site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
ओली विरुद्ध बढ्दो गठबन्धन 
Sarbottam CementSarbottam Cement

गत साता देशमा विभिन्न घटना भए । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी कसिंदै गएको छनक दिने समाचार छापामा नजानिदो सँग बढेर गएको देखिएको छ । 

साताको सुरुमा ओली सरकारविरुद्ध चिकित्सकको हडताल एउटा प्रमुख समस्या बनेर तेर्सियो । देशका ६ हजार चिकित्सक मेडिकल लाइसेन्स बुझाएर हडतालमा सहभागी बने । यस समाचारलाई राजधानी, कान्तिपुर, हिमालय टाइम्स, नागरिकले सशक्त ढंगले प्रकाशित गरे । नयाँ पत्रिकाले भने यस समाचारलाइ मुखपृष्ठमा दिन जरुरी सम्झिएन । अन्नपूर्ण पोस्ट डाक्टरको समर्थनमा उत्रिएन । डाक्टरहरू सडकमा उत्रिएकै दिन ‘बिरामीको बिजोग’ शीर्षकमा पोस्टले मुख्य समाचार प्रकाशित ग¥यो । डाक्टरहरूले आइतवार आकस्मिकबाहेकका सेवा बन्द गरेका थिए । राजधानीले भने आइतवार नै यस समाचारलाई महत्त्वका साथ प्रकाशित गरेको थियो । 

डाक्टरहरूले हालै लागु भएको अपराध संहितामा रहेको डाक्टर विरोधी केही प्रावधानको विरोधमा हडताल गरेका हुन् । नागरिकले संहिताको विरोधमा आइतवारनै मुख्य समाचार प्रकाशित गरेको थियो । संहिता बन्ने क्रममा विदेशी स्वार्थले काम गरेको नागरिकको मुख्य समाचारको सार थियो । नागरिकले सोमवार पनि डाक्टरको सहित पत्रकार पनि विचारको स्वतन्त्रताका लागि आन्दोलनमा उत्रिएको समाचार प्रकाशित गरेको थियो । चिकित्सकको आन्दोलन भने सोमवार सरकारसँग भएको वार्ता पश्चात स्थगित भएको छ  ।

Prabhu Bank
Agni Group
NIC Asia

ओली सरकारविरुद्ध आफ्नै दलभित्रबाट असन्तोषको आवाज आउँदै छ भन्ने अर्को लक्षण देखायो अन्नपूर्ण पोस्टको मंगलवारको अंकले । सो पत्रिकामा मुख्य समाचार लेख्दै रामकृष्ण अधिकारीले पूर्व माओवादी तथा पूर्व एमालेको एकता प्रक्रियामा आएको नामावलीमा एकलौटी भएको आरोप माधवकुमार नेपाल पक्षबाट आयो । देशभरका ७७ जिल्लामा माधव नेपाल पक्षका ४७ अध्यक्ष भएकोमा कार्यदल सिफारिसअनुसार उनको पक्षमा बढीमा १२ अध्यक्ष पर्नेछन् । त्यसैले सो समूह स्पष्टरूपमा ओलीको विरोधमा देखिएको छ । 

शुक्रवार सरकारविरुद्ध उभिए सरकारकै दलका मुख्यमन्त्रीहरू । देशका सात प्रदेशमध्ये ६ मा नेकपाका मुख्यमन्त्री छन् भने प्रदेश नं २ मा सरकारमा सम्मिलित संघीय समाजवादी फोरमका मुख्यमन्त्री छन् । तर, सातमध्ये छ प्रदेशका मुख्यमन्त्रीले केन्दीय सरकार अनुदार भएको भन्दै पोखरामा भएको मुख्यमन्त्रीको प्रथम भेलामा केन्द्रले अधिकार बाँडफाँट नगरेको आरोप लगाए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही स्वास्थ्यका कारण अनुपस्थित भएको जनाइयो । यो समाचारलाई कान्तिपुरले विशेष महत्त्व दिएर मुख्यमन्त्रीको तस्बिरसहित मुख्य समाचार बनायो । यही समाचारलाई हिमालय टाइम्सले पनि महत्त्वका साथ प्रदेशका मुख्यमन्त्रीको तस्बिरसहित मुख्य समाचार बनायो । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, दुईका लालबाबु राउत, प्रदेश तीनका डोरमणि पौडेल, गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङ, पाँच नम्बरका शंकर पोखरेल तथा सात नम्बरका मुख्यमन्त्री त्रिलोचन भट्ट हुन् । अन्नपूर्ण पोस्ट, राजधानी तथा नयाँ पत्रिकाले पनि यो समाचारलाई महत्त्व दिए । गोरखापत्र तथा नागरिकले खासै वास्ता गरेनन् ।

