा यति तड्पनु त नपर्दो हो !

आलो घाउमाथि दौडने औजारले सीधै मुटुमा तात्तिएको झिर रोपिन्थ्यो होला ! सर्वाङ्गमा सुलको सुनामी उठ्थ्यो होला !

यस्तो शब्दमा समेट्न समेत दुरुह, ज्यान लिने अपराधलाई ‘प्रेम’को दर्जा ! अपराधीलाई ‘प्रेमी’को उपमा !

दलनविरुद्ध उठेको प्रतिरोधको हुँकारको पवित्रता र सौन्दर्यमाथि नै तेजाब छ्यापिएको अनुभूत भयो, मलाई ।

तेजाब अपराधलाई प्रेमसँग जोडेर जब गङ्गा उल्ट्याउन कोसिस गरिन्छ त्यतिबेला घाउभित्र पिल्सिएकी वसन्ती परियारको खण्डहर अनुहार मेरो आँखामा चलचित्रझैं फन्को मार्न थाल्छ ।
मृत्यु शैय्यामा मुढोवत् लडिरहँदा पनि उसलाई मिडियाले झम्टन छाडेन– “तपाईंलाई मन पराउँदो रहेछ नि त ! लाक पो पाएको थियो कि !”

उनलाई भन्न मन हुँदो हो– के प्रेमको नैसर्गिक अनुभूति अपराधको इजाजत हो ? अस्वीकृत हुनेवित्तिकै यतिविघ्न क्रूर हुन पाइन्छ ? हिफाजत गरेको जीवन क्षणभरमै खाक तुल्याउन छुट छ ?

तेजाबको डाहमा तड्पिँदै पलपल मृत्युको सामना गरिरहेकी वसन्तीले कसरी मुख फोर्नु !

वसन्तीको सन्तापयुक्त अनुहार र आहत आँखा हेरिरहँदा लागेको थियो– शरीरमा योनी नहुँदो हो त उनले यस्तो ताडना भोग्नु पर्दैनथ्यो ! नारी देह नहुँदो हो त उनीमाथि आगाको लप्काजस्तो घातक रसायन खनिने थिएन ! आफ्नो रूप आफ्नै काल साबित हुने थिएन !

लक्ष्मीकै पीडा उनको जीवनमा आवृत्त भएको थियो । २०७५ भदौ ८ गते नवलपुरको दण्डाबजारमा सम्साँझै उनीमाथि तेजाब खन्याइएको थियो । त्यो पनि साँध जोडिएका छिमेकी विमल सिर्पाइलीले ।

वसन्तीको हविगत देख्दा आङ सिरिङ्ग हुन्थ्यो । शरीरका रौं ठाडा हुन्थे । अपराधीले छुरा प्रहार गरेर मात्रै चित्त बुझाएको थिएन, अनुहार र आधा शरीर जल्ने गरी तेजाब खन्याइएको थियो । रगतपच्छे भएर सडकमा पल्टँदा पनि गुहार सुन्ने कोही भएन । तेजाब जलन र छुराको चोटले मर्लान्त पर्दा पनि उनले संवेदनशून्य समाजको विद्रूप अनुहार मुक भएर हेरिरहन विवश भइन् ।

५० वर्षीय रामबाबुले १७ वर्षीया सम्झनालाई प्रेमको आँखाले हेर्छ कि शारीरिक आशक्ति ? यति पनि खुट्याउन नसक्नेहरूले नै समाजमा आपराधिक मनोवृत्तिलाई टेवा दिइरहेका छन् । तेजाब बाँडिरहेका छन् ।

प्रेमको रसायन प्रेमिल हृदयको उपज हो । तर तेजाब विषाक्त चिन्तनको उपज । ‘छपाक’ले भनेझैं दिमागमा नाइट्रिक र हाइड्रोक्लोरिक सल्फ्युरिक एसिड नघोलिई मानिसले तेजाब खन्याउनै सक्दैन । तर समाजले आपराधिक मनोवृत्तिलाई समान्यीकरण गरिदिँदा पुरुषलाई अपराधी बन्ने सहुलियत प्राप्त भएको भयै छ ।

‘छपाक’मै अर्को शक्तिशाली संवाद छ– “तेजाब छ्यापिएका अधिकांश किशोरी–यौवना कि त पढ्न चाहन्थे, कि अघि बढ्न !”

