site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कलाकारलाई मात्रै दोष दिएर हुँदैन, समाज नै परिवर्तन हुनुपर्छ
Ghorahi CementGhorahi Cement

महिलाहरुको महान पर्व तीजको आज मुख्य दिन । तीजका अवसरमा देश तथा विदेशमा तीज विशेष कार्यक्रमहरु भइरहेका छन् । यो वर्षको तीजका कार्यक्रममा गायक पशुपति शर्मा पनि व्यस्त रहे । विभिन्न देशमा भएका तीजका कार्यक्रममा सहभागी भएर उनी यतिबेला नेपाल आइपुगेका छन् । यो वर्ष उनले ५ वटा तीज गीत गाए । उनै पशुपति शर्मासँग तीज गीतका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको कुराकानीः
० ० ०

यो वर्ष कत्तिको तीज लाग्यो  ?
यो वर्ष पनि व्यस्त नै रहेँ भन्नुपर्छ । देश विदेशका विभिन्न कार्यक्रममा सहभागी भएँ । अष्ट्रेलियाको कार्यक्रममा पनि सहभागी भएँ । 

यो वर्ष तीजका कति गीत निकाल्नुभयो ?
गत वर्ष दुई दर्जन गीत बजारमा आएका थिए मेरा । ती सबै मेरो आफ्नै शब्द र लयका थिए । म व्यावसायिक गीत धेरै गाउँदिन र अरुका गीत पनि गाउँदिन । कुरा रह्यो योे वर्षका गीतको, यो वर्ष मैले ५ वटामात्रै गीत गाएँ । अरुका गीत नगाउने भएर पनि मेरा गीतको संख्या निकै कम हुन्छ । 

Agni Group

तपाईंलाई फरक लय र शब्दमा गीत गाउन रुचाउने भनेर धेरैले चिन्छन्, तीजका गीतमा पनि केही फरक छ ?
पक्कै पनि तपाईंले भनेजस्तो मेरा गीत केही फरक छन् होला । यसमा मैले भन्नुभन्दा पनि अरुले भनेको राम्रो । यतिचाहिँ भन्नसक्छु यो वर्षका तीज गीतमा युट्युबमा मेरा गीत सबैभन्दा धेरै हेरिएका गीतमा परेका छन् । 

तीजका पुराना र नयाँ गीतलाई कसरी तुलना गर्न सकिन्छ ?
यसमा व्यक्ति अनुसार फरक फरक विचार र मूल्यांकन हुनसक्छ । पहिलाका गीत धेरै टिपिकल हुन्थे । गाउँघरमा गाइने यथार्थपरक हुन्थे । अहिले परिष्कृत र परिमार्जित हुँदै आएका छन् । परिष्कृत र परिमार्जित हुने क्रममा केही विकृति पनि आएका छन् होला त्यसलाई पनि स्वीकार्नुपर्छ । तर कतिपय सन्दर्भमा यसलाई आलोचनाका लागि इस्यू मात्रै बनाइएको हो कि जस्तो पनि लाग्छ । समय, प्रविधि, बजार र त्यसको रुची अनुसार पनि चल्न सक्नुपर्छ । तर यसको अर्थ हाम्रो संस्कार र संस्कृतिलाई नै भुल्नु भने हुन्न । 

Global Ime bank

विकृति किन भित्रियो ?
सस्तो लोकप्रियताका लागि कसरी हिट भइन्छ भनेर जस्ता पनि गीत निकाल्ने कलाकारका कारण विकृति भित्रिएको छ । वास्तविक मौलिक गीत केही कम भएका हुन् कि जस्तो लाग्छ । ठूलो झुण्ड भएपछि केही त्यसमा खराब हुन्छन् । नराम्रो गर्नेहरु पनि छन् । तर विगतका वर्षमा भन्दा केही कम भने भएको छ । विस्तारै आफै सुधार हुँदै जान्छ । धमिलो पानी आफै संलिदै जान्छ । यसमा पनि यो लागु हुन्छ । यहाँ कलाकारलाई मात्रै दोष दिएर पनि हुँदैन । समाजका सबै पक्षमा सुधार हुनुपर्छ । कलाकार आफै के गाउनुहुन्छ र के हुँदैन भनेर आफै सचेत हुन्छन् । कलाकारलाई मात्रै औंला उठाएर हुँदैन । 