Global Ime bank

शनिवारको नयाँ पत्रिकामा प्रकाशित नेकपा (माले)का महासचिव सीपी मैनालीको ओलीप्रतिको आक्रमण पनि रोचक समाचार बनेको छ । नयाँ पत्रिकाको कठघरामा भन्ने स्तम्भमा बोल्दै मैनालीले ओलीले पहिलो प्रधानमन्त्रीत्व कालमा उनलाई उपप्रधानमन्त्री बनाएर दैनिक नमस्कार गराउने ध्येय पालेको कुरा खोलेका छन् ।

साथै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमण तथा निकट भविष्यमा हुने चीनको भ्रमणलाई पनि प्रधानमन्त्री ओलीविरुद्धको षडयन्त्रको सुरुआत भन्ने अड्कल राजनीतिक वृत्तमा सुनिएको छ । 

विदेशमा रहेकालाई मताधिकार

गएको साता विदेशमा बसेका नेपालीको लागि एउटा खुसीको समाचार आयो । सर्वोच्च अदालतले नेपाली नागरिकता नत्यागेका तथा अन्य कुनै पनि देशको नागरिकता नलिएका विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार दिने व्यवस्था मिलाउन सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । उमेर पुगेर मतदाता परिचयपत्र लिएको तथा विदेशस्थित कूटनीतिक नियोगले तयार पारेको लगतमा रहेको व्यक्तिलाई मतदानका लागि योग्य मानिने पनि जनाइएको छ । यो समाचारलाई कान्तिपुरले सबैभन्दा बढी महत्त्वका साथ प्रथम पृष्ठको मुख्य समाचार बनायो भने राजधानी तथा हिमालय टाइम्सले पनि माथिल्लो समाचार बनाए । नयाँ पत्रिका तथा अन्नपूर्ण पोस्टले एन्कर बनाए । 

चीनसँगको सम्झौता

गत साताको समाचारमा नेपाल र चीनबीच भएको पारवहन सन्धिको समाचारले पनि सबैको ध्यान तानेको छ । यो समाचारलाई कान्तिपुरले आठ कोलमको ब्यानर  बनाएर प्रस्तुत गरेको छ । दुई देशको सहसचिवस्तरीय टोलीको दुईदिने बैठकपछि चीनले नेपाललाई ४ वटा समुन्द्री बन्दरगाह तथा तीनवटा सुख्खा बन्दरगाह प्रयोगको अनुमति दिएको छ । त्यस्तै पारवहनका लागि नेपालका ६ नाका प्रयोग गर्न सकिने भएको छ । नेपालले प्रयोग गर्न पाउने नाकामा पश्चिम बाट क्रमशः हुम्लाको यारी, मुस्ताङको नेचुङ, रसुवाको रसुवागढी, सिन्धुपाल्चोकको कोदारी, संखुवासभाको किमाथांका तथा ताप्लेजुङको ओलाङचुङगोला छन् । चीनले प्रयोग गर्न अनुमति दिएको बन्दरगाहमा तियान्जेन, सेनजेन, लियानयुगाङ तथा झाङझियाङ छन् । त्यस्तै आन्जाओल, ल्हासा र सिगात्से तरी तीनवटा सुख्खा बन्दरगाह पनि प्रयोग गर्न पाइने भएको छ । अब अनुमति लिएर नेपाली व्यापारी तथा सवारी साधन सिगात्सेसम्म प्रवेश पनि गर्न पाउने भएका छन् । 

नयाँ पत्रिकाको विशेष कभरेज

गत साता नयाँ पत्रिकाले उच्च शिक्षासम्बन्धी विषयमा धेरै दिन विशेष समाचार दिएको छ । आइतवार सो दैनिकले विश्वविद्यालयहरूले कसरी सम्बन्धनको व्यापार गरिरहेका छन् भन्ने विषयमा विस्तृत समाचार तयार पारेको छ । बौद्ध दर्शन अध्ययन गराउने लुम्बिनी बौद्ध विश्वविद्यालयले इन्जिनियरिङलाई सम्बन्धन दिने, संस्कृत विश्वविद्यालय कृषि क्याम्पसलाई सम्बन्धन दिने तयारीमा, सुदूर पश्चिम विश्वविद्यालय एकै पटक ५३ कलेजलाई सम्बन्धन दिने तयारीमा आदि उपशीर्षकमा नयाँ पत्रिकाले राम्रो समाचार दिएको छ । 

