साहित्य र कला

ब्रह्मनालबाट पनि फर्काउँछन् वैद्य

ब्रह्मनालबाट पनि फर्काउँछन् वैद्य
अक्षर काका

मध्य भदौ । बाग्मती एकतमासले उर्लिरहेको थियो । झरी पनि विरक्त लाग्दोगरी जमिनमा पोखिइरहेको थियो । पशुपति आर्यघाटको चिता नै लैजाउँला झैं गरी बाग्मती हुन्हुनाएर बगिरहेको थियो । भक्तजनहरू पशुपति परिक्रमा गरेर ब्रह्मनाल दर्शन गर्न आउँथे र शिवलिंगमा शिर झुकाएर फर्कन्थे ।

 

त्यही बिहान सुवर्ण वैद्य बाबुको हात समातेर पशुपति पुगे ।

 

पानी परिरहेकाले होला– छेवैको चिताको आगो गाह्रो मानेर बलिरहेको थियो । बेला–बेलामा नाकमै ठोक्किन आइपुग्थ्यो पिरो धूवाँ । उनका बाबु ब्रह्मनाल दर्शन गरेर भित्तापट्टिको सत्तलमा गए– जहाँ थिए महाकवि लक्ष्मीप्रसाद देवकोटा । त्यहाँ क्यान्सरले थिलो–थलो बनाइएका देवकोटा जीवनको अन्तिम सास फेरिरहेका थिए । देश–विदेशका अस्पताल चहार्दा पनि उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि परिवारजनले उनलाई त्यहाँ ल्याएका थिए ।

 

सुवर्णका पिता हीरानन्द वैद्य तीन सहरमात्र होइन, देशैभर नाम चलेका वैद्य थिए । धुकधुकी बाँकी रहेका र ब्रह्मनालमै चोला बिसाउने इच्छा राख्ने बिरामीहरूलाई हीरानन्दले औषधोपचार गर्थे । ओखतीमूलो गरिदिन्थे । कतिको केही दिनमा प्राणपखेरु उड्थ्यो त कति बौरिएर घरसमेत फिर्थे ।

 

उनले देवकोटाको नाडी छामे । नाडी धिमा गतिमा चलिरहेको थियो र पनि देवकोटाको जिजीविषा घटेको थिएन ।

 

हीरानन्दले सोधे, “कविज्यू अहिले कस्तो छ त तपाईंलाई ?”

 

देवकोटाले फुत्त सिरकबाट बाहिर टाउको निकाले र जवाफ फर्काए, “ठिकै छु वैद्यराज ।”

 

उनका पिताले महाकविलाई ‘सिद्धिप्राणेश्वर’ र ‘सञ्जीवनी’ नामक औषधि खुवाउँथे, जसले देवकोटाको नाडी चलाउँथे ।

 

पेटीमा र सत्तलका वरिपरि त्रिचन्द्र कलेज, पद्मोदय स्कुल र जुद्धोदय माध्यमिक विद्यालयका विद्यार्थीहरू थिए । उनीहरूका आँखामा कविप्रति अनन्य श्रद्धाभाव थियो । उनीहरू चाहन्थे– देवकोटा फर्किएर डिल्लीबजार नै जाऊन् र रचून् थुप्रै ‘मुनामदन’, ‘शाकुन्तल’, ‘शुलोचना’, ‘वनकुसुम’हरू । तर, उनी निर्दयी नियतिको चपेटामा परिसकेका थिए । कतिखेर मृत्युले झम्टने हो र सदाका लागि अदृश्य बनाइदिने हो भन्ने कुनै टुंगो थिएन ।

 

जिन्दगीका अन्तिम क्षणमा पनि देवकोटा चुरोट सल्काइरहेका हुन्थे । कलेटी परेका ओठ र सुकेका गालालाई अझै खाल्डा बनाएर उनी चुरोट आफ्नै पाराले तान्थे । को आउँथ्यो, को जान्थ्यो भन्नेबारे उनी पूरापुर बेखबर थिए । उनलाई कुनै मतलब थिएन ।

