काठमाडौं । झण्डै २० वर्षपहिले कालो हरिणको शिकार गरेको अभियोगमा दोषी ठहर बलिउड अभिनेता सलमान खानलाई ५ वर्ष जेल सजाय सुनाइएको छ । फिल्म ‘हम साथ–साथ हैं’ को शुटिङका दौरान जोधपुरमा रहेका बेला कालो हरिणको शिकार गरेको अभियोगमा अदालतले बिहीबार सलमान खानलाई ५ वर्ष जेल सजाय तोकेको बीबीसीले जनाएको छ ।
बलिउड अभिनेता खान अदालतको आदेशअनुसार जोधपुर सेन्ट्रल जेल जाने बीबीसीले जनाएको छ । सन् १९९८ मा राजस्थानको जोधपुरको ग्रामीण क्षेत्रमा दुई वटा कालो हरिणको शिकार गरेको आरोपमा सलमान खान र अन्य पाँचमाथि मुद्दा दर्ता गरिएको थियो ।
सलमान खानका साथ फिल्म अभिनेता सैफ अली खान र अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीलमको नाम पनि यसमा मुछिएको थियो । अदालतले सलमान खानलाई दोषी ठहर गरेको छ भने अन्यलाई निर्दोष सावित गरेको छ ।
अभियोजन पक्षले यस मामिलामा कुल २८ प्रत्यक्षदर्शी अदालतमा पेश गरेको थियो । यसअघि शिकारको दुई मामिलामा अदालतले सलमान खानलाई दोषमुक्त गरिसकेको छ ।