पर्व गीत निकाल्छु भनेर कलाकार जिम्मेवार हुन छाडेका हुन् ?
नराम्रो काम गर्नेहरु चर्चामा आए । चर्चा  पाएपछि यसो गरे माथि आइँदो रहेछ भन्ने भयो । राम्रो काम गर्ने कलाकार पछि परिरहेका छन् । अनुशासित, मर्यादित, जिम्मेवार भइयो भने पछि परिँँदोरहेछ भन्ने अनुभव मैले गरेको छु । तर यसको अर्थ मैले मेरो धर्म भने छाडेको छैन । मनोरञ्जनसँगै चेतना र सन्देश दिने गीत गाइरहेको छु । 
मिडियाले पनि सस्तो मनोरञ्जन दिने गीतहरुकै चर्चा गर्दा रहेछन् । दर्शक स्रोताले पनि त्यस्तै गीत सुन्दा रहेछन् र स्टेज मार्यक्रममा पनि त्यस्तै कलाकारलाई आयोजकले बोलाउनु हुँदोरहेछ भन्ने भएर पनि यस्ता गीतको संख्या बढेको छ । तर मैले माथि पनि भनिसकेको छु, विगतका वर्षहरुमा भन्दा केही कम पक्कै पनि भएको छ । 

राम्रा गीत हिट हुनु र मौलिक गीत छायाँमा पर्नुको मुख्य कारण दर्शक, स्रोता र आयोजक नै हुन् त ?
यो वा त्यो भनेर म भन्न चाहन्न ।  मैले मेरो बारेमा र मेरो कामका बारेमा माधै कुरा गर्दा राम्रो हुन्छ जस्तो लाग्छ । 
सामाजिक सञ्जाल, अनलाइन तथा युट्युब च्यानलमा वास्तविक सर्जकलाई स्थान दिएको मैले पाएको छैन । नराम्रा गीतकै चर्चा भए पनि के रहेछ भनेर मान्छेले हेर्छ । लोक गीतसंगीत र तीजका गीत छायाँमा पर्नुमा कलाकारको मात्रै दोष छ जस्तो मलाई लाग्दैन । यसमा कलाकारदेखि सञ्चारकर्मी, दर्शक स्रोता र कार्यक्रम आयोजकको उत्तिकै दोष छ । गीत संगीत सेन्सर गर्नका लागि सेन्सरबोर्ड नभएपछि यसको सेन्सर सञ्चारमाध्यम र दर्शक स्रोताले नै गर्नुपर्छ । नराम्रा गीतको कुरै नगरे ति आफैं हराएर जान्छन् । र जानु पनि पर्छ ।  

तपाईले गाएका र तयार पारेका तीज गीत कस्ता हुन्, टिपिकल कि परिमार्जित ? 
मेरा गीत टिपिकल, व्यङ्ग्यात्मक र ठट्यौली हुन्छन् ।  कलाकारले गीत बिगारे भनेर टिप्पणी भइरहेका बेला मौलिक गीतको स्थान कहाँ छ, कत्तिको चल्छन् भनेर मैले प्रयोग गर्दै आइरहेको छु । मेरा गीत सुन्ने धेरै स्रोता तथा दर्शकलाई यो कुरा थाहा पनि छ । वास्तवमा ठट्यौली गीत अगाडि आइरहेका हुन्छन् । मौलिक गीत पछि परिरहेका हुन्छन् ।  
जुन गीत मन परेको हुन्छ आफूलाई र चल्छ भनेर गायो,  त्यो गीत पछि परिरहेका हुन्छन् । मलाई अर्को साल गीत बनाउन आग्रह गर्नेले पोहोर साल चलेको जस्तो गीत बनाइददिनुस् है भन्नुहुन्छ । बजारको मागले गीतको निर्धारण गर्दोरहेछ । त्यही भएर पनि म फेरि दोहोर्याउँछु, कलाकारलाई मात्रै औैंला उठाएर हुँदैन ।

भनाइको आशय तपाईं पनि मौलिक गीत गाउन छोडेर परिष्कृत गीत गाउँदै जाने हो ?
होइन । मैले टिपिकल गीत नै गाउने हो । गत वर्ष पनि मैले मौलिक गीत नै बढी गाएको थिएँ । चल्छन् भन्दै व्यङ्ग्यात्मक गीत गाउने होइन । अब व्यङ्ग्यात्मक गीतलाई कम गर्दै जान्छु । मौलिक गीत बढाउँदै जान्छु । तर पक्कै पनि त्यसमा समयअनुसार पक्कै पनि केही परिवर्तन त पक्कै पनि हुन्छ ।

व्यङ्ग्यात्मक गीत तीजमा गाउने हो र ? पशुपति शर्माले तीजलाई कमेडी बनाइदियो भन्नेहरु पनि टिप्पणी भइरहेको छ नि !
व्यक्ति अनुसार आ–आफ्नो विचार फरक–फरक हुन्छ । सबैले एकै खालको गाउने होइन । सिर्जनाको पनि आफ्नैपन हुन्छ । मैले कमेडीमा पनि व्यङ्ग्य गरिरहेको हुन्छु । व्यङ्ग्यात्मक गीत पनि गाउन हुन्छ जस्तो लाग्छ मलाई । पहिला–पहिलाका गीत सुन्दा पनि त्यस्ता गीत छन् । झुक्किएर करेन्ट लागेका, सातो गएका जस्ता ठट्यौली कुराहरु पनि छन् । सन्देश दिने कमेडीहरु गीतहरु आइरहेका छन् । 

