हालैको अमेरिका र इरानबीचको विवादका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्डले उनी इरानका ५२ ठाउँमा बम हान्न तयार रहेको ट्विट गरे । (धेरै वर्ष पहिले इरानले ५२ जना अमेरिकीलाई बन्धक बनाएकाले ५२ ठाउँ भनिएको हो ।) उनले ट्विटमा यीमध्ये केही ठेगानाहरू ‘इरानी संस्कृतिका लागि महत्त्वपूर्ण’ पनि हुनसक्ने भन्दै इरानको राष्ट्रिय सम्पदा क्षेत्रमा आक्रमण गर्न इच्छुक रहेको संकेत गरेका थिए ।
ट्रम्पको ट्विटले बताउँछ उनको सम्पूर्ण इरान नीति अतीतमा आधारित छ । मानौ, अहिले गरिने कारबाही धेरै वर्ष पहिले लागेको घाउको उपचार हो । त्यसो हो भने उनको प्रशासन र इरानी शासन दुवैमा अतीतमा लागेका यथार्थ र भावनात्मक चोट सम्झेर बस्ने प्रवृत्ति साझा रहेको देखिन्छ ।
इरानीहरू र कतिपय अरूले पनि सन् १९५३ मा भएको सैनिक विद्रोहमा लोकतान्त्रिक पद्धतिबाट निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसाद्देघलाई अपदस्थ गरी मोहम्मद रेजा शाह पहल्वीको अधिनायकवादी शासन ल्याउन अमेरिकाको हात भएको भन्दै आएका छन् । शाह पहल्वीलाई सन् १९७९ को इस्लामी क्रान्तिले अपदस्थ गरेको थियो । यसैगरी सन् १९८० को दशकमा इराकले इरानसँग गरेको बर्बर युद्धमा अमेरिकाले सद्दाम हुसेनलाई सहयोग गरेको पनि इरानीहरूले बारम्बार सम्झने गर्छन् ।
दुवैतर्फको गुनासो सुन्दा अमेरिका र इरान दुवै इतिहासका बन्धक भएको छापबाट उम्कन सकिँदैन । वास्तविक र काल्पनिक अन्यायकै घेरामा कैद दुवै मुलुकका लागि अगाडि बढ्नै असम्भव भएको छ । इरानमा अमेरिका अझै पनि ‘ठूलो सैतान’ रहेको छ भने अमेरिकी विदेश नीतिको संस्थापनका लागि उस्तै खराब विध्वंंशकारी रहिरहेको छ ।
यी दुवै मुलुकबीच केही साँच्चिकै विवादका विषयहरू रहेका छन् तापनि अमेरिका – इरान द्वन्द्व विवेकको सीमिा धेरै पहिले नै भंग गरिसकेको छ । दुवै मुलुकको आन्तरिक राजनीतिका स्वार्थका कारण यो विवाद कायम रहनेछ । यस्तो स्पष्ट देखिने शत्रुका विरुद्ध जनतालाई उकास्न पाइने हुनाले यसबाट इरानी कट्टरपन्थीहरूलाई फाइदा भएको छ । हालैका वर्षहरूमा तनाव बढ्दै गएसँगै उनीहरूको स्थिति पनि सुदृढ भएको छ । शासनले अमेरिकी खतराको बहाना बनाएर आफ्ना नागरिकको थप दमन गरेको छ भने त्यस क्षेत्रमा अशान्ति मच्चाएको छ । अमेरिकामा इरानको सत्ता परिवर्तनका लागि उठ्ने प्रत्येक आवाजको विरुद्ध जसरी पनि सत्ताको साथ दिने इरानीहरू छन् ।
यसैगरी केही अमेरिकी पण्डित र राजनीतिक वर्गका कुरा सुन्दा इरानीप्रतिको शत्रुता अमेरिकाको आधारभूत मूल्य हो कि जस्तो लाग्छ । उनीहरूको लक्ष्य सत्ता परिवर्तन हो कि अरू केही हो तर अधिकांश अमेरिकी विदेश नीतिको संस्थापन पक्ष इरान ‘सामान्य मुलुक’ होस् भन्ने चाहना हो भन्ने दाबी गर्छ । तर, के अमेरिकाका क्षेत्रीय सहयोगीहरू साउदी अरेयिबा, इजरायल, टर्की ‘सामान्य मुलुक’ ठहरिन सक्छन् ? अनि अमेरिकी आफ्नै बारेमा पनि के भन्ने ? अमेरिकाको आफूलाई अरूभन्दा विशेष ठान्ने प्रवृत्तिले अरू जे भए पनि ‘सामान्य’ हैन भन्ने देखाउँछ ।