 

घुप्लुक्क सिरकले मुख छोपेका, कहिले दोलाइँ ओडेर टुक्रुक्क बसिरहेका, बेपरवाह चुरोट तानिरहेका देवकोटाको झझल्को सुवर्णलाई अझै पनि आउँछ । त्यतिबेला उनी मात्र १० वर्षका थिए । उनको सम्झनाअनुसार देवकोटालाई १० दिन त्यहीँ राखियो । ०१६ भदौ २९ गते सोमबार साँझ ६ बजेर १० मिनेटमा देवकोटाको भौतिक चोला धर्तीबाट अस्तायो ।

 

० ० ०

 

जिउनुसँगै मृत्युको पनि मूल्य हुन्छ र त मानिसहरू सोच्छन्– जन्म जस्तोसुकै होस्, तर मृत्युचाहिँ गज्जब होस् । आराध्यदेव पशुपतिनाथको प्रांगण र ब्रह्मनाललाई सिरानी पारेर प्राण त्याग्नुजत्तिको अहोभाग्य केही हुँदैन उनीहरूलाई । त्यसैले त जीवनको अन्तिम क्षण र देह त्याग्नुअगावै पशुपतिनाथ ल्याइपुर्याइन्छन् कति बिरामीहरू । मृत्यु पर्खन ल्याइपुर्याइएका थुप्रै बिरामीहरू निका भएर घर फर्किएका उदाहरण पनि उत्तिकै छन् । त्यतिमात्र नभएर मर्यो भनेर दशदान, वैतरणी गरेका र ब्रह्मनालमा सुताएर बागमतीमा पैताला चोपिसकेकाहरू पनि ब्युँतिएर घर फर्किएका उदाहरण छन् ।

 

तर, महाकवि देवकोटा फर्किएनन् । उनको इच्छा अन्तिम सास ब्रह्मनाललाई सिरानी पारेर सकियोस् भन्ने थियो । परिवारले उनको इच्छा पूरा गरिदियो । आर्यघाट पुर्याएको १० दिनपछि उनले प्राण त्यागे ।

 

० ० ०

 

बाबुबाजेले अह्राएको काम गर्दागर्दै सुवर्णले काम सिके । उनको पुस्ता कहिलेदेखि यो पेसामा लाग्यो भन्ने कुनै लेखाजोखा छैन । त्यसै सन्दर्भमा उनले एउटा किम्वदन्ती उप्काए ।

 

आदिकालमा लंकाका राजा रावण बिरामी पर्दा पशुपति देउपतनकै वैद्यले उपचार गरेर निको भएका थिए रे ! सुवर्णले सुनाए, “एकदिन रावण बिरामी परेछन् । रावणले सुनेछन्– पशुपति देउपतनमा एकजना नामुद वैद्य छन् । यो खबर सुन्नासाथ रावणले वैद्यलाई लिन दूतहरू पठाएछन् । दूतहरू जयबागेश्वरी आइपुगे र घरमा भात पकाइरहेका वैद्यलाई फेला पारे । उनीहरूले वैद्यलाई भने— रावण बिरामी छन्, तपाईंले गएर उपचार गरिदिनुप¥यो । सुरुमा वैद्यले जान आनाकानी गरे तर केही सिप नचलेपछि उनी लंका जानैपर्ने भयो । लंका पुग्दा उनलाई थाहा भयो– रावण त खासै बिरामी परेका होइन रहेछन् । उनी सुनको थालमा बेसार हालेको जाउलो खाँदै रहेछन् । जनताले भने सामान्य खानासमेत पाएका थिएनन् । उनलाई त्यसैको ‘आँखा लागेको’ रहेछ । उनले केही आयुर्वेदिक उपचार गरेर रावणलाई ठीक तुल्याए । रावण खुसी भएर ‘के चाहिन्छ वैद्य ?’ भनेर सोधे । तर, उनी ‘केही चाहिँदैन, तिमीले खाएको लेऊ’ भनेर हलेदो (बेसार) बोकेर आएछन् । त्यसभन्दा अगाडि यहाँ बेसार पाइँदैनथ्यो रे !”

