काठमाडौं । नेपाल भ्रमणमा रहेका आठ भारतीयको निधनप्रति परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले दु:ख व्यक्त गरेका छन् । उनले मंगलबार ट्विटर्माफत नेपाल भ्रमणमा रहेका आठ भारतीय पर्यटकको निधनको खबरले आफू स्तब्ध भएको जनाएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्, "होटेलको कोठामा निसास्सिएर बालबालिकासहित आठ भारतीयको मृत्युको खबरले स्तब्ध भएको छु । म भारत सरकार, भारतीय जनता र ज्यान गुमाएका आफन्तजनामा समवेदना व्यक्त गर्दछु ।"
यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले पनि ट्विटमार्फत उक्त घटनाप्रति दु:ख व्यक्त गरेका थिए । उनले नेपालस्थित भारतीय दूतावासले उक्त घटनालाई पछ्याइरहेको जनाएका छन् ।
उनले ट्विटमा लेखेका छन्, "दूतावासका अधिकारीहरु अस्पतालमै खटिएका छन् र आवश्यक सहयोग प्रदान गरिरहेका छन् । हामी उक्त घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।"
मकवानपुरको दामनस्थित पानोरोमा रिसोर्टमा सोमबार राति बेहोस भएर मृत्यु भएका आठजना भारतीयको निधन भएको थियो । उनीहरु एकै परिवारका सदस्य भएको प्रहरी प्रवक्ता डिआईजी शैलेश थापाले बताएका छन् ।
कोठामा हिटर बाली सुतेको अवस्थामा बेहोस भएका उनीहरुलाई कैलाश एयरको हेलिकप्टरबाट काठमाडौंस्थित हेम्स अस्पताल ल्याइएको थियो ।
मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना,५ वर्षीय बैशनव र ९ वर्षीया बद्रा कप छन् ।