काठमाडौं । कर्णाली प्रदेशका दुवै पक्षलाई राखेर प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा छलफल गरेका छन् । कर्णाली प्रदेश नेकपा संसदीय दलका १८ जना सांसदहरूले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविस्वासको प्रस्ताव अघि बढाएपछि पार्टी अध्यक्षसमेत रहेका ओलीले सबै पक्षका कुरा सुनेका थिए ।
बिहीबार नै उनीहरूलाई छलफलका लागि बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले आजमात्रै समय निकालेका थिए । छलफलमा पार्टी महासचिव विष्णु पौडेल, सहइन्चार्ज यामलाल कँडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलावजङ्ग शाह र चन्द्रबहादुर शाही उपस्थित थिए ।
सबैका कुरा सुनेका ओलीले अन्तिममा आफ्ना कुरा राखेको सचिव शर्माले जानकारी दिए ।
“प्रधानमन्त्रीले कर्णाली प्रदेशमा देखिएको गतिरोध धीरतापूर्वक सुन्नुभयो । अन्तिममा आफ्ना कुरा राख्दै म र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबसेर उपयुक्त निर्णय लिन्छौं । पार्टीको निर्णय मान्नुपर्छ भन्नुभयो,” शर्माले बाह्रखरीसँग भने ।
आफूले कर्णालीमा देखिएको गतिरोध कुनै हालतमा चिर्नुपर्ने बताएको शर्माको भनाइ छ । “दुई अध्यक्षले जसरी हुन्छ विवाद मिलाउनुपर्छ । गतिरोध लम्ब्याउनुहुँदैन । निकास दिनुहोस् भनेर मैले मेरा कुरा राखेँ,” उनले भने । आजको भेटमा अर्का अध्यक्ष प्रचण्ड भने थिएनन् । उनले बिहीबार र शुक्रबार नै सबै पक्षका कुरा सुनिसकेकाले आफू उपस्थित हुन आवश्यक नरहेको बताएको स्रोतको दाबी छ ।
“अध्यक्ष प्रचण्डले बिहीबार र शुक्रबार दुवै पक्षलाई बोलाएर कुरा गरिसक्नुभएको छ । आज तपाईंमात्रै छलफल गर्नुस् भनेर प्रधानमन्त्रीलाई भन्नुभएको थियो । प्रधानमन्त्रीले छलफल गरेपछि दुईजना अध्यक्ष बस्नुहुन्छ,” प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले बाह्रखरीसँग भनेका थिए ।