 

बेसार आयुर्वेदिक औषधि हो र यसले ‘एन्टिबायोटिक’को काम पनि गर्छ । त्यसरी उपचार गर्न जाने मेलम वैद्य थिए । शायद उनका पितापुर्खाले पनि आयुर्वेदिक ओखतीमूलो नै गर्थे । उनका हजुरबुबा हरिहरानन्द वैद्यले पनि निकै नाम चलाए । उनका बाबुले पनि त्यही काम गरे । उनका ६ दाजुभाइले पनि वैद्य पेसा नै अपनाए र दुई भाइ छोराहरू पनि यही काममा सक्रिय छन् । उनीहरूले जयबागेश्वरीमा आयुर्वेदिक उपचार केन्द्र पनि सञ्चालन गरेका छन् । भूकम्पअघि उनीहरूको केन्द्रमा उपचार गर्नेहरूको ताँती नै लाग्थ्यो । अहिलेचाहिँ उपचार गर्न आउनेहरूको संख्या घटेको उनले सुनाए ।

 

उनीहरू राणा र दरबारका ‘लालमोहरी’ वैद्य हुन् । धेरै वर्ष उनीहरूकै उपचारमा संलग्न भए । आयुर्वेदिक नेपालको पुरानो उपचार पद्धति पनि हो । नेपालमा अस्पतालहरू नहुँदा मानिसहरू आयुर्वेदिक औषधिमूलोकै भर पर्थे । बाबुको कामलाई पछ्याउने क्रममा राजदरबारका सदस्यहरूको समेत उपचार गरे सुवर्णले । तत्कालीन राजा वीरेन्द्रकी धाईआमा कान्छी गुरुङको उपचार पनि उनैले गरेका हुन् ।

 

गुह्येश्वरीको मन्दिरनजिकै सेतो सत्तल छ । त्यहाँ राजपरिवारका सदस्यहरूलाई अन्तिम अवस्थामा ल्याउने गरिएको उनले सुनाए । कान्छी गुरुङलाई पनि मृत्युपूर्व एक महिना जति राखिएको थियो र सुवर्णले नै उनको उपचार गरेका थिए ।

 

“मैले एक महिनासम्म उपचार गरें । अन्तिम भएकाले बचाउन सकिनँ,” उनले भने, “सेतो सत्तल राजपरिवारका सदस्यहरूलाई त्यस्तै बेलामा ल्याउन बनाइएको हो ।”

 

अहिले त्यो सत्तल जीर्ण भइसकेको छ ।

 

यसरी जोडिए पशुपतिमा

उनीहरूले लामो समय दरबारियाको सेवा, औषधोपचार गरे । श्री ३ चन्द्रशमशेरका पालामा आदेश आएछ– दरबारमा मात्र नहेर्नू, चन्द्र–सूर्य रहुन्जेल आलोपालो गर्ने गरी समय मिलाई सबैका काम गर्नू ।

 

त्यसपछि उनीहरूले घाटको पनि सेवा गर्नुपर्ने भयो ।

 

उनी पञ्चायतकालमा ८ नम्बर वडाका अध्यक्ष पनि निर्वाचित भए । तथापि उनी आफ्नो पेसामा पनि दत्तचित्त थिए । पञ्चायत ढलेपछि उनको मनःस्थिति परिवर्तित भयो ।

 

बाग्मतीको तटमै घर भएकाले पशुपतिसँगको भौगोलिक दूरी टाढा थिएन । घाटसँग जोडिएकै थिए । अन्तिम अवस्थामा घाटमा ल्याइएका बिरामीहरूको रेखदेख र औषधोपचार गर्नु उनको ‘कर्म’ थियो ।

 

उनी एकदिन साँझपख पशुपति गएका थिए । त्यहाँ अन्तिम अवस्थामा ल्याइएका एक बिरामी थिए ।

 

ती बिरामी देखेर उनको मनमा करुणा जाग्यो र आफ्नो पेसाप्रति गौरव पनि लाग्यो । लगत्तै अन्तिम अवस्थामा भेटिएका लक्ष्मीप्रसाद देवकोटाको एउटा कविता सम्झिए :

 

भित्र छ ईश्वर बाहिर आँखा खोजी हिँड्छौ कुन पुर ?