‘छपाक’को यो दृष्य हेरिरहँदा मुस्कानकै दुर्दशाले ताडित तुल्याउँछ ।

शल्यक्रिया कक्षमा बेहोस अवस्थामै उनी बर्बराउँथिन्– “प्लिज डाक्टर ! म पनि डाक्टर नै बन्न चाहन्छु । मलाई बचाउनुहोस् !”

शरीर आहत हुँदा पनि पढ्ने अठोट देखेर चिकित्सकका गह भरिन्थे । अहिले पनि अधमरो शरीर लिएर उनी पढाइकै याचना गरिरहेकी छन् ।

तेजाबको पीडा पछ्याउँदै जाँदा समाजविज्ञानको अर्को दृष्यसँग जम्काभेट हुन्छ ।

नेपालमा जति पनि तेजाबका घटना भएका छन्, पीडित अधिकांश निम्नवित्तका छन् । यो दक्षिण एसियाकै साझा र कुरूप अनुहार पनि हो ।

सीमा र सङ्गीता झोँछेको सरकारी विद्यालयमा प्रवेशिका परीक्षाको तयारी गरिरहेका थिए र विपन्नतासँग सिँगौरी खेल्दै पनि थिए ।

२०७५ भदौ २६ गते रौतहटको चन्द्रनिगाहपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा तेजाब खन्याइएका सम्झना र बहिनी सुस्मिता दास त त्यसदिन भोकै सुतेका थिए । तीजको अघिल्लो रात भए पनि उनीहरूको पेटमा दर परेको थिएन ।

सौतेनी आमासँगै बस्दै आएका दास दिदीबहिनीकी आमा धनमाया मोक्तान उनै छोरीको उज्यालो भविष्य खोज्न आफ्नो खुसी बन्धक राखेर मलेसिया हानिएकी थिइन् । पूर्णचन्द्रजस्ता दुई छोरीमाथि तेजाब छ्यापिएपछि उनी बतासिँदै काठमाडौं आइन् । तर जेठी छोरी बचाउन असमर्थ रहिन् । असोज ७ गते सम्झनाको प्राणपखेरु उड्यो ।

जेनी, वसन्ती र विन्दवासिनीको आर्थिक हैसियत पनि सम्झना–सङ्गीताको भन्दा उम्दा होइन । उनीहरूको त्यही निम्न आर्थिक अवस्थाका कारण अपराधीले फणा उठायो । उनीहरूको आय दर्बिलो हुन्थ्यो भने सरकार र कानुनको पहुँचमा सजिलै पुग्छन् भन्ने ठानेर पनि अपराधी हच्किँदा हुन् ।

वर्गीय समाजमा अपराध पनि वर्गीय हुन्छ । कानुन पनि वर्गीय हुन्छ । मध्यम आयभन्दा माथिल्लो स्तरका या राज्यसत्तामा रहेकाहरूमध्ये कसैको अनुहार डढाइन्थ्यो भने सामाजिक सञ्जाल नियमनभन्दा तेजाब बिक्रीमा प्रतिबन्ध लाग्थ्यो ! तेजाब बजारमा पाइँदैनथ्यो भने कोही महिला यसको सिकारै हुनुपर्दैनथ्यो । 

सरकारको अपराधशाश्त्र पनि बुझिसाध्यै छैन– पोर्न प्रतिबन्ध हुँदा तेजाबमा पहुँच पानी बराबर छ ।

