नरेश फुयाँल
नेपाली सिने जगत्मा छोटो समयमै ठूलो सफलता पाउने निर्देशक हुन्– निश्चल बस्नेत । ‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’ मात्रै निर्देशन गरे पनि स्थापित निर्देशकभन्दा कम चर्चा छैन उनको । थोरै तर मूलधारभन्दा फरक गरेर आफूलाई स्थापित गरेका निश्चल अहिले ‘लुट–२’ निर्माणको तयारीमा जुटेका छन् । माधव वाग्ले र नरेन्द्र महर्जनले लगानी गर्ने ‘लुट–२’ मा निश्चलले निर्देशन गर्नेछन् । फागुन १३ गते ‘रिलिज डेट’ तोकिसकेका निश्चल अहिले लोकेसन खोजी गरिरहेका छन् । सिनेमा कस्तो बन्दैछ, सिनेमाको मुख्य विषय के हो लगायतका विषयमा केन्द्रित रहेर बस्नेतसँग गरिएको कुराकानी :
‘लुट–२’को तयारी कहाँ पुग्यो ?
सुटिङका लागि अब एक महिनाभन्दा पनि कम समय छ । सुटिङबारे छलफल भइरहेको छ । लोकेसन खोज्ने काम जारी छ । यो हप्तादेखि अलि बढी तीव्रताका साथ लाग्ने योजना बनाएको छु ।
अहिलेसम्म निश्चित भएका लोकेसन कहाँका हुन् ?
दुई÷तीन वटा छन् । लोकेसन छनोट गर्न हाम्रो समूह कुदिरहेको छ । फोटो यस्तो चाहिन्छ भनेर कुराहरु आइरहेका छन् । हाम्रो चलचित्रमा दुई–तीन वटा स्टन्ट सिन छन् । त्यसका लागि प्राथमिकता दिनु पर्नेछ । त्यसको खोजी भइरहेको छ ।
‘लुट–२’ सिक्वेल हो कि फरक विषय छ ‘लुट’भन्दा ?
सिक्वेल नै हो । ‘लुट’का पात्रहरुमा कस्ता परिवर्तन आएका छन् भनेर यसमा देखाइनेछ । ‘लुट’मा सामजिक, सांस्कृतिक, राजनीतिक विषयमा केन्द्रित भएका थियौं । यसमा पनि त्यही परिवेश नै हुनेछ । समाजभन्दा बाहिर चलचित्र जाँदैन । प्रस्तुति भने पहिलेको भन्दा अलि राम्रो गर्न खोजिरहेका छौं ।
टे«लर हेर्दा त ‘लुट’भन्दा फरक छ जस्तो लाग्दैन त !
पात्रहरु उही भएपछि झट्ट हेर्दा त्यस्तो लाग्छ र त्यो स्वाभाविक पनि हो । उनीहरुले गर्ने व्यवहार कस्तो छ, उनीहरु केमा जोडिएका छन् भन्ने कुरा महत्वपूर्ण हो । उनीहरु बदलाका लागि आतुर छन् । हाकुसँग कसरी बदला लिने भनेर बसिरहेका छन् । अर्को हाकुको समूह छ, जसले देशको विद्यमान राजनीतिक अवस्थाको फाइदा लिइरहेको छ । पहिले पनि उसले फाइदा लिएको हो । उसले हाम्रो सिस्टमका ‘लुपहोल’हरूको फाइदा लिइरहेको हो । अहिले पनि त्यही भइरहेको छ । पहिलेका पात्रहरू ऊसँग बदला लिन सफल हुन्छन् कि हुँदैनन् भन्ने कुरा नै मुख्य हो । सामाजिक, राजनीतिक अवस्था देखाउने तयारी छ ।
हाकुको समूहले बैंक लुटेर भागेपछि ‘लुट’ सकिन्छ । ‘लुट–२’ त्यहीँबाट सुरु हुने हो ?
त्यहीँबाट हो । त्यो सन् २०११÷०१२ को समय थियो । समय अघि बढिसक्यो । अहिलेसम्म आइपुग्दा त्यो खालको चरित्रमा रमाउनेले के प्रगति गरे, उनीहरु बाहिर कसरी आए र बाहिर बस्नेले के–के गरिरहेका छन् भन्ने कुराहरु समेटिनेछन् । त्यतिबेलादेखि अहिलेसम्म के गरे भन्दा पनि अहिले के गरिरहेका छन् भन्नेमा केन्द्रित छ ।
‘लुट’ निर्माण गर्दा यसको सिक्वेल पनि बनाउँछु भन्ने सोच्नुभएको थियो ?
जुन हिसाबले चल्यो, त्यति चल्छ भन्नेचाहिँ मैले सोचेको थिइनँ । त्यति धेरै अपेक्षा गरेको पनि थिइनँ । पहिलो चलचित्रले राम्रो सफलता पायो भने पछि यसरी जान सकिन्छ भनेर प्लटचाहिँ मैले त्यतिबेलै बनाएको थिएँ ।
तर, ‘लुट’ सकिएको केही समयपछि बनाइहाल्छु भन्ने चाहिँ थिएन । मलाई अहिले इच्छा लागेर बनाउन लागेको हो । त्यो समयको प्लट अर्कै थियो । रिलिज भएपछि यति धेरै वाहवाही पायो जबकि म आफैंलाई चित्त बुझेको थिएन । धेरै कमीकमजोरी र ‘लुपहोल’हरू देखेँ । ‘लुट–२’मा दर्शकको अपेक्षा धेरै हुन्छ भनेर पहिलेको प्लट छाडी अर्को कथातिर लागें ।
मलाई कुनै फरक कथा वा ‘फिक्सन स्टोरी’ गरेर हुन्छ भन्ने लागेन । समाजको वास्तविक कथा गर्नुपर्छ भन्ने लागिरहेको थियो । आफूले भोगेका, देखेका घटना नै ल्याउनुपर्छ । मलाई लाग्छ– ‘लुट’ पनि हाम्रो परिवेशभन्दा पर छैन । समाजका राम्रो–नराम्रा पक्षलाई नै सिनेमामा लिन सकियो भने त्यो मन पराइन्छ ।
समाचार पढ्दा भेट्नु भएको बैंक लुटपाटको घटनाले छोएर ‘लुट’ बनाउनुभयो । ‘लुट–२’को कथा पनि समाचारबाटै भेटाउनुभएको हो ?
हो । समाचार पढ्दै जाँदा ‘लुट–२’को पनि प्लट भेटेको हुँ । चलचित्रमा पछि स्पष्टै देखिन्छ । एक–दुई वटा कुरा वास्तविक जीवनबाट प्रभावित भएर गरिएको छ । अहिले सबै भनियो भने पछि चलचित्र नै हेर्न मन नलाग्ला । त्यसैले अहिले सबै कुरा नभनौं ! आशा छ– राम्रै जिच लिएको छु । पहिलोभन्दा राम्रो मान्नुहुनेछ भन्ने आशा छ ।
मूलधारका चलचित्रको ‘ट्रेन्ड’लाई तोडेर नयाँ धार सुरु गर्नुभयो । यो खालको जोखिम उठाउने आँट र सोच कसरी आयो ?
पुरानो ट्रेन्ड भत्काउनु पर्छ भनेर होइन, यस्तो सिनेमा पनि हेर्ने बानी बसाउनु पर्छ भनेर बनाएको चलचित्र थियो ‘लुट’ । आफैं दर्शक भएर बनाएको चलचित्र थियो त्यो । बनिरहेका चलचित्र हेरेर दिक्क लाग्थ्यो । नेपाली चलचित्र हेर्न गयो, उधैं एउटै पारा । हिरोले आमनागरिकलाई प्रतिनिधित्व नै गर्दैनथ्यो । बोलाइ, हिँडाइ, लवाइखवाइ आमजनजीवनसँग मेलै खाँदैनथे ।
म हिन्दी, कोरियन, चाइनिज चलचित्र हेर्थें । नेपाली हेर्नै मन नलाग्ने । लाज लाग्ने । हेरेर गालीबाहेक केही गर्न सकिँदैनथ्यो । १० वर्षपछि नेपाली चलचित्र हेर्दा अब त केही प्रगति भयो कि भनेर जाने दर्शकले अर्को १५ वर्षसम्म हेर्न नजाने अवस्था थियो । युवालक्षित चलचित्र नै बनेनन् । हामीले बोल्ने भाषा र लगाउने लुगा नै हाम्रा थिएनन् । महाभारत र रामायणकालकै कुरा थिए । त्यही भएर हामी नेपाली चलचित्रबाट टाढा–टाढा हुँदै गइरहेका थियौं । यस्तो हुनु हुँदैन, मलाई मन पर्ने सिनेमा म आफैं बनाएर देखाउँछु भन्ने सोचेको थिएँ । त्यही सोचअनुसार नै ‘लुट’ बनेको हो ।
निश्चिलले बनाउने सिनेमा परिवारसँग बसेर हेर्न सकिँदैन भन्ने आरोप पनि लाग्यो । त्यसै हो ?
दिदी–बहिनीसँग त्यति धेरै क्लोज हुनुहुन्न भने केही असहज होला तर दाजुभाइ बसेर हेर्न सकिन्छ । सेन्सरले पनि धेरै काम गरिसकेको थियो । मैले आमालाई हलमा लगेर चलचित्र त देखाएँ तर उहाँसँगै बसेर हेर्न मलाई पनि अप्ठ्यारो लागेर बाहिर निस्किएँ । तर, मैले बनाएकै ‘एडल्ट’ चलचित्र थियो, भाषाका लागि मात्र । मैले ‘एडल्ट सर्टिफिकेट’ मागेको थिएँ । सेन्सर बोर्डमा गएपछि ठूलो लफडा रहेछ ।
कस्तो लफडा ?
नामलाई लिएर, शब्दलाई लिएर पनि विवाद हुँदो रहेछ । ‘गाँजाबाजा’को स्वीकृति लिन जाँदा ‘गाँजा’को चन्द्रबिन्दु हटाउन भनियो । गाँजा शब्द आफैंमा नराम्रो हो भने शब्दकोषबाटै हटाए भो त । चलचित्रमा कसरी प्रस्तुत गरिन्छ भन्ने पो मुख्य विषय हो । ‘द रेप’ नाम राख्न किन दिइयो ? यो त रिलिज पनि भइसक्यो । त्यसो भए गाँजा शब्द बोल्न पनि दिनु भएन । ‘आतंकवादी’ भन्ने चलचित्र किन बन्यो ?
नेपाली सिनेमा किन अपेक्षित चलिरहेका छैनन् ?
नेपालमा स्क्रिप्ट लेखन नै राम्रो छैन । अरुको पनि, मेरो पनि । स्क्रिप्टमा लगानी गर्न सकिरहेका छैनौं । यहाँ व्यावसायिक साहित्यकारहरुलाई सिनेमाको स्क्रिप्ट लेखनतर्फ आकर्षित गर्न सकिएको छैन । एउटा स्क्रिप्ट राइटरलाई एक लाख रुपैयाँ दिएर ओस्कार अवार्ड जित्ने खालको स्क्रिप्ट खोजिरहेका हुन्छौं । राम्रो चिजल्याउन त उसले त्यसमा शोध, अध्ययन गर्नुपर्छ । त्यसका लागि समय चाहिन्छ । समय खर्चिएपछि लगानी बढ्छ । यतातर्फ पनि ध्यान दिनुपर्छ । नेपालका अब्बल साहित्यकारहरुको लेखनमा गहिराइ भेटिन्थ्यो होला, त्यसलाई हामीले धान्न सक्नुपर्छ ।
‘झोला’, ‘मुनामदन’ त राम्रा कृति थिए त ! तिनलाई दर्शकले किन त्यति रुचाएनन् त ?
राम्रो कृतिबाट पनि हामीले राम्रो चलचित्र बनाउन सकेका छैनौं । कृतिलाई चलचित्रमा ढाल्दा चुकेका छौं । यसमा पनि थप व्यावसायिक व्यक्तिको खाँचो छ । हामीमा ‘भिजुअल सेन्स’ क्षमता पनि कमजोर छ ।
समस्या प्रस्तुतिमा पनि छ । लामो कृतिबाट के राख्ने, के निकाल्ने भन्ने हुन्छ । यसमा पनि संवाद लेखक दक्ष र अनुभवी चाहिन्छ । सबै कुरामा पूरै सिनेमाको युनिट खेल्न सकेन भने प्रतिफल राम्रो आउँदैन । कुरा माथिकै आउँछ । स्क्रिप्ट राइटर र उसमा गरिने लगानी नै मुख्य कारक तत्व हो ।
उसो भए नेपाली चलचित्रको भविष्य कस्तो देख्नुहुन्छ ?
यो संसारभर सधैं हुने छलफल हो । फिल्म कल्चर मुख्य विषय हो । चलचित्र हेर्ने कल्चर छ भने जुनसुकै पुस्ताको चलचित्र बने पनि चल्छन्, हेरिन्छन् । चलचित्र बनाएर लगानी डुब्दैन भनेपछि ठूलो बजेटमा राम्रा चलचित्र बन्छन् ।
समाजको वास्तविक कथालाई राम्रोसँग भन्न सकियो भने जुनसुकै समयमा पनि चलचित्र चल्छन् । हामीमा फिल्म कल्चर छैन । मेरो सामान्य हिसाबमा ‘लुट’ एकदेखि डेढ प्रतिशतले हेरेका थिए कि जस्तो लागेको थियो । भारतमा यो प्रतिशत ७० भन्दा माथि छ ।
भनेपछि लगानी मात्रै नेपाली सिनेमाको कमजोरी हो ?
अरु पनि कारण छन् । मैले ‘लुट–२’का लागि स्टन्ट दिने व्यक्ति खोजिरहेको छु । एक्सन गर्न सक्ने व्यक्ति पाउन निकै गाह्रो छ । मैले सोचेको पनि थिइनँ यस्तो अभाव होला भने । एक्सनमा नेपाली सिनेमा जहाँ छ, अब एक लेभल माथि उठ्ने बेला भएको छ । स्क्रिप्टमा दुई–तीन वटा स्टन्ट र एक्सन सिन छन् तर त्यस्तो व्यक्ति भेटिन्छन् कि भेटिँदैनन्, केही थाहा छैन ।
व्यापारिक घरानाले किन नेपाली चलचित्रमा लगानी नगरेका होलान् ?
यो नाम मात्रैको उद्योग हो । वार्षिक करोडौंको कारोबार हुन्छ, हजारौंले रोजगारी पाइरहेका छन्, राज्यलाई चलचित्रकर्मीले राजस्व तिरिरहेका छन् । तर, राज्यले उद्योगको जस्तो व्यवहार कहिल्यै गरेन । यहाँ लगानी डुब्ने सम्भावना ९० प्रतिशत छ । कोही चाउचाउ बेचेर बिनाजोखिम आम्दानी गरिरहेका छन् भने किन आउँछन् लगानी डुबाउन ?
‘लुट’ले आर्य अनुहारमात्रै चलचित्रका नायक हुने मान्यता भत्काइदियो । ‘लुट–२’ ले कुन धार तोड्छ ?
यो त हेर्ने आँखामा भर पर्छ । मैले मसँगै समाजमा रहेका मेरा साथीहरुको कथा लेखेको हो । नयाँ केही गरेकै होइन । थर र नामले धेरै फरक नपार्ला तर कथाले मागेको व्यक्ति नै सिनेमामा उभिनुपर्छ । दर्शकलाई ढाँटेर बनाइयो भने त्यो राम्रो देखिँदैन । भएको पनि त्यही हो ।
सुब्बनी कान्छी भनेर नाम राखेको हुन्छ तर विपना थापाले अभिनय गरिरहेकी हुन्छिन् । यो माफी माग्नै नसक्ने विषय हो । हामी पछि परिरहेको यस्तै स–साना कारणले हो । केही नयाँ स्टाइल दिने सोचमा छौं । तर, त्यो सम्भावना पनि निकै गाह्रो छ । हाम्रो हालत पतला भइसक्यो । तर, अन्तिम समयसम्म प्रयास गरिरहन्छौं ।
तपाईं निर्देशक कि कलाकार ?
म कलाकार होइन, निर्देशक नै हो । तर, दुई वटा चलचित्र (लुट र टलकजंग भर्सेस टुल्के) निर्देशन गर्दा चार वटामा देखिइसकेको छु । सुरु–सुरुमा मलाई पनि देखिने रहर लाग्थ्यो, अहिले छैन । चलचित्रमा देखिन कलाकारलाई नै छाडिदिनु पर्छ ।
‘लुट–२’मा कलाकार को–को हुनेछन् ?
अधिकांश ‘लुट’कै हुनुहुन्छ । एक्सन गर्न सक्ने व्यक्ति खोजिरहेको छु । दया (दयाहाङ राई) दाइलाई गलफ्रेन्ड पनि खोजिदिनु पर्नेछ, आजसम्म भेटेको छैन ।
तस्बिर: रोजित खड्का