सोमवारको नयाँ पत्रिकाले कसरी विश्वविद्यालय दलीय भर्तीकेन्द्रका रूपमा विकसित भएका छन् भन्ने अर्को समाचार प्रकाशित गर्‍यो । दलले उपकुलपति मात्र होइन डिन, डाइरेक्टर र क्याम्पस प्रमुखमा समेत भागबन्डा गरेको तथ्य सो दैनिकले खोतलेको छ । त्रिभुवन विश्वविद्यालयमा उपकुलपति तीर्थ खनियाँ नेपाली कांग्रेसबाट, पूर्वमाओवादीबाट रेक्टरमा सुधा त्रिपाठी गइन् भने एमालेले रजिस्ट्रारमा डिल्लीप्रसाद उप्रेतीलाई पठायो । त्यस्तै कांग्रेसको कोटामा कुलप्रसाद कोइराला संस्कृत विश्वविद्यालयका उपकुलपति, कृष्ण श्रेष्ठ सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति तथा घनश्यामलाल दास पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति भए । त्यस्तै एमालेको कोटामा चिरञ्जीवी शर्मा पोखरा विश्वविद्यालयका उपकुलपति र उपेन्द्र कोइराला मध्यपश्चिमका उपकुलपति बने । माओवादी कोटामा रामकण्ठ माकजु काठमाडौं विश्वविद्यालयका उपकुलपति भएका छन् भने इश्वरीप्रसाद ढकाल कृषि तथा वन विश्वविद्यालयका ।

मंगलवार नयाँ पत्रिकाले त्रिवि अध्यापककै प्रश्नपत्र किनबेच शीर्षकमा अर्को समाचार प्रकाशित गर्‍यो । त्रिवि सेवा आयोगले लिएको परीक्षामा गणित विषयको प्रश्नपत्र बनाउने शिक्षकले लाखौं रुपैयाँ लिएर प्रश्नपत्र विक्री गरेको समाचार प्रकाशित गरेको छ । बुधबार पनि स्नातकोत्तर परीक्षाको प्रश्नपत्र बाहिरिएको र परीक्षा स्थगित भएको समाचार नयाँ पत्रिकाले महत्त्वका साथ प्रकाशित गर्‍यो । 

बिहीबार नयाँ पत्रिकाले त्रिविमा ४ वर्षमा अढाइ लाख विद्यार्थी घटेको तथ्य प्रकाशित गर्‍यो । मानविकीका केन्द्रीय विभागमा विद्यार्थी संकट भएको तथा इतिहास विभाग रित्तै भएको सहित अन्य समाचार सो दिन प्रकाशित भए । शुक्रवार नयाँ पत्रिकाले त्रिविका अनुसन्धान केन्द्र शून्यमा रहेको समाचार प्रकाशित गर्‍यो र साथै लेख्यो वार्षिक तलबभत्तामा भने झन्डै दुई करोडको बजेट सकिँदै छ । 
नयाँ पत्रिकाको विशेष समाचार भवानीश्वर गौतम, रोहेज खतिवडा तथा मनोज खतिवडाले तयार पारेका हुन् । 

अन्य समाचार
 

यस साताका अन्य उल्लेख्य समाचारमा सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रिक्त प्रमुख आयुक्तको पदमा वर्तमान कार्यवाहक प्रमुख आयुक्त नवीन घिमिरेको नाम सिफारिस गरेको छ । त्यस्तै सर्वोच्च अदालतका वर्तमान कार्यवाहक प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको सुनुवाइ सुरु हुने अवस्थामा चार उजुरी परेको समाचार पनि रहेको छ । 

अन्नपूर्ण पोस्टले सरकारले राखेको अधिकांश नक्सामा दार्चुला जिल्लाको कालापानीको भाग काटिएको समाचार प्रकाशित गरेको छ । सुरेन्द्र काफ्लेले लेखेको समाचारमा हेलो सरकारले प्रयोग गरेको नेपालको नक्सामा पश्चिम उत्तरको एक टुप्पो हटाइएको छ जसको मतलब नेपालको करिब ६ हजार हेक्टर जमिन कम हुन्छ । 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  ०८:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC