काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले मंसिरभित्र काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आउने विश्वास व्यक्त गरेका छन् । मन्त्री शाहीले मेलम्ची खानेपानी मंसिरभित्र आउँदैन कि भनेर निराश नहुन पनि सबैमा आग्रह गरे ।
आफूले गरेका कामबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले मेलम्ची खानेपानी काठमाडौं उपत्यकाभित्र दशैंअघि नै ल्याउने प्रयास भइरहेको पनि स्पष्ट पारे । मन्त्री शाहीले खानेपानी जनताको मौलिक अधिकार भएकाले त्यसलाई आपूर्ति नगरी सरकारले सुखै नपाउने पनि स्पष्ट पारे ।
मन्त्री शाहीले कर्मचारी प्रशासन चुस्त नभएकै कारण मुलुकले प्रगति गर्न नसकेको अनुभूति भएको पनि उल्लेख गरे । उनले कर्मचारी प्रशासन जनतालाई सेवा दिन अग्रसर नभईदिँदा सरकारप्रति सर्वसाधारणको गुनासो हुने गरेको पनि स्पष्ट पारे ।