काठमाडौं । सञ्चारकर्मी अनिता बिन्दु तिज गीत लिएर नेपाली सांगीतिक बजारमा आएकी छिन् । लोकनाथ सापकोटाको शब्द तथा लय शंकलन रहेको गीत ‘प्यारो माइती...’ मा अनिताले स्वर भरेकी हुन् ।
उनको यो पाचौँ तीज गीत हो । तिजको मर्म र परम्परा अनुसार नै चेली र माइतीको विषय नै आफ्नो गीतले उठाएको उनले बताइन् । “मेले यस अगाडि पनि तिज गीत गाएकी छु । गत वर्ष भने गाउन पाइन,” उनले भनिन्, “मिलेसम्म प्रत्यक वर्ष तिज गीत गाउने मेरो सोच हो ।”
पछिल्ला केही वर्ष यता तिज गीत विकृत बन्दै गएको उनको टिप्पणी छ । “तिजको आफ्नै विशेषता हुन्छ तर केही वर्ष यता मौलिक तिज गीत कमै मात्रै आउने गरेका छन्, त्यसैले पनि मैले मौलिक गीत पनि गाउँ र आफ्नो तर्फबाट सकेको सहयोग गरौं भन्ने उद्धेश्यले तिज गीत गाएकी हुँ,” पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष समेत रेहकी अनिता भन्छिन्, “अहिले त तिजका गीतलाई कमेडि बनाउन थालियो । यो मौलिकता माथिको अतिक्रमण रोकिनुपर्छ ।”
तिजलाई व्यवसायिकता भन्दा पनि पर्व अनुसारको मौलिकतामा ध्यान दिनुपर्ने उनको जोड छ । “तिजको आफ्नै लय हुन्छ । अहिले दोहोरी भाकामा तिजका गीत गाउन थालियो । तिजका गीत हो कि रत्यौली हो छुट्याउन पनि नसकिने अवस्था आयो,” उनी भन्छिन्, “यस्तै अवस्था आयो भने अब तिजको मौलिकता नै लोप हुन्छ आगामी पुस्ताका लागि हामीले तिजको मौलिकता बचाएर सुम्पिन कठिन छ ।”
अञ्जली अधिकारी लगायतले अभिनय गरेको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् ।