विवेकसम्मत र वस्तुगत दृष्टिकोण अझै सम्भव छ । अहिले सम्भव नहोलाजस्तो लागे पनि दुईपक्षीय सहयोगका प्रशस्त ठाउँ छन् । इरानका नेताहरू लामो समयदेखि उनीहरूको मुलुकको आणविक कार्यक्रमको उद्देश्य शान्तिपूर्ण रहेकोमा जोड दिँदै आएका छन् । तर, इरानको विगतको व्यवहारका आधारमा उनीहरूको दाबीमा विश्वास गर्नुभन्दा पहिले उसको आणविक कार्यक्रमको अन्तर्राष्ट्रिय निरीक्षण पद्धतिको आवश्यकता स्पष्टै देखिन्छ । सन् २०१५ को संयुक्त विस्तृत कार्ययोजना जहाँ रोकिएको थियो त्यहीँबाट सुरु गरेर वार्ता अगाडि बढाउने कार्यलाई असम्भव रूपमा हेरिनु हुँदैन ।
यसबाहेक इराक र अफगानिस्तानमा स्थिरता कायम राख्नु पनि दुवै मुलुकको महत्त्वपूर्ण चासोको विषय रहेको छ । अमेरिका यी दुवै मुलुकहरू इरानका अनुयायी होउन् भन्ने चाहँदैन भने इरानीहरू ती मुलुकहरू आफ्नो राष्ट्रविरुद्ध आक्रमणको आधारभूमिका रूपमा प्रयोग नहुन् भन्ने चाहन्छन् । यी लक्ष्यहरू परस्पर विरोधी हैनन् बरु यथार्थमा सही कूटनीतिबाट दुवै पक्षको प्राथमिक उद्देश्य हासिल गर्न सकिन्छ ।
बृहत् खाडी क्षेत्रमा सशक्त सुरक्षा संरचनाको विकास पनि अमेरिका र इरानको साझा चासोको विषय रहेको छ । हालका महिलाहरूमा खाडी मुलुकहरूले इरानसँग रणनीतिक तनाव शिथिलताका लागि आह्वान गरिरहेका छन् र साउदी अरेबियाले समेत वार्ताको इच्छा प्रकट गरेको छ । केही कूटनीति प्रयासहरू थालिएका पनि छन् । ब्यालिस्टिक क्षेप्यास्त्रका सम्बन्धमा क्षेत्री सम्झौता हालका वार्ताहरूको राम्रो प्रस्थान बिन्दु हुनसक्छ ।
अझ विस्तृतरूपमा अमेरिका र इरान तथा तिनका मित्रहरू एवं सहयोगीका बीचमा क्रमिकरूपमा तनाव शिथिल हुँदै गएमा सबैलाई भविष्यमा आआफ्ना प्राथमिकतामा केन्द्रित हुने अवसर हुनसक्थ्यो । यस क्षेत्रका इरान, साउदी अरेबिया र अरू कतिपय मुलुकमा मानव अधिकारको रक्षासँगै तिनको आर्थिक र राजनीतिक पद्धतिको उदारीकरण गरिनु आवश्यक छ । तर, प्रत्यक्ष द्वन्द्वको वातावरणमा त त्यसो हुनसक्तैन । द्वन्द्व जति लम्मिदै जान्छ यी मुलुकहरूमा दीर्घकालीन रचनात्मक सुधारको सम्भावना पनि उति कम हुन्छ ।
इरान र अमेरिका आआफ्नो इतिहासको बन्धक रहुन्जेल क्षेत्रीय स्थिरता जोखिममा रहनेछ । तिनले जति छिटो भविष्यतर्फ हेर्न सक्छन् उत्तिकै सबैको हित हुनेछ । फलदायी सहयोगका लागि थुप्रै साझा आधारहरू छन् । कसैले एक पाहिला अगाडि बढाएर त्यसका कुनै खतरा नभएको देखाउनु भने जरुरी छ ।
(स्विडेनका पूर्वप्रधानमन्त्री )
(बाह्रखरी र प्रोजेक्ट सिन्डिकेटको सहकार्य)
Copyright: Project Syndicate, 2020.