दक्षिण एसियाको कानुन पीडितमैत्री छैनन् । तेजाबपीडितको हकमा त औंस बराबर पनि छैन । विवाहको प्रस्ताव अस्वीकार गरेको कारण हेटौंडाकी विन्दवासिनी कंशाकारलाई २०७० वैशाख ९ गते तेजाब छ्यापियो । ६ वर्षपछि, २०७६ कात्तिक १५ गते अभियुक्त पक्राउ परे । त्यसबीचमा विन्दवासिनीले पाएको पीडा अनिर्वचनीय छ । उनले कसरी तेजाब र समाजले दिने डाहबाट त्राण पाइन् सायदै कसैले अनुमान गर्न सक्छ ! पारिवारको अवसाद त ‘छपाक’को भन्दा झन् त्राशद् छ । पक्राउ परेका भारतीय नागरिक दिलीपराज केशरीले अभियोग स्वीकार गरिसक्दा पनि मुद्दाको फाइल अघि बढेको छैन । सम्झना दासको देहावसान भएको डेढ वर्ष भयो । मुद्दा अझै विचाराधीन छ । मृत्युपश्चात् पनि मुद्दा फैसला नहुने कस्तो कानुन होला भनेर बाबु जादौलाल अहिले पनि पिरोलिन्छन् ।

मुस्कानमाथि तेजाब छ्याप्ने अपराधीहरूको उमेर घटाउन प्रशासन आफैं सक्रिय छ । उमेर घटाउन पाइयो भने सजाय कम हुन्थ्यो भन्ने इरादा छँदै छ । र त, मुद्दा फैसला हुँदा पनि न्याय पाउने आशा छैन । तेजाबपीडितको हकमा अदालतले घाउको खाटा–खत हेरेर फैसला सुनाउँछ । पीडितले क्षतविक्षत मुटु लिएर जीवन बाँच्नुपर्छ । र त, पीडितहरूको समवेत स्वर ‘छपाक’ले बोल्छ, “तेजाबको जलन सहन नसकेर जो मरे, ती असाध्यै भाग्यमानी हुन् । किनकि, तिनीहरूले न्यायका खातिर अदालत धाउन परेन ।

दक्षिण एसियाकै अपराध अध्ययन गर्दा तेजाब छ्याप्ने परका छैनन् । चिनेजानेका, आफन्तीलेले तेजाब छ्याप्ने जस्तो जघन्य अपराध गरेका छन् । ईष्या, द्वेषले भित्रभित्रै राकिँन्छन् र प्रतिशोध साँध्न तेजाबको अस्त्र उज्याउँछन् ।

सङ्गीतालाई पढाउने बहानामा नजिकिएका जीवनले अपराध कर्म गरेका थिए । वसन्ती, सम्झना र सुस्मितालाई छिमेकीले नै तेजाब खन्याएका थिए । सम्झनाको प्राण लिन उद्देश्यले तेजाब खन्याउने रामबाबु अपराध छिपाउन आफैं कुरुवा आएका थिए । जेनीलाई त झन् लोग्ने नै हुँ भन्नेले खाक तुल्याएका थिए ।

तेजाबपीडितको सामाजिक पुनःस्थापना झन् दुरुह छ । विन्दवासिनी भावुक मुद्रामा पीडा पोख्छिन्, “काम खोज्न गयो, अनुहार देखेपछि मुन्टो बटार्छन् । तेजाबपीडिततलाई काम दिन पर्‍यो भनेपछि उनीहरूका नौनाडी गल्छन् ।”

समाजको यस्तैयस्तै व्यवहारबाटआजित भएर होला सङ्गीता–सीमा काम खोज्दै भारत पुगेका छन् । वसन्ती र जेनी घरभित्रै कुँजिन विवश छन् । आरक्षणको आवाज उकास्नेहरू यहाँ पनि मौन छन् । सरकार र कानुन आँखा चिम्लिएर बसेको छ ।

तेजाब बिक्रीमा रोक लागेपछि ‘छपाक’को बिट मारिएको छ । 

हामीकहाँ उज्यालो हुन अझै बाँकी छ ।


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ४, २०७६  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC