अनावश्यक ठाउँमा बढी लगानी भयो 

अनावश्यक ठाउँमा बढी लगानी भयो 

अभिनेता खगेन्द्र लामिछाने यतिबेला नयाँ चलचिको स्क्रिप्ट लेखिरहेका छन् । निर्माण भइरेको चलचित्र ‘पानी फोटो’ कोरोनाका कारण रिलिज हुन नसकेपछि उनी नयाँ चलचित्रको स्क्रिप्टमा छन् । त्यसअघि उनले आफ्नो नयाँ उपन्यसालाई पनि लकडाउनमा फाइनल टच दिइसकेका छन् । ‘पानी फोटो’को पोस्ट प्रोडक्सनको काम चलिरहेकै बेला उनले उपन्यास र स्क्रिप्टको काम गरेका हुन् । उनै खगेन्द्रसँग कोरोनाको त्रासले सिर्जना गरेको परिस्थितीसँगै नेपाली चलचित्रका आगामी दिनका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानी :

० ० ०
अझै पनि बाहिर निस्किन सहज छैन । दिन कसरी बिताइरहनु भएको छ ? 
मेरो त चलचित्रको काम चलिरहेको छ । पोस्ट प्रोडक्सनको काम अगाडि बढिरहेको छ । उपन्यास लेखेर सकेँ । नयाँ स्क्रिप्ट लेखिरहेको छु । नयाँ स्क्रिप्टको फर्स्ट लाइनअप पनि सकियो । यो चलचित्रको काम सकिएपछि त्यसमा पूरै समय दिनेछु । 

यतिबेला रिलिज भइसक्नुपर्ने सिनेमाको कामै सकिएको छैन । अब त आफ्नै सिनेमा हेर्दा-हेर्दै दिक्क लाग्नेबेला भइसक्यो होला नि ?
त्यस्तो त लागेको छैन । कारण विभिन्‍न फेजको काम भइरहेको हुन्छ । स्कोर हाल्नुअगाडि र पछाडि हेर्दा अर्कै मजा आउँछ । साउन्डको काम भइरहेको छ । साउन्‍ड पछि हेर्दा र मिक्सिङ सकेपछि हेर्दा अर्कै मजा आउँछ । चरण-चरणको मजा लिइरहेको छु । पर्याप्त समय हुँदा सानासाना कुरामा खेल्ने मौका पाएको छु ।

ठूलो लगानीमा बनेका चलचित्र लामो समय होल्ड हुँदा मेकरले कति घाटा बेहोर्नु पर्दोरहेछ ?  
अवस्था सहज भए यति बेला चलचित्र चलिसकेको हुन्थ्यो । चलचित्र चलिसकेको अवस्थामा कि फाइदामा गइसकेको हुने थियो कि घाटामा गइसकेको हुने थियो । अर्को काममा अगाडि बढिन्थ्यो । तर लगानी फ्रिज भएर बस्दा अफ्ठ्यारो हुँदोरहेछ । यद्यपि यो हामीलाई मात्रै होइन संसारभर यस्तै छ । अरुका समस्या हेर्दा त हामीलाई त के नै भएको छ र मान्छेहरुलाई कति ठुल्ठूला समस्या परिरहेका छन् भन्‍ने लाग्छ । यो मानवीय संकट पहिला टरोस् त्यसपछि सिनेमा त हेरौंला नि । 

असोज ५ गतेबाट सार्वजनिक यातायात पनि सञ्चालनमा आउने भयो । तर सरकारले सिनेमाको कुरै गरेको छैन । चलचित्र क्षेत्रलाई सरकारले बेवास्ता गरेको हो ?
सिनेमा हल धेरै मानिस भेला हुने ठाउँ भएकाले जोखिम झन् बढ्छ भनेर पनि नखोलिएको होला । तर मेकर र सिनेमा हल सञ्चालकहरु कसरी हल खोल्ने भन्‍ने विषयमा लागिरहेको भन्‍ने सुनेको छु । केही सम्झौता गरेर दसैंसम्म खोलौं न त भन्‍ने निष्कर्षमा पुग्न सकिन्छ कि भन्‍ने पनि छ । सुरु हुनु पनि पर्छ भन्‍ने लाग्छ तर मान्छेको स्वास्थ्यको कुरासँग जोडिएकाले त्रास पनि उत्तिकै रहेको पनि नजरअन्दाज गर्न सकिँदैन । दुबै पक्ष बसेर कुन मोडालिटीमा जाँदा सिनेमा हल खोल्न सकिन्छ अध्ययन गरेर समझदारीमै अगाडि बढ्नुपर्छ ।

५० प्रतिशत अकुपेन्सीमा चलाउन अनुमति दिएको अवस्थामा मेकरहरु सिनेमा रिलिज गर्न तयार हुन्छन् ?
मेरो त सिनेमा बनिसकेकै छैन । बनिसकेका चलचित्र ५० प्रतिशत अकुपेन्सीमा हल सुरु भएपछि मेकर र हल सञ्चालक बसेर छलफल गर्नुपर्छ । चलाउँदै नचलाउने भन्दा पनि कसरी विस्तारै अगाडि बढ्ने त्यतातर्फको विकल्प खोज्नुपर्छ । दुवै पक्ष बसेर निष्कर्षमा पुग्नुपर्छ । 

५० प्रतिशत अकुपेन्सीमा अहिलेकै सेयर बाँडफाँडमा मेकर सिनेमा रिलिज गर्न तयार हुन्छन् ? 
५० प्रतिशत अकुपेन्सीमा सिनेमा रिलिज गर्दा हल सञ्चालकले पनि कहाँबाट ल्याएर दिन्छन् । सबैलाई अफ्ठ्यारो छ । मेकरलाई पनि ५० प्रतिशत अकुपेन्सीमा चलाउँदा लगानी ठूलो जोखिममा पर्छ । दुवै पक्षलाई कसरी मिलाएर लैजाने भन्‍नेमा छलफल अगाडि बढाउनुपर्छ । 

अवस्था सहज छैन । करिब आठ महिना यसै रोकियो, कोरोनाविरुद्धको खोपको सकारात्मक समाचारहरु आइरहेका छन् । केही महिना कुर्दा सहज हुन्छ भने कुरौं भन्‍ने पनि हो । तर यो कुनै एकपक्षले चाहेर हुने कुरा होइन । समझदारीको विकल्प छैन । 

सिनेमा हल तत्काल खुल्ने हो भने दर्शक हलमा पहिलाकै जस्तो जान्छन् होला ?
यसमा यसै भन्न सकिन्न । तर लामो समयको यो कोरोनाको समस्याका कारण मान्छेको मनस्थिति परिवर्तन भए होला । संसारमा अब लाइफ स्टाइल नै परिवर्तन हुनुपर्छ भन्‍ने कुराहरु पनि आइरहेको छ । सामूहिक रुपमा हुने र गरिने काम कम गरिनुपर्छ भन्‍नेमा सबैले जोड दिइरहेको अवस्थामा राम्रो भएर जान्छ, तल झर्छ अथवा उस्तै के हुन्छ अनुमान लगाउन म सक्दिनँ । 

लाइफस्टाइल नै फरक हुन्छ कि भन्‍ने अनुमान भइरहेका बेला यसअगाडि नै बनेका तर प्रदर्शन हुन बाँकी सिनेमा कत्तिको रुचाइएला ?
सिनेमा हलमा गइसकेपछि मात्रै भन्न सकिने कुरा हो । अहिले नै पूर्वानुमान गर्ने विषय होइन यो । सिनेमा आर्ट हो । दशकौं पुराना कतिपय चलचित्र अहिले पनि हामी हेरिरहेका छौं । कति कालजयी सिनेमा हुन्छन् । यस्ता चलचित्रलाई त फरक पर्दैन होला । तर पूरै कमर्सियल चलचित्रलाई फरक पर्न सक्छ । हाम्रोमा त्यो समयमा कस्ता चलचित्र बनेका छन् त्यसले पनि अर्थ राख्छ । अबको अवस्था कस्तो होला हामी आफैं उत्सुक छौं । 

कोरोनापछि पहिलेकै अवस्थामा अगाडि बढ्न सकिन्छ कि बदलिँदो परिस्थितिमा विषय र प्रस्तुति पनि फरक हुनुपर्छ ?
फरक ढङ्गले जानुपर्ने धेरै पहिला नै हो । तर त्यो हुन सकेन । बजारले जे माग्छ त्यही बनाइयो । चलचित्र बिजनेस पनि भएकाले बजारले जे माग्छ त्यही दिनु स्वाभाविक पनि हो । र व्यक्तिगत स्वतन्त्रताको कुरा पनि हो । म मेरो चलचित्र कसरी बनाउँछु मेरो अधिकार र रुचिको कुरा हो ।

आफ्नै मौलिक कथामा आफैं वरिपरिका दुःख-सुखका कुरा भन्नुपर्छ भन्‍ने मेरो पुरानै मान्यता पनि हो । र मैले त्यही पनि गरिरहेको छु ।

नेपाली सिनेमाको बजारको तुलनामा निर्माणमा बढी खर्च हुँदै गइरहेको छ । ठूलै बजेटमा चलचित्र बनिरहेका छन् । ठूलो बजेटमा बनेका चलचित्रको लगानी सधैं रिक्समा हुन्छ । त्यसैले बजेट कम गरेर सिनेमा बनाउनुपर्ने अवस्था पहिला नै आइसकेको थियो । अब कोरोना पछि झन यो आवश्यकता हो । आफ्नै कथा भन्न थालियो भने हाम्रा चलचित्र पनि विस्तारै विश्व सिनेमाको बजारको बाटो पहिल्याउन सक्छ भन्‍ने लाग्छ । व्यक्तिगत रुपमा यो गर्दै जाने हो । दर्शकले कति मन पराउनुहुन्छ यो त भविष्यले देखाउने कुरा हो । 

नेपाली सिनेमा न्यून बजेटकै कारण राम्रो बनाउन सकिएन भन्‍ने गुनासो गर्ने निर्देशकहरु धेरै हुनुहुन्छ । यही बजेट पनि घटाउने हो भने कस्ता सिनेमा बन्लान् ?
बजेट कम हुँदैमा राम्रो सिनेमा बन्दैन भन्‍ने मलाई लाग्दैन । बजेट चाहिन्छ । तर आवश्यक कुरामा कति बजेट खर्च भइरहेको छ भन्‍ने कुराले महत्त्व राख्छ । तीन-चार करोड खर्च भइरहेको छ । तर कुन शीर्षकमा खर्च भइरहेको छ ? सिनेमाको मेरुदण्ड नै स्क्रिप्ट हो । यसमै कम खर्च कम भइरहेको छ । यो त उल्टो बाटो भयो । स्क्रिप्ट राम्रो र स्क्रिनप्ले तगडा भयो भने त सामान्य हिसाबले खिचेको सिनेमाले पनि मन छुन्छ र दर्शकलाई बाँधेर राख्छ । त्यसैले मुख्य प्राथमिकता के हो थाहा पाउनुपर्छ ।

कलाकार, टेक्निसियन, निर्देशकदेखि स्पट ब्वायसम्मले हरेक फिल्ममा आफ्नो पारिश्रमिक बढाइहेको हुन्छ । कति वर्ष वा समयमा बढाउने हो पारिश्रमिक मापदण्ड हुनुपर्छ । मनपरि पारिश्रमिक लिने गरेका कारण सिनेमा महँगो हुँदै गइरहेको छ । जुन कुरामा लगानी गर्दा सिनेमा राम्रो हुन्छ त्यसमा कम लगानी गर्नुपर्ने अवस्था छ । यसले गर्दा हाम्रो सिनेमा जहाँको त्यही रह्यो । यसबारे अब मेकरहरुले पनि सोच्ने बेला आएको छ । कुन डिपार्टमेन्टलाई कति बजेट चाहिन्छ त्यसमा अध्ययन तथा समीक्षा गर्नुपर्ने समय आइसकेको छ । कोरोनाले पनि हामीलाई यो सिकाएन भने हामी पछि पर्छौं ।

कलाकारको पारिश्रमिकमा अझ बढी खर्च भइरहेको छ ?
कलाकार मात्रै होइन सबै पक्षमा उसैगरी खर्च भइरहेको छ । म आफैं कलाकार भएर भनेको होइन कलाकारलाई बजारले डिमान्ड गरेन भने उसको पारिश्रमिक आफैं घट्छ । आफ्नै रेटमा बसिरह्यो भने सिनेमा नै पाउँदैन । त्यसैले आफैं पारिश्रमिक घटाउनुपर्ने अवस्था आउँछ । 

यहाँ एउटाको मात्रै दोष छैन । यसको भागिदार सबै हुन् । हरेक पटक पैसा बढाउने प्रवृत्ति छ । बलिउडमा भन्दा पनि कतिपय कुरामा हाम्रोमा महँगो छ । त्यसैले चलचित्रको लगानी बढ्दै गएको छ । यसमा मेकरहरुले सोच्ने बेला आइसक्यो । 

करोडौंका फिल्म कोभिडका कारण थन्किएर बस्दा मेकरको लगानी फ्रिज भयो । यता दर्शकले नयाँ सिनेमा हेर्न नपाएर युट्युबका पुराना सिनेमा दोहोर्याएर हेरेर समय कटाउनुपर्ने बाध्यात्मक अवस्था छ । सशक्त डिजिटल प्लेटफर्मको आवश्यकता महसुस भएन ?
यो पहिलादेखि नै महसुस गरेको कुरा हो । अहिले त यसको आवश्यकता झन धेरै देखियो । हाम्रो बजार सानो छ । यद्यपि अहिले युट्युबमा राखेका सिनेमाको औसत भ्युज नै ४०/५० लाख भइसक्यो । यो संख्याको ५-१० प्रतिशत दर्शकलाई डिजिटल प्लेटफर्ममा बेच्न सकियो भने सिनेमाको लगानी सुरक्षित हुन्छ । यसले गर्दा पनि यो आवश्यकता हो । 

तर मान्छेको बानी पनि हो । कतिले हेर्छन् कतिले हेर्दैनन् । हाम्रोमा भर्खर सुरु भएको छ । बलिउड र हलिउडसँग त तुलना गर्नु पनि भएन । हाम्रो इतिहास नै छोटो छ । भारतमा ठूलो लगानीका चलचित्र यो समय ओटीटीमा रिलिज भए । आफ्नो लगानी रिकभर हुने गरि मेकरले ओटीटीलाई दिए । तर हाम्रोमा मेकरका लागि पनि ठूलो रिक्स छ । हाम्रोमा रहेका डिजिटल प्लेटफर्मले पनि सिनेमामा रहेको लगानी दिएर आफूले किन्न सक्ने अवस्था छैन होला ।

तर म आशावादी छु । कोरोनाका कारण डिजिटल प्लेटफर्ममा सिनेमा हेर्ने बानीचाहिँ विकास भएको छ । म आफैंले पनि हिजो मात्रै नेपाली फिल्म पहिलोपटक पैसा तिरेर डिजिटल प्लेटफर्ममा हेरेँ । बानी त विकास होला तर केही समयचाहिँ लाग्छ । 

पेमेन्ट गेटवे सहज नहुँदा त्यसको असर डिजिटल प्लेटफर्मको विकास र प्रयोगमा पर्ला नि ? 
पेमेन्ट गेटवेको समस्याचाहिँ छ । हाम्रा बैंकहरुको इन्टरनेसनल पेमेन्ट गेटवे त्यति सहज छैन । थोरै हदसम्म त छ । तर अमेरिका, युरोपमा जति सजिलो छैन । विस्तारै पेमेन्ट गेटवे सिस्टम विकास हुँदै छ । पेमेन्ट गेटवे सिस्टम परिपक्‍व हुँदा हाम्रा डिजिटल प्लेटफर्म पनि सशक्त भएर आउलान् ।

प्रतिकृया दिनुहोस
ad