काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले विमानस्थलको सुरक्षामा खटिने प्रहरीलाई जिम्मेवारीमा रत्तिभर नचुक्न निर्देशन दिएका छन् । विमानस्थलस्थित प्रहरी कार्यालयमै पुगेका पोखरेलले कानुनको पूर्ण पालना गर्दै जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका हुन् ।
डीआईजी पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको सुरक्षामा खटिने एसएसपीदेखि जवानसम्म सबैलाई सामूहिक रुपमै निर्देशन दिए । उनले भने, ‘‘विमानस्थलको सुरक्षा निकै सम्वदेनशील विषय हो । जाँचमा मानवअधिकारमैत्री व्यावहारमा कहीँ नचुकौं । तर, जाँचमा कुनै कसर भने बाँकी नराखौं ।’’
उनले कानुनले बर्जित गरेका सबै गतिविधिमा कठोरता साथ प्रस्तुत हुन निर्देशन दिए । विमानस्थको सुरक्षा व्यवस्था कमजोर हुँदा आपराधिक मानसिकता भएकाहरुले फाइदा उठाउनेतर्फ सचेत रहन पोखरेलले आग्रह गरे । विमानस्थलको सुरक्षाले अन्तर्राष्ट्रिय स्तरमै प्रहरीको पहिचान बढाउने भन्दै त्रुटिरहित सेवा प्रदान गर्नुपर्ने उनको भनाइ छ ।
डीआइजी पोखरेलले प्रहरी आचरण र व्यावहारमा कमजोरी पाइए कारबाही गर्ने चेतावनी समेत दिए । गायिका आस्था राउतको जाँचको विषय चर्चामा रहेका बेला डीआइजी पोखरेल विमानस्थल पुगेका हुन् ।