तीजका गीतमा व्यङ्ग्य गर्ने कि गाईजात्रामा ?
गाईजात्रामा ठाडो व्यङ्ग्य हुन्छ भने गीतमा सिर्जनात्मक व्यङ्ग्य हुन्छ । यसलाई कसरी ग्रहण गर्ने भन्ने कुरामा भर पर्छ । यो कुरा मैले पहिलादेखि नै भन्दै आइरहेको छु । र, मेरा गीतमा पनि स्रोता तथा दर्शकले यो पक्ष पनि पाउनु हुन्छ ।

तीजका गीतलाई कसरी मार्यादित बनाउन सकिएला ?
मैले लामो समयदेखि उठाउँदै आएको कुरा हो यो । मैले गाएका गीत म श्रीमती, छोरी, बुबाआमा, दिदीबहिनी सबैसँग बसेर हेर्न सक्छु, त्यस्तै गीत सबैले बनायो भने विकृति आफैं हराएर जान्छ । मैले मेरा गीत जुनसुकै उमेरमा सुन्नुपर्छ भनेर स्वयं गायकले आत्मसमीक्षा गर्यो भने सबै समस्याको समाधान हुन्छ । अघिकै कुरा फेरि पनि आउँछ, कलाकारलाई मात्रै दोष लगाएर हुँदैन ।

तीजका गीत महिलाले मात्रै गाएको राम्रो भन्नेहरु पनि छन् । यसमा केही टिप्पणी छ ?
त्यसो भए शिवजीको पूजा गर्न किन मन्दिर जाने ? महिलाको पर्व हो दाइभाइ लिन नआऊ भनेर भन्ने र पुरुषको भूमिका नै छैन भनेर भन्ने हो भने शिवजीको मन्दिरमा बिहानै ४ बजे किन लाइनमा बस्न जानुपर्यो ? वास्तवमा बुझ्ने हो भने पुरुषको भूमिका अनिवार्य छ । 
यो आफू पनि गर्न नसक्ने अनि अरुलाई पनि लडाउने कुरा मात्रै हो । तीज पुरुषको अहम् भूमिका भएको महिलाको महान पर्व हो । प्रमुख भूमिकामा रहने शिवजी पुरुष हैन र ?

जसले तीजका गीत सुरु गर्यो, हरिदेवी कोइराला, विमाकुमारी दुरा उहाँहरु नै पछि परिरहनु भएको छ । कारण के होला ? 
म पनि अब धेरैको अग्रज भइसकें । मैले पनि उनीहरुलाई गरेर देखाउनुपर्छ । मेरो भनाइ उहाँहरुले पनि यस्तो होइन, यस्तो हो है भनेर गरेर देखाउनुपर्छ । चुप लागेर बसेर हुँदैन । समय अनुसार काम पनि गर्नुपर्छ । यसको अर्थ उहाँहरुले केही गर्नुभएको छ भन्ने होइन । समय अनुसार आफूलाई अपडेट गर्दै लैजानुपर्छ । नयाँ कलाकाले बिगारे भनेर मात्रै हुँदैन । यस्ता गीत पनि चल्छन् भनेर देखाउनुपर्छ । यो अबको नयाँ पुस्ताले मलाई पनि भन्छ । यसका लागि म तयार भएँ भने ठिक हो होइन भने म पनि पर्छु । 

उहाँहरुका गीत किन कम सुनिन थाले ?
५० वर्षकी आमा र २० वर्षकी युवतीले सुन्ने गीत र मन पर्ने गीत एकै खालका हुँदैनन् भन्ने लाग्छ मलाई । फरक उमेर अनुसार माग र स्वाद पनि फरक हुन्छ । ५० वर्ष अगाडिको समय र अहिलेको समयमा धेरै उतारचढाव आइसकेको छ । मेरी छोरी र मैले सोच्ने तरिका फरक भइसकेको छ । मैले मेरी छोरीलाई तिमीले यही गर्नुपर्छ भनेर भन्न सक्तिन र भन्नुपनि हुँदैन । सबै समयअनुसार चल्नुपर्छ । ६० वर्षको जेष्ठ नागरिक र २० वर्षको किशोरले हेर्न र संसार फरक भइसकेको छ । यो तथ्यलाई मैले स्वीकार गरेर अगाडि बढ्नुपर्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २७, २०७५  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC