“पेटमा भएको बच्चा नफ्याँक्ने हो भने आमा र बालक दुवैको ज्यान खतरामा पर्न सक्छ !” चिकित्सकले खुइया काढेपछि परिवारको अनुहारमा ग्रहण लाग्यो ।
चार सन्तानकी आमा लक्ष्मीदेवीका आँखा जलमग्न भए । बाबुका गह भरिए ।
बच्चा पेटमा आएदेखि तारन्तार रगत बगिरहँदा आमाको शरीर जीर्ण थियो । सन्तान नजन्मिने हो कि भन्ने चिन्ताले मन विदीर्ण पनि । र, पनि बेलाबखत लक्ष्मीदेवीलाई लागिरहन्थ्यो– पेटमा जन्मने बच्चा केही ‘खास’ छ । चिकित्सकले आग्रह गरे पनि यसलाई फ्याल्नु हुँदैन ।
जस्तै विपद्मा पनि आमाको जीजिविषा चर्को थियो । जस्तै कष्ट बेहोर्छु तर यो पेटको बच्चालाई जन्म दिएरै छाड्छु भन्ने अठोट लिइन् । शरीर सेताम्य थियो । कोषहरू शिथिल थिए । अनुहार फुंग उडेको कमेरोजस्तो थियो । र, पनि असाधारण प्रसव चोट सहने साहस बटुलिन् उनले ।
बच्चा जन्माउँदा आमाको स्वास्थ्यमा प्रतिकूल असर पुग्ने भएर चिकित्सिकले औषधि र सिरिन्ज प्रयोग गर्न खोज्थे । “नाइ, म पीडा खपेरै मेरो सन्तानलाई जन्माउँछु !” लक्ष्मीदेवीले इन्कार गरिरहन्थिन् । र, जन्मिए उनी– नवराज पराजुजी !
कान्छो सन्तान जन्मिँदा लक्ष्मीदेवीले अतिशय दुःख खप्नुपर्यो । अथाह रगत बगाउनु पर्यो । चुहिएको रगतको कुनै हिसाब छैन । आँगन, पिँढी, मझेरी लिप्न पुग्नेजति, शायद !
मानौँ, उनी पराजुली परिवारका लागि मात्र ‘गिफ्ट’ थिएनन् । नेपाली साहित्यले बहुआयामिक कविका रूपमा पाएको स्वर्णीम उपहार पनि । तिनै कवि, जसले कविताकै माध्यमबाट मानिसको मथिंगल हल्लाइरहेका छन् । मानिसको शरीरमा काँडा उमारिरहेका छन् । र, भर्खरैमात्र ‘सगरमाथाको गहिराइ’मार्फत सर्वत्र छाएका छन् ।
० ० ०
झापाको जलथल मंगलरबारेमा जन्मिएका हुन् नवराज । एक झर पानीमै थल जलमग्न हुने भएकाले उक्त ठाउँको नाउँ नै जलथल रहन गएको रे ! कालो, बाक्लो दाह्री सुम्सुम्याउँदै सुनाए उनले ।
उनको अध्ययनारम्भ झापामै भयो, १ देखि स्नातकसम्म । सामान्य सरकारी शिक्षालयमा । स्नातकोत्तर गर्नचाहिँ झापाबाट काठमाडौं हानिए उनी । परिवारको कान्छो छोरो, मायाले पुलकित हुने नै भए ।
नृत्यका सौखिन उनी । रेडियोमा गीत बज्दा होस् या विद्यालयमा सांस्कृतिक कार्यक्रम हुँदा– उनका हात गोडाहरू चलायमान हुन्थे । शरीरमा एकप्रकारको झंकार उत्पन्न हुन्थ्यो । नाचूँनाचूँ लाग्थ्यो । शिक्षकहरूले ‘नाच न त !’ भनेर हौस्याए पनि । उनी स्वयंको रुचि पनि त्यतै थियो । पेशेवर ढंगले नृत्य सिक्छु भनेर बिर्तामोडका सडक, गल्ली नचहारेका होइनन् । तर, उनी नर्तक बनेनन् ।
किन त ?
यसको भित्री पाटो उधिने उनले । उनी पढ्नमा तिलस्मी थिए । पढ्न असाध्यै मन गर्ने बानी थियो । उनी केही समय मावल बसेर अध्ययन कार्यमा लिप्त भए । मामाहरू भन्थे– यस्तो राम्रो पढाइ भएको मान्छे, कहाँ नाच्नतिर लाग्छन् ? खुरु–खुरु पढ्नु पो पर्छ त ।
त्यसपछि उनी आफैँ हच्किए । नाच्ने रहर मुर्झाउँदै गयो ।
सानै कुराले उनलाई दिक्क बनाउँथ्यो । फिल्म हेर्न जान्थे तर दोहोरिरहने संवादहरूले वाक्क लगाउँथ्यो । सोच्थे– यसलाई त फरक तरिकाले भन्न पनि त सकिन्थ्यो नि ! किन एकै प्रकारले उच्चारण गरिरहेको होला ?
सानामा कसैले उनलाई सोध्थ्यो– तिम्रो नाम के हो ? तर उनी फरक तरिकाले उत्तर दिन्थे । जन्मस्थान, नामथर र वतन खुल्ने गरी अन्त्यानुप्रास मिलाएर कवितात्मक उत्तर दिन्थे–
झापा जिल्ला, मेची अञ्चल, मंगलबारे गाउँ
पराजुली थर नवराज हो नाउँ !
उनको जवाफ सुनेर ‘केटो त तगडा रहेछ !’ भन्दै बाटो लाग्थे ती ।
अरुले गरेजस्तो गर्न उनलाई कहिल्यै मन परेन । अरुभन्दा म भिन्न हुँ भन्ने लागिरह्यो ।
उनका बुवा खुङ्खार किसान हुन् । “बुबाको ५० वर्ष हलो जोतेको गौरवपूर्ण इतिहास छ, अनुभव छ,” उनले सगर्व सुनाए ।
बुवाकै सम्झनामा उनले ‘बुबा’ शीर्षकमा कविता लेखेका छन्, जसको एक पंक्ति सुनाए पनि–
आफ्नो हातले पहाड उचाल्न सक्ने उमेरदेखि
त्यही पहाडबाट बग्दै आएको पानी आफ्नै हत्केलामा नअडुन्जेलसम्म
हलोको अनौ र तपाईंबीच लडाईं चलिरहँदा
हलोको अनौमै छापिइसके होला है बुबा तपाईंका हातका रेखाहरू
ज्योतिषलाई के देखाउनुहुन्छ ? हात कि अनौ ?
घरमा एउटा किताब थियो– गुणरत्नमाला । त्यहाँ मीठा–मीठा ज्ञानगुनका कुरा, नीतिकथाहरू थिए । आमाको मृत शरीर तुलसीको मठ अघिल्तिर सुताएको र छोरीले शवको छेउमा बसेर आलाप–विलाप गरेको असाध्यै कारुणिक कथा बाबु बारम्बार वाचन गर्थे । प्रत्येक रात सुत्नुअघि उनीहरू ध्यानपूर्वक सुन्थे । एउटै कथा बारम्बार सुन्दा पनि आँखा ओभानो हुँदैनथे । रोक्न खोज्दा पनि आँसु चुहिन्थ्यो । “त्यतिबेलैदेखि नै मैले कवित्व ग्रहण गरिसकेको रहेछु ! कवि गुण पसिसकेको रहेछ ममा !” उनी सम्झिन्छन् ।
उनलाई दुःख असाध्यै मन पर्छ । पीडाले शान्त, स्निग्ध तुल्याउँछ । कवि मनको सूत्रपात त्यहीबेलादेखि भएको ठान्छन् उनी ।
बाल्यवस्था पार गरेपछि ‘मुनामदन’ले उनलाई त्यसैगरी छोयो । ‘मुनामदन’बाट यतिसम्म प्रभावित भए कि उनी त्यस्तै अनुप्रास मिलाएर ‘मुनामदन’जस्तै अर्को गीति कविता तयार पार्न थाले । बुहारी कतै जान लागेको र सासूले रोक्दै गरेको कथालाई कवितात्मक लयमा ढाल्न थाले । पछि त्यो कता पुग्यो, उनलाई थाहा छैन ।
स्नातक तहमा पुगेपछि उनमा गजलको भूत सवार भयो । त्यसो त झापामै हुँदा उनले खुब गजल लेख्थे । ‘क्या दामी !’ साथीहरूको तालीमा हौसलाका प्रतिविम्बहरू छरपस्ट हुन्थे । काठमाडौं आएपछि गालिब आदिका गजल सुन्न थालेपछि उनी आफैंलाई लाज पो लाग्न थाल्यो । गजल लेख्छु भन्नै छाडे । रदिफ र काफियाचाहिँ मिलेको तर पूर्ण गजल भन्न नमिल्ने पो रहेछ उनको । त्यसो त कीर्तिपुर पढ्दा उनले गजल वाचन गरेर विभिन्न पुरस्कार नजितेका पनि होइनन् । गजलबारे बुझ्न थालेपछि ती फिक्का लाग्यो उनलाई । र, थाँती रह्यो गजलयात्रा ।
० ० ०
०६८ या ०६९, साल यकिन भएन । गुरुकुलमा कवि मनु मञ्जिलको एकल कविता वाचन भएको थियो । गजलको बन्धन, अनेकखाले नियमले आफूलाई खुम्च्याएको प्रतीत भएको थियो उनलाई । सिर्जनामा चराझैं खुल्न, उडान भर्न मन पथ्र्यो उनलाई । मनु मञ्जिलको बारेमा उनले खासै सुनेका रहेनछन् । तिनताक उनी नेपालीभन्दा ज्यादा अंग्रेजी कविता सुन्न मन पराउँथे । त्यसदिन एक घण्टा गुरुकुलमा बिताएको पत्तै भएन । त्यतिमात्रै होइन ‘मेरो बाटो त यो पो रहेछ !’ लोचनसमेत छ्यांग खुल्यो उनको ।
“साससमेत फेरेको पत्तो नपाई सुनेँ मैले ! यस्तो आनन्द आयो ! कविता सुनेर नारीका रौं ठाडा भए, शरीर जुरुक्क उचालिएलाझैँ भयो !” उनले सम्झिए ।
मञ्जिलको कविताबाट आह्लादितमात्रै भएनन्, आफूभित्रको कवितारूपी मैन प्रह्लादित पनि भयो । सल्कियो भनौँ ।
उनको कविता लेखन अलौकिक छ । जादूमय छ काव्यिक शैली । शब्द–सौन्दर्यले हृदय छुन्छ । वाचन कौशलले आङ सिरिंग पार्छ ।
कसरी सक्छन् उनी ?
प्रश्न सोधेपछि दुवै हातले टाउको बेस्सरी समाए र धेरैबेर गम खाए । भन्न थाले, “मेरो कवितामा एउटा मियो हुन्छ । त्यसपछि म त्यहाँ पराल बिछ्याउँछु । र, एकहल गोरु बाँधेर दाइँ गर्न थाल्छु । र, आवश्यकता जति पर्छ, पराल ओछ्याउँदै गोरु थप्छु ।”
० ० ०
०६९ सालताका ‘कान्तिपुर’मा एउटा समाचार प्रकाशित थियो– कतारमा एकजना नेपाली ११–१२ वर्षदेखि कोमामा रहेको विषयमा । कोमामा बस्दा सबै खर्च कम्पनीले बेहोर्ने । त्यहाँबाट बाहिर निकाल्दा परिवारले उपचार खर्च बन्दोवस्त गर्न नसक्ने । मूढोझैं ओछ्यानमा पल्टिइरहन अभिशप्त थिए उनी । जीवन र मृत्युको कुनै भेउ थिएन ! त्यो खबर पढ्दा हृदयमा तीर हानेझैँ भयो उनको ! मथिंगलमा प्रश्न उब्जियो– ती दाजुले देशलाई के–के भन्नुहोला ? तिनले कसरी मुख फोर्लान् ? आदि ।
भोजपुरमा उनका मामा थिए । मामाका छोरा थिए, उनी भन्दा दुई वर्ष जेठा । रोजगारीको सिलसिलामा मुलुकबाहिर पुगेका उनको राति ओछ्यानमा सुतेकै ठाउँमा देहान्त भएछ ! शव त्रिभुवन विमानस्थलमा काठको रातो बाकसमा प्याक भएर आएको थियो । पशुपति आर्यघाटमा काठको बाकस खोल्ने बेला उनका मामाको हात थरर्र काम्यो । शवमाथि छाँद हाल्दै, सपनामाझैँ बर्बराउन थाले मामा । बाबुले आफ्नो दिवंगत छोराको खुट्टा ढोगे । त्यो विदारक दृश्यले उनको मन कुँडियो । वातावरणमा स्तब्धता छायो । उनको दिमागमा कतारमा कोमामा रहेका व्यक्ति र आँखा अघिल्तिरका शवको आकृति खडा भयो । र, तुरुन्तै बाहिर आयो, काव्यिक तरंगको रूपमा । त्यसले देशको लागि फटाफट बोल्न थाल्यो । त्यही हो– ‘सगरमाथाको गहिराइ’ कविता !
उनलाई लाग्छ– उनी एक्लै कविता लेख्दैनन् । थुप्रै व्यक्ति एक ठाउँमा भेला भएर, थुप्रैको ऊर्जा मिसिएर काव्यिक भावको रूपमा पोखिएझैँ लाग्छ !
० ० ०
उनी कविता एकै बसाइमा सक्दैनन् । पटक–पटक स्वसम्पादन गर्छन् । शब्दशिल्प र ध्वनिमा उत्तिकै जोड दिन्छन् ।
“कविता सुनाउँदा स्रोता–दर्शकको अनुहारमा शब्द र भावको प्रतिविम्ब उत्रिएको ठान्छु म, त्यो उतार्ने कोसिस रहन्छ मेरो,” आफ्नो काव्यिक जादू हामीलाई पनि सुनाए उनले ।
उनलाई आफूले लेखेका सबै कविता कण्ठस्थ छन् । “कण्ठस्थ त कण्ठ यानेकि घाँटीमा बस्ने कुरा भयो, मेरो त हृदयस्थ छ । हृदयमा अमीट छाप बनेर बसेका छन्,” गलल्ल हाँसे उनी ।
उनको कविता लेख्ने निश्चित समय पनि छैन । ‘ल कविता लेख त १’ कसैले भन्यो भने लेख्न पनि सक्दैनन् उनी । “मसँग अहिले पनि दिमागमा सयौँ शब्दहरू पुतलीझैँ नाचिरहेका छन्, त्यसलाई कवितात्मक ढाँचामा चाहेको बेला ढाल्न सक्ने गरी झुप्पा बनेका छन् !” उनी पुलकित देखिए ।
उनलाई कीर्तिपुर बस्दा दुई ठाउँमात्र याद थिए । पहिलो– गुण सिनेमा हल ग्वार्को । दोस्रो– गुरुकुल नाटक घर, पुरानो बानेश्वर । कारण उनी नाटक र फिल्ममा धेरै रुचि राख्थे । उनले अर्को रहस्य सुनाए– नाटकप्रतिको मोहले नै उनी काठमाडौं हानिएका रहेछन् ! थपे, “मलाई एउटा साथीले सुनायो– काठमाडौंमा एउटा नाटकघर छ, त्यहाँ बिनामाइक, लाइटकै आधारमा नाटक देखाइन्छ । त्यसो सुनेपछि कल्पन थाले र नाटकको लती भए । उनको परिस्कृत कविता वाचनशैली त्यसैको परिणति हो । ‘स्पोकन पोयट्री’मा नाटक र कविताको गज्जबको तालमेल हुन्छ । र, नवराजको काव्यिक जादू त्यसैको स्थूल रूप हो ।
० ० ०
सन् ०१४ मा ‘अल नेपाली स्ल्याम पोयट्री कम्पिटिसन’ भएको थियो, वर्ड वारियरको आयोजनामा । त्यहाँ उनले ‘सतीदेवीको गाण्डिव’ र ‘सगरमाथाको गहिराइ’ कविता वाचन गरेका थिए । त्यो प्रतियोगितामा उनी प्रथम भए ।
हल दर्शकले खचाखच थियो । कविता सुनाएर उनी फर्किंदै थिए । भीडमा थुप्रैले हात समाए, छोडे । तर, एकजनाले उनको हात छोड्दै छोडेनन् । अचम्म ! यसो नियालेको त हात समाउने डा. नवराज लम्साल रहेछन् । लम्साल उनका आदर्श पात्र थिए, उनैका कविता पान गरेर बाल्यकाल व्यतीत भएको थियो । लम्सालको अनुहार सिमखेतझैं थियो, आँखामा सानोतिनो खहरे उर्लिएको ! तीनछक परे– क्या कविता बुझ्नुभएछ ! त्यतिमात्रै होइन, सिंगै कविता उनको अनुहारमा प्रतिविम्बित भएझैँ पो लाग्यो !
लम्साल त्यतिबेला बीबीसीमा पनि आबद्ध थिए । गएर रवीन्द्र मिश्रलाई सुनाएछन्– एकजना नवराज भन्ने भाइ रहेछन्, उनले क्या कविता सुनाए । ‘सगरमाथाको गहिराइ’को अन्तिम खण्ड उनले सुनाएका रहेछन् !
मिश्रले तत्कालै नवराजलाई फोन गरेर कविता पठाउन अनुरोध गरे । नेपाली टाइप नआउने उनलाई कविता रोमनबाट नेपालीमा रूपान्तरण गरेर पठाउन डेढ घण्टा लाग्यो । उनै मिश्रले ‘सगरमाथाको गहिराइ’ फेसबुकमा सेयर गरेपछि कविता भाइरल भयो । र, उदीयमान कविका रूपमा नवराज चिनिए ।
० ० ०
उनका शब्दहरू ग्राम्य हुन्छन् । ग्रामीण जनजीवन, सुख–दुःख, पीडाका प्रतिविम्ब नै हुन् उनका कवितांश ।
तर, ती मुद्दामा आधारित होइनन् । ती त जीवनका सफेद तस्बिर हुन् । नवीनतम विम्ब र बहुआयामिक शिल्पबाट कविता कोर्न रुचाउने नवराज युवापुस्ताका प्रखर कवि हुन् ।
कविता के रहेछ ?
जाँदाजाँदै उनले प्रष्ट्याए, “ब्रह्माण्ड र लेखकको ऊर्जाको अन्तरघुलन नै कविता हो ।”
(आवरण तस्बिर: किशोर कायस्थ÷बुकवर्म फाउन्डेसन)