ईश्वर बस्तछ गहिराइमा, सतह बहन्छौ कति दूर ?

खोजी गर्छौ ? हृदय जगाऊ, बत्ती बाली तेज प्रचुर ।

साथी यात्री बीच सडकमा, ईश्वर हिँड्दछ साथ ।

चुम्दछ ईश्वर काम सुनौला गरिरहेको हात ।

छुन्छ तिलस्मी करले उसले सेवकहरूका साथ ।

सडक–किनारा गाउँछ ईश्वर चराहरूका तानामा ।

बोल्दछ ईश्वर मानिसहरूका पीडा, दुःखका गानामा ।

दर्शन किन्तु कहीँ दिँदैन, चर्म–चक्षुले कानामा ।

कुन मन्दिरमा जान्छौ यात्री, कुन नवदेश बिरानामा ?

 

त्यसपछि उनैले आफैंलाई प्रश्न गरे– वैद्यको काम के हो ? घाटमा बिरामीलाई किन ल्याइन्छ ? के वैद्यको काम ब्रह्मनालमा राखिएका बिरामीलाई ‘नारायण ! वैकुण्ठवास होस्’ भन्दै पानी खुवाएर मात्रै राख्ने हो ? उनीहरूका नाडी मात्रै छामेर बस्ने हो ?

 

यावत् प्रश्नहरूले मन हुँडल्न थालेपछि त्यसको जवाफ पनि उनले आफैंभित्र खोज्न थाले । मस्तिष्कमा नयाँ विचार प्रवाहित भयो– अब घाटमै व्यवस्थित तरिकाले उपचार–सेवा सुरु गर्छु । अन्तिम अवस्थामा काठको फल्याकमा राखिएका बिरामीलाई अस्पतालको खाटमा राखेर उपचार थाल्छु ।

 

उनलाई लाग्यो– त्यसले दुई वटा कुरामा फाइदा पुर्याउँछ । पहिलो– ब्रह्मनालमा राखिएका बिरामीले अस्पतालको शय्या पाउँछन्, अक्सिजन लगायतका अस्पतालका उपचारका सामग्री पनि पाउँछन् । त्यसले उनको स्वास्थ्यअवस्थामा सुधार ल्याउन सक्छ ।

 

अर्को– घाटमा पुर्याइएका बिरामीले अस्पताल देखेपछि उनलाई पनि ‘म त अन्तिमै अवस्थामै पुगेंछुृ’ भन्ने पनि लाग्दैन ।

 

तर, उनका कुरा कसैले पत्याएनन्, बरु हाँसो–ठट्टाका पात्र बनाइए । मानिसहरूले ‘घाटमा ल्याइएका बिरामीको के उपचार गर्नू’ भनेर खिल्ली पो उडाउन थाले ! सरकार र पशुपति क्षेत्र विकास कोषबाट पनि उनलाई सुरुमा सहयोग भएन । तर पनि उनले हिम्मत भने हारेनन् ।

 

उनले महाकवि लक्ष्मीप्रसाद देवकोटा राखिएकै सत्तल र त्यही कुनाबाट बिरामीको औषधोपचारमा जुटेर घाटलाई नै ‘कर्मथलो’ बनाए । सुरुमा सामान्य काठको फ्ल्याकबाट सुरु गरिएको औषधोपचार सेवा अहिले ३३ शय्यामा विस्तारित भएको छ ।

 

“मनकारी हातहरूले गर्नुभएका सहयोगले अस्पताल–सेवा फराकिलो बन्दै गएको छ, जसले जे इच्छा लाग्छ त्यही सहयोग गरेर घाटको उपचारसेवा ठुलो र फराकिलो बनाउन मद्दत पुर्याउनुभएको छ,” उनले सुनाए ।

 

अहिले त्यहाँ आउने बिरामीलाई मात्र होइन, जोकसैलाई पनि निःशुल्क खाना खुवाइन्छ । अस्पतालसरह सेवासुविधा समेत छ । त्यसका लागि गुठी संस्थानले खाद्यान्नलगायत केही सहयोग पनि गर्दै आएको छ ।

 

०५४ असोजमा सुवर्णले घाटे वैद्यको नियुक्ति पाएका हुन् । तर, उनले माकुराका जाला र घुस्यान पन्छाएर ०५२ देखि नै उपचार सेवा सुरु गरेका थिए । राणाकालमै उनको परिवारले मासिक दुई सय पारिश्रमिक पाउँथ्यो । अहिले बढेर ४६ सय भएको छ । उनी भन्छन्, “पिउनकै तलब १५ हजारभन्दा माथि पुगिसक्यो । मेरो बेतनको के कुरा गर्नू ? फेरि मैले गरेको उपचारको कुनै मूल्य हुन्छ र ?”

 

सरकारले आवश्यक सहयोग नगरे पनि जनस्तरमा उनको प्रशंसा चुलिएको छ । आर्यघाटकै उपचार सेवाबाट प्रभावित भएर काभ्रेको पनौती–त्रिवेणी धाममा त्यस्तै ५० शय्याको उपचारसेवा स्थल निर्माण भइरहेको छ । अन्यत्रबाट पनि कुरा आइरहेको उनी सुनाउँछन् । “पिता–पुर्खाले सुम्पिएको जिम्मेवारी पूरा गर्न पाएकोमा खुसी लागेको छ,” उनले सन्तोषको सास फेरे ।

 

आर्यघाटमा नर्स, स्वास्थ्य सहायक, वैद्य समेत गरी आठ जना कार्यरत छन् । आर्यघाट ल्याइएका बिरामी मात्र नभएर पशुपति–दर्शन गर्न आउनेहरूले पनि त्यहाँ सेवा–सुविधा पाएका छन् । उनी भन्छन्, “हिन्दूहरूको ठूलो तीर्थस्थल हो, हजारौं दर्शन गर्न आउँछन्, कोही बेहोस पनि हुन्छन्, कतिपयलाई चोटपटक समेत लाग्छ, सबैले उपचार पाएका छन् ।”

 

ब्रह्मनालमा सुताइएका पनि घर फर्किएका छन् 

कसैको प्राण जान निकै गाह्रो हुन्छ । अस्पतालले पनि कतिपय बिरामीलाई ‘अब बचाउन सकिँदैन’ भनिदिन्छ । सहरमा कोठा भाडामा लिएर बसेका मानिसहरूको बिरामी कुर्ने ठाउँ पनि नहुन सक्छ । यस्तो अवस्थामा ती बिरामीहरू पशुपति– आर्यघाट ल्याइन्छन् । त्यसरी ल्याइपुर्याएका थुप्रै बिरामीहरू ठीक भएर घर फर्किएका पनि छन् ।

 

अमेरिकाको न्युयोर्क सहरबाट वृत्तचित्र बनाउन एलिजा भन्ने युवती नेपाल आएकी थिइन् । उनी कामको सिलसिलामा पशुपति पुगेकी थिइन् ।

 

‘मुत्यु के हो’ र ‘मृत्यु कसरी हुन्छ ?’ भन्ने सादृश्यात्मक अनुभूति वृत्तचित्रको मूल ध्येय थियो । तीन महिना जति नेपाल बसेकी उनले अधिकांश समय आर्यघाटमै बिताइन् । आर्यघाटमा उनको भेट सुवर्णसँग भयो । त्यसबेला एकजना वृद्धालाई सुवर्णले उपचार गरेका थिए ।

 

ती युवती पाँच–सात दिन हराइन् र एकदिन अचानक आइपुगिन् ।

 

९ नम्बर बेडमा सुवर्णद्वारा उपचार गराइरहेका वृद्धलाई नदेखेपछि उनले आश्चर्य प्रकट गर्दै सोधिन्, “खै ती बूढा मान्छे ?”

उनले ख्यालै नगरी ‘गए’ भनिदिए ।

 

त्यसपछि उनी त सुक्सुकाउन पो थालिन् । कारण थियो– आर्यघाटमा बस्दा उनी अधिकांश तिनै वृद्धका वरिपरि हुँदै तिनैको दृश्य कैद गरिरहन्थिन् ।

 

त्यसपछि ‘बूढा उपचार गराएर घर फर्किए’ भनेपछि ती अमेरिकी युवतीले हतार–हतार सुवर्णलाई ‘फादर अफ गड’ भन्दै अँगालो मार्न थालिन् । त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालबाट पठाइएका बिरामी थिए ती । परिवारले समेत माया मारिसकेका बिरामीलाई बचाएकाले ती युवतीले ‘तिमीले त विज्ञानलाई पनि चुनौती दियौ, भगवान्भन्दा पनि ठूला रहेछौ’ भन्दै खुसी व्यक्त गरिन् ।

 

उनले जवाफ फर्काए, “मैले हैन, भगवान् पशुपतिनाथले बचाएका हुन् ।”

 

झापाका एकजना भट्टराई थरका मानिस थिए । उनलाई त आफन्तले मरे भनेर ब्रम्हनालमा सुताइसकेका रहेछन् । अगाडि बसेका आफन्त रुवावासी गर्दै ‘वैकुण्ठवास होस्’ भन्दै चिच्च्याइरहेको देखे सुवर्णले । उनलाई लाग्यो– यी बिरामीलाई ब्रह्मनालमा सुताइहाल्ने बेला भएको छैन । उनले नजिकै गएर बिरामीको नाडी छामे र बाहिर निकाल्न भने । बिरामीको अनुहार जन्डिसले कालो भइसकेको थियो । एक मात्रा औषधि खुवाएर उनी घरतर्फ लागे ।

 

भोलिपल्ट गएर हेर्दा त बूढा उठेर बसिराखेका रहेछन् । दिनहुँको उपचारपछि उनी क्रमशः तंग्रिन थाले, आफन्तका अनुहारमा कान्ति छाउन थाल्यो । १७ दिन उपचार गरेपछि ब्रम्हनालमा सुताइएका बिरामी निको भएर घर फर्किए । घर जाने वेलामा बिरामीले धन्यवाद दिँदै भने, “मलाई पुनर्जीवन दिनुभएकोमा धन्यवाद, वैद्यराज ! म कतिन्जेल बाँच्छु होला ?”

 

उनले पनि ठट्टैमा भने, “तपाईंलाई अब १० वर्ष केही हुन्न ।”

 

नभन्दै ती वृद्ध दसै वर्षपछि बिते । उनी बितेको वर्षदिन भयो ।

 

ब्रह्मनालबाट फर्काइएको यो एउटा घटनामात्रै होइन ।

 

झन्डै ३० वर्षअगाडिको कुरा हो । आफन्तद्वारा ‘अब मरी’ भनेर ब्रह्मनालमा सुताइएकी एक बिरामीलाई उनले ब्युँताइदिए । सरस्वती बैरागी नाम गरेकी ३३ वर्षीया महिलालाई उनले जीवनदान दिए । पखाला लागेर मृत्युशय्यामा पुगिसकेकी सरस्वतीलाई बचाउनुजत्तिको पुण्यको काम उनलाई जीवनमै कुनै लागेन रे ! उनले सरस्वतीलाई मात्र बचाएका थिएनन्, १५ र १४ वर्षका तामाका मुनाजस्

तपाईंको मत