खेल
काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटको लागि नेपाली महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले महिला राष्ट्रिय क्रिकेट छनोट प्रतियोगितामा प्रदर्शनका आधारमा प्रारम्भिक छनोटमा ३८ खेलाडी छनोट गरेको हो ।
विश्वकप क्रिकेटको एसियाली छनोटको लागि राखेपले गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो । त्यसअघि राखेपले जिल्ला छनोट असार २८ र क्षेत्रीय छनोट असार ३० देखि ३१ गतेसम्म संचालन गरेको थियो । त्यही प्रतियोगिताको आधारमा राखेपले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, श्यामसन जंग थापा, सुदिप पौडेल, अरुण अर्याल र विनायक पोखरेलको संयोजकत्वमा खेलाडी छनोट गरेको हो ।
राखेपले मंगलबार सार्वजनिक गरेको प्रारम्भिक छनोटमा रुविना क्षेत्री, सन्तोषी चौधरी, सब्नम राई, ममता चौधरी, रश्मि शर्मा, काजोल श्रेष्ठ, कविता गौतम, अनिशा पराजुली, अनुराधा चौधरी, रोमा थापा, संगीता राई, शोभा आले, रचना अर्याल, सीता श्रेष्ठ, सारदा वाग्ले, अस्मिना कर्माचार्य, रोजी कडारी, आरती विडारी, रविना भण्डारी, इन्दु बर्मा, वर्षा राणा, सरस्वती पुन, लक्ष्मी चौधरी, नेरी थापा र ममता थापा परेकी छिन् ।
त्यस्तै गीता गोसाईं, त्रिश्णा सिंह, रोशनी बोहरा, कविता जोशी, रेखा रावल, करुणा भण्डारी, रितु कनौजिया, सीता राना मगर, सरिता मगर, सोनु खड्का, ज्योति पाण्डे, नीरा राजोपाध्याय तथा विनु बुढाथोकी पनि प्रारम्भिक छनोटमा पर्न सफल भए ।
प्रारम्भिक छनोटमा परेका ३८ खेलाडीलाई अब बन्द सत्रमा राखिने छ । र, बन्दसत्रबाट अन्तिम चरणको खेलाडी छनोट गरिनेछ । उक्त टोलीले इंग्ल्यान्डमा अर्को वर्ष हुने आईसीसी महिला विश्वकप क्रिकेटको हङकङमा हुने एसियाली छनोटमा सहभागिता जनाउने छन् । एसियाली छनोटमा आयोजक हङकङसँगै नेपाल, चीन र थाइल्याण्डले राउण्ड रोबिनका आधारमा खेल्नेछन् । छनोट खेल अक्टोबर ९ देखि १५ मा हुनेछ ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७३ १८:२०
प्रतिक्रिया दिनुहोस्