मनोज शर्मा (चिन्तक)
हाइकु सर्जक शरद्शोभाको हाइकु संग्रह ‘आत्मसंवाद’ को चर्चा गर्नुभन्दा पहिले छोटकरीमा हाइकु के हो भन्ने कुरा बुझौं ।
हाइकु कुनै एक किगो (ऋतुबिम्ब) अटाएको ५÷७÷५ अक्षरीय संरचनालाई कायम राख्दै बाबी (सौन्दर्यचेतना) साबी (स्मृति) होसोमी (अनुभूति ) जस्ता सारतत्त्वहरूको जगमा लेखिने जापानी तीन हरफे कविता हो ।
हाइकुमा कविभन्दा पनि पाठकको विचार प्रधान हुन्छ । यसले अलगअलग पाठकलाई अलग–अलग खालको अर्थ दिन्छ । अर्थात् हाइकु बहुअर्थी हुन्छ । वरिष्ठ कवि तथा हाइजिन क्षेत्रप्रताप अधिकारीको शब्द सापटी लिएर भन्नुपर्दा ‘हाइकु सूक्ष्मत्तम बिम्बले संकेत गरेको विशालतम् जगत् हो’ ।
आज संसारभरि फैलिँदै गएको जापानी शैलीको हाइकु विधाले सुरुमा मन्द गति लिए पनि अचेल नेपालमा छुट्टै स्थान ओगट्न सफल भएको देखिन्छ । बजारमा थुप्रै हाइकु संग्र्रह क्रमबद्ध रूपमा प्रकाशित भइरहेका छन् । जसको एउटा अर्को कडी हो, शरद्शोभाको हाइकुसंग्रह ‘आत्मसंवाद’ ।
हाइकु लेखन यस्तो विधा हो जसमा पारङ्गत हासिल गर्न सम्पूर्ण जीवनले पनि भ्याउन सक्दैन । भनिन्छ, हाइकुका पिता मास्टर बासोले लेखेका करिब १० हजार हाइकुहरूमध्ये जम्मा एक सयजति मात्रै हाइकु थिए । हाइकुका अध्येताहरूको निष्कर्ष हो यो ।
कमी–कमजोरी सबैमा हुन्छ, यस तथ्यबाट शरद्शोभाका हाइकु पनि अछुतो छैन । उनका हाइकुमा विचार पक्ष जति सबल छ, त्यसको तुलनामा भाव पक्ष कमजोर देखिन्छ ।
फरक–फरक बिम्ब र प्रतीक बनाएर समान अर्थ लाग्ने खालका केही हाइकु पनि यस संग्रहमा पाइन्छन्, यस तथ्यलाई उनले पक्कै पनि मनन् गरेकै हुनुपर्छ । यद्यपि उनका हाइकुले जीवनसँग जोडिएका अनेक आयामहरूलाई सफलताका साथ चित्रण गरेको पाइन्छ ।
कतै जीवन दर्शन, कतै सम्मान र गौरव, कतै संस्कार र संस्कृति, कतै प्रकृति प्रेम त कतै राजनीतिको फोहरी खेल, उनका हाइकुहरूमा भेटिन्छ ।
हेरौ उनका थुप्रै हाइकुहरू मध्येबाट मैले माथि अनुभूत् गरेका कुरासित मिल्दाजुल्दा केही हाइकु ः
एक रहस्य
मृत्युको पाश्र्वछाया
वर्जित ज्ञान
जेन विचारधारा प्रकट गर्ने यस हाइकुमा जीवनको शाश्वत सत्य मृत्युको कुरा उद्धृत छ । जसलाई हामी जानीजानी पनि अन्जान हुन बाध्य छौं एक रहस्यका रूपमा ।
मनोलोकमा
जीवन महोत्सव
पानीको घाम
जीवन दर्शन बोकेको यस हाइकुले पानीको घाम झैँ जीवनमा कहिले दुःख त कहिले सुख निहित छ भन्ने विषय सूक्ष्मसाथ चित्रण गरेको छ ।
मृत्युशय्यामा
यौवनको सापटी
गोधूलि साँझ
बाँच्ने अभिलाषा कस्मा हुदैन भन्ने भाव बोकेको यो हाइकु पनि जीवन दर्शनको एउटा राम्रो नमुना हो ।
जीवन खोज्दै
पाखा पखेरा डुल्छ
मलिन घाम !
समय चक्र दर्शाउने यस हाइकुमा प्रकृत्ति र जीवनबीचको तालमेल निकै राम्रोसँग चित्रण गरिएको छ ।
मन्दिर पुग्छ
फूलको संगतले
खबटे कीरा
प्रकृति बिम्बमा लेखिएको यो हाइकु उत्कृष्ट छ । जब प्रकृतिले उँचनिचको भेदभाव गर्दैन भने हामी किन भेदभाव गर्छौं भन्ने प्रश्न यो हाइकुले संकेत गरेको देखिन्छ ।
बने मायावी
प्रणय संवादमा
गाजलु आँखा !
शृङ्गार चेतनामा आधारित यो हाइकु स्वादिष्ट छ ।
आर्यघाटमा
उदास छ जिन्दगी
इष्र्याको आगो
जीवन दर्शन बोकेको यस हाइकुमा मानिसको अन्तसमयको मनोविज्ञान राम्रोसँग देखाइएको छ ।
वैभव खोज्छ
अभिशप्त समाज
निभेछ चुल्हो
सामाजिक विभेद दर्शाउने यो हाइकु आफैं बोल्छ ।
अग्ला टाकुरा
पहाडी जीवनमा
थकित घाम
ग्रामीण जीवनको कष्टकर जिन्दगी दर्शाउने यो हाइकु आफैंमा उत्कृष्ट छ ।
गुलियो उखु
किसानको आँखामा
नुनिलो आँसु
उखुको मिठाससँग आँसुको नुनिलोपनलाई बहुतै खुबीका साथ मिश्रण गर्नमा हाइजिन शरद्शोभा सफल देखिएका छन् । किसानको पीडा बोकेको यो हाइकु समय सान्दर्भिक छ ।
लुटको धन
संक्रमित समय
फुपूको श्राद्ध
कोरोनाकालमा चरम भ्रष्टाचारको बिम्ब झल्काउन यो हाइकु सफल छ ।
माटोको गन्ध
सम्झनाको मिठास
आत्मसंवाद
माटो र मानिस अनि मनभित्रका तिर्सना, स्मृति विस्मृतिजस्ता भाव बोकेको यो हाइकुले मानिसको एकांकीपनमा गरिएका आत्ममन्थनको संकेत दिन्छ ।
विशेषणको अत्यधिक प्रयोग, संज्ञासँग गलत विशेषणको प्रयोग, बिम्ब र भावबीच तालमेल नमिलेको, चित्रणभन्दा कथनमा बढी जोड, उपमा र अलंकारको प्रयोगमा असावधानीजस्ता दुर्बल पक्ष हुँदा–हुँदै पनि भाषिक सौन्दर्य, सटिक शब्द चयन, सरल–सरस र मौलिक नेपालीपनजस्ता सबल पक्षले हाइकु कविका रूपमा शरद्शोभाको परिचय थपेको छ ।