site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

आधुनिक नेपालमा करिब सात दशकसम्म राजनीतिको केन्द्रमा रहेको नेपाली कांग्रेस अहिले किनारामा पुगेको छ । निर्वाचनमा ठूलो हार भएपछि पनि ’व्यक्ति हारेको तर कांग्रेस नहारेको’ भन्दै हारको जिम्मेवारी नलिने नेतृत्व भएको पार्टीका नेताले जेसुकै भने पनि अहिले नेपाली कांग्रेस देशको राजनीतिक केन्द्रबाट पाखा लगाइएको छ । हुनत, २०१७ सालमा पनि नेपाली कांग्रेस पाखा लगाइएको थियो तर त्यतिबेला राजाले बन्दुकका बलमा कांग्रेसलाई पन्छाएका थिए । अहिले भने जनताले नै कांग्रेसलाई पन्छाएका हुन् । यसैले २०१७ वा २०५८ मा जस्तो जनताको स्नेह र समर्थन पाइरहन कांग्रेसलाई सहज छैन ।

कम्युनिस्ट गठबन्धनलाई सुविधाजनक बहुमत त जनताले नै दिएकै थिए तर आन्तरिक र बाहिरी राजनीतिक तथा कूटनीतिक चलखेलबाट प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले तीन चौथाइ बहुमत हासिल गरेका छन् । संसद्मा प्रतिनिधित्व गर्ने पाँचवटा राष्ट्रिय राजनीतिक दलमध्ये चारवटाले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिए । अर्थात्, संसद्मा कांग्रेस एक्लिएको छ । चुनावमा कांग्रेससँग सामान्य तालमेल गरेका मधेसी दलहरू कम्युनिस्ट गठबन्धनका पक्षमा सजिलै जानुले पनि कांग्रेस नेतृत्वको असफलता नै पुष्टि गरेको छ । संसद्मा विपक्षको हैसियतमा रहेको एक्लो राष्ट्रिय पार्टी भए पनि महत्त्वपूर्ण प्रस्तावहरूसमेत सदनमा राख्नसक्ने संख्या कांग्रेससँग छैन । सदनमा प्रभावकारी हुननसके विपक्ष सडकमा जाने हो । तर, कांग्रेससँग सडकमा जान पनि नैतिक मनोबल र जनसमर्थन देखिँदैन । यसैले हारको गम्भीर समीक्षा गरेर आत्मबल जुटाउने अभियानमा लाग्नसके मात्र नेपाली कांग्रेसको पुनरुत्थान हुनसक्ने देखिन्छ ।

Agni Group

यसअघि नेपाली कांग्रेस यति कमजोर र निरीह पहिले कहिल्यै भएको थिएन । तर, कांग्रेसमा सभापति शेरबहादुर देउवालगायतको नेतृत्वले पार्टीको अधोगतिलाई स्वीकार गर्नसमेत खेजेको देखिएन । हारको समीक्षा त परै रहोस् प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने प्रस्तावको बहसमा समेत नेपाली कांग्रेसका नेताहरू सतहीरूपमा प्रस्तुत भए । पार्टीको नीतिभन्दा व्यक्तिगत धारणाले प्राथमिकता पाएको देखियो । कांग्रेसका नेताले आक्रोश र निराशा त प्रकट गरे तर सरकारलाई रचनात्मक सहयोग गर्ने आश्वासनसम्म पनि खुलेर दिन सकेनन् । निराशा र कुण्ठा पालेर राजनीतिक पुनरुत्थान हुँदैन । यस्तै जनताले अस्वीकार गरेका नेतृत्व र कार्यशैली नबदलुन्जेल पनि जनसमर्थन बढ्नसक्तैन । अर्कातिर, सरकार बढी नै बलियो हुँदा राज्यले नागरिक अधिकारमा अतिक्रमण गर्ने जोखिम पनि बढ्छ । विपक्ष प्रभावकारी र जनपक्षीय भयो भनेमात्र सरकार पनि नागरिकको अधिकार खोस्न र भ्रष्टाचार गर्न हिचकिचाउँछ । यही कारणले अहिले नेपाली कांग्रेस कमजोर हुन नहुने हो ।

कांग्रेसको आन्तरिक संरचना सुदृढ नभए बाहिरी प्रस्तुति पनि कमजोर हुनसक्छ तर जनचासोको विषय भने कांग्रेस सदन र सडकमा कसरी प्रस्तुत होला भन्ने नै हो । सरकारका राम्रा काममा खुलेर समर्थन गर्ने तर विधिको शासनको उल्लंघन र नागरिक अधिकारको अतिक्रमणमा दह्रो प्रतिवाद गर्ने विपक्ष अहिलेको खाँचो हो । विपक्ष राजनीतिक अस्थिरताको कारक पनि नबनोस् तर राज्यको ढुकुटी दोहनमा मतियार पनि नहोस् । विपक्ष अन्तर्राष्ट्रिय विवादका विषयमा राष्ट्रका पक्षमा मुखरित होस् तर राज्यलाई सर्वसत्तावादी हुन रोकोस् भन्ने जन चाहना हो ।अहिलेको गैरजिम्मेवार र जनविमुख नेतृत्व एवं कार्यशैलीबाट भने कांग्रेसको उत्थान सम्भव दखिँदैन  । कम्तीमा अर्को बलियो विपक्ष तयार नहुँदासम्म नेपाली कांग्रेस कमजोर हुनु राष्ट्रियता र लोकतन्त्रको हितमा हुँदैन । नेता र रणनीति फेरेरमात्र कांग्रेसको पुनरुत्थान हुने देखिन्छ ।   नेपाली कांग्रेसलाई यसका नेताहरूले ‘दुबो’ भन्थे । परालसँग मिसिएको सुकेको दुबो जमिन पाउनेबित्तिकै सर्छ र हरियो भएर फैलिन्छ । कांग्रेसले जमिनमा जाने अर्थात् जनताका सुखदुःखमा साथ दिने नीति अपनाउन सकेमा यो अग्निपरीक्षामा उत्तीर्ण हुनेछ । के राष्ट्रियता र लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस जिम्मेवार विपक्ष बन्न सक्ला ?

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २८, २०७४  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC